+
+
उपत्यका छिर्ने साँगा भञ्ज्याङका मतदाता :

‘मेरो मत व्यवस्थित बसोबास र सहरीकरणका लागि’

‘ललितपुरमै हरियाली छ, भक्तपुरमा सरसफाइ राम्रो छ । आफ्नोमा आउँदा यस्तो छ ‘हिलो देखाउँदै ४८ वर्षीय चन्द्रबहादुर बिष्टले भने । अब आफूहरूको ठाउँमा विकास हुन्छ कि भन्ने बिष्टलाई ठूलो आशा छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख ३० गते १८:१५

३० वैशाख, साँगा । शुक्रबार बिहान साढे ६ नहुँदै काभ्रे बनेपा- १४ स्थित नाशिका मतदान केन्द्रमा मतदाता जम्मा भइसकेका थिए । तीमध्येका एक, ७४ वर्षीय रामबहादुर कर्मचार्या मतदानको ब्यग्र प्रतीक्षामा थिए । हामीले उनलाई सोध्यौं, ‘किन यति चाँडै आउनुभएको ?’ उनले नमिठो माने र तत्काल प्रतिक्रिया दिए, ‘चाँडै आउन हुन्नथ्यो ?’

हामीले ‘छिट्टै आएको देख्दा खुसी लागेर नि!’ भनेर प्रतिक्रिया दिएपछि उनी हल्का मुस्कुराए ।

पञ्चायतदेखि नै भोट हाल्न थालेको बताउने कर्मचार्य यसपटक अझ बढी उत्साही देखिए । ‘चौतारा, छहारीहरू, पार्टी पौवाहरू मासिँदै गए । तर, सबै उम्मेदवारले नयाँ बनाउँछौं, पुरानाको संरक्षण गर्छौं भन्नुभएको छ’ कर्मचार्यले उत्साही हुनुको कारणसँगै प्रश्न गरे, ‘जसले जिते पनि बुढापाकालाई गफ गरेर बस्ने ठाउँ बनाइदिन्छौं भनेपछि भोट हाल्न आउनु परेन त ?’

कर्मचार्यका अनुसार तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका बेला विस्थापित भएका नेपाल प्रहरीका परिवारहरू काभ्रेको बनेपा र भक्तपुरको फलैंचा आसपास बसेका छन् । रामेछाप, दोलखा, सिन्धुली, ओखलढुंगाका मानिसहरू बसाइँ सरेर सागाँ भञ्ज्याङ आसपास आएपछि काभ्रेको बनेपा र भक्तपुरको फलैँचा क्षेत्रमा नयाँ बस्ती नै विकास भएको छ ।

बस्ती विकास भएपछि सार्वजनिक जग्गाहरू हराउन थालेको, गर्मीमा शीतल र जाडोमा घाम ताप्ने चौतारीहरू मासिएकोमा चिन्तित भएका कर्मचार्य नयाँ बनाउने उम्मेदवारहरूको बाचाले उत्साही भएका रहेछन् ।

सात बजे मतदान सुरु भयो । ७९ वर्षीय छत्रबहादुर कार्कीले पहिलो मतदान गरे । मतदानपछि उनले अनुभव पनि सुनाए । उनका अनुसार पञ्चायत कालमा भएका चुनाव, २०३७ सालको जनमत संग्रहको मतदान केन्द्र पनि नाशिका मन्दिरमै थियो । ‘पहिले र अहिले मतदान गर्ने तौर तरिकामा धेरै फरक छ । अहिले नीति नियम छ पहिले हाट्टहुट्ट, जसको शक्ति उसकै भक्ति हुन्थ्यो’ कार्की थप्छन्, ‘पहिले र अहिले आकाश पातालको फरक छ ।’

पञ्चायतमा भोट हालेर जिताएकाहरूसँग आँखामा आँखा जुधाएर बोल्न नसक्ने/नपाउने स्थिति रहेको स्मरण गर्दै उनी भन्छन्, ‘राणा शासन, पञ्चायत शासन भनेको त डरैडरको शासन हो नि । अहिले मैले भोट हालेर जिताएको हैन ? खै काम गरेको भन्न पाइन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानपछि भएको पहिलो चुनावबाट जितेकाहरुले अपेक्षित काम गर्न नसकेको उनको भनाइ छ । ‘पहिलो पटकमै हामीले बाटो, खानेपानी जस्ता समस्या समाधान हुने आशा राखेका थियौं, भएन । उनीहरू संरचना बनायौं भन्छन् । अब जित्नेले राम्रो गर्लान भन्ने ठूलो आश छ,’ कार्कीले भने ।

नेताहरूले धेरै नारा लगाउने गरेको र काम कम गर्ने गरेको उनलाई मन परेको छैन् । ‘मतदान केन्द्र नै हिलाम्मे छ । राम्रो बाटो सबैतिर बनेको छैन्’ उनी थप्छन्, ‘काम गर्नेलाई रोज्ने मौका जनताले पाएका छौं त्यसकारण अहिलेको व्यवस्थामा खुसी नै छौं ।’

कार्कीले भने झै साँगा आसपासका भित्री सडकहरू कच्ची छन् । बिहानको हल्का बषर्ाले मतदान केन्द्रहरुमा हिलोले मतदातालाई समस्या पारिरहेको थियो ।

हिलो छिचोल्दै मतदान गरेका ४० वर्षीय ज्ञानेन्द्र दुलालले भने, ‘व्यवस्थित बसोबास, खानेपानी र राम्रो सडकका लागि मेरो मतदान हो ।’ कुनै हालतमा आगामी पाँच बर्षमा आफुहरुले चाहेको विकास हुनुपर्ने र त्यसका लागि दवाव सिर्जना गर्नका लागि मतदान गरेको उनले बताए ।

दुलालका अनुसार साँगा आसपास रहेका बस्तीहरुलाई व्यवस्थित गर्नुपर्ने छ । मगर बस्ती र तामाङ बस्तीमा खनिएका बाटोलाई सके फराकिलो पार्ने, नभए ग्राभेल गर्नुपर्ने छ । सबैतिर खानेपानीको सहजै उपलब्ध हुनुपर्ने छ । दुलालका अनुसार बनेपा क्षेत्रमा करिब तीन सय परिवार खानेपानीको चरम समस्यामा छन् ।

काठमाडौं छिर्ने साँगा भञ्ज्याङ आसपासकै अर्को मतदान केन्द्र बनेपा १३ भैंसेपाटीमा छ । त्यहा पुग्दा मतदाताहरू लाइनमा थिए । लाइनमा बस्नेहरू हिलोमा ‘सिकसिक’ गरिरहेका थिए । तीमध्ये एक थिए, पशुपति श्रेष्ठ । ‘सधैं हिलो मैलोमा रहन भएन, केही न केही विकास गर्नुपर्‍यो, विकास गर्ने मान्छे ल्याउनु पर्‍यो भनेर भोट हाल्न लागेको’ श्रेष्ठले आगामी जनप्रतिनिधिप्रति राखेको आश व्यक्त गरे । सँगै रहेका कृष्णप्रसाद मल्लिकले थपिहाले, ‘केही न केही विकास होला भन्ने आशा छ ।’

हिलो छिचोल्दै भोट हालेर निस्किए, लक्ष्मीराम नुहुक्षे । मतदान गर्दा के सम्झनुभयो ? भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘आवश्यकताहरू धेरै छन् । पुग्दो पानी छैन् । बाटो बनेको छ व्यवस्थित गर्न बाँकी छ । स्वास्थ्य चौकी जेनतेन चलेको चौकीका रुपमा मात्रै सीमिति छ ।’

अर्का ५० वर्षीय भक्त धौगोडालाई भने व्यवस्थित विकास नहुनुको पछाडि जनताको पनि खबरदारी नपुगेको हो कि भन्ने लाग्छ । धौगोडा भन्छन्, ‘पहिलेभन्दा त राम्रो भएकै छ । तर, व्यवस्थित बसोबासका लागि नगरपालिकाको सक्रियता पुगेको छैन् । जनताको खबरदारी भएको छैन् । यसलाई ख्याल गरे साँगा भञ्ज्याङको छुट्टै पहिचान बनाउन सकिन्छ ।’

बिहान सवा सात बजे नै भोट हाल्न मतदान केन्द्र पुगेकी थिइन् अनिता खड्की । उनको साथमा थिए २ महिने शिशु । ‘भोट हाल्न म एकदमै उत्साही थिएँ । देशको एकदमै माया लाग्छ । आफ्नो ठाउँको माया लाग्छ । राम्रो उम्मेदवार चयन गरौं र आफ्नो ठाउँको विकासका लागि प्रेरित गरौं भन्ने लाग्छ । खुसीले म चाँडै नै आएकी’ खड्कीले भोट हाले पछिको खुसी साटिन् । बच्चा साथमा ल्याउनुको बाध्यता पनि उनले सुनाइन्, ‘श्रीमान जागीरका लागि बाहिरै हुनुहुन्छ ।’

भोट हालेर के हुन्छ र ? भन्नेहरुलाई उनको जवाफ छ, ‘सबै मान्छे र नेता एकै खालका हुँदैनन् । यस्तो सोच हामीले राख्नु नै हुँदैन । कम्तिमा नयाँ पुस्ताले समाजको अहित हुने काम गर्दैनन् भन्ने विश्वास राख्नुपर्छ ।’ आफ्नो ठाउँमा एम्बुलेन्स पनि नहुँदा दु:ख लाग्ने गरेको उनी सुनाउँछिन् । ‘बिरामी पर्‍यो भने एम्बुलेन्स छैन् । शिक्षामा पनि धेरै खर्च गर्नुपर्ने बाध्यता छ आमाबुबाहरूलाई’ खड्की थप्छिन्, ‘हाम्रो ठाउँको समस्या र समाधान आउने जनप्रतिनिधिले थाहा पाउनुपर्छ ।’

७८ वर्षीय गणेश मायालाई सफा सहर चाहिएको छ । मतदान गरेपछि उनको प्रतिक्रिया छ, ‘सहर सफा हुन पर्‍यो ।’ ४८ वर्षीय  चन्द्रबहादुर बिष्टलाई पनि अन्य ठाउँमा देखेको सफा सहरले लोभ्याएको रहेछ । ‘ललितपुरमै हरियाली छ । भक्तपुरमा सरसफाइ राम्रो छ । आफ्नोमा आउँदा यस्तो छ,’ हिलो देखाउँदै उनले भने । अब आफूहरूको ठाउँमा विकास हुन्छ कि भन्ने बिष्टलाई ठूलो आशा छ ।

‘राजनीतिक दलहरू म जित्छु र तँ जित्छु भनेका छन् । हार्नेले जित्नेलाई काम नगरे थर्काउलान्’ बिष्ट थप्छन्, ‘यसो हेर्दा मलाई त झगडाले पनि विकास गराउला जस्तो लाग्छ ।’ जित्नेलाई राम्रो काम नगरे अर्को पटक हार्ने डर हुँदो रहेछ भन्ने अनुभव आफूले गरेको पनि बिष्टले सुनाए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?