
काठमाडौं । दशैं छेकोमा तीन प्रतीक्षित नेपाली फिल्मबीच प्रतिस्पर्धा निश्चित भएको छ । ‘प्रेमगीत ३’ असोज ७ गते प्रदर्शन हुने भएपछि दशैंको रिलिज समीकरणलाई लिएर अनुमान सुरु भएका छन् ।
छायांकन नहुँदै ‘छक्कापञ्जा ४’ले असोज ७ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरिसकेको थियो । उक्त मितिमा ‘प्रेमगीत ४’ आउने भएपछि ‘छक्कापञ्जा’लाई दशैं छेकोमा निश्चित मिति छनोट गर्न दबाब छ ।
प्रदीप खड्का स्टारर फिल्मले असोज ७ गतेलाई रिलिज मिति तय गरेपछि अनलाइनखबरसँग कुरा गर्दै ‘छक्कापञ्जा ४’का निर्माता दीपकराज गिरीले आफूहरु असोज ७ वा १४ गतेमध्ये कुनै एक मितिमा आउने निश्चित भएको बताए ।
असोज १४ गते नारायण रायमाझी निर्देशित मल्टिस्टारर फिल्म ‘परदेशी २’को रिलिज मिति तय भइसकेको छ । यस्तोमा ‘छक्कापञ्जा ४’को प्रतिस्पर्धा प्रेमगीत वा परदेशीमध्ये कुनै एकसँग हुने निश्चितजस्तै छ ।
‘छक्कापञ्जा ४’ निर्माता तथा अभिनेता गिरीले भने, ‘हामी असोज ७ वा १४ गतेमध्ये कुनै एक फिल्मलाई लिएर खुला छौं । एउटा न एउटासँग त जुध्नैपर्छ ।’
‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनले पनि सकेसम्म आफूहरुले घोषणा गरेको मितिमा ‘छक्कापञ्जा ४’लाई नआउन निर्माता गिरीलाई आफूहरुले भेटेरै आग्रह गरेको बताए ।
सेनले भने, ‘हामीले अनुरोध पनि गरेका छौं । उहाँ (दीपकराज) नेपाली फिल्मलाई राम्रो सोच्ने मान्छे पनि हो । हामीलाई तपाईंको सपोर्ट चाहिन्छ भनेर पनि भनेका छौं ।’
छक्कापञ्जा स्थापित ब्राण्ड भएकाले आफूहरुलाई सहयोगको खाँचो पनि भएको सेनले बताए । ‘उहाँहरुको अहिलेसम्म सुटिङ पनि भएको छैन । कहिले सुटिङ होला भनेर कुरेर बस्ने कुरा पनि भएन । उहाँहरु आउनुहुन्छ जस्तो लाग्दैन । हामीलाई सपोर्टको खाँचो छ,’ सेनले भने ।
दशैंलाई फिल्म निर्माता व्यावसायिक हिसाबले आकर्षक समयको रुपमा लिने गर्छन् । जसका कारण फिल्म जुध्ने समस्या रहिआएको छ । कोरोना महामारीले प्र्रभावित ‘प्रेमगीत ३’लाई दशैंमा आउने एकखालको दबाबजस्तो पनि देखिन्छ ।
असोज ७ गते नै विश्वचर्चित हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शन हुने तयारीमा छ । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले दशैंमा रिलिजको तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4