+
+

विद्यालयमा हिउँदे र वर्षे विदा घटाउने विषयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते २०:०९

२६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई दिन विद्यालय बिदा दिँदा पढाइ हुने समय घट्न नदिन अपनाउनुपर्ने उपायहरुको विषयमा छलफल सुरु गरेको छ ।

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि विद्यालयहरु पनि हप्तामा दुई दिन विदा हुनेछन् । विद्यालय दुई दिन विदा भए पनि एक हजार २४ पाठ्य घन्टा पूरा गर्ने र १८० दिन विद्यालय सञ्चालन गर्ने विषयमा छलफल सुरु गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

‘सरकारले यो परीक्षणकाल भनेको छ । यो परीक्षणकाल कहिलेसम्म जाला अथवा वर्षभरी जाँदा आइतबार समेत बिदा हुँदा एक हप्ताको ६ घन्टा पठनपाठन बन्द हुन्छ । त्यो समयलाई कसरी कभर गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने, १८० दिन पठनपाठन हुनुपर्नेछ । त्यस्तै एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने छ । त्यस्तैगरी हिउँदे र वर्षे बिदा ४५ दिन, स्थानीय बिदा पाँच दिन लगायतका व्यवस्था छ । तर साप्ताहिक विदा नै दुई दिन हुँदा विद्यालय १९२ दिनमात्र खुल्नेछ भने १७३ दिन विद्यालय बन्द हुनेछ ।

छलफल भईरहेका विकल्पहरु

मन्त्रालय र सरोकारवालाबीच साढे नौ बजेदेखि साढे चारबजेसम्म विद्यालय खोल्ने, हिउँदे र वर्षे विदा कटौती गर्ने, शुक्रबार पुरै समय पढाउने लगायतका उपायमाथि छलफल भइरहेको प्रवक्ता शर्माले बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारील शुक्रबार चाँडै छु्ट्टी नदिने, हिउँदे र वर्षे विदा ४५ दिनबाट ३० दिनमा झार्ने विषयमा छलफल भइरहेको बताए ।

काठमाडौं महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले शिक्षा मन्त्रालय कुनै निचोडमा पुगेपछि त्यही अनुसार आफूहरुले विदा कार्यान्वयन गर्ने बताए ।

‘सम्भवत शुक्रबार पुरै समय पढाउने र हिउँदे र वर्षे विदा कटौती गरेर पाठ्यभार पुरा गर्ने गरी निर्णउ गर्छ होला’ उनले भने ।

दुई दिन बिदा दिने सरकारको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालय समय बिहान नौ बजेदेखि र बेलुका साढे पाँचबजेसम्म बनाउन सकिने बताएका थिए ।

त्यसरी समय बढाउँदा टाढा विद्यालय धाएर पढ्नुपर्ने बाध्यता भएका विद्यार्थीहरु मारमा पर्ने भएकोले समय बढाउन अव्यवहारिक हुने सरोकारवालाले बताएका थिए ।

ग्रामीण क्षेत्रका बालबालिका पढ्का लागि टाढाको विद्यालय जानुपर्ने हुनाले विद्यालय समय नबढाई अन्य विदा कटौती गर्नुपर्ने शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् । उनले भनिन् ‘बरु हाम्रो वर्किङ डेज बढाउन सुझाव दिएका छौं, शुक्रबार पुरै समय पढाउने र हिउँदे वर्षे विदा कटौती गर्न सुझाव दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?