+
+
अन्तर्वार्ता :

भरतपुरका बागी भन्छन् : म चुनाव जित्छु, त्यही कारण गठबन्धनमा छट्पटी भा’छ

‘म चुनाव जित्छु । तपाईंहरूले अपेक्षा गरेको भन्दा धेरै मत आउँछ । त्यही कारणले गठबन्धनमा छट्पटी भा’छ । नभए किन उम्मेदवारी फिर्ता लिन दबाव दिन्थे ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १६:५२

भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हुन् जगन्नाथ पौडेल । नेपाली कांग्रेसले मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका उनी बागी उम्मेदवारका रूपमा चर्चित छन् ।

उनको उम्मेदवारी फिर्ता गराउन भरतपुरमा कांग्रेस नेताहरूको दौडधुपले उनलाई थप चर्चामा ल्यायो । पार्टीभित्र र बाहिरबाट चर्को दबावका बावजुद उम्मेदवारी फिता नलिने अडानमा टिकेका उनी चुनाव जित्ने दाबी गर्छन् ।

भन्छन्, ‘म चुनाव जित्छु । तपाईंहरूले अपेक्षा गरेको भन्दा धेरै मत आउँछ । त्यही कारणले गठबन्धनमा छट्पटी भा’छ । नभए किन उम्मेदवारी फिर्ता लिन दबाव दिन्थे ?’

प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार पौडेलसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसमा केन्द्रीय सदस्यसहित २५ जनाले मेयरमा आकांक्षा देखाउनुभएको थियो, तालमेल गर्दा अरूले त स्वतन्त्र उम्मेदवारी दिएनन् । तपाईं चाहिं किन उठ्नुभयो ?

पार्टीले भरतपुरको मेयर माओवादीलाई सुम्पिने भएपछि हामीले पार्टी कार्यालयमा भेला गर्‍यौं । हामीले केन्द्रीय सदस्यलाई नै प्राथमिकता दियौं तर उहाँहरूले अहिले आफू अगाडि बढ्न नमिल्ने बताएपछि पूर्वसभापति कृष्णलाल सापकोटाले कोही तयार नभए म भए पनि उठ्छु भन्नुभएकै थियो । उमेरका हिसाबले उहाँलाई धेरै धपेडी गर्ने अवस्था थिएन । सबैको सल्लाहमा म अगाडि बढें ।

सुरुमा त नउठ्ने सोच थियो, तर विषय र मुद्दा जायज भएकाले मैले नेतृत्व लिनुपर्छ भन्ने लाग्यो । पार्टीको जिल्ला समिति र महानगरका २९ वटै वडा सभापतिको बैठकको निर्णयका आधारमा कांग्रेस चितवनलाई जोगाउन हामी अगाडि बढेका हौं । सबका सबै एक ठाउँमा उभिनुपर्दथ्यो, उभिएनन् । कांग्रेसको जिल्ला नेतृत्व किन आफ्नो अडानमा अडिएन उहाँहरूलाई नै सोध्नुस् ।

तर म त्यसमा दृढ छु । कांग्रेसको नेतृत्वमा महानगर बन्नुपर्छ । बहुमतमा भएको पार्टीले फुच्चे पार्टीसँग आत्मसमर्पण गर्नुभएन नि ! आलोपालोमा जाँदा पनि त पालो त कांग्रेसकै हो । त्यस विपरीत तोक आदेशको भरमा भरतपुरको मेयर माओवादीलाई दिने काम गरिएको छ । यसको विरोध स्वाभाविक थियो, छ ।

पार्टी सभापतिदेखि अरू नेताहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो त ?

फिर्ता लिनका लागि मैले उम्मेदवारी दिएको होइन । म चितवनका आम कांग्रेस कार्यकर्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको थिएँ । मनोनयन गर्नुभन्दा अगाडिसम्म भएको भए म पछाडि हट्न सक्थें, तर मनोनयन गरिसकेपछि फिर्ता लिनु गलत हुन्थ्यो । मैले छाड्दा पैसामा बिकेको, पदसँग सम्झौता गरेको, अडानमा नअडिएको भन्ने आरोप लाग्थ्यो । त्यसैले फिर्ता लिइनँ ।

अब चुनावी अभियान कसरी अघि बढाउनुहुन्छ ?

चुनाव चिह्न भुइँकटहर पाएपछि वडा–वडामा प्रचारका कामहरू थालेका छौं । ५/७ वडामा घरदैलोसहित कोणसभा गरेका छौं । सोमबार मात्रै गीतानगरमा कोणसभा गर्‍यौं । नेता–कार्यकर्ताको साथ र सहयोग पाएका छौं । हामी उत्साहित छौं । वडामा हामी कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूलाई रूखमा भोट मागेका छौं, मेयरमा भुइँकटहरमा भोट हाल्न भनेका छौं ।

तर जिल्ला सभापति राजेश्वर खनालले चारतारे झण्डा बोकेर नहिंड्न भन्नुभा’छ, होइन ?

राजेश्वरजी जन्मिनुभन्दा अगाडिबाट हामीले चारतारे झण्डा बोकेर राजनीति गरेको हो । उहाँले बाह्र/सत्ताइस कुरा गरेर हुन्छ ? राजेश्वर जस्तो हामी अपरिपक्व छैनौं । उहाँले २० चैतमा भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने बटमलाइनसहितको निर्णय गर्नुभएको थियो । उहाँले तीन साता अगाडि बोलेको कुरा र आज बोलेको कुरा सुन्नुस् त कति फरक छ ? उहाँलाई के भनिरहेका छन् आम मानिसले एकपटक हेर्नुस् !

जिल्ला नेतृत्व किन निर्णयमा अडिन सकेन होला ?

त्यो उहाँहरूलाई सोध्नुस् । भरतपुरको नेतृत्व चाहिन्छ पनि भन्ने, रूखभन्दा अन्यत्र मत हाल्दैनौं पनि भन्ने, कार्यकर्तालाई सोही अनुसार उचाल्ने । अनि अहिले माओवादीलाई जिताउनुपर्छ भनेर हिंड्ने नेतृत्वलाई तपाईं आफैं सोध्नुस् । पार्टीमा कार्यकर्तालाई ठण्डा लगाउने, अरूका छोरी, ज्वाइँ, भतिजालाई टिकट दिने, भाइबुहारीलाई टिकट दिने काम र प्रथाको अन्त्य हुनुपर्छ भनेर लडेको हुँ ।

कतिपयले चाहिं स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथलाई खासै वास्ता नगरेको भए यतिको चर्चा हुने थिएन । दबाव दिंदा झन् चर्कियो भन्छन्, हो ?

उहाँहरूले त बागीले केही फरक पर्दैन भनेकै हो नि ! जब मनोनयनको दिन मेरो पक्षमा कांग्रेसका सयौं साथी लामबद्ध हुनुभयो, त्यसले उनीहरूलाई तर्सायो, हामीलाई उत्साहित बनायो । त्यस दिन निद्रा लागेन, जिम्मेवारी बढेको अनुभूति भयो ।

मैले झुक्दिनँ, बिक्दिनँ भनेर कांग्रेसका आम कार्यकर्ता र नेताहरूका अगाडि शपथ खाएको थिएँ । मैले नोमिनेशनका दिन मलाई सहयोग गर्न आउनुभएका कांग्रेसका नेता–कार्यकर्ताको अनुहार झलझल्ती सम्झिरहेको थिएँ । कांग्रेसको भोलिको भविष्य सोचिरहेको थिएँ । त्यसैले सम्झौता गर्ने कुरै भएन ।

भोलिपल्ट सुटुक्क आउने जाने भयो भने पर्सिपल्टबाट के–के भयो सबै तपाईंहरूलाई थाहै छ । बिहानै प्रधानमन्त्रीले फोन गरेर नाम फिर्ता लिनुस् भन्नुभयो । मैले गाह्रो छ भनें । तपाईं काठमाडौं आउनुस् न आउनुस् भनेर कर गरेपछि मैले नाइँ भन्नुभएन । हुन्छ भनें, तर गइनँ । उच्च लेभलका कर्मचारीतन्त्रका मान्छेले पनि दबाव दिन थाले । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री आउनुभयो । १६ गते बेलुका वरिष्ठ नेता रामचन्द्र पौडेलले फोन गरेर तपाईंको कारणले गठबन्धन भत्किने भो, लथालिङ्ग हुनेभयो भन्नुभयो । मैले जे भयो भयो भनें । उहाँले हट्नुपर्छ भन्नुभयो, मैले म हट्दिनँ, अर्को उम्मेदवारलाई किन हट भन्न सक्नुहुन्न भनेर प्रश्न गरें ।

उहाँहरूले म जस्तो सानो कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन किन यति धेरै जोड लगाएको होला ? यसबाट उनीहरूको मनोभाव र मनोदशा पढ्न सकिन्छ नि !

यति धेरै आग्रह, एक प्रकारको दबाव आउँदा पनि किन उम्मेदवारी फिर्ता लिनुभएन ?

मैले झुक्दिनँ, बिक्दिनँ भनेर कांग्रेसका आम कार्यकर्ता र नेताहरूका अगाडि शपथ खाएको थिएँ । मैले नोमिनेशनका दिन मलाई सहयोग गर्न आउनुभएका कांग्रेसका नेता–कार्यकर्ताको अनुहार झलझल्ती सम्झिरहेको थिएँ । कांग्रेसको भोलिको भविष्य सोचिरहेको थिएँ । त्यसैले सम्झौता गर्ने कुरै भएन ।

धेरैले मेयर छाड्दा असन्तुष्ट हुनु त स्वाभाविक हो, नजित्ने चुनाव किन उठ्नुभएको भन्छन् नि ?
कसले भनेको जगन्नाथले चुनाव जित्दैन भनेर ? जिल्लामा परोपकारी तथा सामाजिक संस्थामा काम गरेको छु । पार्टी राजनीतिलाई शुद्ध र पारदर्शी बनाउन लागेको, तल्लो तहमा टेक्ने नेता हुँ । यसअघि उपमेयर भएर काम गरेको, वरिष्ठ अधिवक्ता पनि हुँ । आफ्नो भविष्यलाई जोखिममा राखेर जनताको पक्षमा आवाज उठाउने मान्छे हुँ । अहिले मेरो पक्षमा निकै राम्रो माहोल बनेको छ । वडा–वडाका सभामा मतदाता र कांग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता छ ।

कांग्रेसको केही मत बाहेक सबै मत मलाई आउँछ । किनकि म कांग्रेस हुँ, रूख चिह्नबाट लड्न नदिएको न हो । वडा–वडामा कांग्रेसका वडाअध्यक्ष उम्मेदवारलाई रूख चिह्नमा मत दिने र मेयरमा भुइँकटहरमा मत दिने राम्रोसँग प्रचार भा’छ । महानगरमा केही स्वतन्त्र मतदाता पनि छन्, उहाँहरूको भोट पनि आउँछ । जगन्नाथले कसका लागि लडिरहेको छ भन्ने धेरैले बुझ्नु भा’छ । त्यसैले म चुनाव जित्छु । तपाईं र मैले अपेक्षा गरेको भन्दा धेरै मत आउँछ । त्यही कारणले गठबन्धनमा छट्पटी भा’छ । यदि यस्तो हुन्थेन भने उनीहरूले किन मलाई उम्मेदवारी फिर्ता लिन दबाव दिन्थे ?

अहिले गठबन्धनबारे तपाईंको धारणा के हो ?

यो गठबन्धनको कुनै औचित्य छैन । भरतपुरमा बागी भयो, अन्यत्र के भयो ? आज टप र्‍याङ्कका नेताहरूको जिल्ला हेर्नुस् त ! शेरबहादुर (देउवा) को डडेल्धुरामा के भा’छ । रामचन्द्र (पौडेल)को तनहुँ, कृष्ण सिटौलाको झापामा हेर्नुस् त ! यिनीहरूलाई आफ्नै जिल्लामा समस्या परेको छ र गठबन्धनको टेको चाहिएको छ । माधव नेपाल र प्रचण्डको हालतको त कुरै नगरौं, यिनीहरू त बुईमा दुईतिर झुण्डिने हुन् । गठबन्धन बालुवाको घर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?