+
+
स्थलगत   :

राष्ट्रिय सभागृहमा पाँच दिन : चिन्तित एमाले, बिन्दास कांग्रेस र उत्साहित ‘बालेन’

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ ४ गते २०:२४

४ जेठ, काठमाडौं । राष्ट्रिय सभागृहको दक्षिणतर्फको प्रवेशद्वारमा म्यादी र नेपाल प्रहरीका दुईवटा लाइन छन् । देशकै ठूलो सहर र केन्द्रीय राजधानी समेत रहेको काठमाडौ महानगरपालिकाको मेयरसहितका स्थानीय जनप्रतिनिधिको मतगणना भइहेको स्थानमा न बाजागाजा र नाचगान छ, न राजनीतिक दलका कुनै समूह र सर्मथक नै छन् ।

मतगणनाको चौथो र पाँचौं दिन भृकुटीमण्डपको सडकको दृश्य गत निर्वाचनपछिको मतगणनाको जस्तो थिएन । यी दुई दिन स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को सर्मथनमा सिट्ठी फुक्ने र हुटिङ गर्ने युवा पर्यटन बोर्डको गेटअघि जम्मा भएका थिए । तर पछिल्ला दिनमा ती युवा भृकुटीमण्डप छेउको बाटोमा देखिन छाडे ।

चर्केको घाम, गेटमा भरिभराउ सुरक्षाकर्मी, कम्पाउण्डमा केही सञ्चारकर्मी र दलका प्रतिनिधि अनि सभागृहको लबीमा पट्यारलाग्दो मतगणना । राष्ट्रिय सभागृह र यसको वरिपरि पुग्ने जो कसैले देख्ने दृश्य यही हो ।

बुधबार बिहानसम्म महानगरको १, २, ३ र ५ गरी चार वडाको नतिजा आइसकेको छ । सबै वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

जितेपछि वडाध्यक्ष र उनको समूह गणना स्थलबाट बाहिर निस्कन्छ । उनीहरु अबिर दल्छन् । एउटा सानो समूह गेटमा लिन आउँछ र उनीहरु बाहिरिन्छन् । पाँचौं दिनको मतगणनाको दिनसम्म पनि एमालेका जितेका उम्मेदवारहरु पनि जितमा रमाइरहेका देखिंदैनन् ।

सभागृहमा एमाले पंक्तिमा यतिसम्म निराशा छ कि बालेन साहले महानगरमा जिते कसरी उनी असफल हुन्छन् भन्न उनीहरु अहिल्यै तयार छन् । ‘महानगर चल्ने कार्यपालिकाले हो, कार्यपालिका सदस्यमा सबै वडा एमालेले जित्छ, अनि कसरी काम गर्न सक्छ हेरौंला ?’ एकजना नेता हाकाहाकी भन्छन् ।

सभागृहको भित्री कथा थाहा पाउन भृकुटीमण्डपका चिया पसल, सभागृहको चमेनागृह र मतगणना स्थलमा भेटिने पात्रहरु खोज्दै हिंड्नुपर्छ । मतगणना स्थल वरपर सञ्चारकर्मी र मतगणनाको नतिजा टिप्ने सुरक्षा निकायका भित्रिया बाहेक तीनथरी मान्छे भेटिन्छन् । पहिलो निराश एमाले, दोस्रो बिन्दास कांग्रेस र तेस्रो बालेन सर्मथकहरु ।

निराश एमाले : एमाले भएर एमालेलाई नै भोट नदिनेहरु 

भृकृटीमण्डपको चिया पसलमा आफ्नै सहकर्मीसँग गफिरहेका महानगरको वडा कमिटीका एक अध्यक्षले जारी मतगणनाको नतिजाले आफूमा वितृष्णा पैदा भएको बताए । आफ्नै भन्नेले समेत पार्टीलाई भोट नहालेको भन्दै उनले पार्टीको माथिल्लो निकायलाई आफूले ब्रिफिङ गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए ।

गत निर्वाचनमा राम्रो मत खसेको बुथबाटै मेयरका लागि धोका भयो,’ ती अध्यक्ष भन्छन्, ‘यो त निर्वाचनका बेला अभियानमै हिंडेकाले समेत भोट हालेनन् भन्ने जस्तो अवस्था देखियो ।’ पार्टी सिद्धान्त, देशका लागि गरेको त्याग र नेताहरुको योगदान समेत बिर्सेर जनताले मतदान गरेको भन्दै उनी मतदातासँग पनि पटकपटक झोक्किए । ‘वडाध्यक्ष, सदस्य पार्टीकै छाने, उपमेयरमा पनि पार्टीलाई नै मत दिए, तर मेयरमा दिएनन,’ उनी भन्छन्, ‘पार्टी पद्धति नराम्ररी ध्वस्त भयो ।’

सभागृहको पश्चिमतर्फको खालीचौरमा अस्थायी चिया पसलसँगै दलका प्रतिनिधिहरुको बिश्राम स्थल बनाइएको छ । हरेक दलका निर्वाचन परिचालन, मतगणना स्थलमा सहयोग र समन्वयका लागि प्रतिनिधि खटाउने काम यहींबाट हुन्छ । एमालेका प्रदेशसभा सांसद गणेश दुलालसहित एमाले काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउला र वडा तहका उम्मेदवार र प्रतिनिधिहरु यहाँ भेटिन्छन् ।

उनीहरुको छलफलको विषय एउटै छ ‘एमालेले एमालेलाई नै किन मेयरमा भोट हालेनन् ?’ मंगलबार हामी त्यहाँ पुग्दा एमाले महानगर अध्यक्ष देउला खसेको पार्टीको मत र टोलको विवरण संकलन गर्दै थिए । असिनपसिन देखिएका देउलाले काठमाडौंको मत खसाइलाई गम्भीर ढंगले हेरिरहेको पनि बताए ।

महानगरका भित्री वडाहरु ११ देखि २८ सम्म गणना गर्दा मेयरमा आफूहरुले लिड गर्ने र चुनाव जित्ने दाबी अहिले पनि उनको छ । ‘वडाहरु धेरै हामीले नै जित्छौं, उपमेयर त लोकप्रिय मतसहित जित्छौं,’ देउला भन्छन्, ‘हामी मेयर पनि जित्छौं ।’

२०७४ सालको मतदान प्रचलन र अहिलेको मत तुलना गर्दा भित्री सहरको गणनापछि एमालेले नै काठमाडौंको निर्वाचन जित्ने उनको दाबी थियो । तर सोही ठाउँमा भेटिएका परिचय खुलाउन नचाहने एक जना वडा तहका उम्मेदवारले चाहिं आफू निराश भएको बताए । गढ मानिएको वडा र क्षेत्रमै मेयरमा भोट नआएको उनको भनाइ थियो ।

‘२०७४ सालमा विवेकशील र साझा पार्टीका उम्मेदवारले पाँच भोटमा एक भोट काटेका थिए, यसपटक  त पाँचमा तीन भन्दा बढी भोट लौरोमा गएको छ,’ उनी भन्छन्, ‘एउटै वडाबाट स्वतन्त्र उम्मेदवारसँग मेयरमा ठूलो अन्तर हुने देखियो ।’

एमालेका उम्मेदवार सुरुवातदेखि नै पछि पर्नुले केही निराशा बढ्नु स्वभाविक भएको एमाले प्रदेश सांसद गणेश दुलाल बताउँछन् । चक्रपथको बाहिरी घेराबाट स्वतन्त्र उम्मेदवारलाई धेरै भोट गएको भन्दै दुलाल भन्छन्, ‘युवा पुस्तलाई हामीले राम्ररी सिकाउन सकेका रहेनछौं ।’

उपत्यकाको भित्री सहरको ठूलो भोट आफ्नो पक्षमा आउने अध्ययनमा देखिएको उनले सुनाए । बसाइँ सरेर आएका चक्रपथ क्षेत्रका मतदाताले यसअघि पनि रञ्जु दर्शना र किशोर थापालाई मत दिएको सम्झिंदै उनले अहिले स्वतन्त्र उम्मेदवार बालेन साहलाई त्यही भोट गएको तर्क गरे ।

सभागृहमा एमाले पंक्तिमा यतिसम्म निराशा छ कि बालेन साहले महानगरमा जिते कसरी उनी असफल हुन्छन् ? भन्न उनीहरु अहिल्यै तयार छन् । ‘महानगर चल्ने कार्यपालिकाले हो, कार्यपालिका सदस्यमा सबै वडा एमालेले जित्छ, अनि कसरी काम गर्न सक्छ हेरौंला ?’ एकजना नेता हाकाहाकी भन्छन्, ‘बालेनलाई विचार र राजनीतिक सिद्धान्तले भन्दा पनि फेसबुकको जमातले मत दिएको हो ।’

काठमाडौं महानगरको मतगणना स्थल

हार मानेका कांग्रेसहरु

मंगलबार ललितपुर महानगरको मतगणना स्थल बाहिर माओवादी केन्द्रका प्रतिनिधिसँग कुराकानी गर्न अनलाइनखबरले प्रयास गर्‍यो । गणना स्थलमा भेटिएका कांग्रेस र नेकपा एकीकृत समाजवादी र एमाले प्रतिनिधिले माओवादीहरु यहाँ गणना स्थलमा नरहेको जानकारी दिए ।

एकीकृत समाजवादीका एक नेताका अनुसार ललितपुरमा जारी मतगणनामा निकै निराशाजनक मतका कारण माओवादी प्रतिनिधिहरु मतदान स्थलमा बस्नै रुचाएका छैनन् । ठीक यस्तै अवस्था राष्ट्रिय सभागृहमा कांग्रेसको छ । मतगणना सुरु भएको दिन तामझामका साथ प्रेसलाई सूचना प्रवाह गर्न भाइबर ग्रुपसमेत बनाएर सक्रिय रहेको कांग्रेस अहिले सभागृहमा छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ ।

सभागृहमा रहेको आकस्मिक हेल्थ डेस्क अगाडिको सानो अस्थायी टहरोमा दुई–चार जना कांग्रेसका प्रतिनिधि देखिन्छन् । तर उनीहरुमा कुनै उत्साह, जाँगर र सक्रियता देखिंदैन । यो समूहले गणनामा पालैपालो प्रतिनिधि खटाउने काम गरिरहेको छ । कांग्रेसको यो समूह न आफ्नो दयनीय अवस्थाबारे एमाले जसरी छलफलमा छ, न त बालेनको अग्रसरताबारे चिन्तित नै ।

र, बालेन समूह

मतगणना स्थलबाहिर बालेन शाहका शुभचिन्तकहरु
मंगलबारको गणनालाई लिएर एमाले र एकीकृत समाजवादीका प्रतिनिधिले झगडा गरे, तर बालेन समूह गणना स्थलमा आक्रामक र नोकझोंकमा नदेखिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका एक अधिकारीले बताए ।

पाँचौं दिनको मतगणनासम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता कायमै छ । पुराना पार्टीलाई धक्का दिएको भन्दै उनी अहिले चर्चाको शिखरमा छन् । सभागृहमा चाहिं ‘बालेन’का तीनथरी मान्छे भेटिन्छन् ।

पहिलो बालेन समूहमा भर्खरका केटाकेटी छन् । मतगणना अनिंदो, भोक र तिर्खासहित काम गर्ने ठाउँ हो । यसअघि यस्तो काम गर्न तन्नेरीहरु बिरलै भेटिन्थे । अहिले बालेनको एउटा समूह सभागृहमा यो काममा खटिएको छ ।

यो समूह दल, वाद, विचार, प्रतिद्वन्दी र विरोधीबारे केही पनि बोल्दैन । मात्रै तथ्यांक भन्छ । तथ्यांकको प्रक्षेपण अनुमान गर्दै सुनाउँछ । दलका प्रतिनिधिहरु गणना स्थलमा खटिएका आफ्ना प्रतिनिधिलाई नाम नै लिएर बोलाउँछन्, तर यो समूहका धेरै युवा बालेनकै प्रतिनिधि भएर गणनामा बसेको अर्को व्यक्तिलाई चिन्दैनन् ।

मंगलबारको गणनालाई लिएर एमाले र एकीकृत समाजवादीका प्रतिनिधिले झगडा गरे, तर बालेन समूह गणना स्थलमा आक्रामक र नोकझोंकमा नदेखिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका एक अधिकारीले बताए ।

‘महानगरको प्रमुख पदमा धेरै बदर मत लौरोमा देखिएको छ, उनीहरु बदर हो कि होइन चाहिं प्रष्ट हेर्छन्, तर सानो विषयमा नोकझोंक गर्दैनन्,’ निर्वाचन कार्यालयका ती गणकले भने ।

मतगणनाका लागि हरेक बुथमा खटिएका प्रतिनिधि बाहेक यो समूहले मतगणनाको डिजिटल अभिलेख राख्न थप केही युवा खटाएको छ । जसको काम हरेक एक–एक घण्टामा कुल खसेको मत, गणना भएको मत र मुख्य उम्मेदवारले पाएको र बदर भएको मत वडागत रुपमा टिपेर सकुर्लर गर्ने हुन्छ ।

बुधबारसम्म जिल्ला निर्वाचन कार्यालयले हरेक ४ देखि ६ घण्टामा मतगणना बुलेटिन सार्वजनिक गरिरहेको छ, तर यो समूह हरेक एक–एक घण्टामा बुलेटिन निकाल्छ । महानगरमा बालेनको जित निश्चित भएको हो भनेर यो समूहका एक सदस्यलाई हामीले सोध्यौं । उनले भने, ‘हो र, मलाई त थाहा छैन, मैले हेरेको बुथमा अग्रता चाहिं छ, गन्न त धेरै बाँकी छ नि हैन,’ ती सदस्यले अनिश्चयको भाव देखाए । मतगणना सुरु भएपछि गणनास्थलमा बालेन दिनहुँजसो पुगेका छन् । तर एमाले र कांग्रेस, राप्रपा र अन्य दलका मुख्य उम्मेदवार त्यहाँ देखिएका छैनन् ।

अर्को बालेन समूह सभागृहको गेटबाहिर आक्कलझुक्कल देखिन्छ । निर्वाचन र अन्य सार्वजनिक बिदाका कारण सोमबारसम्म यो समूहको उपस्थिति ठूलै थियो । तर मंगलबार सार्वजनिक बिदा सकिएपछि बेलुकीपख सानो समूहका रुपमा झुल्कियो । यो समूहका युवाहरु बालेनले देश बनाउने, काठमाडौंको मुहार फेर्ने र पुराना दललाई पाखा लगाउने चर्को नारा लगाउँछन् ।

‘बालेन दाइ हाइ हाइ, भ्रष्ट पार्टी र नेता बाइबाइ’, सागर, बसन्ते, किस्ने बालेनले हो जित्ने’ यी उनीहरुका मुख्य नारा हुन् । निर्वाचन कार्यालयले सार्वजनिक गर्ने तथ्यांकमा बालेनको मत परिणाम आउने बित्तिक्कै उनीहरु चर्को हुटिङ गर्छन् । यो समूहमा रहेको धेरैसँग हामीले मागेको परिचयमा उनीहरु बालेनका मतदाता नभई शुभेच्छुक मात्रै रहेको भेटियो ।

सभागृहको वरिपरि रहेको अर्को बालेन समूह हो ‘ढकाल दाइ ।’ भृकुटीमण्डपमा खाजा पसल गर्ने ढकाल दाइले गोरखा पुगेर आफ्नै पार्टीलाई भोट हालेर फर्किए । तर उनी चिया पसलमा बस्दै कांग्रेस, एमाले र माओवादीलाई खुंखार गाली गर्दै बालेनको समर्थनमा बोल्छन् । बालेनको ‘ढकाल दाइ’ समूहमा फलफूल, जुत्ता, बेकरी चलाउने र बाइकको पार्किङ उठाउने व्यवसाय गर्नेहरु धेरै छन् ।

आफ्नो सामुन्नेमा भेटिएका जो कोही मान्छेलाई यिनीहरु बालेनले अब सबैलाई लौरो लगाउने बताउँछन् । ‘हेर्नुस् न, अब बालेनले जितेपछि महानगरबाट भ्रष्ट कर्मचारी भागाभाग हुन्छन् । सबैले सरुवा माग्छन्,’ ढकाल दाइले भने, ‘अब देशैभर बालेनको पार्टी बन्छ ।’

तस्वीर : चन्द्रबहादुर आले र शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?