+
+

प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगे हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते २०:३३

८ जेठ, धरान । धरान उपमहानगरपालिकामा सामाजिक समस्या परे सर्वसाधारणले सम्झने नाम हो हर्क साम्पाङ । धरानका बासिन्दा समस्या परे जनप्रतिनिधिलाई भन्दा पहिला साम्पाङलाई खोज्थे ।

खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्दा उठाउँदै आएका उनी एक दशकयता धरानका चोक र चौतारीमा खबरदारी गरिरहेका हुन्थे । सर्वसाधारणलाई समस्या परेका ठाउँमा पुग्थे, सरोकारवाला निकायलाई प्रश्न गर्थे उनी ।

प्रश्न गर्ने साम्पाङलाई धरानका बासिन्दाले अब जवाफ दिने ठाउँमा पुर्‍याएका छन् । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा तोड्दै साम्पाङ मेयरमा निर्वाचित भए । ‘साम्पाङले हिजो प्रश्न गरे,’ धरानका युवा रवि खनालले भने, ‘आज जवाफ दिने ठाउँमा पुगे ।’

निरन्तर सामाजिक मुद्दामा प्रश्न उठान गरेका कारण साम्पाङलाई धरानका मतदाताले पत्याएका हुन् भन्छन् विश्लेषक राजेन्द्र शर्मा ।

धरानले विगतमा पनि मुलप्रवाहभन्दा फरक देखिने गरेको उनको अनुभव छ । ‘धरानको विषेशता २०१७ सालदेखि नै मूल प्रवाह भन्दा फरक देखिन्छ,’ उनले भने,‘ हिजो कम्युनिष्टको प्रवाह हुँदा कांग्रेसलाई जिताइ दियो, आज कांग्रेस हुँदा स्वतन्त्र उम्मेदवारले चुनाव जिते ।’

२०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका हर्क साम्पाङले जम्मा ४२२ मत पाएका थिए । तर अहिले २० हजार ८२१ मतसहित विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार किशोर राईले १६ हजार ५९ मत पाएका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाइन् । १ लाख ३२४ मतदाता रहेको धरानमा ६२ हजार ८११ जनाले मतदान गरेका थिए ।

मञ्जु, किशोर र हर्क ।

स्थानीय तह निर्वाचनमा साम्पाङले उम्मेदवारी दिने तयारी गर्दै गर्दा दलहरुले सामान्य रुपमा लिएका थिए । चुनावी अभियानमा पनि उनले तडकभडक गरेनन् । धरानको विकास गर्ने, भ्रष्टाचार नगर्ने र धरानको पुरानो शाख जोगाउने प्रतिवद्धता जनाउँदै उनी एक्लै अघि बढे ।

एमाले प्रदेश १ कमिटीमा सचिवालय सदस्य समेत रहेका धरानका रमेश बस्तेत स्थानीय तहमा राजनैतिक दलहरुले देखाउने भूमिका कमजोर बन्दै गएपछि जनताले विकल्प खोजेको बताउँछन् ।

सुनसरी क्षेत्र नम्बर १ का कांग्रेस सभापति सुजेन्द्र तामाङ साम्पाङको विजय स्वभाविक भएको बताउँछन् । विगतमा जनप्रतिनिधिले चित्तबुझ्दो काम नगरेपछि अहिले विकल्पको रुपमा साम्पाङको उदय भएको उनले प्रष्ट पारे । आफूहरु गठबन्धनको बलमा ढुक्क भएको बेला जनताले दलको विकल्प खोजेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) ले भने साम्पाङको विजयलाई अस्वभाविक मान्छन् ।

अधिकतम ७ हजार मतको आकलन गरेको बताउने उनी एक्कासी माहोल परिवर्तन भएको सुनाउँछन् । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन साहको प्रभाव धरानमा पनि परेको उनले बताए ।

दलले उम्मेदवार चयन गर्दा ध्यान पुर्‍याउन नसकेको र गठबन्धनभित्र पनि असन्तुष्टि देखिएका कारण यो अवस्था आएको उनको भनाइ छ । ‘दलले टेष्टेड उम्मेदवार उठाउँदा जनमत हर्क साम्पाङतर्फ गयो,’ विश्लेषक शर्मा भन्छन्, ‘पार्टी तिरस्कृत भएका होइनन्, पार्टीलाई सच्चिने अवसर हो ।’

प्रश्न गर्न जति सजिलो छैन जवाफ दिन

धरानमा खानेपानीको समस्या छ । एशियाली विकाश बैंकको २ खर्ब १६ करोडको अनुदानमा चारकोसे जंगलबाट भूमिगत इनार खनेर पानी ल्याए पनि धरानबासीको माग धान्न सक्दैन । यसरी पानी ल्याउनुको साटो कोशी वा अरुणबाट पानी ल्याउनुपर्ने भन्दै निरन्तर आन्दोलन गर्नेमध्ये एक हुन साम्पाङ ।

आफ्नो मुद्दा बोकेर चुनाव लडेका साम्पाङलाई यो पटक धरानबासीले साथ दिएका छन् । तर स्थानीयबासिन्दाका अपेक्षा पूरा गर्न उनलाई त्यति सहज छैन ।

धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानी धेरै कम छ । धराने जनताको अपेक्षा अनुसारको काम गर्न सक्दैन । खर्चको व्यवस्थापन र जनताको अपेक्षा बुझ्न नसक्दा बारम्बार नेतृत्वमा विकल्पको खोजी हुने गरेको बताउँछन् एमाले नेता बस्नेत ।

‘हिजो सडकबाट रिजल्ट ओरेन्डेट सामाजिक मुद्दामा आवाज उठाए, आज जवाफ दिने ठाउँमा छन्,’ विश्लेषक शर्मा भन्छन्, ‘हिजो प्रश्न गरे जसरी काम गर्न सहज छैन ।’

नवनिर्वाचित मेयर साम्पाङ भने चुनौती सामान गर्न नै आफू मेयरमा उठेको बताउँछन् । ‘अब मेरो भूमिका र शैली चेञ्ज हुन्छ,’ उनले भने, ‘अब म हाँसेर काम गर्छु, अहिले नारा लगाउँदिन ।’ चुनाव एजेण्डाअनुसार पाँच वर्षभित्र कोशीबाट पानी ल्याएर धरानका बासिन्दलाई खुवाउने योजना उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?