+
+
काठमाडौंको रुझान :

बालेन र सुनिता जिताउने, पार्टी रिझाउने !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ १ गते १६:५४

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र एमालेबाट उपमेयर सुनिता डंगोलको अग्रता कायमै छ ।

प्रारम्भिक मत गणनाको नतिजा अनुसार दोस्रो दिन २ :३० बजेसम्म एमाले र गठबन्धन उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता १४ सय भन्दा धेरै छ ।

भने उपमेयर डंगोलको अग्रता प्रतिस्पर्धीको तुलनामा १५ सय भन्दा धेरैले छ । मतगणनाको दोस्रो दिन राष्ट्रिय सभागृहमा काठमाडौंका महानगरका १,२,३,४ र ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

दिउँसो साढे २ बजेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३ हजार १ सय १०, नेपाली कांग्रेसका सृजना सिंहले १ हजार ६ सय २ र नेकपा एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । ६ वटा वडाको गणना भएको सबै मतमा बालेन साह अन्य उम्मेदवार भन्दा निकै मतान्तरले अघि देखिन्छन् ।

वडागत प्राप्त मतमा बालेनको अग्रता

काठमाडौं एक नम्बर वडामा बालेनले हालसम्मको गणनाअनुसार ६२५ मत प्राप्त गरेका छन् । जुन एमालेका केशव स्थापितको भन्दा झण्डै तीन गुणा र कांग्रेसका सृजना सिंहको तुलनामा दुई गुणाले बढी हो । यो वडामा स्थापितलाई २ सय ९० मत गएको छ भने सिंहलाई ३ सय ७७ मत खसेको छ ।

यस्तै वडा नम्बर २ मा बालेनलाई ६ सय ७३ मत गएको छ । जबकी यो वडामा स्थापितलाई ४ सय ३२ र सिंहलाई २ सय ६४ मत मात्रै खसेको छ । वडा नम्बर ३ मा बालेनले ४ सय ३५ मत प्राप्त गर्दा स्थापितलाई २ सय ४५ र सिंहलाई ३ सय २२ मत गएको छ ।

यता वडा नम्बर ४ मा बालेनले ६ सय ४६ मत प्राप्त गर्दा स्थापितलाई २ सय ३० र सिंहलाई ३ सय १ मत खसेको छ । वडा नम्बर ३२ बाट बालेनलाई ६ सय ८२ मत प्राप्त हुँदा स्थापितलाई ३ सय ३६ र सिंहलाई २ सय ९४ मत खसेको छ ।

यस्तै भर्खरै गणना सुरु भएको वडा नम्बर ३१ मा बालेनलाई ४९ मत खस्दा स्थापितलाई ३२ र सिंहलाई ४२ मत मात्रै खसेको छ ।

बालेन र सुनिता जिताउने, पार्टी रिझाउने

मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।

काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

मतगणनास्थलमा हेरिएको मतपत्रअनुसार मेयरको भोट जसरी पनि लौरोमै हाल्नुपर्छ भन्ने ट्रेण्ड देखिएको एमालेका ति प्रतिनिधिको भनाइ छ । ‘हामीले सात सूर्य सात छाप भनेर मतदातालई सिकाएका हौं,’ उनी भन्छन् ‘ ब्यालेटको मतमा एक छाप लौरो ६ छाप सूर्य देखिन्छ ।’ आफ्नो पार्टीको भित्री मतदाता रहेको भनि गरिको आकलन र टोलबाट समेत मेयर पदमा लौरोमा मात्रै एउटा मत खसाएको पाइएको ती प्रतिनिधिको भनाइ छ ।

एमालेको जस्तै दुःख ब्यालेटमा नेपाली कांग्रेसलाई पनि छ । गणना भएका वडाहरुमा तेस्रो स्थानमा कांग्रेसी मत देखिनुले गठबन्धनले काम नगरे जस्तो पाइएको नेपाली कांग्रेसका एक प्रतिनिधिले बताए । उनको भनाइमा कांग्रेसी कार्यकर्ताले मत माग्दै मेयरको मत बालेनका लागि मागेको जस्तो देखिएको छ ।

‘मत गणना भएका वडाहरुमा वडा अध्यक्ष पदमा एमालेसंग तिब्र प्रतस्पर्धा छ तर मेयर पदमा एउटा भोट अनिवार्य जस्तै गरेर लौरोमा हालिएको छ,’ ती प्रतिनिधि भन्छन् ‘एक भोट बालेनका लागि र बाँकी भोट कांग्रेसलाई माया गरेर पार्टीका लागि हालेको जस्तो देखिन्छ ।’

बालेनका लागि हाल्दा बदर मत धेरै

मत गणना स्थलमा देखिएको दृश्यअनुसार काठमाडौं महानगर पालिकामा बदर मतको संख्या धेरै हुने आकलन गरिएको छ । हरेक वडामा भएको मतदानमा दल र स्वतन्त्र उम्मेदवार बालेन साह दुबैलाई मत हाल्न खोजेका कारण बदर मतको संख्या उच्च छ ।

एमाले, कांग्रेस र राप्रपाका लागि धेरै मतदान गरेका मतदाताले बालेनको लौरो चिन्हमा पनि मतदान गरेको स्थलगत रिपोर्टिङमा देखिको छ । मतदाताहरुले एक भोट लौरोमा, अर्को भोट पनि मेयरकै सूर्यमा खसाएका छन् ।

यस्तै एक भोट लौरोमा र अर्को भोट पनि मेयरको कांग्रेसमा खसाएका कारण बदर धेरै देखिएको छ । मतगणना स्थलमा खटिएका दलका प्रतिनिधिहरुका अनुसार वडा अध्यक्ष र सदस्यहरुमा लहरै मत हालिए पनि मेयर पदका लागि गरिने मतदानमा साह, स्थापित र सिंहलाई तीनवटैमा खसाउन खोज्दा धेरै मत बदर भएको छ ।

मध्यान्ह १२ बजेसम्म ६ हजार ४ सय मत गणना हुँदा पाँच सय बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?