+
+

मोदी आऊन्, आत्मीयता पनि ल्याऊन्

डा. अतीन्द्र दाहाल डा. अतीन्द्र दाहाल
२०७९ जेठ १ गते ११:५१

प्रधानमन्त्री शेरबहादुर देउवाले गएको चैत १८ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गरे । उनकै सादर निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दैछन् । लुम्बिनी भ्रमणसँगै विभिन्न विषयमा दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल हुने भनिएको छ ।

सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीले नियुक्तिलगत्तै भारत भ्रमण गर्ने गरेका छन् । भारतीय समकक्षीबाट भने खासै नेपाल भ्रमण हुँदैन । प्रधानमन्त्रीको रूपमा १७ वर्षपछि मात्रै सन् अगस्ट २०१४ मा नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका थिए । उनको कार्यकालमा भने यो पाँचौं भ्रमण हुनेछ ।

सन् १९४७ बाट राज्यस्तरीय रूपमा औपचारिक सम्बन्धसँगै आपसी दूतावास स्थापना भए । यसअगावै नेपाल–भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक अनि व्यापारिक हिसाबले घनिष्ट सम्बन्ध थियो । उपहारको आदान/प्रदान र भ्रमणसमेत हुन्थे । भारतबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिक लगायत क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त छ ।

भारतको स्वतन्त्रता अनि हाम्रो प्रजातन्त्र स्थापना र सबलीकरण अभ्यासमा एकअर्काप्रति आवश्यक सहयोग पनि हुँदै आएको छ । यस्तो हितकर मित्र र अगाढ पारस्परिक सम्बन्ध भएको देशमा भ्रमण हुनु स्वाभाविक हो र निरन्तर रहनुपर्छ । यस्ता भ्रमण बहुआयामिक हुनुपर्छ । देशको हितलगायत अन्तर्राष्ट्रिय जगतमा पहिचान तथा परिचयको एक आयाम बन्नुपर्छ ।

यो केवल छिमेकी मित्रराष्ट्रको भ्रमण मात्र होइन, संसारको सबैभन्दा ठूलो प्रजातन्त्र र एक उदीयमान सामरिक शक्ति सम्पन्न देशको भ्रमण समेत हो । विविध आयाममा विश्व सर्वेक्षण गर्ने विख्यात पत्रिका फोब्र्सले अहिले चीनको वर्तमान राष्ट्रपति सी जीन पिङपछि क्रमशः भ्लादिमिर पुटिन, जो बाइडेन, एन्जेला मार्केल हुँदै मोदीलाई ९औं शक्तिशाली व्यक्ति देखाउँछ ।

संसारका शक्तिशाली मानिसको सूचीमा भारतका प्रधानमन्त्रीहरूमा सबैभन्दा माथि पुग्ने व्यक्तिसमेत स्वयं मोदी नै हुन् । तसर्थ यो भ्रमण छिमेकी प्रधानमन्त्रीसँगै विश्वका एक शक्तिशाली व्यक्तिको भ्रमण समेत हो । यद्यपि विश्व भ्रमणमा रमाउनु चाहिं मोदीको विशिष्ट स्वभाव भएको देखिन्छ ।

मोदीको भ्रमण मोह

उनको प्रथम प्रधानमन्त्रीत्वसँगै छिमेकीहरू साथमा लिएर विश्व शक्ति बन्न चाहेको आशय देखिन्थ्यो । शपथ समारोहमा सबै सार्क सदस्यहरूलाई निम्त्याइयो । लगत्तै १५ जून २०१४ मा भूटानबाट शुरू भएको विदेश यात्राले तीव्र रफ्तार लियो ।

भारतीय सरकारी तथ्यांकका अनुसार आमन्त्रित औपचारिक र अन्तर्राष्ट्रिय सभा, सम्मेलनका सवालमा समेत गरी मोदीबाट ६२ देशमा झन्डै ११३ भ्रमणहरू भएका देखिन्छन् । यसबीचमा ३६ देशमा १ पटक, १५ देशमा २, तीन देशमा ३ पटक, चार देशमा ४, तीन देशमा ५ र एक देशमा ७ पटकसम्म भ्रमण भएका छन् ।

उत्तिकै संख्यामा अन्य देशका उच्च पदाधिकारीहरूलाई भारत भ्रमण गराइएको छ । अन्तर्राष्ट्रियस्तरमा बलियो उपस्थितिका लागि भारतले सकेको प्रयास गर्दैछ । पछिल्लो परिवर्तित विश्व अवस्थाको कारण अरू देशहरूसँग नयाँ आयामको सम्बन्ध स्थापित गर्न यस्ता भ्रमणको निरन्तरता भारतको एक रणनीतिक अभ्यास समेत हो ।

हामीले पनि उक्त सदासयता र अवसरलाई भरपुर सदुपयोग गर्नुपर्छ । भ्रमणलाई देशको भलाइ र हितकेन्द्रित बनाउन यथासम्भव प्रयास गर्नुपर्छ । यस्ता भ्रमणमार्पmत कूटनीतिको नयाँ र अग्रगामी अभ्यास शिरोपर गर्नुपर्छ । फेरिएको परिस्थितिलाई फरक हिसाबले नै लिनुपर्छ । सोही अनुसार कुशल अनि निपुर्ण हार्दिकता प्रदर्शन हुनुपर्छ ।

कुशल हार्दिकताको आवश्यकता

पहिलो भ्रमणमा मोदीमाथि आम नागरिकको उच्च सम्मान र श्रद्धा थियो । दोस्रो पटकमा संविधानसँग सम्बन्धित अभिव्यक्तिलाई लिएर केही आशंका जन्मियो । संविधान निर्माणपछि उत्पन्न परिस्थति अनि १३५ दिनको नाकाबन्दीका कारण पहिलो भ्रमणबाट प्राप्त स्याबासी तथा उच्च आदरमा गम्भीर क्षयीकरण भयो । उक्त सम्मानको पुनर्जागृतिका लागि उनीबाट अधिक हार्दिकता प्रदर्शन अहिलेको आवश्यकता हो ।

पछिल्लो दशक चीन नयाँ आर्थिक शक्ति भएर आक्रामक रूपमा उदायो । अब विगतमा जस्तो विश्वयुद्घ नभई देशहरूबीच व्यापार युद्घ हुन्छ भनेर विश्लेषकहरू ‘थुसिडाइड ट्रयाप’को सम्भावना देखाउँदैछन् । सन् २०१७ मा प्रकाशित माइकल ए गार्हमको पुस्तक ‘डेस्टाइन्ड फर वार : क्यान अमेरिका एण्ड चाइना इस्केप थुसिडाइड ट्रयाप’ले समेत यस्तै प्रक्षेपण गर्छ ।

चीन प्रक्षेपित अति महत्वाकांक्षी व्यापार योजना बीआरआई जस्तै उद्देश्यसहित असमानान्तर व्यापार प्रगतिका लागि भारतले पनि ‘एशिया–अफ्रिका ग्रोथ कोरिडोर’ नामक उच्च महत्वाकांक्षाका व्यापारिक परियोजना ल्याउँदैछ । सन् २०१६ नोभेम्बरमा भारतका प्रधानमन्त्री मोदी र जापानका तत्कालीन प्रधानमन्त्री सिनो आबेबीच यस्तो कुराकानी भयो ।

लगत्तै विभिन्न स्तरका छलफलबाट ३० पृष्ठको अवधारणा पत्र बनाइयो । चीनको ओबर समिटलगत्तै गुजरातमा अफ्रिकन विकास बैंकको ५२औं वर्षगाँठको अवसरमा २५ मे २०१७ मा भारत र जापानका प्रधानमन्त्रीहरूबाट एएजीसी सार्वजनिक भयो ।

गुणात्मक संरचना निर्माण, अन्तरसम्बन्धको विकास, क्षमता अभिवृद्घि र जनता–जनताबीच सम्बन्ध प्रवर्धन एएजीसीका मुख्य चार उद्देश्य छन् । विशेष परियोजना थालनी, कार्यालय स्थापना वा वित्तीय गतिविधि सुरु हुँदैछन् । अवधारणालाई सुदृढ बनाउँदै केही ठोस परियोजना तत्कालै सुरु हुने भनिएको छ ।

यस्ता भ्रमणबाट भारतले सम्बन्ध सुधारको स्पष्ट सन्देश दिनुपर्छ, नेपालमाथि सम्मान व्यक्त हुनुपर्छ । अन्तर्राष्ट्रिय कूटनीतिका हिसाबले पनि समुन्नत र समृद्घ नेपाल भारतको समेत एक अनिवार्य आवश्यकता हो ।

जापानले परियोजना सफल पार्न उसको मुख्य नेतृत्वका एशियाली विकास बैंक र जापान इन्टरनेशनल को–अपरेटिभ एजेन्सी (जाइका)लाई प्रयोग गर्दैछ । ती संस्थाको नियमित धनराशि बाहेक अतिरिक्त २०० अरब अमेरिकी डलर विनियोजित देखिन्छ ।

भारतले पनि छिट्टै नयाँ रणनीति सार्वजनिक गर्ने सुनिन्छ । समाजशास्त्री जीन बद्रिलार्डको पुस्तक ‘द सिमुलाक्रा एण्ड सिमुलेशन’ले कल्पनालाई सम्भाव्यताको आधार वा सशक्त सत्य मान्दछ ।

भारतले कल्पना गर्दैछ, एकदिन विश्वबजारमा उसको भव्य उपस्थिति हुनेछ । एएजीसीले एशिया र अफ्रिकाका ७८ देशहरू समेट्नेछ । सन् २०२५ सम्ममा यो योजनालाई निष्कर्षमा पुर्‍याउन ‘इन्डिया–जापान भिजन २०२५’ तयार गरिंदैछ ।

मोदीको ‘मेक इन इन्डिया’ नामक ब्यानरभित्र आक्रामक व्यापार विस्तारको आकांक्षामा भारतले अर्को सशक्त वाणिज्य मार्ग अनि क्षेत्र पहिल्याउँदैछ । इरान, काजकिस्तान हुँदै रूसको सेन्ट–पिटर्सबर्गसम्मलाई लक्ष्य गरेर ‘नर्थ–साउथ ट्रेड करिडोर’ नामक अर्को एकल योजना तयार पार्दैछ । उसका यस्ता योजनाहरूमाथि छिमेकीको साथ लिन पनि उत्साहपूर्ण हार्दिकता आवश्यक रहन्छ ।

भारत निकट भविष्यमा नै संयुक्त राष्ट्रसंघको स्थायी सदस्य बन्न चाहन्छ । त्यस्तो मत निर्माण गर्न छिमेक लगायत अरूलाई विश्वासमा लिनुपर्ने देखिन्छ । यस्ता थुप्रै नयाँ आवश्यकताले भारतले नेपाल सम्बन्ध अझ परिष्कृत बनाउनु आवश्यक छ ।

भारतसँग असमान सन्धिहरू पुनरावलोकनको काम बाँकी छ । सिमाना विवादहरू छन्, व्यापार घाटा उच्च छ । यस्ता कुराहरूमा नेपाली हितअभिपे्ररित हुने गरी नयाँ सहमति बनाउने प्रयास गर्नुपर्छ । भारतीय लगानीका थुपै्र आयोजना अलपत्र छन् । पछिल्लो लगानी सम्मेलन अनि भूकम्प पुनर्निर्माणमा घोषणा गरिएको सहयोग आइसकेको छैन ।

विविध कारणले सम्बन्ध असहजताउन्मुख देखिन्छ । यस्ता भ्रमणबाट भारतले सम्बन्ध सुधारको स्पष्ट सन्देश दिनुपर्छ, नेपालमाथि सम्मान व्यक्त हुनुपर्छ । अन्तर्राष्ट्रिय कूटनीतिका हिसाबले पनि समुन्नत र समृद्घ नेपाल भारतको समेत एक अनिवार्य आवश्यकता हो ।

नेपाल र भारतबीच खुला सिमानाका कारण अस्थिर, असहज नेपाल हुँदा भारतविरोधी शक्तिहरूले नेपालबाट खेल्न सक्छन् । त्यसैले भारतले समेत नेपालको सुरक्षा, आर्थिक, राजनीतिक तथा अन्य सबलीकरणलाई सकारात्मक सहयोग गर्नुपर्छ ।

हामी पनि भारतको लागि उत्तिकै महत्वको रणनीतिक देश हौं, भारतमा सातौं ठूलो आयतनको उच्च विप्रेषण पठाउने राष्ट्र हौं । भारतले सदैव गलत मक्सद नै राखिरहनु किमार्थ हितकर हुँदैन । ‘माइक्रो म्यानेजमेन्ट’लाई त्यागेर ‘फ्रेन्डली रेस्पोन्स’ गर्न सिक्नु र सक्नुपर्छ ।

तसर्थ, संविधानको भावनाको सम्मान गरौं । नागरिक आत्म–सम्मान बलियो बनाउँदै छिमेकसँग सौहार्द र हार्दिकतापूर्ण सम्बन्ध बनाउनुपर्छ । मोदी भ्रमणले देशको अधिक भलाइमा केही नयाँ सुरुवात हुनसकोस् । भ्रमण यसरी सम्पन्न होस् कि मोदीसँगै आत्मीयता पनि आओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?