+
+

रेनु दाहालको दाबी : लोकप्रिय मतका साथ जित्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २०:२०

२७ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ । एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गटबन्धनलाई सहज छैन । तर पछिल्लो समयमा आफ्नो पक्षमा कांग्रेसका नेताहरू खुल्दै गएकाले माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई केही राहत महसुस भएको छ । भरतपुर महानगरमा विकासको राम्रा काम गरेकाले लोकप्रिय मतका साथ चुनाव जित्ने रेनुको दाबी छ ।

प्रस्तुत छ, मेयरकी उम्मेदवार दाहालसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी :

चुनावी प्रचारप्रसारको अन्तिम क्षणतिर हुनुहुन्छ, कस्तो छ अवस्था ?

गठबन्धनको उम्मेदवार समयमा टुंग्याउन समस्या भयो । पालिका र वडाहरू मिलाउँदा समय लियो । यसले गर्दा चुनाव प्रचार–प्रसारमा जान केही ढिला भएको छ । तर जनताको बीचमा पुगिरहेका छौं । सबै वडामा कोणसभा गरेर घरदैलो भइरहेको छ ।

आम मतदाताको बुझाइ विकासका लागि रेनु दाहाललाई एकपटक फेरि मत दिनुपर्छ भन्ने पाएकी छु ।

तपाईं आफैंले दोस्रोपटक मेयर हुन रहर छैन भन्नुभएको थियो । मेयर नछाड्न कांग्रेसमा चर्को दबाव थियो । यो सबका बावजुद फेरि किन उम्मेदवार बन्नुभयो ?

व्यक्तिगत हिसाबले भन्ने हो भने म मेयर दोहोरिन खोजेकी थिइनँ । राजनीतिक रूपमा माथि जाने, सांसद, मन्त्री हुन ठूलो कुरा थिएन । तर भरतपुरमा आफूले अघि सारेका योजनाहरूलाई पूर्णता दिन दोहोरिनुपर्ने अवस्था आयो । स्थानीय तहमा काम गर्न चुनौतीपूर्ण छ, मैले त्यही चुनौती रोजें ।

तपाईंलाई मेयर छाड्दा कांग्रेसभित्र देखिएको विवादले चुनावी नतिजालाई असर पार्ला नि ?

केही न केही असर त पक्कै गर्छ । यो अवस्था सम्हाल्न पनि समय लाग्यो । यहाँको सबै शक्ति त्यसमा लगाउनु परेको नै छ । समय त्यता बढी खर्च गर्दा मतदाताको बीचमा पुग्न कठिन भयो । तर अहिले केही सम्हालिएको छ, कांग्रेसको नेतृत्व पनि प्रष्ट भएको छ ।

किनकि तालमेल दया–मायाले होइन, राष्ट्रिय राजनीतिक आवश्यकताले गठबन्धन बनेको हो ।

म पाँचदलीय गठबन्धनको साझा उम्मेदवार र महिला भएको हिसाबले पनि मेरो पक्षमा राम्रो माहोल बनेको छ । युवाको मन जितेकी छु, सबैको साथ र सहयोग रहनेछ । १० हजार त लोकप्रिय मत नै आउँछ ।

तर तपाईंलाई जिताउन भरतपुरमा राज्यशक्तिको चरम दुरुपयोग भयो भन्ने छ नि !

चुनाव भरतपुरकेन्द्रित भएको छ, मलाई केन्द्रमा राखेर यस्तो भएको हो जस्तो लाग्दैन । राजनीतिको म त एउटा फुच्ची हो, रेनु दाहाल व्यक्ति केही हैन, पाँचदलीय गठबन्धनको प्रतिष्ठाको विषय बनेको छ । रेनु दाहाललाई कसरी हराउने र कसरी जिताउने भन्ने प्रतिष्ठाकै विषय बनेको छ । एकातिर वाम लोकतान्त्रिक गठबन्धन छ भने अर्कोतिर एमाले राप्रपाको अर्को गठबन्धन छ । एउटाले अर्कोलाई हराउन आ–आफ्नो ढंगले लागिरहेका छन् । त्यही सिलसिलामा पाँचदलीय गठबन्धनको हिसाबले नेताहरू भरतपुर आउनुभएको हो, बाहिर चर्चा गरिए जस्तो भरतपुरमा राज्यशक्तिको दुरुपयोग भएको छैन ।

भरतपुरको स्थानीय तहको चुनाव राष्ट्रिय राजनीतिमा चर्चामा हुने गरेको छ किन यस्तो हुन्छ जस्तो लाग्छ ?

अध्यक्ष कमरेड प्रचण्ड यही (चितवन) जिल्लाको हुुनुहुन्छ । अध्यक्ष कमरेड प्रचण्डको राष्ट्रिय राजनीतिमा भूमिका भएकै कारणले धेरैले भरतपुरको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । कामका हिसाबले पनि भरतपुर चर्चामै छ ।

अघिल्लो पटक निकै कम मतान्तरले जित्नुभयो, यसपटक कांग्रेसबाटै स्वतन्त्र उम्मेदवार छन् भने एमालेले राप्रपासँग गठबन्धन गरेको छ । चुनौती थपिएको अनुभूति भा’छ ?

एमालेले राप्रपासँग तालमेल गर्दा चुनौती त थपिने नै भयो । तर पहिलाको जस्तो मत क्रस हुन्छ जस्तो लाग्दैन । त्यतिबेला छोटो समय र आक्रोश थियो । यसपटक देशव्यापी गठबन्धन भएको छ, भरतपुरमा पनि वडा तहसम्म गठबन्धन बनेको छ । त्यसैले त्यतिबेलाभन्दा अहिले चुनाव जित्न सहज हुने देख्छु ।

त्यसको आधार के ?

म जनतामा परीक्षण भएर आएकी छु । भरतपुरको मेयर रहँदा मैले गरेका काम नै जितका आधार हुन् । जनतालाई खुसी बनाउने प्रयास गरें, कसैलाई पक्षपात गरिनँ । जनताको तहबाट आएका हरेक काम गरें । महानगरमा भ्रष्टाचार, अनियमितता र बेथिति भएन । कसैले प्रश्न गर्न नसक्ने अवस्था छ । महानगरको बेरुजु अरूको भन्दा कम छ । राजस्व संकलनको लक्ष्य भेट्टाएका छौं । एक महिला मेयर भएर कामका हिसाबले मैले पाँच वर्ष कार्यकाल पूरा गर्दा जनताको बीचमा केही म्यासेज पक्कै गएकै छ । विकासको, कामको नेतृत्व लियो भन्नेछ । चुनावी अभियानका क्रममा जनताको घरदैलोमा जाँदा निकै उत्साह पाएकी छु । विकासका लागि रेनु दाहाल भन्ने पाएकी छु ।

म पाँचदलीय गठबन्धनको साझा उम्मेदवार र महिला भएको हिसाबले पनि मेरो पक्षमा राम्रो माहोल बनेको छ । युवाको मन जितेकी छु, सबैको साथ र सहयोग रहनेछ । १० हजार त लोकप्रिय मत नै आउँछ ।

भरतपुरमा काम गरेकी छु भन्नुहुन्छ, तर दिगो विकास हुन सकेन भनेर आलोचना छ नि ?

हामी निर्वाचित भएर आएपछि रणनीतिक योजनासहित विकासको खाका बनाउने क्रममा विज्ञ, बहालवाला सचिव लगायत सबैलाई बेलाएर राय–सल्लाह लिएका थियौं । भरतपुरको स्मार्ट सिटी गुरुयोजना शहरी विकास मन्त्रालयको सहयोगमा बनाएका छौं । राप्ती नारायणी तटबन्धनको डीपीआर बनायौं, नारायणी किनारलाई सि–ब्रिजको रूपमा लैजाने भनेर योजना बनायौं ।

सिटी हलको काम भरहेको छ । रिंगरोडको समग्र डीपीआर बनेको छ । रंगशाला बन्दैछ । उद्योग ग्रामहरू बनाएका छौं । गुरुयोजना बमोजिम दिगो विकासको लक्ष्य अनुसार महानगरपालिका हुन आवश्यक सूचकका आधारमा अगाडि बढेका छौं । पूर्वाधारका योजनामा दिगो विकासको लक्ष्य भन्दा विपरित छैन ।

पाँच वर्षमा तपाईंले गर्न नसकेका काम के–के हुन् ?

मैले भनेको भन्दा धेरै काम गरेकी छु । खानेपानी, सडक पूर्वाधारको क्षेत्रमा काम गरेकी छु । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौं । तर केही योजनामा जनताले देखिने गरी काम भएन ।

जस्तो, फोहोर व्यवस्थापन । यो टड्कारो आवश्यकता हो, हाम्रो प्राथमिकतामा पनि छ । कोरियन सरकारको साझेदारीमा १ अर्ब २५ करोड बजेट सुनिश्चितता गरेका छौं, जग्गाको व्यवस्थापन पनि भएको छ । तर अरू काम निर्वाचनपछि अघि बढ्छ । नारायणी नदीमा सिग्नेचर पुलको काम सम्पन्न हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?