
४ जेठ, गोरखा । गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका राजनराज पन्तलाई १ हजार ८५६ को फराकिलो मतान्तरले पछि पार्दै राना मेयरमा निर्वाचित भएका हुन् । रानाले ८ हजार ९६४ मत ल्याए भने उनका पन्तले ७ हजार १०८ मत मात्र प्राप्त गरे ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा राना र पन्त बीच प्रतिस्पर्धा भएको थियो । उक्त समयमा ६ हजार ५६० मत ल्याएर पन्त निर्वाचित भएका थिए भने रानाले ५ हजार २६ मत प्राप्त गरेका थिए । तर यसपटक भने नतिजा उल्टिएको छ । मेयरका अर्की उम्मेदवार नेकपा एमालेकी सम्झना देवकोटाले ४ हजार ९०९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा निर्वाचित कांग्रेसकी थोकरले ७ हजार ४५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे । एमालेका उम्मेदवार देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् । नगरपालिकाको मेयर/उपमेयरमा माओवादी र जसपा बीच चुनावी गठबन्धन भएको थियो ।
१४ वडा रहेको गोरखा नगरपालिकामा ६ वटा वडामा कांग्रेस, पाँच वटामा मोआवादी केन्द्र, दुई वटामा नेकपा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया 4