+
+

नागेश कोइराला : देउवाले ‘न्याय’ गरे, मतदाताले विश्वास

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ ७ गते १५:३७

७ जेठ, विराटनगर । गत वैशाख २१ गते विराटनगर आएका कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए ‘अघिल्लो पटक पनि नागेश मेयरमा आकांक्षी थियो, त्यसपछि प्रदेश माननीय पनि बन्न पाएन, यो पटक उसलाई न्याय भएको छ ।’

मेयरको दौडमा रहेका प्रभावशाली नेतालाई पछि पार्दै मेयरको टिकट पाउन सफल कोइरालालाई विराटनगरका मतदाताले मेयरमा निर्वाचित गराइदिए ।

शनिबार विहान सबेरै सार्वजनिक अन्तिम नतिजा अनुसार कोइराला ३० हजार १७० मतसहित निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी सागर थापाले २१ हजार ४५५ मत पाए । स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले पाँच हजार २१६ मत पाए । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की निर्वाचित भइन् ।

नेपाली कांग्रेसले परम्परागत गढ मान्दै आएको विराटनगरको मेयरको उम्मेदवार बनेपछि उनले करको दर घटाउने विषयलाई अघि सारे । पार्टीभित्र मेयरका दाबेदारमध्ये तुलनात्मक रुपमा कमजोर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलताको मुद्दा पनि उठाए । कर घटाउने र भ्रष्टाचार रोक्ने मुद्दा उठाएका कारण उनलाई मतदाताले अनुमोदन गरे ।

नेपालको राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कोइराला परिवारको विरासत विराटनगरसँग जोडिएको छ । नेपाली कांग्रेसको राजनीति र कोइरालाहरूको प्रसंग उठ्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ । बीपी कोइरालाका राजनीतिक सहयोगी हरिबाबुका नाती हुन् नागेश ।

नागेशका बुबा उमेशको भने राजनीति प्रति रुचि थिएन । विराटनगरमा उनी खेतीपातीमा हेर्थे । हजुरबुबा ऋषिकेश(हरिबाबु) को बाटोमा नागेश लागेको उनका भाइ डा. पुरु बताउँछन् ।

बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट जनप्रशासनमा स्नातकोत्तर गरेका उनी २०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर कांग्रेसको राजनीतिमा आएका थिए ।

दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका कोइरालाले फिलिपिन्समा बस्दा अध्यापन पनि गराएका थिए । ‘फिलिपिन्समा बसेर पढ्दै गर्दा पढाउने काम पनि गरे’, केही दिनअघि अनलाइनखबरसँग नागेशले भनेका थिए, ‘नेपाल फर्किएपछि राजनीतिमा नलागेको भए अहिले अध्यापन पेशामा हुन्थेँ ।’

२०५६ मा तरुण दल मोरङको सभापति बनेका उनी २०६६ मा मोरङ कांग्रेसको कोषाध्यक्ष, २०७२ मा सचिव र १४औं जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । पार्टीको चुनावमा पटक पटक सफल भएका उनी जनप्रतिनिधि बन्ने पहिलो प्रयासमै सफल भए ।

विराटनगरको नेतृत्वमा पुग्ने कोइराला परिवारका तेस्रो सदस्य हुन् नागेश । २०१४ सालमा केशव कोइराला (डा. शेखरको बुबा) मेयर बनेका थिए । २०४९ सालमा अशोक कोइराला विराटनगरको मेयर बने । डा. शेखरकै जोडबलमा टिकट पाएका नागेश, कोइराला परिवारको तेस्रो सदस्यको रुपमा विराटनगरको नेतृत्वमा पुगेका हुन् ।

मेयर निर्वाचित भएका कोइरालाको योजना अव्यवहारिक कर प्रणाली सुधार्ने छ । भ्रष्टाचारमा शून्य सहनशीलता, खानेपानी, फोहोरमैला व्यवस्थापन उनको प्राथमिकतामा छन् ।

‘कर कसरी घटाउन सकिन्छ भन्ने विषयमा छिटोभन्दा छिटो डिसिजन गरेर अघि बढ्ने हो’, सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अन्य दलबाट आएका जनप्रतिनिधिले पनि विराटनगरलाई राम्रो बनाउने उद्देश्य बोकेर आउनुभएको छ, सबैसँग समन्वय गरेर जान्छौं ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर र सात वटा वडा नेपाली कांग्रेसले जितेको थियो । यो पटक मेयर र ६ वटा वडाको अध्यक्ष जितेको छ । गत चुनावमा तीनवटा मात्रै वडा जितेको नेकपा एमालेले यो पटक उपमेयर र ९ वटा वडाध्यक्ष जितेको छ ।

गत चुनावमा मधेशी समुदायको बसोबास रहेको दक्षिणी क्षेत्रका ६ वटा वडा जितेको जसपा यो पटक दुई वडामा खुम्चिएको छ । पहिले एउटा वडा जितेको माओवादी केन्द्रले यसपटक कुनै पनि वडामा जित्न सकेन ।

एमालेबाट विराटनगर १ को अध्यक्षमा काजीबहादुर बस्नेत, २ मा कुमार पोखरेल, ३ मा बासुबहादुर बस्नेत, वडा नम्बर ४ मा जितन थापा, ८ मा राम पोखरेल, १० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने, १४ मा सुर्यनारायण महतो, १९ मा श्याम घिमिरे निर्वाचित भए ।

नेपाली कांग्रेसबाट वडा नम्बर ५ मा सन्तोष न्यौपाने, ६ मा हरिशचन्द्र सहनी, ७ मा मधुवावु तिवारी, ९ मा विश्वनाथप्रसाद भगत, १५ मा प्रकाश साह, १६ मा उद्धवकुमार भुजेल निर्वाचित भएका छन् ।

विराटनगर – १२ मा जसपा उम्मेदवार हिरालाल कामत र १७ मा समिम कमर मिया निर्वाचित भएका छन् । १३ मा राप्रपा उम्मेदवार सूर्यलाल यादव निर्वाचित हुँदा वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार शाह विजयी भए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?