७ जेठ, पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहानसम्म उनले मतान्तर ३ हजार भन्दा बढी पुर्याएका छन् ।
पोखराको ८० हजार १५४ मत गणना भइसक्दा उनी ३ हजार ४३९ मतले अगाडि छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका आचार्यले ३२ हजार ४८० मत पाउँदा उनलाई पछ्याइरहेका अर्का प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएका छन् ।
मेयरकै दौडमा रहका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खरालले ३ हजार ५२० मत पाएका छन् । अटेरी नामक अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल (गनेस) ले २ हजार २४९ मत पाएका छन् ।
पोखराको उपमेयरका लागि फेरि नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदमा मतान्तर फराकिलो हुँदै जाँदा उपमेयरमा भने रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी कोपिला रानाभाटबीच थोरै मतान्तरले सुरुआतदेखि नै एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । अहिले एमालेकी मञ्जु २६२ मतले अगाडि छिन् ।
मञ्जुले ३३ हजार २२१ मत पाउँदा उनलाई पछ्याइरहेकी कोपिलाले ३२ हजार ९५९ मत पाएकी छन् । उपमेयर दौडमै रहेकी राप्रपाकी रञ्जना सेनले ३ हजार ४११ मत पाएकी छन् ।
प्रतिक्रिया 4