+
+

जनकपुरधाममा गठबन्धनका नेताले दिए नागरिकताको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते २०:३५

२४ वैशाख, जनकपुरधाम । शनिबार जनकपुरधामको तिरहुतिया गाछी प्राङ्गणमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता समस्या समाधान गर्ने आश्वासन दिएका छन् । मधेशमा नागरिकताको समस्या बर्षाैदेखि रहेको भन्दै उनीहरुले अब चाँडै त्यो समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

‘आमा बुवाले नागरिकता पाइसके छोराछोरीले पाएका छैनन्, कस्तो दुर्भाग्य !’ देउवाले भने, ‘नपाएका छोराछोरीले नागरिकता पाउँछन्, पाउँछन् ।’

माओवादी अध्यक्ष प्रचण्डले नेकपा एमालेका कारण नागरिकता समस्या समाधान हुन नसकेको आरोप लगाए । एमालेले सदन चल्न नदिँदा नागरिकता सम्बन्धी विधेयक पारित हुन नसकेको भन्दै अब एमालेले संसद अवरोध गरेपनि यो विधेयक पारित गर्ने बताए । ‘यो कुरा प्रधानमन्त्रीज्यूलाई पनि भनिसकेको छु’ उनले भने, ‘अब अवरोधका बीच पनि यो विधेयक पारित हुन्छ ।’

उनले दुई पटक संविधान संशोधनको प्रस्ताव दर्ता गराएपनि एमालेले नै संविधान संशोधन हुन नदिएको बताए ।

सभालाई सम्बोधन गर्दै नेताहरुले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताउन आग्रह गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामीको संज्ञा दिँदै उनीहरुले एमालेलाई परास्त गरी गठबन्धनलाई जिताउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले ओली अर्काे राजा ज्ञानेन्द्र बन्न खोजेर प्रतिनिधिसभ भंग गरेको बताए । उनले त्यसै कारण गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे ।

‘कुनै पनि हालतमा गठबन्धन जिताउनुपर्छ । गठबन्धन तोड्नुभएन’ देउवाले भने, ‘गठबन्धनको निर्णय भइसकेपछि सबैले मान्नुपर्छ र पार्टीको अनुशासनमा बस्नुपर्छ । नमान्नेलाई हामीले साधारण सदस्यबाट हटाएर कारवाही गरेका छौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै मिहिनेतपछि गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र जोगाउन गठबन्धनलाई जिताउनु जरुरी भएको बताए ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले संसदलाई भताभुंग बनाइदिने, संवैधानिक निकायलाई बर्बाद गरिदिने केपी ओलीविरुद्ध गठबन्धन बनेको भन्दै गठबन्धनलाई जिताउन सबैसँग आग्रह गरे ।

सत्तारुढ दलले चुनावी सभाको आयोजना गर्नुअघि र्‍याली निकालेको थियो । र्‍यालीको नेतृत्व गर्दै माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष यादवले आफ्ना उम्मेदवारका लागि मत मागेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार लालकिशोर साहसंगै एउटा गाडीमा सवार भएका दुबैले नमस्कार गरेर जनकपुरबासीसँग मत मागेका हुन् ।

अगाडि–अगाडि यी दुई नेता गाडीमा घुमिरहँदा पछाडि कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेका थिए । र्‍यालीमा अधिकांश भारतीय मोटरसाइकलको प्रयोग गरिएको थियो भने ठूला–ठूला साउण्डमा डिजे र अन्य साउण्ड सिस्टम बजाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?