२३ वैशाख, काठमाडौं । एनभीए क्लब लिग भलिबल प्रतियोगिताको साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब यस संस्करणमा जितविहीन हुँदै बाहिरिएको छ ।
काठमाडौंमा जारी लिगको अन्तिम खेलमा शुक्रबार न्यू डायमण्डले एपीएफसँग ३-० को सोझो सेटमा पराजय ब्यहोरेको हो ।
गत असोजमा आयोजित एनभीए लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्ड सोही आधारमा लिगका लागि छनोट भएको थियो । च्याम्पियनसिपका शीर्ष पाँच टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतिस्पर्धा गराइएको थियो ।
न्यू डायमण्डले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग ३-२ को सेटमा पराजय ब्यहोरेको थियो । त्यसयता तीन खेलमा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँग सोझो सेटमा पराजित भएको हो ।
राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी सेटर अरुणा शाहीले तीन वर्षदेखिको न्यू डायमण्डको आवद्धता यसै वर्षदेखि तोडिन् । मुख्य स्पाइकर प्रतिभा माली पुरानो चोट बल्झिएसँगै उपचारपछि आराममा छिन् । अर्की स्पाइकर झरना श्रेष्ठले पारिवारिक कारण देखाउँदै भलिबल छाडेपछि न्यू डायमण्ड कमजोर भएको हो ।

प्रशिक्षक कुमार राईले प्रतियोगिताअघि नै यसपल्ट टिमको सफलताको आशा नरहेको बताएका थिए । जितविहीन भएपछि उनले शुक्रबार अनलाइनखबरसँग भने, ‘हामी यो नतिजाका लागि तयार थियौं ।’
२०६४ सालदेखि महिला भलिबलको प्रशिक्षण सुरु गरेको न्यू डायमण्डले २०६९ सालमा पहिलोपल्ट एनभीए क्लब लिगको विजेता बनेको थियो । त्यसयता उसको यो सबैभन्दा खराव प्रदर्शन हो ।
‘हामीसँग भएका निकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको ठाउँमा ८ महिनाअघि मात्रै बल छोएका नानीहरुलाई खेलाएपछि राम्रो आशा गरेर भएन नि !,’ प्रशिक्षक कुमार राईले भने, ‘म मेरा नानीहरुको प्रदर्शनबाट पूर्ण सन्तुष्ट छु । धन्न उनीहरु गएको साउनमा कसरी कसरी हाम्रो सम्पर्कमा आइपुगेको भएर कोर्टमा उभ्याउने खेलाडी पायौं ।’
करिव डेढ दशकको इतिहासमा न्यू डायमण्ड नयाँ खेलाडी उत्पादनमा पनि परिचित छ । महिला भलिबलमा खेलाडी उत्पादनको प्रमुख श्रोत बनेको यो क्लबका राम्रा खेलाडीहरु स्थानान्तरण हुँदा समय समयमा यस्तै नियती भोग्नुपरेको छ । ‘हामी राम्रा खेलाडी बनाउँछौं । उनीहरुले राम्रो अवसर पाएपछि रोक्ने कुरा पनि भएन !,’ प्रशिक्षक राई भन्छन् ।
यो अनुभवले नयाँ खेलाडीहरुले आगामी प्रतियोगिताका लागि तयार बनाउने योजना प्रशिक्षक राईको छ । यस प्रतियोगितामा प्रतिभा र झरनाको स्थानमा क्रमसः रोल्पाकी १४ वर्षीया शलिना बुढामगर र संखुवासभाकी १४ वर्षीया जेनिशा विश्वकर्मा तथा अरुणाको स्थानमा प्रगति नाथलाई खेलाइएको थियो ।
शलिना र जेनिशा साउनदेखि बल समाउन सुरु गरेका हुन् । प्रगतिलाई स्पाइक पोजिसनबाट माघदेखि मात्र सेटरको प्रशिक्षण गराउन थालेको हुँ,’ प्रशिक्षक भन्छन्, ‘उनीहरुबाट अहिले नै धेरै अपेक्षा गर्नु हुँदैन । तर, मेरा यी खेलाडी भविष्यमा आआफ्नो पोजिसनमा नम्बर एक हुनेछन् ।’
                        
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4