+
+

फुटबल विवाद : दुई सातामा बल्ल बन्यो कार्यदल, कस्तो होला छानबिन ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ वैशाख २५ गते १८:५६

२५ वैशाख, काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य बनाएपछि नेपाली फुटबलमा देखिएको घटनाक्रमले करिब दुई साता छुन लाग्दा अखिल नेपाल फुटबल संघ एन्फाले बल्ल यस विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्व रथी भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय ‘समस्या, पहिचान र सुझाव’ कार्यदल गठन गरेको छ र उनीहरुलाई एक साताको समसयसीमा दिइएको छ ।

बन्द प्रशिक्षणबाट बाहिर रहेका १० खेलाडीले अघिल्लो साता नै घटनाबारे छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)मा गुनासो गरे पछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत बुधबार नै छानबिन समिति गठन गर्ने बताएका थिए । तर, एक सदस्यीय समिति बनाउने निर्णय विवादित बनेपछि एन्फाले आफ्नै वेवसाइटमा राखेको त्यस सम्बन्धी समाचार प्रकाशित गरेको केहि मिनेटमै डिलिट गरेको थियो ।

अहिले भने कार्यसमिति बैठकबाट भिक्टरकै संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ । अब उक्त कार्यदलले आफ्नो जिम्मेवारी कसरी पूरा गर्छ भन्ने हेर्न बाँकी छ ।

नेपालकै चर्चित खेलभित्रको विवाद आममानिसका लागि स्वभाविक चासो रहन्छ । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रहेका खेलाडीले प्रशिक्षण नै छाड्नुपर्ने सम्मको स्थिति आउनु अप्रिय थियो । प्रशिक्षकको खराव कार्यशैली र दुर्व्यवहारबाट आजित भएको भन्दै खेलाडीले बन्द प्रशिक्षण क्याम्प छाडेपछि व्यवस्थापनमा चुकेको भनेर एन्फा नेतृत्वको पनि आलोचना भइरहेको छ ।

एक महिनापछि नेपालले एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्दैछ । प्रमुख खेलाडीले टिम छाडेपछि उनीहरु प्रशिक्षणमा फर्किन्छन् कि नयाँ खेलाडीलाई एसियन कपमा अवसर दिइन्छ ? भन्ने अहिले धेरैको चासो छ । प्रशिक्षक अल्मुताइरीले ती खेलाडीलाई प्रशिक्षणमा सामेल नगराउने प्रष्ट पारिसकेका छन् ।

गल्ती कस्को ? दोषी को ? दोषी प्रमाणित भए के कारवाही होला ? छानबिनबाट प्रशिक्षक दोषी देखिए उनलाई के कारबाही हुन्छ ?, खेलाडी दोषी देखिए उनीहरुको भविष्य के रहन्छ ? लगायतका जिज्ञाशाहरु अहिले फुटबलवृत्तमा छ ।

एन्फाले बनाएको कार्यदलले यस्तै प्रश्नको उत्तर खोज्नेछ भन्ने अपेक्षा अहिले सबैले राखेका छन् ।

प्रशिक्षककै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको १० खेलाडीले सार्वजनिक रुपमा भनिसकेका छन् । खेलाडीहरु भन्छन्, ‘अत्ती नै भएर छाडेका हौं । हामी बसेको भए पनि निकाल्थे । जायज कुरा गर्दा पनि प्रशिक्षकले कुरा सुन्न चाहनुभएन । त्यसैले निस्कियौँ । अब उचित छनविन होस् र जो दोषी देखिए कारबाही होस् ।’

कार्यदलले यस विषयमा सत्य तथ्य छानविन गरोस् भन्ने खेलाडीको चाहना छ । ‘निष्पक्ष छानविन होस् भन्ने हाम्रो माग हो,’ छानविन समिति गठन गरेपछि एकजना खेलाडीले अनलाइनखबरसँग भने ।

आइतबारको कार्यसमिति बैठकमा राष्ट्रिय टिमका व्यवस्थापकको राजीनामासमेत माग गरिएको थियो । तर, उनले रानजीनामा दिन अस्वीकार गरेको वैठकमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए ।

विवादको घटना सार्वजनिक भएपछि खेलाडीले पत्रकार सम्मेलन गरेका थिए । त्यसपछि प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै १० खेलाडीलाई एएफसी कप छनोटका लागि टिममा नराख्ने र उनीहरुलाई कारबाही पनि नगर्न भनेका थिए । अहिलेको घटना क्रमले गर्दा नेपाली फुटबलको उपलब्धी र सकरात्मक पाटो नै छायाँमा परेको छ ।

१० खेलाडी बाहिर भएपछि प्रशिक्षकले नयाँ खेलाडी थप्दै अहिले पनि निरन्तर प्रशिक्षण गराइरहेका छन् ।

प्रशिक्षक अल्मुताइरीले १७ नयाँ खेलाडी थप्दा बोलाइएका विकेश कुथु प्रशिक्षणमा नगएपछि भारतीय आर्मीका कार्यरत भविन्द्र मल्ल ठकुरीलाई प्रशिक्षणमा बोलाएका थिए । उनले पनि केही दिन प्रशिक्षण पछि आफू विवादमा फस्न नचाहने र भविष्यलाई दाउमा राख्न नसक्ने भन्दै प्रशिक्षण छाडिसकेका छन् ।

पछिल्लो पटक टिममा बोलाइएका खेलाडीहरु अधिकांश नयाँ छन् र राष्ट्रिय टिममा धेरै अनुभव छैन ।

एसिया कप छनोट आउन आजको मितिबाट अब एक महिना मात्र बाँकी छ । त्यसअघि नेपालले कतारमा अगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै समस्या, पहिचान र सुझाव कार्यदलले प्रतिवेदन बुझाउनुपर्नेछ ।

तर, अहिलेको अवस्थामा बन्द प्रशिक्षणमा रहेका अन्य खेलाडीहरु नै मानसिक रुपमा बलिया छैनन् । सँगै टिमका खेलाडी बाहिर हुँदा भित्रकै खेलाडी पनि पूर्ण रुपमा सन्तुष्ट नहुन सक्छन् ।

नेपाली फुटबलमा लामो समयदेखि जोडिएका एक जना प्रशिक्षकले अहिले भएको घटना नराम्रो भएको बताउँदै यसले नेपाली फुटबललाई भविष्यमा समेत असर पार्न सक्ने बताउँछन् ।

‘नेपाली फुटबलमा यो नराम्रो घटना हो । यो हुन हुन्थेन । अब सत्यतथ्य आउनुपर्‍यो । के भएको हो ? को दोषी हो ? किन यस्तो भएको हो ?,’ ती प्रशिक्षकले थपे, ‘१० खेलाडी किन एकैपटक हिँडे ? उनीहरु सबै लामो समयदेखि खेलेका खेलाडी छन् । एक खेलाडी बनाउन कति समय लाग्छ । यसले पक्कै पनि नेपाली फुटबललाई धेरै असर गर्छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?