+
+

नयाँ मतदाता भन्छन्- नेतृत्वमा युवा आउनुपर्छ

वनस्थलीकी पूजा दाहाल नयाँ उम्मेदवारका नयाँ योजना सुनेर मतदान गर्न आएको बताउँछिन् । ‘कति सुन्नु पुराना दल र पुराना मान्छेका हावादारी संकल्प’ उनले भनिन्, ‘अब युवा नेतृत्वमा आउनुपर्छ ।’

सम्झना विक सम्झना विक
२०७९ वैशाख ३० गते २०:१२

३० वैशाख, काठमाडौं । संघीयता लागु भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनको निर्धारित समय सकिएको छ ।

२००४ सालदेखि मुलुकमा निवार्चन हुदै आएको छ । यो ७५ वर्षमा देशमा धेरै राजनीतिक परिवर्तन भएका छन् । व्यवस्था फेरियो, पात्र फेरिए तर नागरिकले खोजेको परिवर्तन पाउन सकेनन् ।

स्थलगत रिपोर्टिङमा क्रममा शुक्रबार हामी तारकेश्वर नगरपालिका–५ नार्गाजुन माध्यमिक विद्यालय मतदान केन्द्र पुग्दा विहानको ७ बज्न लागेको थियो । त्यहाँ हरेक उमेर समूहका नागरिक मतदान गर्न लाइन लागिसकेका थिए । महिला पुरुषको छुट्टाछुट्टै लाइन थियो । उम्मेदवारहरु आफ्ना लागि मत माग्दै मतदातासँग नमस्कार गरिरहेका थिए ।

महिलाको लाइनमा मत दिन उत्साहित भएर बसिरहेकी एक युवा थिइन् शालीन नेपाल (२४) । उनको यो पहिलो मतदान हो, यसअघि उनी अध्ययनका लागि बाहिर थिइन् ।

त्यसैले उनले यसअघिका चुनावमा भोट हाल्न पाइनन् । पहिलो पटक मताधिकारको प्रयोग गर्दा एकदमै उत्साहित थिइन् शालीन । उनी आफ्नो मताधिकारको प्रयोगले आफ्नो ठाउँमा परिवर्तन ल्याउँछ भन्ने आशा बोकेर उभिएकी थिइन् ।

‘पहिले राजनीतिका कुरा मन नपरे पनि अहिले बुझ्दै जादा यो त नभइ नहुने रहेछ भन्ने थाहा पाएँ’ शालीन भन्छिन् ।

त्यही मतदान केन्द्रको पुरुष लाइनमा थिए दीपेन नगरकोटी । उमेर उनी भर्खर बीस वर्षका भए । उनको यो पहिलो मतदान हो । उनले भने, ‘आफ्नो टोल समुदायको विकास स्थानीय तहको निवार्चनले नै हुने भएकाले मतदान गर्न आएको ।’

पहिलो पटकको मतदान भएकाले उनी खुसी देखिन्थे । उनले भने ‘राम्रो उम्मेदवारलाई जिताए मात्रै समयमै गाउँठाउँको विकास हुने भएकाले भोट हाल्न आएको छु ।’

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित तरुण माध्यमिक विद्यालयमा व्यवस्थित र अनुशासित वातावरणमा चुनाव भइरहेको थियो ।

सुष्मा रिसाल (२०) पहिलो पटक मतदान गर्न पाउँदा उत्साहित देखिन्थिन् । स्नातक तहमा अध्ययनरत उनले यो पटक राम्रो उम्मेदवार उठेका कारण भोट हाल्न पाएर उत्साहित भएको बताइन् ।

नयाँ उम्मेदवारका नयाँ नयाँ योजनाले नै आफूलाई मतदान केन्द्र सम्म ल्याएको उनको भनाइ थियो ।

माछापोखरीकी स्नेहा थापा पनि विहान ९ बजे मतदान केन्द्रमा लाइन लाग्न आइपुगिन् । मतदान गर्दा जिम्मेवार नागरिक भएको महसुस हुने उनको भनाइ छ ।

आफूले राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारको घोषणा पत्र पढेर राम्रो उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको उनले बताइन् । थापा भन्छिन्, ‘यो पालि नयाँ सोच भएका उम्मेदवार पनि आएका छन् । यसले महानगरमा विकास छिटो हुने मेरो आशा छ ।’

भोट हालेर बाहिर निस्कदै गरेकी केरिमा गहतराज प्रशन्न देखिइन् । उनले भनिन्, ‘राजनीतिबाट युवा टाढा रहन सक्दैनन्, हाम्रो जीवनमा राजनीतिले प्रत्यक्ष सरोकार राख्ने हुनाले पनि युवाहरुले धेरै ध्यान दिएर मतदान गर्नुपर्छ ।’

तारकेश्वर नगरपालिका मनमैजुका गणेश श्रेष्ठले स्थानीय मनमैजु माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरे । ‘पहिलो स्थानीय निर्वाचनका बेला मतदाता परिचय पत्र बनेको थिएन,’ उनले भने, ‘राजनीतिलाई बुझन एकदमै कठिन छ तर पनि निर्वाचनले सकारात्मक परिवर्तन ल्याउने आशाले म मतदान गरिरहेको छु ।’

बनस्थलीको व्याट्री कारखाना मतदान केन्द्रमा पुग्दा १० बजेको थियो । त्यहाँ भर्खर मतदान गरेर निस्किएका प्रशुन लामिछाने (२४) भेटिए । यसअघिको निर्वाचनमा उमेर पुगेपनि त्यस्तो मन पर्ने उम्मेदवार नभएकाले उनले मतदान गरेरन् ।

‘अहिले राम्रो उम्मेदवार उठेकाले निर्वाचनमा मतदान गर्न आएको छु’, उनले भने, ‘राजनीतिले सबैलाई प्रभाव पार्छ, बढी त युवाहरुलाई । त्यसैले युवाले राजनीतिमा चासो राख्नुपर्ने ठानेर म भोट हाल्न आएको छु ।’

अष्ट्रेलियाबाट फर्किएका सञ्जय थपालियाले पनि पहिलो पटक मतदान गरे । देशमा परिवर्तन हुने आशाले भोट हालेको बताउने उनी एक भोटले पनि महत्व राख्ने बताउँछन् ।

सञ्जिता श्रेष्ठ २१ वर्षकी भइन् । सुरुमा मतपत्र धेरै ठूलो र धेरै चिह्न देखेर मतदान गर्दा अलमलमा परिन् । ‘गल्ती हुन्छ कि भन्ने डर लागेको थियो, तर पहिलो पटक राम्रो मान्छेलाई भोट हाल्न पाएँ खुसी लागेको छ’, उनले भनिन्, ‘मेरो एक भोटले राम्रो उम्मेदवारले जितेमा महानगरको विकासमा ठूलो अर्थ राख्नेछ ।’

शोभा भगवतीकी नीति श्रेष्ठ (३०) ले यसवर्ष स्वतन्त्र उम्मेदवारलाई मतदान गरिन् । ‘उम्मेदवारको घोषणा पत्र पढ्दा अन्य राजनीतिक दलको भन्दा स्वतन्त्र उम्मेदवार ठीक लागेर मतदान गर्न आएँ’ उनले भनिन ‘धरातलमै रहेर योजना बनाएका छन् । डाटाको आधारमा विश्लेषण छ । त्यसैले यो निर्वाचनले परिवर्तन ल्याउने आशा मलाई छ ।’

बनस्थलीकी पूजा दाहाल नयाँ उम्मेदवारका नयाँ योजना सुनेर मतदान गर्न आएको बताउँछिन् । यो वर्षको निर्वाचनले सकारात्मक नतिजा ल्याउने उनको बुझाई छ । ‘कति सुन्नु पुराना दल र पुराना मान्छेका हावादारी संकल्प’ उनले भनिन, ‘अब युवा नेतृत्वमा आउनुपर्छ ।’

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?