+
+

मकवानपुरमा थालियो मतदान स्थलको निर्माण

राजन दाहाल राजन दाहाल
२०७९ वैशाख २८ गते २०:५०
फाइल तस्वीर

२८ वैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनको २ दिन समय बाँकी हुँदा मकवानपुरमा बुथ निर्माण र मतदाता परिचयपत्र वितरण सुरु भएको छ । निर्वाचन आयोगले मंलगबार र बुधबार मतदाता परिचयपत्र वितरणको समय छुट्याए पनि मकवानपुरमा बुथ निर्माणको काम पनि सँगै अघि बढाइएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा बुथ निर्माणको काम भएको हो । बागमतीको झुरझुरेस्थित महाबुद्ध आधारभुत विद्यालय परिसरमा बुथ निर्माण गरिएको हो । विद्यालय परिसरमा तीनवटा मतदान केन्द्र निर्माण थालिएको छ ।

बागमतीका निर्वाचन अधिकृत हरिप्रसाद उपाध्यायका अनुसार पालिकामा रहेका सबै मतदानस्थलमा मतदान अधिकृतहरु पुगिसकेर काम अघि बढाएका छन् । पालिकामा १६ मतदान स्थलमा २९ केन्द्र रहेको उनले जानकारी दिए ।

यस्तै मकवानपुरको सबै पालिकाहरुमा मकवानपुरमा मतदान अधिकृतसहित झण्डै १८ सय कर्मचारी खटिएका छन् । दुर्गम ग्रामीण क्षेत्रमा मतदान अधिकृत निर्वाचन सामग्री लिएर गइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र बितरणसँगै बुथ निर्माणको कामपनि चलिरहेको छ ।

यातायातको सहज पहुँच भएका सुगम क्षेत्रका मतदानस्थलमा बुधबार बिहानसम्म कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  । मकवानपुरका १० स्थानीय तहका १०२ वडामा १६५ मतदानस्थल छन् भने ३५६ मतदान केन्द्र छन् । जिल्लाका केही मतदानस्थल विकट क्षेत्रमा पर्ने भएकाले कर्मचारी र सुरक्षाकर्मीलाई हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

निर्वाचन आयोगबाट प्राप्त मतदान सामग्री र मतदाता परिचयपत्रको प्याकेज बनाई पठाउने काम भइरहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय प्रमुख लुम्बनाथ अधिकारीले बताए । उनका अनुसार मकवानपुरका लागि तीन लाख २५ हजार मतपत्र आएको छ ।

पाँच सय जनासम्म मतदाता रहेको केन्द्रमा सात जना कर्मचारी र ५०० भन्दा बढी मतदाता रहेको केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ । निर्वाचनका लागि जिल्लाभर कुल एक हजार ७७२ जना कर्मचारी खटिएको कार्यालयले जनाएको छ ।

खटिए दुई हजार आठ सय सुरक्षाकर्मी

स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा दुई हजार ८ सय ६२ सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना ४५०, नेपाल प्रहरी ६५५, सशस्त्र प्रहरी २८४ र एक हजार ४७३ म्यादी प्रहरी खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खटाइएका सुरक्षाकर्मीहरु मतदान केन्द्रमा बुधबारसम्म अनिवार्य पुगिसक्ने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । उनले सदरमुकामबाट लामो दुरीमा रहेको र विकटका मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको बताए ।

१० स्थानीय तह रहेको मकवानपुरमा एक उपमहानगरपालिका, एक् नगरपालिका र आठ गाउँपालिका छन् । चार लाख ६१ हजार ५३ जनसंख्यामध्ये दुई लाख २८ हजार ४७२ पुरुष र दुई लाख ३२ हजार ५८१ महिला छन् ।

जिल्लामा दुई लाख ९४ हजार ९२९ मतदाता छन् । जसमध्ये हेटौंडा उपमहानगरमा एक लाख चार हजार ४७३, थाहा नगरपालिकामा ३२ हजार ३०७, बागमती गाउँपालिकामा १२ हजार ३२८, इन्द्रसरोवरमा १२ हजार ४७१, कैलाशमा १४ हजार ५८६, बकैयामा २९ हजार ९४३, भीमफेदीमा १७ हजार ४२८, मकवानपुरगढीमा १९ हजार ११८, मनहरीमा २६ हजार ७२१ र राक्सिराङ गाउँपालिकामा १५ हजार ८३२ मतदाता छन् । जिल्लामा १६५ र मतदान केन्द्रमध्ये १९ वटा अतिसंवेदनशील मतदान केन्द्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?