+
+

देउवालाई पार्टीभन्दा गठबन्धन प्रिय

पार्टीभित्र असन्तुष्टि र एमालेको चर्को आरोपबीच सभापति देउवाले भने गठबन्धनको पक्षमा लगातार निर्णय गराइरहेका छन् । ‘पार्टीभित्र गठबन्धन गरेकैले कांग्रेस केन्द्रीय समितिमा ८२ प्रतिशत केन्द्रीय सदस्य जितेको’ तर्क गर्ने देउवाले केन्द्रीय कार्यालयबाट गठबन्धनको पक्षमा निरन्तर वक्तव्य जारी गरिरहेका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०७९ वैशाख २७ गते ६:५९

२७ वैशाख, काठमाडौं । नेकपा एमालेले सार्वजनिक गरेको ६७ बुँदे अपिलको खण्डनमा नेपाली कांग्रेसले ४२ बुँदे प्रेस नोट सार्वजनिक गरेको छ । प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी एमाले अपिलको खण्डनमा प्रेस नोट जारी गरेका हुन् ।

तीन खण्डमा विभाजित प्रेस नोटको १५ नम्बर बुँदासम्म कांग्रेस नेतृत्वमा २०४८ साल यता भएका राम्रो कामको विवरण समेटिएको छ । त्यस पछिका २२ बुँदा एमालेको आलोचनामा खर्चिएको छ भने अन्त्यमा मतदातासँग मतको अपेक्षा गरिएको छ ।

एमालेकै शैलीमा कांग्रेसले पनि आफूले नजिते संविधान, लोकतन्त्र, विकास निर्माणदेखि सामाजिक न्यायसम्म खतरामा पर्ने निष्कर्ष प्रस्तुत गरेको छ । ‘नेपाली कांग्रेस जनताको मौलिक अधिकार, राष्ट्रहित, कानूनी राजको सदैव हिमायती रहँदै आएको छ । कहिल्यै बाधक बनेको छैन’, प्रेस नोटमा उल्लेख छ ।

एमाले घोषणापत्रको जवाफ घोषणापत्रबाटै र अपीलको जवाफ प्रेस नोटबाट दिएको कांग्रेस, पार्टीभित्र र बाहिर चर्को रुपमा उठेको प्रश्नबाट भने पञ्छिएको छ । आफैमा बलियो शक्ति कांग्रेसले पार्टीप्रति निष्ठावान कार्यकर्ताको उम्मेद्वार बन्ने आकांक्षा दबाएर गठबन्धन गर्नुपर्ने प्रश्न नेतृत्व सामू पेचिलो छ । तर एमाले आरोपको खण्डन गर्न एक दिन ढिलाइ नगरेको कांग्रेसले अन्तिम पत्रकार सम्मेलनमा पनि गठबन्धनकै बचाऊ गरेको छ ।

‘..नेपाली कांग्रेसका उम्मेद्वार भएका स्थानमा रुख चिन्हमा र सत्ता गठबन्धनबाट सहमतिमा उम्मेद्वारी तय भएका स्थानमा सम्बन्धित पार्टीका उम्मेद्वारलाई मतदान गरी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउन हार्दिक अनुरोध गर्दछौं’, प्रेस नोटमा भनिएको छ । चुनाव नजिकिएकाले गठबन्धनविरुद्ध पार्टीभित्र उठेको स्वर तुलनात्मक शान्त बनेपनि विपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस कार्यकर्ताको मनोविज्ञान बिथोल्ने गरी गठबन्धनबारे निरन्तर भाषण गरिररहेका छन् ।

२५ वैशाखमा भरतपुरमा आयोजित चुनावी सभामा ओलीले रुख चिन्हमा मतदान गर्न नपाएका कांग्रेस कार्यकर्तालाई मन थाम्न कठिन अभिव्यक्ति दिए । गठबन्धन टिकाउँदा कांग्रेसलाई नै घाटा पुग्ने हिसाब सुनाउँदै ओलीले भनेका थिए, ‘२० वर्षसम्म छोरी बोक, ज्वाइँ बोक, भाइ बोक, भतिजो बोक ।’

भरतपुर महानगर पालिका सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्रको भागमा यसपटक पनि परेको छ । माओवादी केन्द्रले रेनु दाहाललाई मेयरको उम्मेद्वार बनाएपछि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुत्री जिताउन कांग्रेसको साथ लिएको आरोप लगाउने गरेका छन् । सँगै, प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र कांग्रेसलाई पनि भरतपुरको उदाहरण दिएर गठबन्धन कमजोर बनाउने प्रयत्नमा अध्यक्ष ओली देखिन्छन् ।

अध्यक्ष ओलीसहित एमाले नेताहरुले गठबन्धनकै कारण कांग्रेसभित्र देखिएको असन्तुष्टिलाई चुनावी नारा बनाइरहेका छन् । ‘देशको समृद्धि र जनताको सुखलाई कांग्रेस कोरा सपना र उल्टो विकास भन्छ । ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको परिवार, नातेदार, गुट र अवसरवादीको हित र सत्ताभोग नै हो’, आइतबार जारी एमाले अपीलमा लेखिएको छ । एमालेले गठबन्धनकै कारण कांग्रेसको लोकतान्त्रिक निष्ठामाथि समेत प्रश्न उठाउने गरेका छन् ।

०७४ को चुनावमा पनि माओवादीसँग गठबन्धन गरी भरतपुरमा कांग्रेस नेतृत्वले रेनु दाहाललाई मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको थियो । यसपटक पनि त्यही नियति दोहोरिएपछि एमालेका निम्ति कांग्रेस कार्यकर्ता भड्काउने सजिलो विषय भेटाएको छ । तर चितवन कांग्रेसकै असन्तुष्टि हुँदा पनि देउवा टसमस छैनन् ।

२२ वैशाखमा भरतपुरमा आयोजित चुनावी सभामा गठबन्धन कांग्रेसकै हितमा भएको तर्क गरेका देउवाले भोलिपल्ट काठमाडौंमा आयोजित सभाबाट भने रेनु आफ्नै उम्मेद्वार भएको तर्क गरे । ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुहोस् भनेर मैले भनेको हो’, भरतपुर छोड्न प्रचण्ड तयार भएपनि आफूले रोकेको देउवाको भनाइ थियो । अझ अगाडि बढेर प्रधानमन्त्री देउवाले गठबन्धनको पक्षमा नारा समेत लगाए । ‘फेरि पनि गठबन्धन, जिन्दावाद, जिन्दावाद, जिन्दावाद । गठबन्धन सफल पार्नुपर्छ, पार्नुपर्छ, पार्नुपर्छ’, शान्तिबाटिकामा आयोजित सभा समापन गर्दै देउवाले भनेका थिए ।

गठबन्धनप्रति प्रतिबद्ध

भरतपुर महानगरमा एमाले जतिकै बलियो कांग्रेसले फेरि रेनु दाहाललाई नै उम्मेद्वार स्वीकारेपछि पूर्वउपमेयर एवम् पूर्वराष्ट्रियसभा सदस्य जगनाथ पौडेल कांग्रेसबाट विद्रोही उम्मेद्वार छन् । उनलाई रोक्न सभापति देउवाले ठूलै प्रयत्न गरे ।
गृहमन्त्री बालकृष्ण खाँण पौडेललाई सम्झाउन तीन दिन भरतपुर बसे भने प्रधानमन्त्री देउवा दुई पटक पुगे । तर पौडेलको उम्मेद्वारी फिर्ता हुन सकेन । गठबन्धनले प्रतिष्ठाकै विषय बनाएको भरतपुरको धेरै प्रचार भएपनि अन्यत्र पनि उस्तै असन्तुष्टि छ । सभापति देउवाविरुद्ध नाराबाजी र प्रदर्शन सामान्य बन्न पुग्यो । संस्थापन इतरका नेता डा.शेखर कोइराला सहित कांग्रेस नेताहरू लगातार सार्वजनिक अभिव्यक्ति मार्फत् गठबन्धन नगर्न खबरदारी गरे ।

सरकार बनाउन गठबन्धन गरेपनि कांग्रेस कार्यकर्तालाई रुख बाहेक अन्यत्र मतदान गर्ने परिस्थिति सिर्जना गर्न नहुने तर्क उनीहरुले गरेका थिए । तर सभापति देउवाले भने पार्टीभित्रको फरक मत सुनेनन् । २८ चैतमा देशैभर साझा उम्मेद्वार चयन गर्ने गठबन्धनका शीर्ष नेताहरुको निर्णय प्रधानमन्त्री देउवाले बालुवाटारबाटै गराए । ११ वैशाखमा ६ महानगर र ११ उपमहानगरमा सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भागबण्डा भयो ।

भागबण्डा गर्दा ०७४ को चुनावमा दोस्रो शक्ति बनेको कांग्रेसले वीरगञ्ज जसपालाई र पोखरा एकीकृत समाजवादीलाई छोड्यो । वीरगञ्ज महानगर पालिका र जनकपुर उपमहानगर पालिकामा जसपाको उम्मेद्वारलाई मतदान गर्ने निर्णयप्रति विमलेन्द्र निधिले चर्को असन्तुष्टि जनाए । सभापति देउवाविरुद्ध जनकपुरमा प्रदर्शन नै भयो । तर सभापति देउवा गठबन्धनको निर्णयप्रति अडिग रहे ।

२२ वैशाखदेखि देउवा सत्ता गठबन्धनका शीर्ष नेताहरुसहित संयुक्त चुनावी सभा सम्बोधन गर्दै देशदौडाहामा छन् । तर सभापति देउवालाई पार्टीभित्रै नेताहरुले साथ दिइरहेका छैनन् । भरतपुरको चुनावी सभा सम्बोधन गर्न देउवाले इतर समूहका नेता डा.शेखरलाई बोलाएका थिए । तर कोइराला सहित उनी निकट नेताहरू गठबन्धनको संयुक्त सभामा सहभागी भएका छैनन् । पत्नी सिर्जना मेयरको उम्मेद्वार भएकाले प्रकाशमान सिंह काठमाडौंको सभामा सहभागी भएका थिए ।

त्यसबाहेक बुटवल, जनकपुर, पोखरा र धनगढीमा आयोजित सभामा कांग्रेस नेताहरू सभापति देउवालाई साथ दिएका छैनन् । जसरी पनि गठबन्धन टिकाउनुपर्ने पक्षमा रहेका रामचन्द्र पौडेलले भने देउवालाई बलियो साथ दिएका छन् । तर गठबन्धनका नेताहरू सहभागी नभएको सभामा भने सभापति देउवासँग मञ्च शेयर गर्न डा.शेखर समूहका नेताहरू सहमत देखिन्छन् । २१ वैशाखमा विराटनगरको सभामा कांग्रेसका लगभग सबै शीर्ष नेता सामेल थिए ।

पार्टीभित्र असन्तुष्टि र एमालेको चर्को आरोपबीच सभापति देउवाले भने गठबन्धनको पक्षमा लगातार निर्णय गराइरहेका छन् । ‘पार्टीभित्र गठबन्धन गरेकैले कांग्रेस केन्द्रीय समितिमा ८२ प्रतिशत केन्द्रीय सदस्य जितेको’ तर्क गर्ने देउवाले केन्द्रीय कार्यालयबाट गठबन्धनको पक्षमा निरन्तर वक्तव्य जारी गरिरहेका छन् । गठबन्धनबाट साझा उम्मेद्वार उठाउने निर्णयबाट असन्तुष्ट बनेकाहरूलाई १९ वैशाखमा कांग्रेस नेतृत्वले निष्काशनकै निर्णय गर्यो ।

पार्टी निर्णय विपरीत नजान गठबन्धनका दलहरुबाट संयुक्त अपिल गर्दा पनि विद्रोह भएपछि कांग्रेसले बागी उम्मेद्वार, प्रस्ताव र समर्थक पार्टी सदस्यबाट स्वतः निस्काशित भएको सूचना जारी गरेको थियो । निस्काशनको निर्णयले गठबन्धनका उम्मेद्वारलाई लाभ नपुग्ने देखेपछि फेरि २२ वैशाखमा अर्को बक्तव्य जारी भयो । यो बक्तव्यबाट भने विद्रोही उम्मेद्वारलाई मनाउने प्रयत्न गरिएको थियो ।

‘पार्टीले समर्थन गरेका उम्मेद्वारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेद्वारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेद्वार र पार्टी हित विपरीत कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेद्वारको राय समेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यबाट निलम्बन गर्न सक्ने..’, बक्तव्यमा भनिएको थियो ।

तर पनि विद्रोह उम्मेदवार फिर्ता भएनन् । फेरि सानेपामा गठबन्धन दलका नेताहरु सम्मिलित निर्वाचन परिचालन समितिको बैठक बसेर विद्रोही उम्मेद्वार फिर्ता गराउन पहल गर्ने निर्णय गर्यो ।

अनेक प्रयत्न भएपनि विद्रोही र असन्तुष्ट मनाउँदै गठबन्धनबाट साझा उम्मेद्वार बनाउने निर्णय भने ठूला शहर बाहेक अन्यत्र कार्यान्वयन हुन सकेन । उम्मेद्वार संख्याले पनि एमाले पराजित गर्ने उद्देश्यले स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय कार्यान्वयनमा समस्या देखिएको प्रष्ट हुन्छ । निर्वाचन आयोगका अनुसार, ७५३ मध्ये ६३१ स्थानीय तहको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी परेको छ । यो भनेको १२२ स्थानमा मात्रै कांग्रेसको उम्मेद्वार छैन ।

तर गठबन्धनले भने ०७४ को नतिजा र वर्तमान शक्तिका आधारमा भागबण्डा गर्ने निर्णय गरेको थियो । सत्तारुढ दलहरुबाट स्थानीय तहको प्रमुख पदमा परेको उम्मेद्वारी संख्याले अझ गठबन्धनको साझा उम्मेद्वार बनाउने रहर अधुरो बन्न पुगेको प्रष्ट हुन्छ । गठबन्धनबाट १,६४० जनाको प्रमुख पदमा उम्मेद्वारी पर्नु भनेको सत्तारुढभित्रै चर्को प्रतिश्पर्धा हुनु हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका एक नेता, प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी सभापतिभन्दा पनि बढी गठबन्धनका नेता बन्न पुगेको बताउँछन् । ‘कांग्रेसलाई सत्ता ठूलो कुरा होइन । पटकपटक बहुमत पाएका दल हो, कांग्रेसका ती नेता भन्छन्, ‘मुख्य कुरा लोकतन्त्रप्रतिको निष्ठा हो । पार्टी जोगाउने कुरा प्रमुख हो ।’ तर सभापति देउवा भने जस्तोसुकै परिस्थितिमा पनि आफूलाई पाँचौं पटक प्रधानमन्त्री बनाउन सहयोग गरेका दलहरुसहितको गठबन्धन जोगाउने एकसूत्रीय अडानमा देखिएको ती नेता बताउँछन् ।

०७४ कै निर्वाचनमा कांग्रेस एमालेसँग हाराहारीको शक्ति हो । स्थानीय चुनावमा एमालेले २९४ स्थानीय तह जित्दा कांग्रेसले २८ सिट मात्रै कम जितेको थियो । वाम गठबन्धन गरेर भएको प्रतिनिधिसभा चुनावमा पनि एमाले भन्दा ४५ हजार मात्रै कम मत कांग्रेसले पाएको थियो ।

 

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?