+
+

गोरखामा किन हार्‍यो कांग्रेस ?

विकास मरहट्टा विकास मरहट्टा
२०७९ जेठ ६ गते २०:२३
गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवारहरु विजय उत्सवमा

६ जेठ, गोरखा । अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखाका ११ पालिकामध्ये नौ वटाको नतिजा आफ्नो पोल्टामा पारेको थियो । नेकपा माओवादी केन्द्रको भागमा जम्मा दुई पालिकाको नेतृत्व परेको थियो ।

पाँच वर्षपछि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजाले भने ठ्याक्कै उल्टो नतिजा देखायो, नौ स्थानीय तहमा माओवादी केन्द्र निर्वाचित हुँदा कांग्रेसले दुई स्थानीय तहको नेतृत्व मात्र जोगायो । कांग्रेसकै पकड मानिएको पालिकाहरुमा पनि उसले जित हासिल गर्न सकेन ।

गत निर्वाचनमा गोरखा नगरपालिकाको मेयर पदमा एक हजार ५३४ मत अन्तरले जितेका कांग्रेसका राजनराज पन्त यसपटक भने माओवादी केन्द्रका कृष्णबहादुर रानासँग एक हजार ८५६ मत अन्तरले पराजित भए । रानाले आठ हजार ९६४ मत पाएर निर्वाचित हुँदा निवर्तमान मेयर पन्तले सात हजार १०८ मत मात्र पाए ।

डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा गत निर्वाचनमा पहिलो बनेको कांग्रेस यसपटक तेस्रो बन्यो । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका विवश चिन्तनलाई २७९ मतान्तरले पछि पार्दै कांग्रेसका दीपकबाबु कँडेल मेयरमा निर्वाचित भएका थिए । तर अहिले एक हजार ७५ को फराकिलो मतान्तरले कँडेललाई पराजित गर्दै चिन्तन मेयरमा निर्वाचित बने ।

चिन्तन ६ हजार ७२ मत ल्याएर निर्वाचित हुँदा कँडेल ४ हजार ९९७ मत प्राप्त गरेर तेस्रो बने । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याए ।

भीमसेन थापा गाउँपालिकामा २०७४ सालमा कांग्रेस उम्मेदवार ईश्वर पाण्डे ९५९ को मतान्तरले निर्वाचित भएका थिए । यसपटक कांग्रेस उम्मेदवार रोशन गुरुङ माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बञ्जरासँग ४७५ मतान्तरले पराजित भए ।

‘अधिकांश पालिका जित्छौं भन्ने दम्भले गठबन्धनका लागि पनि कांग्रेस लचक थिएन,’ कांग्रेसका जिल्लास्तरका एक नेता भन्छन्, ‘ओभर कन्फिडेन्स बढी भयो, चुनावी प्रचारप्रसार अभियानमा पनि सबै संयन्त्रलाई परिचालन गर्न सकेन, त्यसको परिणाम अहिले देखियो ।’

धार्चे गाउँपालिकामा यसपटक कांग्रेसले लज्जास्पद हार व्यहोर्‍यो । गत निर्वाचनमा पालिका अध्यक्ष उपाध्यक्षसहित तीनवटा वडा जितेको कांग्रेस यसपटक अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जित्न असफल भयो । गत चुनावमा १ हजार ७०७ मत ल्याएर अध्यक्ष जितेका कांग्रेसका सन्तबहादुर गुरुङ यसपालि माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण गुरुङसँग १ हजार ८२५ को फराकिलो मतान्तरले पराजित भए ।

गण्डकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित माओवादीका दीपक तिमिल्सिनाले कांग्रेसका होमबहादुर रानालाई १ हजार ६७१ मतान्तरले पराजित गरे । ६ हजार ३२६ मत ल्याएर निर्वाचित भएका तिमिल्सिनासँग प्रतिस्पर्धा गरेका रानाले ४ हजार ६५५ मत मात्र प्राप्त गरे । २०७४ सालको चुनावमा २८१ मत अन्तरले माओवादीका तिमिल्सिनालाई नै हराउँदै कांग्रेसका राना अध्यक्षमा निर्वाचित भएका थिए ।

गत निर्वाचनमा अजिरकोट गाउँपालिकामा ३३१ मतले माओवादी केन्द्रलाई हराएको कांग्रेस यसपटक ४९८ मतले पराजित भयो । ३ हजार ७८७ मत ल्याएर विजयी बनेका माओवादी केन्द्रका दीपक देवकोटाको प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याएर पराजित भए ।

गत निर्वाचनमा कांग्रेसले जितेको चुमनुव्री गाउँपालिकामा पनि यसपटक माओवादी केन्द्रले बाजी मार्‍यो । गत चुनावमा ६८ मतले अध्यक्ष जितेका कांग्रेसका धनबहादुर गुरुङ यसपटक भने ३१३ मतले माओवादी केन्द्रका निमा लामासँग पराजित भए । लामाले १ हजार ६२४ मत ल्याए भने गुरुङले १ हजार ३११ मात्र ।

पालिका मात्र होइन कांग्रेसले यसअघिको चुनावमा जितेका वडा पनि यसपटक सुरक्षित गर्न सकेन । २०७४ सालको चुनावमा ४५ वडा जितेको कांग्रेस यसपटक ३७ वडामा खुम्चियो । ३० वडा जितेको माओवादी केन्द्रले भने ४३ वडामा जित हासिल गर्‍यो ।

यसअघिको चुनावमा जित हासिल गरेको गोरखा नगरपालिकाका केही वडा पनि कांग्रेसले यसपटक गुमाउनुपर्‍यो । २०७४ सालको चुनावमा जितेको वडा नम्बर ४, ५, ६ र ८ मा यसपटक कांग्रेस पराजित भयो । कुल १४ वडामध्ये यसपटक कांग्रेसले ६ वडामा जित हासिल गर्‍यो । गत चुनावमा कांग्रेसले आठ वडा जितेको थियो ।

आन्तरिक कलहको प्रभाव

आन्तरिक कलहका कारण कांग्रेसले यसपटक अनपेक्षित हार व्यहोर्नुपरेको पार्टीका कार्यकर्ता एवं जिल्ला स्तरका नेताहरुको निष्कर्ष छ । उम्मेदवार छनोट र टिकट वितरणमा असमानता पनि चुनाव हार्नुको अर्काे कारण भएको कार्यकर्ताहरु बताउँछन् ।

‘उम्मेदवार छनोटमा पार्टी नेतृत्वको दम्भ देखियो,’ नाम नखुलाउने सर्तमा एक जिल्ला नेताले भने, ‘पहुँच र पैसाको आडमा टिकट वितरण हुँदा यस्तो नतिजा आएको हो ।’ चुनावमा सबै संयन्त्रलाई राम्रोसँग परिचालन गर्न नसक्नु पनि पार्टीको कमजोरी रहेको उनले बताए ।  फितलो चुनावी रणनीति र अलोकप्रिय उम्मेदवार नै हारको प्रमुख कारण रहेको उनको भनाइ छ ।

कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने भने कांग्रेसकै कार्यकर्ताबाट असहयोग भएको बताउँछन् । संगठनको हिसाबले मतसंख्या बढे पनि भोट क्रस भएका कारण नतिजा सकारात्मक नआएको उनको भनाइ छ ।

‘वडा र पालिकामा कांग्रेसकै साथीहरुबाट सहयोग भएन,’ उनले भने, ‘हामी बलियो भएको पालिका र वडामा पनि हार्नु भनेको भोट क्रस भएको हो भन्ने हो ।’ टिकट वितरणमा भएको असमानताका कारण चुनाव हारेको भन्ने कुरा भने उनले स्वीकार गरेनन् ।

ओभर कन्फिडेन्स’को असर

अघिल्लो चुनावमा नौ पालिका जितेको कांग्रेस यसपटक पनि कम्तीमा सात पालिकामा जित सुनिश्चित हुनेमा ढुक्क थियो । त्यही ‘ओभर कन्फिडेन्स’का कारण पनि चुनाव हारेको कतिपयको विश्लेषण छ ।

‘अधिकांश पालिका जित्छौं भन्ने दम्भले गठबन्धनका लागि पनि कांग्रेस लचक थिएन,’ कांग्रेसका जिल्लास्तरका एक नेता भन्छन्, ‘ओभर कन्फिडेन्स बढी भयो, चुनावी प्रचारप्रसार अभियानमा पनि सबै संयन्त्रलाई परिचालन गर्न सकेन, त्यसको परिणाम अहिले देखियो ।’

टिकट वितरणको किचलो

गोरखा नगरपालिकाको मेयरमा कांग्रेस यसपटक पराजित हुनुमा टिकट वितरणमा भएको किचलो पनि एक प्रमुख कारण मानिएको छ । कांग्रेसको गण्डकी प्रदेश समितिले विश्वदेव श्रेष्ठलाई मेयरको टिकट दिने निर्णय गरेसँगै केही असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला मात्र लगाएनन्, श्रेष्ठमाथि हातपात समेत गरे ।

तर पछि प्रदेश समितिले पन्तलाई मेयरको टिकट दिनुमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको दबाबमा रहेको जिल्लामा कांग्रेसभित्र चर्चा छ । टिकट नपाएपछि उनीहरुले देखाएको उग्र व्यवहारले कांग्रेसभित्रै तिक्तता बढ्यो ।

जसका कारण कांग्रेसले आफ्नो पकड रहेको नगर मात्र हारेन, वडाहरुमा पनि पराजित बन्न पुग्यो । कांग्रेसको पकड रहेको वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । अन्य पालिकाको टिकट वितरणमा पनि असमानता भएको भन्दै कार्यकर्ताहरु नै रुष्ट छन् ।

गठबन्धनको केही प्रभाव

कांग्रेसको हारमा गठबन्धनको पनि केही प्रभाव हुनसक्छ । गोरखा नगरपालिकाको मेयर, उपमेयर र गण्डकी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्र र जनता समाजवादीबीच तालमेल भएको थियो ।

पालुङटार नगरपालिकामा जसपा र एमालेबीच तालमेल भएको थियो । तर कांग्रेसले भने सबै पालिकामा कुनै दलसँग चुनावी गठबन्धन गरेको थिएन । त्यसको पनि केही प्रभाव हुनसक्ने अनुमान गरिएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?