+
+

सत्तारुढ निकट ५ पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ८:४०

२६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आयोगले जारी गरेको बुलेटिन अनुसार, उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

ती पाँच संगठनका अध्यक्षले एक संयुक्त विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका थिए । आचारसंहितामा सञ्चार क्षेत्र सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेकोमा त्यसविपरीत काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरुको पेशागत संगठनको तर्फबाट तपाईंले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन ? स्वतन्त्र पत्रकारको पेशागत संगठनको अध्यक्ष÷सचिवले कुनै अमुक राजनीतिक दलको÷दलहरूको पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ?’ स्पष्टीकरणमा भनिएको छ, ‘कुनै अमुक उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको संघ÷संगठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैन ? पत्रकारको पेशागत संगठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ, हुँदैन ? पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन ?’

आयोगले विज्ञप्ति हटाउन समेत उनीहरुलाई निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?