+
+
स्याङ्जा जिप दुर्घटना : :

जसले श्रीमती र आमा गुमाए, नाबालक छोरा घाइते

अनिषलाई भुलाउन एउटा खेलौना दिइएको छ । उनी एकछिन खेल्छन्, घरिघरि दुख्यो भन्दै आमा खोज्छन् । ‘ऐया भन्छ । रुन्छ । मैले के गर्ने, के भन्ने ?’ निरश मुद्रामा कुँवर प्रश्न गर्छन् । अस्पताल आएकाहरु अनिषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पीडासमेत अनुभूत नभएका उनले सान्त्वनाको भाषा के बुझुन् ?

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख ३० गते २०:३९

३० वैशाख, पोखरा । शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ नगरपालिका–१४ सिख्रेबाट मतदानस्थलसम्म पुग्न करिब ४५ मिनेट लाग्थ्यो ।

अर्जुन कुँवर श्रीमती र आमालाई लिएर मतदान गर्न जाने तयारीमा थिए । त्यत्तिकैमा गाउँलेलाई लिन एउटा जिप आइपुगेको खबर सुने ।

कुँवरकी श्रीमती २५ वर्षीया श्रीमती जमुना कुँवर २ जिउकी थिइन् । हिँड्न गाह्रो होला भनेर उनले जमुनालाई आमा ४३ वर्षीया पोटकुमारी र भाञ्जा कुशलसँगै जिपमा मतदानस्थलसम्म पठाउने निर्णय गरे । उनीहरुको साथमा गत पुसमा मात्रै २ वर्ष पुगेका छोरा अनिष कुँवर पनि थिए ।

केहीबेरम अर्जुनले अप्रत्याशित खबर सुने, ‘जिप पल्टियो ।’ कुँवरको होस, हवास उड्यो ।

‘२ जिउकी भएकी बुढी हिँड्न गाह्रो हुन्छ होला भनेर गाडीमा जाऊ भनेको थिएँ । गाडीमा केही घुमाउरो बाटो पर्थ्यो । तर, हिँडेर सिधै जान मिल्थ्यो,’ कुँवर भन्छन्, ‘जेठ अन्तिममा डेलिभरी केस भएकाले हिँड्नु हुन्न भनेर गाडीमा जाऊ भनेको थिएँ ।’

१४ जनाको मृत्यु हुने गरी सिख्रेबाट मतदान केन्द्रतर्फ गइरहेको उक्त जिप दुर्घटनामा कुँवरले श्रीमती जमुना, आमा पोटकुमारीलाई गुमाएका छन् । दुर्घटनामा दुई वर्षका छोरा अनिशको शरीरभरि चोट लागेको छ । उनले छोरालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याएका छन् ।

अनिषलाई भुलाउन एउटा खेलौना दिइएको छ । उनी एकछिन खेल्छन्, घरिघरि दुख्यो भन्दै आमा खोज्छन् । ‘ऐया भन्छ । रुन्छ । मैले के गर्ने, के भन्ने ?’ निरश मुद्रामा कुँवर प्रश्न गर्छन् । अस्पताल आएकाहरु अनिषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पीडासमेत अनुभूत नभएका उनले सान्त्वनाको भाषा के बुझुन् ?

दुर्घटनामा श्रीमती र आमाको मृत्यु भएको भनेर अर्जुनलाई अरुले नै खबर पुर्‍याइदिएका हुन् । तर, उनलाई विश्वास छैन । एम्बुलेन्सले घाइतेहरु ल्याउँदा पटकपटक त्यतै आँखा सोझ्याउँछन् । तर, प्रत्येक पटक नै उनी फरक अनुहार पाउँछन् ।

‘मैले पनि यसकी (छोरा) आमा र मेरी आमाको डेथ भयो रे भन्ने खबर पाएको छु । त्यति क्लियर बुझ्न पाएको छैन,’ अर्जुन भन्छन्, ‘आफूले देखेपछि पो थाहा हुने हो ।’

वालिङ नगरपालिका–१४ पञ्चम अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ झर्दैै गर्दा ग २ च ३०२६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा मृत्यु हने सबै एकै वडाका हुन् ।

गण्डकी अस्पताल पोखरामा उपचाररत स्याङ्जा दुर्घटनाका घाइतेहरु ।

मतदान गर्न हिँडेकाहरु मत दिन त पाएनन् नै दुर्घटनामा ज्यानै गुमाउनुपर्‍यो । अहिले वालिङको १४ नम्बर वडा शोकमा छ । जिपमा प्रायः महिलालाई पठाएर पुरुषहरु भने हिँडेरै जाने सल्लाह गरेका थिए ।

भएका सबै अर्जुनकै वडाका आफन्तहरु हुन् । त्यसमध्ये घाइते भएका १६ वर्षीय कौशल कुँवर उनका भाञ्जा पर्छन् । मतदान गर्न माइजु (जमुना) भित्र छिरेको बेला अनिषको कुरुवा बस्ने गरी उनी त्यहाँ जान तयार भएका थिए ।

जिपको छतमा बसेका कौशल गाडी खस्न थालेको चाल पाएपछि हामफालेका थिए । उनको खुट्टामा सामान्य चोट लागेको छ । उनको अवस्था भने गम्भीर छैन ।

‘मलाई माइजुले बाबु हेर्नुपर्छ भनेर गएको हुँ । मेरो त भोट गर्ने बेला पनि भएको छैन,’ दुर्घटनामा घाइते कौशल भन्छन्, ‘छतमा बसेको थिएँ । गाडी खस्न लागेको थाहा पाएपछि हाम फालिहालें ।’

दुर्घटनामा मृत्यु हुनेहरुमा ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ७० वर्षीया भीमकला कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर रहेका छन् ।

त्यस्तै ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र १४ वर्षीया फुलदेवी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । दुर्घटनामा घाइते भएका ११ जनाको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी लड्न लागेपछि हामफालेँ : कौशल

बाटो अफरोड थियो । ओरालोमै घुम्ती पनि थियो । खास म माइजुको छोरा हेर्न भनेर गएको थिएँ । मतदान केन्द्रमा माइजु भित्र भोट हाल्न जाँदा बाहिर बाबु हेर्नुपर्छ भनेर गएको थिएँ । म छतमा बसेको थिएँ, घुम्तीमा गाडी लड्नेजस्तो भएपछि म हामफालेँ । खुट्टाको बुढी औंलामा चोट लागेको छ ।

जिप स्पिड थिएन, सुस्तै थियो । जिपको छतमा खासै धेरै मान्छे थिएनन् । तर, भित्र भने धेरै थिए । ड्राइभर पनि घाइते भएर अहिले यही अस्पतालमै हुनुहुन्छ । गाडी घुम्तीबाट खसेको हो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?