+
+

‘समाजको राजनीतिक जागरण निर्वाचनमा प्रकट हुन्छ’

निर्वाचनको अभ्यास र मतदानका दृष्टिले हामी दक्षिण पूर्वी एसियाका मुलुकमा अग्रणी छौं । हामीले २०१५ सालदेखि निर्दलीय र बहुदलीय चुनावको उपयोग गरिरहेका छौं । यो चानचुने उपलब्धि होइन ।

सूर्यप्रसाद श्रेष्ठ, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्वप्रमुख निर्वाचन आयुक्त
२०७९ वैशाख ३० गते ५:०२

स्थानीय तहले अहिले संवैधानिक हैसियत पाएका छन् । स्थानीय तहको स्वायत्ततालाई संविधानले नै ग्यारेन्टी गरेको छ । पञ्चायतकालमा ऐन कानूनका आधारमा स्थापित गाउँ÷नगर पञ्चायत थिए । प्रजातन्त्र आइसकेपछि पनि उनीहरुको अवस्था त्यस्तै थियो । तर, यी निकाय अहिले अधिकारसम्पन्न छन् ।

नयाँ संविधान आइसकेपछि राज्यका तीन महत्वपूर्ण सरकारमध्ये स्थानीय तह एक हो । संघात्मक स्वरुपमा एउटा महत्वपूर्ण अंग स्थानीय तह हो । गाउँपालिका÷नगरपालिका जनताको घरदैलोको नजिक रहेका राज्यका निकाय भएको र ती निकायमा आफैंले चुनेका प्रतिनिधि जाने भएकाले पनि यसप्रति जनताको अपनत्व बढेको हो ।

स्थानीय तहले प्रशासकीय, विकास निर्माणदेखि गाउँसमाजको समस्या र चाहना सम्बोधन गर्ने असीमित दायित्व बहन गर्नुपर्ने हुन्छ । त्यसले गर्दा यसको महत्व बढ्यो । यसअघि राम्रो पटक भेउ नपाएका जनताले पनि यो त हाम्रै घर नजिक बसेर काम गर्ने निकाय रहेछ, हाम्रै लागि उनीहरु सक्रिय हुने रहेछन् भनेर महसुस गर्न थाले । कतिपय ठाउँमा खराबी पनि देखियो होला । बदमासी, भ्रष्टाचार भयो होला । एकाध ठाउँमा भएको गलत कामका आधारमा सबैलाई एउटै मूल्यांकन गर्नु हुँदैन ।

तर, पाँच वर्षको अवधिमा स्थानीय सरकारले महत्वपूर्ण काम गरेका छन् । यी स्थानीय तहमा विकास निर्माण, स्थानीय समस्या सम्बोधन, शिक्षा, स्वास्थ्य लगायतका विधामा महत्वपूर्ण काम भएका छन् । कोरोना महामारीका बेलामा स्थानीय तह जनप्रतिनिधिविहीन भएको भए के अवस्था हुन्थ्यो होला ? कल्पना गर्दामात्रै पनि उनीहरुको महत्व थाहा हुन्छ । यस्तै कारणले स्थानीय निर्वाचनमा मतदाताको चासो र सहभागिता बढ्ने हो ।

निर्वाचनको अभ्यास र मतदानका दृष्टिले हामी दक्षिण पूर्वी एसियाका मुलुकमा अग्रणी छौं । हामीले सन् १९५९ (वि.सं.२०१५ साल) देखि निर्वाचनको निर्वाध उपयोग गरिरहेका छौं । यो चानचुने उपलब्धि होइन । निर्दलीय व्यवस्थामा पनि निर्वाचनको अभ्यास हुँदा नेपालीहरु त्यसमा अभ्यस्त भए । आफ्ना प्रतिनिधि चुन्न सक्रियता देखाउन थाले । राज्यसंयन्त्रले नै निर्वाचनलाई नियमित क्रियाको रुपमा स्विकार्न थालेको छ ।

हामी राजनीतिक दलका नेताहरुको आलोचना गर्छौं । उनीहरुको परस्परको आक्रोश र टक्कर व्यवस्थापन गर्न नसक्दा असहिष्णु व्यवहार र गैरराजनीतिक क्रियाकलाप भएका पनि छन् । नेताहरुले आफूहरुको राजनीतिक स्तर सुधार गरेका छैनन् । तर, वृहत्तर रुपमा हेर्ने हो भने मुलुकको लोकतन्त्र स्थापनामा उनीहरुको पनि योगदान छ । ठूल्ठूला आन्दोलन र परिवर्तनको नेतृत्व अहिलेका प्रमुख दलहरुबाटै सम्भव भएको हो । परिवर्तनको नेतृत्व गर्नुका कारणले नै यी दलहरुले अहिले पनि विश्वास र जनमत पाइरहेका छन् ।

निर्वाचनमार्फत नागरिकले नियमित रुपमा प्रतिनिधि छनौट गर्न आफ्नो सहभागिता, सक्रियता देखाएका कारण नै लोकतन्त्रलाई सुदृढ र जीवन्त बनाउन मद्दत पुग्छ ।

दलीय पद्दतीमा कोही नेता खराव होलान्, उनीहरुको आलोचना भएको पनि छ । कतिपय कानूनको दायरामा आएका छन् । जनमत नपाएर दण्डित भएका छन् । तर, केही गलत व्यक्तिका कारण हाम्रो लोकतन्त्रको आधारस्तम्भ मानिएको दलीय पद्दती नै खराव भन्नु उचित होइन । हामीले यति बोल्न र आलोचना गर्न पाएको पनि लोकतन्त्र भएकै कारणले हो । निरंकुशतामा त खराब नेतृत्व खराब हो भन्न पनि नपाउने स्थिति थियो ।

निर्वाचनमा जनताको अझै सहभागिता बढाउन सकिन्छ । मतपत्र झण्झटिलो र व्यवहारिक नहुँदा मत बदर हुने सम्भावना चिन्ताको विषय हो । मतपत्र लामो र झण्झटिलो छ । मतदाताले आफूले मत दिन चाहेको उम्मेदवारको चिह्न थाहा नपाउने सम्भावना उत्तिकै बलियो छ । निर्वाचनमा प्रतिस्पर्धा नगर्ने दलहरुको चिह्न समेत हुँदा झुक्किने सम्भावना पनि छ । तालमेलका कारण कम उम्मेदवारी परेपनि चिह्न व्यवस्थापन हुन नसक्दा झन् अलमल हुन्छ होला । धेरै नेपाली कामको सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर र कतिपय विदेशमा रहँदा मतदान गर्न पाएका छैनन् । यो खाडल सम्बोधन हुनुपर्ने देखिन्छ ।

विकसित मुलुकहरु थकानको अवस्थामा छन् । उनीहरुको नियमित दिनचर्या छ, सामान्य परिस्थिति छ । त्यसैले राजनीतिमा भन्दा उनीहरु नियमित काममा, दैनिक जीवनमा र आफ्नो व्यक्तिगत रुचिमा नै व्यस्त छन् । उनीहरुले आफ्नो मताधिकारलाई अनिवार्य प्रयोग गर्नुपर्ने राजनीतिक अधिकार ठान्दैनन् वा मतलब गर्दैनन् । अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा मात्रै बढी चर्चा हुन्छ, अरुमा खासै रुचि राख्दैनन् । त्यही भएर कतिपय मुलुकमा मतदान नगरेमा जरिवाना गर्ने व्यवस्था समेत राख्न थालिएको होला ।

निर्वाचनमा यसरी नागरिक स्तरको चासो, रुचि र सक्रियता हुनुको कारण राजनीतिक जागरण हो । राजनीतिक जागरणका कारण नै नेपालमा ठूला परिवर्तन भए र नागरिकहरु सडकमा आएर परिवर्तनको पक्षमा मत दिए । पछिल्लो केही दशकमा भएका परिवर्तनहरु निकै आश्चर्यलाग्दा छन् । निर्दलीय व्यवस्था विरुद्ध २०४६ सालमा नागरिकले परिवर्तन ल्याए । माओवादी विद्रोह भयो । फेरि जनआन्दोलन भयो ।

२००७ सालकै परिवर्तनका लागि करिव एक दशकदेखि भित्री रुपमा नेपाली समाजमा जागरण बढ्दै गएको थियो । समाजमा राजनीतिक चेतना र जागरणविना राजनीतिक परिवर्तन हुन गाह्रो हुन्छ । निर्वाचनमा नागरिकहरुको सक्रियता यही राजनीतिक चेतनाको उपज हो भन्छु म । निर्वाचनमार्फत नागरिकले नियमित रुपमा प्रतिनिधि छनौट गर्न आफ्नो सहभागिता, सक्रियता देखाएका कारण नै लोकतन्त्रलाई सुदृढ र जीवन्त बनाउन मद्दत पुग्छ ।

(पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?