+
+

‍… र जनताको काम सकियो

भोट हाल्नुअघिका नेता र भोट हालिसकेपछिका नेता, मतदानअघि र मतदानपछि गर्ने ब्यवहारबारे के जनताको मनमा कुनै संशय छैन होला र ? यद्यपि जनता आफ्नो दायित्वबाट पछि हटेका छैनन्, प्रश्नसहितको मत हालेर पाँच वर्षका लागि आफ्नो काम सकेका छन् ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ वैशाख ३० गते २१:३२
स्थानीय तह निर्वाचनमा मतदान गर्दै गुल्मीकी एक वृद्धा ।

‘मेरे हाथोका जानने का हक रे,

क्यों सदियों से टूट रही है,

इनके सजनेका नाम नही है …’

भारतीय सांगीतिक समूह लोकनादका विनय महाजन र चारुल भारवदाले सोधेको यो प्रश्न शुक्रबार काठमाडौंको कालिमाटीमा गिट्टी बोक्दै गरेका तेजबहादुर खत्रीले पनि सोधे ।

यदि अघिल्लो चुनावमा उनले मत दिएर बनाएको स्थानीय सरकारले वाचा गरे अनुसारै काम गरिदिएको भए यसपालि पनि मतदान हुने दिन तेजबहादुर संभवतः काठमाडौंमा भेटिदैनथे, उनकै गृहनगर उदयपुरको कटारीमा हुन्थे । शुक्रबार देशभर भोट हालेका झण्डै ६४ प्रतिशत मतदाताझैं उत्साहित देखिन्थे, भोट हाल्ने लाइनमा लामबद्ध हुन्थे । यदि उनमा उत्साह हुदैनथ्यो भने पनि सोध्नुपर्ने प्रश्न कम्तीमा भोट हालेपछि नेताहरुलाई सोध्थे ।

तर वर्षाैंदेखि काम गर्दागर्दै खिइसकेको उनका हातले उत्सवझैं आउने चुनावमा पनि मत हाल्न पाएन, अरु मतदाता झैं उनको बुढी औंला नीलो रङले रंगिएन । ‘०७४ को चुनावमा गाउँमै काम पाइन्छ, मजदुरी गर्न टाढा जानुपर्दैन भनेका थिए, सबै पार्टीका नेताहरुले त्यही भनेको भएर सबैलाई एक एक भोट हालेर जिताइयो’, खत्रीले भने, ‘तर आफ्नो दुख सकिएन, हातपाखुरा खियाउन गाउँ नै छोड्नुपर्‍यो । हाम्रो दुखको ख्याल कसले गर्छ र ?’

मत हाल्ने आफ्नो अधिकार हो भन्ने खत्रीले नबुझेका होइनन् । तर पेट भर्न गर्ने संघर्ष भन्दा भोट हाल्ने अधिकार उनलाई अलिकति कम महत्वकै लाग्यो सायद ।

हामीले राज्यसँग, सरकारसँग, आफैंले जिताएका नेतासँग मनभरि गुनासो बोकेर भोट हाल्न नगएका तेजबहादुरको कुराबाट यो सामग्री लेख्न सुरु गरे पनि समग्रमा यो भोट हालेका नागरिकको कथा हो । मतदान हुने एक दिन भाउ पाएका जनताको कुरा हो ।

मतदान सुरु हुनुभन्दा केही अघिमात्रै गाउँमा झल्याकझुलुक नेताहरु देखिँदा जनताको मनमा उठेको प्रश्नको कुरा हो, जुन प्रश्न नेताहरु गाउँमा देखिन/भेटिन थालेपछि ललितपुर खोकनाकी दुर्गामाया महर्जनको मनमा खेलिरहेको छ । ‘भोट माग्न आउनेहरुले छोरीलाई फकाएझैं फकाए,अब भोट हालियो पाँच बर्ष देखा पर्दैनन्’ उनले भनिन् ।

दुर्गामाया बितेको पाँच वर्षमा आफूले मत हालेर जिताएका नेताहरुले गरेको काममा कत्ति पनि सन्तुष्ट छैनन्, अब जितेर आउनेले केही गर्लान् भन्ने आशा पनि उनलाई छैन । तर भोट हाल्नैपर्छ भन्ने उनको मनको ठम्याईं चाहिँ अचम्मकै छ । ‘भोट हाल्ने त हाम्रो अधिकार पनि हो नि,’ दुर्गामाया भन्छिन् ।

खोकनामा पानीको असाध्यै दुख छ । खेती किसानी मुख्य पेसा हो तर सिँचाइ गर्न पानी पुग्दैन । ०७४ को चुनावमा मत माग्न आएका नेताहरुले घरमै पानी ल्याइदिन्छौं भनेका त हुन् तर झन् झन् समस्या भयो ।

मतदान गर्ने लाइनमा दुर्गामाया (अगाडिबाट तेस्रो)

खेतको फसल बढाउन सिँचाइको प्रबन्ध गर्छाैं भनेका नेताहरु फेरि फर्केर गएनन्,खेत सुख्खा भयो,स्वभाविक हो सुख्खा खेतको उब्जनी घट्यो । त्यसैले दुर्गामायाले सायद आफ्नै मनसँग उसैगरि प्रश्न गरिन्, जसरी १४ वर्षअघि लोकनाद समूहले गरेको थियो

‘…मेरे खेतोंको यह जानने का हक रे

क्यों बाँध बने है बडे बडे

तो भि फसल में जान नही…’

०७४ को स्थानीय तह निर्वाचन संघीयता कार्यान्वयनको पहिलो खुड्किलो थियो । घरदैलोको सरकार जनताको झन् करिब पुग्छ भन्ने व्याख्या विश्लेषण भइरहेका थिए । पछाडि पारिएका नागरिकलाई समानताको हक हुनेछ भनेर संविधानले नै व्यवस्था गरेको थियो र त्यसलाई कार्यान्वयन गर्ने जिम्मा पाएको हो स्थानीय सरकारले ।

तर सरकारको काम जनताले सोचेझैं भएन, नयाँ व्यवस्था आए केही फरक हुन्छ कि भन्ने जनताको अपेक्षामा स्थानीय सरकारहरुको अलमल उल्झन बनेर आइदियो । र यो अलमल प्रकट भयो पोखराका प्रेमबहादुर परियारको मनमा ।

पोखरा महानगरपालिका वडा नम्बर ४ को नबिन माबिको मतदानस्थलमा भोट हालिसकेपछि परियारलाई आफूले भोगेको विभेद झलझली याद आयो । भोट चल्ने तर पानी नचल्ने कसरी हुन्छ भन्ने प्रश्नले चिमोटिरह्यो ।

‘भोट हाल्ने अधिकार पाएदेखि सबै चुनावमा सहभागी हुँदै आएको छु । सबैले अब समानता आउँछ, तिमीहरुको पनि दिन आउँछ भन्छन्,’ परियारले भने, ‘तर, त्यस्तो अहिलेसम्म खासै अनुभव गर्न पाइएको छैन । यसपालि पनि भोट दिएको छु, वडावासीलाई राम्रो होस् । जनताले सुख पाऊन् । हामी पनि मान्छे बन्न पाउँ भनेरै भोट दिएको हुँ ।’

मान्छेले मान्छे बन्न देखेको सपना सानो सपना होइन । आफ्नो सपनाबारे जान्ने अधिकार अब आफूलाई हुनुपर्छ भन्ने परियारलाई लागेको छ, जसरी गीतको यो अन्तराले भन्छ ।

‘…मेरे सपनो को जानने का हक रे

क्यों सदियो से टुट रही है,

इनको सजनेका नाम नहीं…’

प्रत्येक पटकको चुनाव जनतालाई चाडजस्तै गरी लाग्छ । सारा काम छोडेर मत हाल्न लामबद्ध बस्ने नागरिकमध्ये धेरैलाई आफूले भोट हालेका नेताले केही गर्लान् भन्ने विश्वास लाग्दैन । तर भोट हालेर शासक चुन्न पाउने गरी लोकतन्त्रले दिएको अधिकार नेताहरुसँगको असन्तुष्टिले किन कुण्ठित गर्नु भन्ने लागेरै उनीहरु मतदानमा लामबद्ध हुन्छन् । त्यसैले उनीहरु भोट हाल्न पुग्छन् अनगिन्ती प्रश्नहरुको पोको बोकेर । जस्तो कि गीतको यो अन्तराले भन्छ

‘…मेरे गाँव को यह जाननेका हक रे

क्यों बिजली न सडक न पानी

खुली राशन की दुकान नहीं… ’

यही प्रश्न गरेका हुन्, दाङ घोराही उपमहानरपालिकाका ६८ बर्षीय जगतराम चौधरीले । भोट हालेर पनि पनि खुसी नदेखिएका चौधरीले एकछिन चौतारोमा सुस्ताएपछि उनले भने, ‘गाउँमा खेती किसानीको लागि सिँचाइ छैन, पानीका मुहानहरु सुक्दै गएका छन् । खानेपानीको समेत अभाव भइसक्यो । हामीले जिताएका नेताले हाम्रो समस्या बुझ्लान् ?’

मतदान हुने दिन यसै पनि जनता जनार्दन हुने दिन हो । आफूहरुले खसालेको एक–एक भोटले जनप्रतिनिधि चुनिन्छन् भन्ने उनीहरुलाई थाहा छ । आफैंले भोट हाले कम्तीमा प्रश्न गर्न पाइन्छ भन्ने जनताले बुझेका छन् । किनभने उनीहरु गाउँमा खेतीयोग्य जमिन मासिदै गएकोबारे नेताहरुसँग प्रश्न गर्न चाहन्छन्, पानी किन भएन, सिँचाइ किन भएन, फोहोर किन उठेन, शिक्षामा समान पहुँच किन भएन ?

यी सबै सबै प्रश्नहरु सोध्न चाहे मतदाताले आजैको दिन, नेताहरुलाई भोट हालेको दिन । अनि मतदाताले सोध्दै छन्, स्वस्थ हुन पाउने मौलिक अधिकार पनि किन कुण्ठित भयो भनेर । जस्तो कि बाजुराको हिमाली गाउँपालिकाका ३ बौडिका रङ्ग बोहराले सोधेका छन् ।

यसपालि मतदानमा सहभागी भएका बोहराले गत बर्ष आमा गुमाउनुपर्‍यो । मिर्गाैलाको उपचार नपाएर आमा गुमाउनुपर्दाको घाउमा खाटा बसिनसक्दै बोहरा मतदानको लाइनमा बसे ।

काठमाडौंको भीमढुंगामा मतदान गर्न आएका एक वृद्ध अक्सिजन सिलिण्डरको सहायतामा स्वासप्रश्वास गर्दै ।

‘गत बर्ष किड्नीको उपचार गर्न नसकेर आमा गुमाउनुपर्‍यो,’ बोहराले भने, ‘अहिले लाइनमा बसेर भोट त हालें, तर उपचार नपाएर हामी जनता कहिलेसम्म मर्ने ? यसैगरी सोधेका हुन १४ वर्षअघि विनय र चारुलले ।

‘…मेरी बूढी माँ को जानने का हक रे

क्यों गोली नहीं सुई दवाखाने

पट्टी टाकने का सामान नहीं…’

जनताले सानो संघर्षले भोट हाल्ने अधिकार पाएका होइनन् । तर जनताको चाहना आफ्नो भोटको अवमूल्यन नहोस् भन्ने नै हो, हिजो पनि र आज पनि । देशको समृद्धि, गाउँको विकास र भोको पेटले खोजिरहने एक गाँस अन्नको जोहो सजिलो बाटोबाट होस् भन्ने नागरिकको अपेक्षा आधारभूत नै हो ।

हिउँद लाग्दा नलाग्दै हिमाली जिल्लामा हुने खाद्य संकट, पुगेको खाद्यान्न पनि गोदाममै थन्किने सिलसिला र त्यसले पेटभित्र बाल्ने भोकको राँकोबारे जनता जति भुक्तभोगी छन् जानकार त उनीहरुले चुनेका नेताहरु पनि हुनुपर्छ नै ।

‘…मेरी भूख को जानने का हक रे

क्यों गोदामों में सड़ते हैं दाने

मुझे मुट्ठी भर दाना नहीं…’

हुम्लाको सिमकोट गाउँपालिका-१ कि गीता लामाको कुरा यही त हो नि जुन प्रश्न यो गीतले गरेको छ । मतदान गरिसकेपछि लामाले अनलाइनखबरसँग भनिन् ‘हाम्रो हुम्लामा पुग्ने अन्न फल्दैन, खाद्य संस्थानले पठाएको खानेकुरा पहिले नेपालगञ्जको गोदाममा थन्किन्छ, अनि हुम्लाको गोदाममा थन्किन्छ । खाद्य संस्थानबाट किन्नुपर्ने खानेकुरा हामीले कुहिएपछि मात्रै पाउने किन होला भनेर भोट हाल्न लाइनमा बसिरहेका बेला मनमा कुरा खेलिरह्यो ।’

पाँच वर्षअघि जनताको भोट पाएर जितेका अधिकांश जनप्रतिनिधि फर्किएर फेरि जनताको दैलोमा पुगेनन् । पराजित भएकाहरुले पनि जनता बिर्सिए । तर फेरि पाँच वर्षपछि चुनावको छेको पारेर नेताहरुले घरदैलो गरे, मतदाताका खुट्टा ढोगे, जनताको शक्तिबारे बयान गरे । के के मात्रै गरेनन् उनीहरुले ?

नेताहरुको यस्तो व्यवहारबाट जनता आजितै थिए, यसपालि रुष्ट पनि छन् । भोट हाल्नुअघिका नेता र भोट हालिसकेपछिका नेता, मतदानअघि र मतदानपछि गर्ने ब्यवहारबारे के जनताको मनमा कुनै संशय छैन होला र ? यद्यपि जनता आफ्नो दायित्वबाट पछि हटेका छैनन्, प्रश्नसहितको मत हालेर पाँच वर्षका लागि आफ्नो काम सकेका छन्, जसरी लोकनाद समूह सोध्छ :

मेरे वोटों को ये जानने का हक रे
क्यू एक दिन बडे बडे वादें

और पाँच साल नाम नहीं !

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?