+
+

सत्ता गठबन्धनको प्रतिबद्धता : नेपालगञ्‍जलाई शैक्षिक हब बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १९:३७

२१ वैशाख, नेपालगञ्‍ज । नेपालगञ्‍ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपालगञ्‍जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा) का उपमेयरका उम्मेदवार कमरुद्दीन राईले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्रको मुल नारा ‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने रहेको छ । संकल्पपत्रमा सद्भावको शहर, हरित नगर, रिङ्गरोडसहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्यायसहितको रुपान्तरण समावेश गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा : कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाइ, विपद् व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई घोषणापत्रमा समावेश गरेको छ ।

यस्तै नेपालगञ्‍जलाई शैक्षिक हबका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाइ केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरामा जोड दिइएको छ ।

कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ ।

स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख छ ।

यसका साथै किशोर किशोरीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैंकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ ।

मेयरका उम्मेदवार बिष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत विविध विषयलाई समेटिएको बताए ।

उपमेयरका उम्मेदवार राईले आफूहरु विरद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?