आज बिहानै राष्ट्रिय क्रिकेटर नेरी थापाको फेसबुकमा भारोत्तोलन राष्ट्रिय च्याम्पियन सञ्जु चौधरीको निधनको खबर देखेपछि मैले केही सोच्नै सकिनँ । हातखुट्टा काँपे, पानी पिउन पनि सकिनँ ।
अर्को रिपोर्टिङका लागि तयार हुँदै थिएँ । तर सञ्जुसँगको भेट र कुराकानी मात्र दिमागमा आइरहे । हिजै समय लिइसकेको भएर मात्र, नत्र म काम गर्न नसक्ने अवस्थामा पुगिसकेकी थिएँ ।
दुई वर्षको पत्रकारिताका दौरान मैले सञ्जुसँग यसअघि भेटेको थिइनँ । यद्यपि १३ औं दक्षिण एसियाकी स्वर्ण विजेता सञ्जुलाई फलो गरिरहेकी थिएँ ।
आसन्न १९ औं एसियाली खेलकुदका लागि छनोट भएपछि हामीले उनको करिअर र एसियाली खेलकुदको लक्ष्यबारे कुराकानी गर्न समय लियौं । अघिल्लो साता मात्र अनाइनखबरका लागि रिर्पोटिङका क्रममा भएको भेटमा कुराकानी गर्दा सञ्जुले यति छिट्टै सबैलाई छाडेर जान्छिन् भन्ने कल्पना पनि गरेको थिइनँ । तर, तीन घण्टाको कुराकानीका क्रममा उनी कुनै न कुनै तनावमा छिन् भन्ने मेसो चाहिँ पाएकी थिएँ ।
भेट हुनुअघिसम्म उनले मलाई धेरै नै सिनियर सोचेकी रहिछन् । भेटेपछि थाहा भयो, हामी एउटै उमेरका रहेछौं । पहिलो भेटमै उनले मसँग साथीजस्तो व्यवहार गरिन् । छोटो समयमै म र उनीबीच पत्रकार र खेलाडीभन्दा साथीको सम्बन्ध बढी भएको थियो । २३ वर्षिया सञ्जुले व्यक्तिगत जीवनका केही अप्ठ्याराबारे मसँग पहिलो भेटमै अलिअलि संकेत गरेकी थिइन् ।
उनले खेल करिअरमा निरन्तरता दिन पनि गाह्रो भएको बताएकी थिइन् । यद्यपि, उनले निजी जीवनको कुरा धेरै खोतल्न चाहिनन् ।
पहिले दिदी भनेर सम्बोधन गरे पनि भेटेर कुरा भएपछि ‘नमिता डियर’ भनेर बोलाउँथिन् । अन्तरवार्ताको औपचारिक भेटपछि पनि एसियाली खेलकुदको तयारीको बेलामा भेट्न आइराख्नु है भनेर बोलाएकी थिइन् ।
अन्तरर्वार्ताको क्रममा उनले प्रशिक्षणमा थाकेर घर गएपछि फेरि घरायसी काम गर्नु पर्दा निकै गाह्रो भएको कुरा सुनाएकी थिइन् । मैले भेट्दा एसियाली खेलकुदका लागि छनोट भए पनि उनीहरुको बन्द प्रशिक्षण सुरु भएको थिएन ।
भारी उचाल्ने खेल भारोत्तोलनका खेलाडीलाई बल धेरै चाहिने हुँदा प्रशस्त पोषिलो खानेकुरा खानुपर्ने भए पनि घरमा अरुले जस्तै सामान्य खानेकुरा नै खानुपर्ने बताएकी थिइन् ।
उनलाई भेट्न म र फोटो पत्रकार चन्द्र (आले) दाइ हिमालयन जिममा पुगेका थियौं । म पुग्ने बित्तिकै अंकमाल गर्दै ‘हेलो डियर! आइपुग्यौ’ भनिन् । उनीसँगै प्रशिक्षक सञ्जय महर्जन पनि थिए ।
पुग्ने बित्तिकै उनको त्यो स्नेही स्वागत । खेलका बारेमा मैले धेरै टेक्निकल कुराहरु बुझेकी थिइनँ । उनले मलाई एकछिन बसेर बुझाइन् । पहिले उनले ५९ केजी तौल समूहबाट खेल्थिन्, अहिले ५५ केजी तौल समूहबाट खेल्न थालेकी थिइन् । तौल घट्दा आफूले उचाल्ने तौल पनि घट्ने उनले बताइन् । कम्मरमा बेल्ट र हातमा ब्याण्ड बाँध्नुपर्ने कारण पनि बताइन् ।
६ महिनाअघि पुलिसको जागिर छाडेपछिको अधिकांश समय गृहनगर नेपालगञ्जमै बसेको उनीसँगको भेटेपछि थाहा भयो । एसियाड छनोटका लागि काठमाडौं आउनुअघि नेपालगञ्जमा भारत्तोलन हल सरसफाइको नेतृत्व गरेकी रहिछन् । गुरु अहमद अन्सारीको निधनपछि केही युवा खेलाडी जम्मा पारेर भारोत्तोलन पनि सिकाउँदै रहिछन् ।
आफ्नो खेलको विकास, उत्थान र प्रचारमा सहयोग गर्नुपर्छ भन्ने सोच उनमा पाएकी थिएँ । आफूले सिकाइरहेका खेलाडीका लागि खेल सामग्री जुटाउन पनि पहल गरेकी रहिछन् ।
विज्ञान विषयमा प्लस टू सकेकी उनले एसियाली खेलकुदपछि स्नातक पढाइ सुरु गर्ने सुनाएकी थिइन् । मलाई ‘कुन विषय पढौं’ भनेर पनि सोधेकी थिइन् ।
‘तिमीलाई के ठीक लाग्छ भन त ?’ उनले पढाइबारे सोधेकी थिइन् ।
‘पत्रकारिता पढ न त’ मैले उनलाई सुझाव दिएँ । मेरो सुझाव सुनेर उनी हाँसेकी थिइन् ।
रिपोर्टिङका क्रममा उनको व्यवहार सामान्य नरहेको अनुमान गरेकी थिएँ । तर मैले पनि खासै ध्यान दिइनँ । यो अवस्था आउनेछ भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो । फेरि, उनीसँग पहिलोपल्ट भेटिरहेकी थिएँ ।
अनौपचारिक कुराकानीका क्रममा उनी धेरै पटक टोलाएकी थिइन् ।
‘किन टोलाएकी ?’ सोधेकी पनि थिएँ ।
मुसुक्क हाँस्दै भनेकी थिइन्, ‘केही होइन ।’
उनले कुराकानी मोड्न खोज्थिन् । तर पनि उनको मनभित्र धेरै कुराहरू उकुसमुकुस भएजस्तो मलाई लागेको थियो ।
फोटोपत्रकार दाजु नजिक हुँदा अलि सम्हालिएर बोल्थिन् ।
हामी दुईबीच मात्र कुराकानी हुँदा खुलेर बोल्थिन् । असहज मानेर होला उनले मलाई जिम हलकै अर्को कुनामा पुर्याइन् । त्यहाँ पनि आँखा बेला–बेला टोलाइरहे ।
मैले जिस्क्याउँदै सोेधेकी थिएँ, ‘ब्रेकअप भयो कि क्या हो ? अघिदेखि टोलाइराख्या छौं ।’
मेरो प्रश्न सुनेर उनी खित्का छाडेर हाँसिन् ।
भनिन्, ‘अहँ त्यस्तो छैन ।’
अप्रासंगिक प्रश्न सोधेकोले यो विषयलाई धेरै कोट्याउन चाहिनँ । तर, उनैले थपिन्, ‘मलाई एकदम सर्पोट गर्छ ।’
पहिलो भेटमै कसैको नितान्त व्यक्तिगत जीवनमा योभन्दा बढी घुस्नु हुँदैन भन्ने लागेर मैले कुरा मोडेँ ।
हाम्रो भेट कामको सिलसिलामा भएको औपचारिक भेट थियो । पहिलो भेटदेखि नै उनले मसँग निकै नै सहज महसुस गरेको पाएँ ।
मीठो बोल्ने र दौँतरी उमेरको भएकाले हामीले पछि पछि पनि भेटघाटलाई निरन्तरता दिने सल्लाह गरेका थियौं । एसियाड खेलेर आएपछि भेटेर ट्रिट दिनेसम्म कुरा भएको थियो ।
गुरु सञ्जयका प्रिय चेली थिइन् उनी । गुरुले निकै राम्रो क्षमता भएको खेलाडी भन्थे । पुलिसको जागिर छाडेपछि सञ्जयको प्रशिक्षण पाएर निकै खुसी थिइन् । उनको प्रशिक्षणमा राम्रो प्रदर्शन गर्ने लक्ष्य थियो उनको । उनी भन्थिन्, ‘क्षमता पहिचान गरी मलाई राष्ट्रिय च्याम्पियन बनाएको नै सञ्जय गुरुले हो ।’
उनको आम्दानीको स्रोत थिएन । हुन त उनले नेपाल पुलिसको खेलाडीको रूपमा कोटाको जागिर छोडेकी थिइन् । जागिर हुँदा आम्दानी भइराख्थ्यो । तर खेलमा सुधार नभएर उनले विभाग छोडेकी थिइन् ।
आम्दानी नभएर घरमा खर्च माग्नुपर्दाको तनाव उनले मलाई सामान्य रुपमा सुनाएकी थिइन् । ‘आफ्नो कमाइ हुँदा त सजिलो थियो । अलिअलि डाइटमा पनि ध्यान दिन पाएको थिएँ, तर अब सधैं घरबाट पैसा माग्दै खेल्न निकै गाह्रो लाग्दोरैछ ।’
अन्तर्वार्ता सकिएपछि पनि उनीसँग अनौपचारिक कुरा भएको थियो । मलाई अँगालो मारेर जिम हलमै हिँडिरहिन् । कपाल ब्वाइज कट काटेकी थिइन् । मेरो कपाल हेरेर उनले सोधिन्, ‘गर्मीमा गाह्रो हुँदैन ?’
अन्तर्वार्ता सकिएपछि गुरुले अरुलाई सिकाउन थाले । अनि उनी मसँग गफिन थालिन् । गफका बीचबीच त्यसरी नै टोलाइन् ।
तर मैले सोधिरहन उचित ठानिनँ । ‘नटोलाउनु है त्यसरी’ मात्रै भनें ।
निकै हँसमुख थियो उनको अनुहार । त्यही भएर पनि उनको गाम्भीर्यता सजिलै अनुहारमा झल्किनथ्यो । उनी टोलाउँदा त्यही म बसेकी छु भन्ने पनि बिर्सिन्थिन्, खै के कुराले टोलाउँथिन्, सञ्जु ।
मलाई के थाहा उनको मनको व्यथा यस्तो रहेछ भनेर ?
आत्महत्या नै गर्छिन् भन्ने त एक अंश पनि सोचेको थिइनँ । होला केही पारिवारिक समस्या जस्तो लाग्यो र सोधिनँ ।
अफिस आउनुपर्ने थियो । फर्किएर उनको अन्तरवार्ता उतार्नु पनि थियो ।
उनको पनि ट्रेनिङ सकियो । उनी घर निस्किने तरखर गर्न थालिन् । मैले उनको बायोडाटा लिनु थियो, बिर्सिएछु । जिम हलको पल्लो छेउ पुगेकी उनलाई मैले बोलाएँ । उनले मलाई फेसबुक म्यासेन्जरमा पठाइदिन्छु भनिन् । अनि अंकमाल गर्दै ‘सी यू सुन डियर’ भन्दै बिदा भइन् ।
साग स्वर्णधारी मिजासिली स्वभावकी सञ्जुसँग मेरो त्यो पहिलो भेट नै अन्तिम बन्यो । ‘छिट्टै भेटौंला’ भनेर छुट्टिएका हाम्रो भेट अब कहिल्यै हुँदैन भनेर मैले विश्वास गर्न सकेकी छैन ।
बेला–बेला टोलाइरहेकी सञ्जुको मनको तुफान मैले बुझिनँ, बुझेर पनि धेरै चासो दिइनँ । टोलाइराखिन्, सोधेको बेला पनि उनले केही न केही भनेर टारिन् । बिहान पख उनको निधनको दुःखद समाचार सुन्दा कसरी पत्याउनु ?
तस्वीर : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4