+
+

जुम्लामा स्वतन्त्रबाट प्यानलसहित निर्वाचित वडाध्यक्ष भन्छन् : अब वडाको विकास हामी गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १५:३९

१ जेठ, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए ।

उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय र्‍याली निकालेका छन् ।

संघीयता आएपछि पनि दलितको मुक्ति हुन नसकेको र दलितको नेतृत्वविना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले दलको टिकट लिएनन् ।

धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए ।

वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् ।

कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट बिजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । महिला सदस्यमा काग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

अहिले दलित वस्तीमा खुसीयाली मनाइरहेका छन् । प्यानलै जितेपछि उत्सव मनाइहेका वडा अध्यक्ष धनबहादुर कामीसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :

तपाईंको वडामा त स्वतन्त्र रुपमा उठ्नुभएका प्यानल नै जित्नुभएछ । बधाइ छ है ।

हजुर सबैजनाले जित्यौं ।

स्वतन्त्र उम्मेदवारी दिने सोच कसरी आयो ?

हामी एकातिर गरिब, एकातिर दलित। कसैले नहेर्ने । यसपालि त आफैं स्वतन्त्र उठौं भनेर सल्लाह गरियो, जितियो ।

पहिला त आफ्नो आफ्नो पार्टीबाट लडेर कोहीले जितिने, कोहीले नजितिने । एउटा–एउटा प्रतिनिधि हुँदा हाम्रो पक्षमा काम पनि भएन । त्यही भएर अहिले स्वतन्त्रबाट उठेर लडौं भनेर सल्लाह गरियो । छुट्टाछुट्टै पार्टी गरेर चुनाव जित्ने कुरा भएन । स्वतन्त्रबाट लडौं, पछि पार्टीमा जाऔँला भनियो ।

अब योजना के छ त ?

के–के हुन्छ, अब हामी योजना बनाउँछौँ । गरिब छौं, दलित छौं । सबैको दुःख उस्तै छ । अब सरकारले गाउँपालिकाले हामीलाई कुन तरिकाले सोच्छ, विकासका लागि कसरी सहयोग गर्छ हेर्छौ ।

एकजुट भएर जाँदा योजना माग्न पनि हामीलाई सजिलो हुने भयो । प्रदेशबाट पनि सहयोग माग्छौं, माथिको सरकार (संघीय सरकार) बाट पनि सहयोग माग्छौं । सबैको सहयोगले हामीले हाम्रो वडाको विकास गर्छौ ।

के–के काम गर्नुहुन्छ ?

हाम्रोमा सबै कुराको असुविधा छ, स्कुल छैन । बाटोघाटो, पुल छैन । खानेपानी र बत्तीको पनि असुविधा छ । त्यस्तो सुविधा दिने संघसंस्था भेटिए हामीले धन्यवाद दिनेछौं । स्वास्थ्यचौकी पनि धेरै टाढा छ, स्कुल पनि टाढा छ । यो सबै समस्याको समाधान गर्न हामीले काम गर्छौं । सहयोग गर्न आग्रह पनि गर्छौं ।

त्यहाँको जीविकोपार्जनको मुख्य स्रोत के हो ?

दुर्गम ठाउँ, पिछडिएको ठाउँ पर्यो । खेति गर्न पनि हामी दलितहरुको जग्गा जमिन छैन । खेति गरेर पनि पुग्दैन । काम खोज्दै कहिले तराईतिर जानुपर्छ, कोही इन्डियातिर जान्छन् । चुनाव लडेर जितेपछि कुन तरिकाले कसरी विकास गर्ने हो भनेर मनमा खुलदुली लाग्ने नै भयो ।

पहिले तपाईंहरुको वडामा गाउँपालिकाले सहयोग गर्थ्यो ?

नाई–नाई । सहयोग पाएको भए त यसरी सबै एकजुट भएर चुनाव लड्नै पर्ने थिएन नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?