+
+

बच्चालाई सुकिलोमुकिलो राख्ने कि हिलोमाटोमा खेल्न दिने ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ वैशाख २२ गते ११:५२

काठमाडौं । अहिलेका बालबालिकालाई धेरै सुख सुविधा दिएर हुर्काइन्छ । उनीहरूको हरेक आवश्यकता पूरा गरिन्छ । प्रायः आमाबुवाले बच्चालाई हुर्काउँदा आफूले जस्तो दुःख भोग्न नपरोस् भन्ने ठान्छन् । र, त्यही अनुरूप सकेसम्म सुख सुविधा दिएर हुर्काउँछन् ।

अन्य बालबालिकाको तुलनामा आफ्नो बच्चा एकदमै सफासुग्घर होस्, हिलो माटोसँग नखेलोस् भन्ने धेरै अभिभावकको चाहना हुन्छ । तर यसरी बालबालिकालाई सुकिलोमुकिलो र सफा राख्न खोज्दा उनीहरूको सम्पूर्ण विकास हुन्छ त ?

बालबालिकालाई प्राकृतिक कुराहरूबाट टाढा राखेर उनीहरूलाई कृत्रिम वस्तुसँग नजिक गराउँदा उनीहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ भनेर विभिन्न अध्ययनले पनि देखाउँदै आएका छन् । बालबालिकालाई एउटा कोठामा मात्र सीमित राख्दा उनीहरू समाजमा सजिलै घुलमिल हुन सक्दैनन् ।

बालबालिकालाई माटो, बालुवामा खेल्न नदिने गरिन्छ । बालुवामा खेल्न दिंदा उनीहरू बिरामी हुन्छन् कि भनेर घरभित्रै राख्ने परिपाटी कतिपय अभिभावकमा पाइन्छ । तर विभिन्न अनुसन्धान अनुसार माटो, बालुवा तथा ढुङ्गासँग खेल्दा बालबालिकाको शारीरिक, मानसिक र आध्यात्मिक विकास राम्रो हुने मनोचिकित्सक विजय ज्ञवाली बताउँछन् ।

‘बालबालिकाको मनोदशा थाहा पाउन पनि विभिन्न मनोचिकित्सकहरूले उनीहरूलाई माटोसँग खेल्ने खेल खेलाउने गर्छन् । त्यसैले यसलाई खेलको रूपमा मात्र नलिएर उपचारको विधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन् ।

बच्चालाई सुकिलोमुकिलो राख्ने, फोहोरमैलाको सम्पर्कमा जानै नदिने, धुलो माटो खेल्नै नदिने, पानीमा भिज्नै नदिने गरिन्छ । यसो गर्दा उनीहरू स्वस्थ हुने भन्दा पनि उनीहरूमा बाहिरी वातावरणको सम्पर्कमा आउँदा विभिन्न प्रकारका एलर्जी र सानो उमेरमा हुने दम देखा पर्ने सम्भावना हुन्छ । जो बालबालिका सानै उमेरदेखि घरभित्र मात्रै बस्छन् । वातावरणसँग घुलमिल भएका छैनन्, माटो बालुवासँग खेलेका छैनन् भने उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने ज्ञवालीको तर्क छ ।

बालबालिकालाई प्राकृतिक कुराबाट टाढा राख्नुहुँदैन

वातावरणमा साधरणतया दुई प्रकारको कीटाणु हुन्छ, एउटा कीटाणुले हामीलाई नराम्रो गर्ने हुन्छ । अर्को कीटाणु हाम्रो साथी जस्तो हुन्छ, जुन माटोमा र बालुवामा हुन्छ । बालबालिका वातावरणमा रहेका माटो, बालुवासँग खेल्दा तिनीहरूले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । एउटा खोप लगाउँदा जसरी रोग लाग्नबाट बचिन्छ, त्यसरी नै वातावरणसँग खेल्दा पनि रोगसँग लड्ने क्षमता वृद्धि हुने मनोचिकित्सक ज्ञवाली बताउँछन् ।

‘वातावरणमा भएका प्राकृतिक कुरासँग खेल्दा अलिकति रुघाखोकी त लाग्न सक्छ, तर प्राकृतिक रूपमा नै त्यो फेरि निको पनि हुन्छ । उनीहरूको रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ,’ उनी भन्छन् ।

बच्चालाई हिलोमाटोमा खेल्न दिंदा उनीहरूलाई चिसो लाग्ने डर त हुन्छ, तर त्यो पनि आफैं प्राकृतिक रूपमा निको हुन्छ । उनीहरूलाई हिलोमाटोमा खेल्न दिंदा रोग लाग्ने भन्दा पनि रोगसँग लड्न सक्ने क्षमताको विकास हुन्छ ।

बच्चाहरू हिलो माटोसँग खेल्दा माटोलाई थिच्ने, हातमा लिने, डल्लो पार्ने र लाम्चो पार्ने गर्दा उनीहरू संवेदनशील र उत्तेजित भएर जे महसुस गर्छन्, त्यसले उनीहरूको रचनात्मक क्षमता पनि बढ्छ ।

‘बालबालिकालाई माटो बालुवामा खेलाउँदा फ्रेस हावा पाउँछन्, उनीहरूको शारीरिक व्यायाम पनि हुने भयो र घामको प्रकाश पनि पाउने भए,’ ज्ञवाली भन्छन्, ‘यी प्राकृतिक कुराहरूले बालबालिकाको सम्पूर्ण विकासमा सहयोग पुर्‍याउँछ । बालबालिकाको स्क्रिन टाइम घटाउन पनि बाहिरी खेल खेलाउन सकिन्छ ।’

ढुंगा, माटो र बालुवासँग खेल्दा बालबालिकाको स्मरण शक्ति पनि बढ्छ । प्रकृतिसँग खेलेका पल राम्रो सम्झना बनेर ठूलो हुने बेलासम्म पनि याद रहन्छ ।

धेरै अभिभावकले बालबालिकालाई कसरी हुर्काउने होला भन्ने प्रश्न गर्छन् । बालबालिकालाई हुर्काउने भनेको प्रकृतिसँग हो । ६ वटा ऋतुसँग बालबालिकालाई हुर्कन दिनुपर्छ । वर्षायाममा बालबालिकालाई अलिअलि भिज्न दिनुपर्छ । वैशाखको गर्मीमा उनीहरूलाई सधैं एसीमा राख्ने भन्दा पनि गर्मी पनि हुन दिनुपर्छ । प्रकृतिसँग उनीहरूलाई खेलाउने र प्रकृति सँगसँगै हुर्काउनु राम्रो हुने विजयको सुझाव छ ।

सफा वातावरणमा मात्रै हुर्काउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर

हिजोआजका बच्चाहरुको धेरै समय विद्या लयमा बित्छ । विद्यालयले ठूला भवन ठड्याएका हुन्छन्, तर खेल्नका लागि खुला चौर हुँदैन । जसकारण स्कुलको कोठाभित्र बालबालिकालाई सीमित गराइन्छ ।

स्कुलमा यस्तो वातावरण र घरमा पनि बच्चा बाहिर गएर हिलोमाटोमा नखेलोस् भन्ने सोच राख्दा उनीहरु शारीरिक रुपमा सक्रिय हुन नपाउने डा. ज्योतिरत्न धाख्वा बताउँछन् ।

साथै खानामा पनि जंक फुड र प्याकेट फुड बढी समावेश हुँदा बालबालिकाहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको उनको भनाइ छ ।

‘सानै उमेरदेखि अलिअलि संक्रमणको सामना गर्दै हुर्किएका बालबालिकामा भने रोग लाग्ने सम्भावना कम हुन्छ, डा. धाख्वा भन्छन्, ‘अप्राकृतिक वस्तु भन्दा प्रकृतिसँग खेलेर हुर्किएका बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुन्छ ।’

एकदमै सुकिलोमुकिलो बनाएर राखेका बच्चालाई छिटो संक्रमण हुने जोखिम हुन्छ । उनीहरुलाई एलर्जी पनि धेरै हुने गर्छ ।

बालबालिका हुर्काउने तरिका समुदाय अनुसार फरक-फरक हुन्छ । तर खानपान, सम्पूर्ण खोप र शारीरिक क्रियाकलापलाई भने एकनासले ध्यान दिनैपर्छ । डा. धाख्वा भन्छन्, ‘पोषणयुक्त खाना, उमेर अनुसार खोप उनीहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न प्राकृतिक वस्तुसँग पनि खेल्न दिनु जरुरी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?