+
+

कांग्रेसले गुमाएका रुस्तम, जसले फेटामा विवेकशील साझालाई चिनाए

रुस्तमले उपाध्यक्षसहित ७ वटै वडामा आफूले रोजेको व्यक्तिलाई टिकट पाउनुपर्ने अडान लिए । प्रदेश सहमहामन्त्री जय नारायण यादव र क्षेत्री सभापति सुनिल गुप्ताले आफ्ना नजिकका व्यक्तिलाई टिकट दिन दबाव दिए । त्यसपछि रुस्तमले कांग्रेस पार्टीका नेताहरुकै अघिल्तिर गाउँपालिका अध्यक्षको टिकट च्यातेर फालिदिए ।

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ५ गते २२:३९
फेटा गाउँपालिका अध्यक्षमा निर्वाचित रुस्तम अन्सारी (बीचमा) ।

५ जेठ, वीरगञ्ज । फेटा गाउँपालिका, बाराको अध्यक्षमा विवेकशील साझा पार्टीका रुस्तम अन्सारी निर्वाचित भएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष एवं एमाले उम्मेदवार अमिरीलाल प्रसादलाई दुई हजार ८६ मत अन्तरले पराजित गर्दै रुस्तम विजयी भएका हुन् ।

फेटा नै विवेकशील साझाले जितेको एक मात्र पालिका हो । विवेकशील साझालाई यो सफलता दिलाउने ४३ वर्षीय रुस्तम भने ०५७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध थिए ।

उनको बुवा नुरैन अन्सारी कांग्रेसका पुराना नेता हुन् । ०४९ सालमा भएको निर्वाचनमा नुरैन फेटा गाविस अध्यक्ष समेत भएका थिए । बाबुको पदचाप पछ्याएर राजनीतिमा होमिएका रुस्तम ०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको प्रत्यासी थिए । तर निवर्तमान अध्यक्ष अमिरीलाल प्रसादसँग २९५ मत अन्तरले पराजित भए । अमिरीलालले २६११ मत ल्याउँदा उनले २३१६ मत पाएका थिए ।

पार्टीको अन्तर्घातका कारण पराजित भएको बताउने उनी यसपटक जसरी पनि चुनाव जित्ने रणनीतिमा थिए । केन्द्र र प्रदेश कमिटीले पनि फेटामा रुस्तमलाई नै टिकट दिने निर्णय गर्‍यो । तर वडाका उम्मेदवारहरुको विषयमा सहमति जुट्न सकेन ।

रुस्तमले उपाध्यक्षसहित ७ वटै वडामा आफूले रोजेको व्यक्तिलाई टिकट पाउनुपर्ने अडान लिए । प्रदेश सहमहामन्त्री जय नारायण यादव र क्षेत्री सभापति सुनिल गुप्ताले आफ्ना नजिकका व्यक्तिलाई टिकट दिन दबाव दिए । त्यसपछि रुस्तमले कांग्रेस पार्टीका नेताहरुकै अघिल्तिर गाउँपालिका अध्यक्षको टिकट च्यातेर फालिदिए ।

कांग्रेस, बाराका उपसभापति मनोज भट्ट, आफूलाई सहयोग हुने उम्मेदवार दिन रुस्तमले गरेको आग्रहलाई अस्वीकार गर्दा क्षति भएको बताउँछन् । ‘टिकट वितरणमा साथीहरुले अनावश्यक दबाव दिन थाले । चित्त नबुझेपछि रुस्तमले सबैको सामुन्ने टिकट च्यातेर फालिदिए,’ उनले भने, ‘नेताहरुको सुझबुझ नपुग्दा पार्टीलाई नोक्सानी भयो ।’

रुस्तमका अनुसार विवेकशील साझाले मनोनयन दर्ताको १५ दिन पहिले नै पार्टीमा आउन प्रस्ताव गरेको थियो । तर वर्षौं लगानी भएको पार्टी छोडेर जान ठीक नहुने भनेर स्वीकार गरेका थिए । पार्टीले टिकट पनि दिएको थियो । तर अरु उम्मेदवार छनोटमा सहमति जुटेन ।

सबभन्दा बढी असन्तुष्टि वडा नं २ बाट उम्मेदवार बनेका रामअवध प्रसाद राउत कुर्मीको उम्मेदवारीलाई लिएर थियो । ०७४ मा पनि वडा अध्यक्षमा उठेका कुर्मीले जम्मा ४४ मत पाएका थिए । उनलाई उम्मेदवार बनाउन दबाव आएपछि उनले टिकट नै च्यातेका हुन् ।

रुस्तम पनि कांग्रेसले आफ्नो योगदानको अवमूल्यन गरेपछि जनतासँगको परामर्श गरेर पार्टी परित्याग गरेको बताउँछन् । ‘जबदेखि राजनीतिक चेतना भयो, म कांग्रेसमै लागेको मान्छे हुँ । कांग्रेसमा बसेर जनताको सेवा गरेँ,’ रुस्तमले अनलाइनखबरसँग भने, ‘तर मेरो राजनीतिक जीवनसँगै खेलबाड गर्न खोजियोे । मलाई सहयोग गर्ने मान्छे नै बेइमान भइदियो भने गाह्रो हुन्छ । त्यसैले जनतासँग सल्लाह गरेर पार्टी छोडें ।’

कांग्रेस छाडेर विवेकशील साझा पार्टीमा आवद्ध भएका उनले गाउँपालिका अध्यक्ष जितेका छन् ।

४४८५ मत ल्याउँदा अमिरीलालले २३९९ मत पाए । उपाध्यक्षमा पनि पनि विवेकशील साझाकै निलम साह निर्वाचित भइन् । ७ वटा वडामध्ये वडा नं ३ मा प्रल्हाद प्रसाद साह तेली (१०५४) प्यानल सहित विजयी भएका छन् । वडा नं ६ मा अमीर हमजा ठकुराई (५९१) दुई खुल्ला सदस्य र एक महिला सदस्य जितेका छन् । बाँकी ५ वडामा जसपा र लोसपाले २/२ वटा वडा जित्दा एउटा एमालेले जितेको छ ।

‘स्मार्ट’ गाउँपालिका बनाउने प्रतिबद्धता

नवनिर्वाचित अध्यक्ष रुस्तमले आफ्नो पालिकालाई स्मार्ट पालिका बनाउने प्रतिबद्धता जनाएका छन् । भन्छन् ‘पालिकासँग भएको स्रोत साधनले जति सकिन्छ, त्यति त गरिन्छ । केन्द्र सरकारले कस्तो सहयोग गर्छ थाहा छैन, तर पाँच वर्षमा स्मार्ट गाउँपालिका बनाइदिन्छु ।’

यसअघिका जनप्रतिनिधिले गरेका गल्ती नदोहोर्‍याउने अठोट छ । ‘उनीहरुले पैसा खर्च गरेकै हो, तर कुनै भिजनले काम भएको छैन,’ रुस्तम भन्छन्, ‘विकास कम्तीमा २० वर्षका लागि हुनुपर्छ । मलाई त लाग्छ यिनीहरुले बनाएको संरचना भत्काउनुपर्छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि भद्रगोल रहेको भन्दै उनले भनेका छन्, ‘यो सबैलाई सुधार गर्छु ।’

रुस्तमका प्रतिबद्धता

· कृषकलाई पूर्ण सुविधा दिने, खाद्य, मल, बिउको व्यवस्था, जनताले चाह्यो भने चक्लाबन्दी गराउने ।

· शिक्षामा भौतिक सुविधासँगै दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको व्यवस्था मिलाउँछु । यहाँको जनतालाई वीरगञ्ज, कलैया र हेटौंडा जानुपर्दैन ।

· स्वास्थ्यमा साधरण विरामीको उपचार गाउँमै हुने व्यवस्था मिलाउँछु ।

· युवालाई कसरी रोजगारी सिर्जना गर्न सकिन्छ, उनीहरु कसरी सन्तुष्ट हुन्छन्, योजना ल्याउँछु ।

· गाउँमा ढल निकासको व्यवस्था मिलाउँछु ।

· महिला सशक्तिकरण, वृद्धवृद्धा र बालबालिकाका लागि आवश्यक काम गर्छु ।

रुस्तम जित्नुको ४ कारण

वैकल्पिक राजनीतिको नारा दिएको विवेकशील साझाले काठमाडौं लगायतका सहरी जनमतको विश्वास जित्न नसकिरहेको बेला फेटा गाउँपालिकामा भएको जितले थोरै भए पनि राहत दिएको छ ।

तर विवेकशीलको बलमा रुस्तमले चुनाव जितेको भन्नु भ्रम मात्र हुने बताउँछन्, फेटा गाउँपालिकाका बासिन्दा एवं ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रका प्राध्यापक विरेन्द्र साह । ‘रुस्तमको जीतमा टिकट दिनुबाहेक विवेकशीलको खासै योगदान छैन । त्यसैले धेरै उत्साहित हुनुपर्ने कुरा छैन,’ उनले भने ‘उनलाई अहिले विवेकशीलको सैद्धान्तिक विचार समेत थाहा छैन । जनताले त झन् पार्टीको नाम उच्चारण समेत राम्रोसँग गर्न सक्दैनन् । यहाँ त रुस्तमको माध्यमबाट विवेकशील चिनिएको छ ।’

रुस्तमले जित्नुको पछाडि ४ वटा मुख्य कारण रहेको उनी बताउँछन् । पहिलो, रुस्तमको परिवारले २० विगाहा जति आफ्नो जग्गा जमिन गरिबलाई जोतेर खान दिएका छन् । कुतका लागि दबाव दिँदैनन् । उनीहरुले रुस्तमलाई मत दिएको अनुमान गर्न सकिन्छ ।

दोस्रो, ०७४ को निर्वाचनमा रुस्तम थोरै मतले पराजित भएकोले यसपटक गाउँबासीको सहानुभूति थियो ।

तेस्रो, यसपटकको स्थानीय चुनावमा जातीय, धार्मिक र पारिवारिक राजनीति देखियो, त्यसले फेटामा पनि काम गर्‍यो । अध्यक्षमा उठेका १३ जनामध्ये रुस्तम मात्रै मुस्लिम उम्मेदवार थिए । हिन्दु समुदायको भोट ९ जना उम्मेदवारलाई बाँडिएको छ ।

चौथो, कांग्रेस, एमाले र जसपामा देखिएको फुट हो । तत्कालिन फोरमबाट ०७४ मा चुनाव जितेका निवर्तमान अध्यक्ष अमिरिलाल पाल एमालेमा गए । उनी गएपछि जसपामा फुट भयो, एमालेका केही पुराना नेता कार्यकर्ताले उनी अचानक आएर टिकट लिएको मन पराएनन् । रुस्तमले छोडेपछि कांग्रेस पनि कमजोर बन्यो ।

अब रुस्तममाथि काम गरेर देखाउने चुनौती छ । उनी भने काम गर्ने इच्छा शक्ति भए भिजन दिनेहरु आउने बताउँछन् । अफताब आयल इम्पेक पेट्रोल पम्प र आकाश स्टोन क्रसर उद्योगका समेत मालिक समेत रहेका उनी भन्छन्, व्यापारबाट करोडौं कमाउन सक्छु, त्यसलाई छोडेर जनता सेवामा छु । पार्टी सर्वोपरी होइन, जनता सर्वोपरी हो भनेर चुनौती दिन खोजेकै हो । अब जनतालाई खुशी बनाएर काम गर्छु ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?