+
+
साहित्य :

काठ पसेको माया !

सुरज पोखरेल सुरज पोखरेल
२०७९ वैशाख २४ गते ८:००

‘कस्तो आफूलाई मात्र मगाएको’, स्मारिकाले गरेको इशारा देख्ने बित्तिकै रोशन झर्किंदै बोल्यो ।

‘कफी ?’ भनेर क्याफेको अधिकारवाला कफीको कप देखाउँदै इशारामै जवाफ फर्काउँछ ।

स्मारिकाले ‘थम्ब्स अप’ गरी । मुस्कानसहित एउटा आँखा मात्रै झिमिक्क पारी ।

उताबाट जवाफमा ‘थम्ब्स अप’ आयो । सुस्तरी मुण्टो र आँखा झिम्क्यायो ।

पार्क व्यस्त हुने नै भयो । यसो त, यो लिस्बनको पर्यटकीय स्थल मार्तिम मुनिज हो । यहाँ युरोपियन पर्यटकहरूको भन्दा बाक्लो उपस्थिति इन्डियन, बङ्गलादेशी, पाकिस्तानी साथै नेपाली दाजुभाइहरूको रहन्छ । वैधानिक कागजात बनाउन, वकिललाई काम ठेक्का दिन पनि लिस्बन नै धाउँछन् । सबैलाई ठाउँ थाहा हुँदैन, अनि बोलाउने भनेको यही मेट्रो स्टेसनको माथि । भेट हुन सजिलो ठाउँ । भेटेर बाटोमाथि रहेका दोलखा वा लमजुङ रेस्टुराँ जता पसेर नेपाली खाना खान पनि पाइने ।

इन्डियन नागरिकले हटकेसमा समोसा र थर्मसमा चिया राखेर डुलाउँदैछ । यो व्यवसाय गर्नलाई लाइसेन्स लिनुपर्दैन न त नगर प्रहरीको डर । कर पनि सरकारलाई तिर्नु नपर्ने । अहिले पनि कोही प्लास्टिकको कपमा चिया र न्याप्किनमा समोसा खाँदैछन् । पार्कको वरिपरि आधुनिक स-साना स्टल छन् । पेय पदार्थ लगायत फास्टफुड पाइन्छ ।

क्याफेमा दुई जना काम गर्ने देखिन्थे । ग्राहकलाई ठट्टा गर्दै, हाँस्दै-हँसाउँदै र जिस्किंदै बाहिर-भित्र गर्थे । आज एक जना मात्र दौडधुप गर्दैछ- ऊ मात्रै देखियो । ऊ बेलाबेलामा मुखे फुङ्लो चिउँडोमा सार्दै गफमा हाँस्न भ्याएकै थियो । पोर्चुगलका मानिसहरू गफ गर्न खुब रुचाउँछन् । चुरोट पिउनलाई ब्रेक लिंदा कुनै रोकतोक छैन ।

‘म चुरोट पिउन गएँ’ भनेर जानकारी गराउँदै छिन-छिनमा यही स्टलको छेउमा जान्छन् । अर्को पसलको कामदार कि त यहाँ घुम्न आएका पर्यटकसँग १०-१५ मिनेट गफियो । व्यस्त छैन भने अझै ब्रेक लम्बिन्छ । एकचोटिको ब्रेकमा २ देखि ३ वटा चुरोट पिउँछन् । चुरोट पिउन छिन-छिनमा समय निकाल्ने । हतार पटक्कै हुँदैन यिनीहरूलाई । दिक्क पनि भएका छैनन् ।

स्मारिकाले गरेको इशारा रोशनले बुझ्यो । आफूले नगरेको कुनै क्रियाकलाप अरूले गर्नुपर्छ- हतार भइहाल्छ । उसलाई पनि हतार भयो । स्मारिकाले इशाराबाटै केही मगाएको देख्ने बित्तिकै लोभको रस आँखाबाट मानसपटलमा पुग्यो । कति छिटो शब्दमा परिणत भए ।

रोशनले टाउको घुमायो । ‘मलाई पनि… पेद दिस्कुल्पा ! उम काफे ताम्बाई …!’ धैर्यको बाँध रहेन । क्याफेको अधिकारवाला छेउमा आइनपुग्दै ठूलो स्वरले बोल्यो । रोशनलाई जति हतार क्याफेवालालाई थिएन । चुरोटको धुवाँ फ्याँक्दै ‘एकैछिन पर्खी’ भन्ने जनाउ इशारा दियो ।

‘अलि हतार गरेछु कि क्या हो !’ मनमनै सोच्यो । घडीको घुम्ने दिशामा टाउको घुमायो । पर्खाल, चौर, भुईं, कुर्सीमा बसेर घामको आनन्द लिइरहेका थिए । साङ्ग्रिया पिउँदै थिए । ईम्पि्रयाल पिउँदै थिए । चिया-कफी पिउँदै थिए । चुरोटको धुवाँ पिउँदै थिए । समरमा त यहाँ रातभरि पर्यटक हुन्छन् । २-३ बजेसम्म स्टल खुला राख्ने अनुमति लिन मिल्छ ।

एउटा पोर्चुगिज खाली ठाउँमा गिटार लिएर गीत गाइरहेको छ । सक्ने जतिले मन लागे जति त्यही गिटारको खोल भित्र टिप्स राखिदिंदै थिए । मानिसको आवतजावत निकै बाक्लो हुने ठाउँ । समय गएको पत्तै पाइन्न । यसै ठाउँमा अनेक धुवाँको गन्ध कतैबाट आइरहेको छ । शरीरभित्र हरेकको फरक-फरक कथा छ । खुसी, दुःख, रिस, राग जे जस्तो भए पनि यहाँ कसैलाई वास्ता छैन । न कि हृवास्स आइरहेको गाँजाको गन्धको मतलब छ । आनन्द चाहिएको छ- गीत सुनेर । नाङ्गो शरीरलाई ढाकेको पहिरनले देखाएको सुन्दरता हेरेर । साङ्ग्रियाले दिएको नसामा लिएर । अगाडि बजिरहेको गिटारको संगीत र गीत सुनेर । यस्ता अनेकन् अनगिन्ती कुराहरू यहाँ आनन्द लिनकै लागि छन् ।

मीना, स्मारिका र रोशन पनि सित्तैंमा म्युजिक सुन्दै खुट्टाले भुईंमा बिट बजाउँदै छन् । धेरै पटकको भेटघाटपछि स्मारिका र मीनाको दिमागमा निकै समयदेखि एउटा कुरा घुमेको छ । यो परिवेशले फ्रेस बनाइदिन्छ । थकान भुलाइदिन्छ । सबै जना एकै ठाउँमा काम गर्ने भएकोले सकेसम्म कामको कुरा गर्दैनन् । दिमाग घुमेको कुरा पनि गर्दैनन् । बरु आनन्द लिन्छन्- यो माहोलको ।

‘बो तार्द !!’ क्याफेको सहकर्मीले छेउमा आएर पोर्चुगिजमा हालखबर सोध्यो । मास्कको ठाउँ सार्‍यो- नाकको डाँडीबाट चिउँडोमा ।

‘बो तार्द !!’

सबैले ‘शुभ दिउँसो’ भनेर पोर्तुगिजमा जवाफ फर्काए ।

रोशनले कफी आफ्नो लागि मगायो ।

आफू अगाडिको कुर्सीमा बसेका मीना र स्मारिकाको मुखतिर हेर्‍यो । यताउता टाउको डुलाउँदै सोध्न तयार भयो ।

‘के खाने ?’ शिष्ट भएको आभास दिलाउन खोज्यो ।

स्मारिकाले आफ्नो लागि इशाराले केहीक्षण अगाडि कफी मगाई । क्याफेकै सोही चुरोट पिउँदै गरेको कर्मचारीलाई ! सधैं एउटै क्याफेमा जानुको फाइदा छ । त्यहाँको कामदारलाई नियमित ग्राहकको पि्रय पदार्थ के हो भन्ने थाहा हुन्छ ।

जति धेरै विदेश बस्यो उति रहनसहनले प्रभाव पारिरहेको हुन्छ । यसलाई चलनचल्तीको छुद्रोभाषामा भन्दा- ‘सबैलाई नम-नम गर्नु भन्दा आफूलाई खान मन लागेको कुरा मगाउने-खाने । यत्ति व्यवहार सुधार्नु भोकबाट बच्नु हो । मनलागे अरूले पनि खाइहाल्छन् ।’

स्मारिकालाई डेनमार्क सुरु-सुरुमा आउँदा निकै गाह्रो भयो । विकेण्डमा साँझ बियरको बोतल टिपेर आएको पैसाले हप्ताभरिको तरकारी किन्न पुर्‍याइन् ।

छिमेकीले हरेक दिन ‘खानी’ ?

हँ…खानी…?

के खानी त …?

‘भोक लाग्यो कि ?’

बनाउँ त … ?

बनाउँछु नि त ?’ भन्दै मुखले ठिक्क पारेको मात्र सुन्दा-सुन्दा वाक्क… !

मुखले मात्रै ठिक्क पार्ने छरछिमेकी, साथीभाइबाट पाकेर, दिक्क भएर, आजभोलि उनले आफ्नो लागि बाँच्न सिकिन् । गाह्रो भयो ! अपार्टमेन्ट, घर सफा गर्ने काम गर्न लागिन् । विस्तारै बानी पर्‍यो । कालोमा काम गर्ने भन्दै घण्टाको हिसाबमा क्रोनर कमाउने भइन् । तर साथीभाइको साथ पाइनन् ।

यतिसम्म कि कुनै सरकारी काम गर्न एकैठाउँमा जानु छ भने, नभनी जाने । ‘तँ नि जान्थिस् होला… हेर न मेरो बुढाले गर्दा…’ भन्दै चेपारो पार्ने ।

रासन किन्न नेट्टो जाने सल्लाह गर्ने, भोलिपल्ट ‘तँ पनि जान्थिस् होला … हेर न, तँ बरु फलानोसँग जा न है । हेर न मेरो बुढा ले …’ मुखले ठिक्क पारेका यस्ता धेरै उदाहरण विदेशले सिकायो । हैरान भइने ।

एकपटक छिमेकीसँगै तरकारी किन्न गएका रहेछन् । ट्रलीबाट आ-आफ्नो सामान आफैं निकालेछन् । २० केजी बासमती चामलको बोरा ट्रलीबाट गाडीमा राख्दा बोरा उचाल्न हम्मेहम्मे परेछ । हेरेर बसे तर ट्रली समेत समाउन सहयोग नगरेपछि भने मन मरेछ । एकछिन् रुन मन लागेछ । रिसाउँदै हुत्याउँदा ट्रली पल्टेर चामलको बोरा भुईंमा खसेछ । त्यसपछि बल्ल बोरा उचालेर राख्न सजिलो भएछ । नुहाउँदा एकछिन भन्दाभन्दै निकैबेर रोएपछि बल्ल दुखेको पिलोको गिर्खा निचोरे जस्तो हलुका भएछ । खरो भएर बोल्न जानेन भने पाइला-पाइलामा चिने-जानेकाले नै धुरुक्क लगाउँछन् । सीपीआर आएपछि आफ्नै छुट्टै अपार्टमेन्टमा बस्न थालिछन् । त्यस दिनदेखि छिमेकीतिर र्फकेर नमस्कार टक्र्याइनछिन् । डेनमार्कबाट पोर्चुगल आइन् । पोर्चुगलले झन् धेरै सिकायो । विदेशमा धेरै सोझो, नबोल्ने हुँदा दुःख पाउने, ‘उल्लु’ भन्दै पाइला-पाइलामा हेपेको बुझेकी थिइन् ।
‘एस्पेर !’ रोशनलाई हतार भयो ।

‘मीना, तिमी केही खाने हो ? स्मारिकालाई पनि भोक लाग्यो होला, आजको दिन लामो भयो । कस्तो-कस्तो कल आउँछ Û ठिस्-ठिस् हुन्छन् !!’ एकैसासमा सबै बोलेर भ्यायो ।

कल सेन्टरको काम सजिलो हुँदैन । तर अरूभन्दा यो काममा कमाइ राम्रो हुने । त्यसैले सहेर, धैर्य राखेर मीना म्यानेजर भइसकिन् ।

कामको कुरा गर्दा, होमा हो मिलाउँदा । अरूको दुःखको कुरा गर्दा, ‘हो… नि… भनिटोपल्दा अरूको नजरमा आफू प्यारो भएको भ्रम सजिलै बस्छ । उसलाई प्यारो मान्छे हुने लोभ पसेको निकै भयो ।

‘उता अर्डर देउ न, मान्छे उभिइराखेको छ अर्डर लिनलाई । गफ पछि गरौंला’ मीनाले भनी ।

‘लिउ न ! अनि पास्तेल दी नाता खाउ न त !’

ट्रेस पास्तेल दी नाता पोर फा’भोर !

ओबि्रगादो’ भन्दै सबैलाई पास्तेल दी नाता मगायो ।

‘जति खाए पनि नअघाउने, पोर्तुगलले के खानाको आविष्कार गर्‍यो गर्‍यो थै’इट् ।’ रोशनले विषय अन्तै पुगेको पत्तो पाएन । हुन त अरू बेला पनि यसरी नै बसौं, खाउ, मसँग छ भन्न तारिफ नै नपाए पनि बोलिरहन रुचाउने मान्छे हो ।

‘क्रिस्चियन भिक्षुहरूले १८औं शताब्दीतिर लिस्बनको बलाईमा अण्डाको ‘योल्क’ खेर जाने भयो, त्यसैलाई खेर जान नदिन पास्तेल दी नाताको आविष्कार गरे ।’ जानकारीका लागि है गाईच ! रोशनको सङ्गत गर्दै जाउ न ! अझै के के सिकाइदिन्छु ।’

सबै हाँसे हाहाहा… ।

‘हामीलाई पनि थाहा छ । लिस्बन बसेको तीन वर्ष भयो’, मीनाले भनी ।

क्याफेको सहयोगीले ट्रे टेबलमा राखिदियो । रोशनले सबैलाई कफी छुट्यायो । पास्तेल दी नाता भएको प्लेट बिचमा राख्यो । ट्रेलाई अर्को टेबलमा राख्यो । मीना बोलीरहेकी थिई । स्मारिका मौन ।

‘यो मेको पहिलो हप्ता पासपोर्टको लागि कागज पेश गर्नुपर्नेछ । मैले विवाहित लेख्ने कि अविवाहित लेख्ने हो फारम भर्दा ? तिम्रो नाम लेखिदिएँ है विवाहित भनेर’, हाँस्दै स्मारिकातिर हेर्‍यो ।

स्मारिका मनमनै सोच्छे ‘कति सजिलो छ है केटाहरूलाई । आफ्नो नाम अरू केटीसँग जोड्न केही झैं छैन । जे मन लाग्यो बोल्छन् ।’

अप्ठ्यारो स्थितिको सृजना हुन्छ । सबै मौन बस्छन् । साँझको चिसो हावा, चिया-कफी खाने स्फूर्तिदायी भेटघाट सके । पैसा मीनाले तिर्छे ।

‘तिमीले तिर्‍यौ । हृयाक्क्’ म तिर्थें नि !’ रोशन भन्छ ।

‘काजी साहेबको यो बानी कहिल्यै नजाने भयो । पर्स समाउने म तिर्छु भन्ने । अब त यो डायलग चेन्ज गर्नुस् ।’

‘मौका पाउँदा मज्जाले भनी । स्मारिकाको शब्दमा वजन छ’, मीनाले उडाउँदै भनी ।

मुखै रातै हुन्छ रोशनको । रोशनले नचाहेर बिल तिर्नबाट पन्छेको भने हैन । मानिसले आफूलाई यत्तिकै दौडाउँछ । आफ्नो खल्तीमा नोट नभएको हेक्का भएन ।

‘रोशनलाई लोभ लाग्दैन । बुझ्यौ नि ?’ ग्लानि हुन्छ । किन क्यास बोकेर हिडेन भनेर ।

लोभीको दाँजोमा दानीलाई सबैले रुचाउँछन् । रोशनलाई लोभी भनेर चिनिनु छैन । छोटो समयमा आफूलाई दानी कसरी प्रमाणित गर्ने भन्ने दबावले भित्रभित्रै खायो । फेरि पुरुषहरू आफ्नोबारे अलिकति होच्याएको सुन्नै सक्तैनन् । उसले पनि सकेन । आफूलाई प्रमाणित गर्न कस्सियो ।

‘भीष्मपितामहले शर-शय्यामा भएको बेला पानी पिउने इच्छा गरे । त्यतिबेला अर्जुनले मन्त्रयुक्त बाण पाताल गङ्गामा हाने । पाताल चर्केर आएको पानी पिलाए । यो नेपाल महात्म्यमा भेटिएको कथा हो । निकै चर्चित छ ।’ आफूलाई आफैंले प्रमाणित गर्नु निकै जटिल काम हो । उदाहरण दिंदै आफूलाई दयालु प्रमाणित गर्न निकै कोसिसरत छ ।

‘अर्जुनले बाण पाताल गङ्गातिर हानेर पानी निकाले । रोशनले क्यास नबोक्ने कार्डले ४ युरो तिर्न नमिलेर महाभारतको कथा निकाले’, स्मारिकाले हाँस्दै उडाइन् ।

‘जता घुम्न जाँदा पनि केटाहरूलाई भनेर ग्रुपमा घुम्न, पार्टीमा लग्या छैन ? सँगै ग्रुपमा लिएर जान्छु । टिकट-सिकट … ट्याक्क कति आनन्द छ । गयो बस्यो । पोर्चुगलमा कसैले यति रेस्पेक्ट दिन्छ ?’ रोशनले निकै ठूलो-ठूलो आवाज पार्दै बोल्दैछ । जति नै टुक्का जोडे पनि आफूलाई ठूलो बनाउन नसकेको मनले ठान्छ । नोभो बाँकोको कार्ड समाउँदै पर्सभित्र राख्यो ।

‘हो के कसले हैन भन्यो ? तर सांख्यदर्शन हुँ भन्ने बानी नराम्रो । हाहाहाहा…. धेरै सिरियस नहोउ !’ पेट मिच्नै पर्ने गरी हाँसो गुञ्जियो ।

‘रोशन अबदेखि मीना विना नहिंड्नु । मीनाले क्यास बोक्ने रोशनले खाली कार्ड मात्रै देखाउने ।’ स्मारिकाले हाँस्दै रोशनलाई थपी । आज मौका पाएको बेला दुवै जनाको रोक्ने छाँटकाँट छैन । आलोपालो भनाभन गर्दै रमाइलो मान्दै हाँस्दैछन् । फेरि आफूले बोलेको तर्कको जवाफ अर्कोले प्रतिकार गर्न नसक्दाको आनन्द छुट्टै ।

उसलाई क्यास पैसा नभएको र पैसा तिर्न नपाउँदा लाज भएको उसको हाउभाउमा देखिन्थ्यो ।

‘हो के जिस्क्याएको ? ल ! को-को कता कताबाट जाने ? म मोस्काभिद जान ग्रीनलाइन चढेर अलमेईदाबाट मोस्काभिद सररर… स्मारिकालाई लिएर ।’ हाहाहा… हाँस्दै रोशनले भन्यो ।

मीना केही नबोली हाँस्दै स्मारिकाको हेर्न लायकको लजालु अनुहार हेरी । कुइनाले ढाडतिर ठेली । स्मारिका झनै लाज मान्दै कुर्सीबाट उठी । हाते ब्याग दुवैले भिरे ।

‘स्मारिका कुनै कुराको हतार नै नहुने प्रकृतिको छे । टाइम लिउ, टाइम ! अझै टाइम लिउ ! के को हतार !

सुस्तरी गरेका जुनैपनि काम सफल र पक्का हुन्छन् । देखाउन वा रिझाउनका लागी गरेका कर्मले दुःख मात्रै निम्त्याउँछ । रोशनले सबै कुरा बुझ्छ क्या । तिम्रो मनमा यही छ । मिल्यो कि मिलेन ?’

हाहाहा….

तिम्रो र स्मारिकाको जोडी कस्तो मिल्छ । सबै कुरा मिल्छ- किन हो दुई जनाको कुरा नमिलेको ? कसले गर्दा हो ? के खोजेको हो ?’ मीना मुसुमुसु हाँस्दै स्मारिका र रोशनतिर हेर्दै भन्छे ।

स्मारिका कुनै जवाफ दिन उचित ठान्दिनँ । मौन बस्छे । लजाएको प्रष्ट बुझिन्थ्यो । प्रत्येक प्रश्नको जवाफ दिनुभन्दा मौनतामा प्रत्युत्तर दिनुको आनन्द लिन्थिन् ।

अघिसम्म जिस्किंदै गरेको रोशन यति सुन्दासम्म केही बोल्दैन ।

पुरानो प्रश्नको जवाफ स्मारिका दिन्छे । ‘म बाईुसीयादोसम्म हिंडेर जान्छु ।’

स्मारिकालाई यो रोसियोको खोला साइड भयो, प्रासा दी कमर्सियल भयो, पोर्चुगलका ढुङ्गा छापेको भुईं अनि यो पर्यटक भएर घुम्न, हिंड्न रमाइलो लाग्छ’, मीनाले भनी ।

‘पहिले ब्याइफ्रेन्डसँग हिंड्थ्यौ होला । लब पर्दा त, आँखा उघारेर हेर्दा मात्र हैन, आँखा चिम्म गर्दा देखिने सपना पनि सुन्दर हुन्छन् । त्यै याद लिएर आजभोलि हिंडेको भन न’ रोशन बोल्यो । ‘अलि बेसी नै बोलें कि क्या हो’ भन्दै मनमनै डरायो ।

‘हैन तिमीले कहिले देख्यौ ? देखेकै जसरी ठोकुवा नै गरिदियौ’, स्मारिकाले भनी ।

‘देख्नुपर्छ र थाहा भइहाल्छ नि !’

‘म छोडिदिन्छु नि त !’

‘पर्दैन’, स्मारिकाले रिसाउँदै भनी । उनलाई उकुसमुकुस भयो । कहिले हिंडौं भयो ।

‘हामी यताबाट मेट्रो लिन्छौं । भोलि हृयाङ्गआउटमा भेटौंला’, मीनाले भनी । आज पनि हृयाङ्गआउटमा च्याट भएर जम्मा भएका हुन् ।

मीना र स्मारिका दुवैको घरमा बिहेको चर्चा छ । भलाकुसारी गर्दै हिंड्छन् । सन्ता जुस्ता लिफ्ट हुँदै अर्को द रुआ अगुस्ता निक्लिने बाटोतिर लाग्छन् ।

‘दुवै जनाको उमेर पनि मिल्छ । तिम्ले रोशनसँग कुरा गरे हुन्छ । रोशन अपि्रल १४ को हैन ?’

‘रोशन २८ वर्ष लाग्यो । नेपाल सँगै जाने कुरा भएको छ’, मीनाले कुरा सिध्याउन नपाउँदै स्मारिकाले जवाफ दिई ।

‘ए बिहे नै गर्ने कुरा भै’सक्यो ? मैले सकिन । मलाई किन नभनेको ?’ रिसाउँदै चित्त दुखाएको कण्ठस्वर निक्ल्यो । आँखाले देखिने सबै राम्रा दृश्यको मज्जाबाट आँखा हटाएर स्मारिकातिर घुमाउँछे ।

‘छैन त्यस्तो केही । म दशैंमा नेपाल जान्छु भनेर त तिमीसँगै सल्लाह गरेर बिदा लिएको थिएँ । ऊ पनि जाने रे !’

नेपाल जाने टिकट काट्न उसकोबाट मिलेन मैले नै टिकट काटिदिएको थिएँ । त्यही बेला जन्मकुण्डली थाहा पाएको । तिमीलाई मैले किन लुकाउनु पर्‍यो । फेरि जिस्किने कुरा एक ठाउँमा छ । रोशनसँग काम गर्न थालेको दुई वर्ष भयो । कुनै बेला मन पर्‍यो । तर अहिले खासै मैले केही सोचेको छैन । खासमा रोशनको कुरा बाह्र सत्ताइस थरीको हुन्छ । म सँगै नेपाल जान्छु भनेर किचकिच गरेर धुरुक्कै पारेर टिकट काटिदेऊ भन्यो । मैले हुन्छ भनें । टिकट काटिदिएँ । त्यसपछि वास्तै छैन ।’

‘रोशनले मन पराउनु भन्दा पनि तिमीलाई के लाग्छ ? यस्तो स्वभाव भएको केटासँग जीवन काट्न सक्छौ ? तिम्रो युनी जोइन गर्ने प्लान रोशनलाई थाहा छ ?’ मीनाले थप्छे । ट्राफिक बत्ती रातो बल्यो- दुवै रोकिन्छन् ।

….लाग्छ यहाँ हिंड्ने बटुवाहरूलाई पनि हतारो पटक्कै छैन । हुन त पर्यटकलाई खासै हतार हुने भनेको प्लेनमा र ट्रेन स्टेसनमा हो । रोसियोको खोला किनारतिर सबै घाम डुबेको हेर्नमा मस्त थिए ।

‘रोशनलाई तिमीले माया गर्‍यौ भने बाँचुन्जेलको माया हुनेछ । जुन कमिटमेन्ट रोशनले पनि गर्न सक्नुपर्छ । कसैलाई पनि त अप्सनमा राख्ने हो र ? हैन भने केटी कुनै कपडा हैन । मन लाग्दा लगाउने । नलाग्दा हृयाङ्गरमा झुण्ड्याउने । अहिलेसम्म तिम्रो मनमा के छ भन्ने नबुझेर मैले मुख नखोलेको ।’

‘खै !! सधैंसँगै गइदिए हुन्थ्यो जस्तो गर्ने …. के.जी.एफ-२ हेर्न होस् कि पोर्तोमा फूटबल हेर्न होस्, सेर्रा दी ईस्त्रेल्ला… बिदामा डिनर… मलाई पनि त रहर लाग्छ- कसैले के खायौ, के गर्‍यौ, बिदामा के गर्छौ, आज कति राम्री देखिएकी भन्दियोस् भन्ने हुन्छ ।’ स्मारिकालाई कुरा कताबाट सुरु गरौं भएको छ ।

‘तिमीले अझै कुरा सुनेकै छैनौ । रोशनले कहिले अष्ट्रेलियाको पी.आर होल्डर केटीको कुरा आएको छ भन्छ । कहिले नेपालमा बीबीए फोर्थ इयर पढ्दै गरेको केटीको कुरा आएको छ भन्छ । कहिले बी.एस्सी नर्सिङ पढेको केटीको कुरा आएको छ भन्छ । उमेर ठूलो-सानो भयो भन्छ । तिमीले बेकारमा इनर्जी नचाहिने कुरामा खेर फ्याँक्दैछौ ।’

स्मारिकालाई लाज लाग्छ । ग्लानिको लाज । ‘किन यसरी सताएको होला’, मधुरो प्रश्न गरिन् ।

‘अनुहार त बाँदरको पनि मायालाग्दो हुन्छ । त्यसो भन्दैमा तिम्रो जिन्दगी नै होमिदिने खाल्डोमा ? डेनमार्कदेखि पोर्चुगलसम्म गरेको दुःख र संघर्षको कदर गरोस्, रेस्पेक्ट गरोस्’ मीनाले सम्झाई ।

‘हो मीना । एकचोटि माया लागेपछि त लाग्यो । विदेशमा बस्ने केटाहरू कराईमा तातेको तातो तेल जस्तो खरो भएका हुन्छन् । बैंस सबै विदेशमा स्ट्रगल गर्दै जान्छ । फिलिङ्गस् नै आउनुपर्दैन, कुनै केटी देख्नुपर्छ कहिले ओछ्यान बनाउँ भन्ने कुरा मानसपटलमा बारम्बार नाच्छ । मिल्ने भए आँखाले केटीहरूको शरीर एक्स-रे गरेरै गर्भवती बनाउँछन् ।’

‘हैट । यो त शिवजी भन्दा कडा भयो’, मीनाले भन्छे । दुवै सुनेर हाँस्छन् ।

…..दिक्क लाग्छ कहिलेकाहीं त ।

काममा पनि हेरेन भने यत्रो मुख लगाएर बस्छ ।’

‘न तिमीलाई जालमा पारिपो हाल्छु कि ! फसी हाली भने त यसो घुमाउँला भन्ने सुर हो । पोर्चुगल बसुन्जेल लिभिङ्ग टुगेदर बस्ने दाउ हो कि ? स्याल छ नि मान्छे त ! केटाहरूलाई चाहिने के हो अरू ? ध्यान अन्त त पटक्कै हुँदैन !’

गफकै सुरमा साँघुरा फुटपाथ हुँदै अर्को द रुअ अगुस्ता आइपुग्छन् । जता हेरे पनि झिलीमिली । ‘यो त पूरै फिल्म हेरे जस्तै भयो नि Û’ मुसुक्क हाँस्दै स्मारिकाले हातमा भएको मोबाइल फोनमा झिसमिसेको फोटो कैद गर्न टक्क उभिन्छे ।

‘रोशनको कुरा ?’ मीना स्मारिकाको मोबाइलले भित्र अट्न सकेको दृश्य तिर हेर्दै प्रश्न गरी ।

‘अब रोशनको कुरै घाँटीसम्म वाक्क आइसक्यो । म क्लियर छु । मिसयुज हुनबाट बचें…. ।’

फिल्ममा साँघुरो गल्लीबाट ठ्याक्क फराकिलो ठाउँमा पुगेको देखाउँछ नि ! हामी पनि त्यस्तै ।’

किङ जोसेफ-१ र घोडाको सालिक भएतिर पुग्छन् । दुवैको रङ कालो । तर घामले कालोलाई फुस्रो रङमा परिणत गरिदिएको छ । सालिकको मुनि उभिएर सेक्सोफोनमा सान्तानाको मारिया-मारिया भन्ने गीत बज्दैछ । त्यसैको वरपर श्रोता तथा दर्शक मोबाइलमा दृश्य कैद गर्दैछन् । कोही नाच्दैछन् । साँझ जस्तो नलाग्ने । निकै हृयापेनिङ ठाउँ छ । अधिकांश मानिस ठूलो गेट र पानी माथिको अबि्रल पुलको तस्वीर खिच्दैछन् ।

स्मारिका र मीना हाँस्दै उत्सव नै मनाउँछन् । नचाइले नै प्रष्ट थाहा हुन्छ कति धेरै खुसी छन् ।
दुवै मारिया-मारिया…. भन्ने गीतमा नाच्छन् ।
यी दुई नाचेको देखेर अरू पनि मिसिन्छन् । यहाँ एकैछिनमा माहोल जम्छ । जुन अघिसम्म थिएन । रमाइलो गरेको देख्ने बित्तिकै झुम्मिहाल्छौं । उत्सवको भोको छौं । प्यासी छौं ।
भिडियो खिच्छन् ।

मीनालाई स्मारिका डिस्टर्व छे भन्ने कुरा निकै अगाडिदेखि शंका थियो । तर कुनै बेला मौका परेन । स्मारिकाको आँखामा आज फेरि खुसीको चमक देख्दा आनन्द मानेकी छे । निकै समयदेखि स्मारिकाको मनमा रहेको अनुत्तरित भावनात्मक प्रश्नहरूको सँगालो मीनासँगको भेटले छर्लङ्ग बनाइदियो ।

लामो समयदेखि पेन्डिङमा राखेको फेसबुक रिक्वेस्ट स्मारिकाले निस्फिक्री एसेप्ट गरी ।

‘आमाले यो केटाको कुरा गर्नुभएको एक महिना भयो’, मीनालाई हेर्दै मुसुक्क हाँस्छे ।

‘यु बी कियरफुल दिस टाइम’, मीना हाँस्छे ।

मोबाइलमा दुवैले भिडियो खिचे । रोसियो खोला किनार, अबि्रल पुल, सेक्सोफोन बज्दै गरेको र नाच देख्दा जोर्बाको झल्को दिने । रमाउँदै नाचेको स्लो-मोसनको भिडियो इन्स्टाग्राममा अपलोड भयो । ‘यात्रा नै खुसी हो’ भन्ने हृयास ट्याग गर्दै छेउमा पानको ईमोजी राखे ।

भिडियो राखेको १० सेकेण्डमा रोशनको लब रियाक्ट मीनाको स्टोरीमा आउँछ ।

स्मारिकाकोमा सिन मात्रै… दुवै एकअर्काको मुखमा हेर्छन् ।

‘अब रोशनले पासपोर्टको र्फम भर्दा विवाहित भन्दै मीनाको नाम लेख्छ ….!’ मीना बोल्छे दुवै हाँस्छन् ।

याद छ त्यो डाइलग ‘चारतिर राइफल ताकेर मृग निशानामा पर्दैन । एउटैलाई निशाना लगाएर ताकेर बस्ने हो भने पक्कै जालमा मृग पर्छ !’ मीना र स्मारिका दुवै खित्का छाडेर हाँस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?