+
+

रोल्पामा माओवादी : थवाङ जोगायो, गंगादेव गुमायो

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ २ गते २२:५७

२ जेठ, रोल्पा । नेकपा माओवादी केन्द्रका लागि रोल्पा र त्यहाँको थवाङ गाउँ सधैं प्रतिष्ठाको विषय हुने गर्छ । यस पटकको स्थानीय निर्वाचनमा पनि धेरैको चासो रोल्पा र थवाङमा माओवादीको स्थिति के हुन्छ भन्ने थियो ।

यो निर्वाचनमा अझ चाखलाग्दो के थियो भने थवाङमा माओवादी केन्द्र विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ निकट उम्मेदवारलाई कांग्रेस र एमालेले सघाएका थिए ।

यसलाई ध्यानमा राख्दै माओवादी केन्द्रका नेता वर्षमान पुन स्थानीय चुनाव भन्दा अघिदेखि आफैं सहभागी भएर चुनावी अभियान चलाएका थिए ।

थवाङपछि माओवादी केन्द्रका लागि अर्को महत्वपूर्ण पालिका थियो, गंगादेव गाउँपालिका । यहाँ पनि थवाङमा जस्तै माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेस–नेकपा एमाले र विप्लव नेतृत्वले तालमेल गरे । अध्यक्षमा नेकपाका केन्द्रीय दस्य चुडामणि वली उम्मेदवार बने ।

यो माओवादीका लागि थवाङमा भएको मोर्चाबन्दी भन्दा बढी चुनौतीपूर्ण थियो । माओवादी नेता पुनले गंगादेवमा पनि दुई दिन चुनावी अभियानमा बिताएका थिए ।

दुई दिनको गंगादेवको बसाइपछि लिवाङ पुगेर पत्रकार सम्मेलन गर्दै नेता पुनले रोल्पामा कतै चुनाव लागेको भए त्यो गंगादेवमै लागेको बताएका थिए । उनले भने जस्तै यी दुई ठाउँबाट रोचक परिणाम समेत आयो ।

थवाङ गाउँपालिकामा कांग्रेस–एमालेसंग गठबन्धन गरेर स्वतन्त्र उम्मेदवारी दिएका दर्जित रोकामगरले माओवादीका उम्मेदवारलाई हराउन सेकनन् । उनले १५०६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उमेदवार ऋषिकेशव वुढाले २१२२ मत प्राप्त गरी निर्वाचित भए । गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बुढा मगरले २१२२ मत प्राप्त गरी निर्वाचित भइन् ।

वडाध्यक्षमा थवाङ गाउँपालिका वडा नं. १ माफर्के झाँक्रीले ३३६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका हिराप्रसाद बुढा मगरले ३५८ मत प्राप्त गरी निर्वाचित भए । यो वडामा दोस्रो स्थान हासिल गरेका स्वतन्त्र उमेदवार २२ मतान्तरले पराजित थिए ।

थवाङ गाउँपालिका वडा नंं २ मा स्वतन्त्र उमेदवारतीर्थनारायण मिजारले ३६६ मत प्राप्तगर्दा माओवादीकै अभिलाशा रोका मगरले ४२१ मत प्राप्त गरि विजयी भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार ५५ मतान्तरले पराजित भए ।

सारमा भन्दा सबै शक्ति लाग्दा पनि माओवादीले आफ्नो प्रतिष्ठाको पालिका थवाङलाई जोगायो । प्रायः विद्रोही पक्षलाई साथ दिने थवाङ शान्ति प्रक्रियामा आएयता माओवादीलाई नै साथ दिइरहेको छ ।

अर्कोतर्फ गंगादेवमा भने पुतली चिह्न लिएर उठेका वली आफूले नजिते पनि माओवादीलाई हराउन निर्णायक रहे । गंगादेव गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन नेकपा माओवादी केन्द्रले जितेको थियो । तर, यसपटक हार्ने मात्रै होइन तेस्रो स्थानमा झ¥यो ।

अघिल्लो चुनावमा कांग्रेसबाट हरिबहादुर पुन र नेकपा एमालेबाट रोशनकुमार वलीबीचको प्रतिस्पर्धामा त्यसबेला माओवादीका वीरबहादुर खत्री २४१४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचनमा तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार रहेका उनै पुनले यसपाली खत्रीलाई हराए । यसमा विप्लव नेतृत्वको नेकपा नेता वली कारक रहे । उनले पाएको १५७३ मतमा धेरै जसो मत माओवादीहरुकै थियो ।

अर्कातिर माओवादीका खत्रीको व्यक्तित्व पनि यसमा जिम्मेवार थियो । अघिल्लो कार्यकालभर उनले गाउँपालिकामा राम्रो छवि बनाउन सकेका थिएनन् । यसले पनि कहीँ न कहीँ असर पुर्‍याएकै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?