+
+

भारतले गर्‍यो चीन विज्ञलाई नेपालको राजदूतमा प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १३:१९

२१ वैशाख, काठमाडौं । भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव गरेको छ ।

आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउन लागेको हो ।

भारतीय अखबार ‘द हिन्दूस्तान टाइम्स’ले बुधबारको संस्करणमा श्रीवास्तवलाई राजदूतमा पठाउन लागिएको खबर प्रकाशित गरेको छ । श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्छन् ।

दुई वर्षअघि लद्दाखमा सुरु भएको चीनसँगको सीमा विवादको मामिलालाई सुल्झाउन श्रीवास्तवले कूटनीतिक र सैनिक संवादमा महत्वपूर्ण भूमिका खेलेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‍पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले यसै महिना भारतीय विदेश सचिवको कार्यभार सम्हालेपछि काठमाडौंमा भारतीय राजदूत पद रिक्त छ । श्रीवास्तवलाई राजदूत बनाउने सम्बन्धी कागजपत्र नेपाली परराष्ट्र मन्त्रालयमा समेत पठाइएको जनाइएको छ ।

श्रीवास्तवले अहिले भारतीय विदेश मन्त्रालयमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाको मामिला सम्हालेका छन् । उनी चीन मामिला हेर्ने अनुभवी कूटनीतिज्ञ भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि उनले चीनको सांघाइमा भारतीय कन्सुलर जनरलको रुपमा काम गरिसकेका छन् । ‘चीनबारेको उनको अनुभवले नेपालमा बढ्दो चिनियाँ प्रभावलाई कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ’ हिन्दूस्तान टाइम्सले लेखको छ ।

आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी भ्रमणमा नोपल आउनु अघि दिल्लीले काठमाडौंमा कूटनीतिज्ञ पठाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?