+
+

मधेश आन्दोलनको किल्लामा एमालेको जित

सिराहामा हामीले टिकट वितरणदेखि नै ध्यान दियौं । वडा, पालिका र जिल्ला कमिटीमा छलफल गरेरै सकेसम्म सर्वसहमतबाट उम्मेद्वार चयन गर्यौं । ‘इच्छा गरेकाहरुको किन दुखाउनु, सबैको कुरा सुन्यौं –उग्रनारायण यादव, जिल्लासचिव एमाले । 

सइन्द्र राई सइन्द्र राई
२०७९ जेठ ९ गते १८:४८
सिरहाको सुखीपुर नगरपालिकाको मेयरमा निर्वाचित एमालेका राम औतार यादव र अरु जनप्रतिनिधिहरु ।

९ जेठ, काठमाडौं । सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गरेको नेकपा एमाले स्थानीय चुनावमा नराम्रोसँग पराजित भएको छ । शहरी र सुगम क्षेत्रका धेरै पालिकामा हार व्यहारेको एमालेले पाँच वर्ष अगाडि बनाएको पहिलो दलको हैसियत नेपाली कांग्रेसलाई सुम्पिएको छ ।

चुनाव अगाडि अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविरुद्ध ७० प्रतिशत जित निकाल्ने दाबी गरेपनि झण्डै सय सिट गुमाउँदै २७ प्रतिशत हाराहारीमा एमाले खुम्चिने देखिन्छ । ०७४ को चुनावमा २९४ स्थानीय तह (३९ प्रतिशत) जितेकोमा अहिले १९८ स्थानमा जित निकालेको छ भने मतगणना भइरहेका ७ स्थानमा अग्रस्थानमा छ ।

एमाले नेतृत्वको दाबीअनुसारको नतिजा कतै पनि आएन, महानगरहरूमा चमत्कार हुने ‘भविष्यवाणी’ पूरा भएन । मधेश प्रदेशलाई त विशेष जोड दिएर एमाले नेताहरूले प्रचार गरेका थिए । माओवादी केन्द्रबाट प्रभु साहसहित भूगोलमा पकड रहेका नेता एमालेमा आएको र अन्य दलबाट प्रवेश गर्ने संख्या देखाएर एमालेले मधेश प्रदेशमा बलियो शक्ति बन्ने दाबी गरेको थियो ।

वीरगञ्ज महानगर जित्न अध्यक्ष ओलीले निवर्तमान मेयर विजय सरावगीलाई एमाले प्रवेश गराएर मेयर पदको टिकट दिएका थिए । तर जनता समाजवादी पार्टी (जसपा) बाट एमाले प्रवेश गरेर चुनाव लडेका सरावगी पराजित हुने पक्का भएको छ । उनलाई जसपाकै राजेशमान सिंहले दोब्बर अन्तरले पछि पारेका छन् । रौतहट, सर्लाही, सप्तरी र धनुषामा एमाले शून्य हुनबाट मात्रै जोगियो ।

संविधान निर्माणका क्रममा होस् वा संविधान बनेपछि होस्, मधेस आन्दोलनलाई लक्षित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण २०७४ को चुनावमा एमाले निकै रक्षात्मक बनेको थियो ।

तर सिरहाका एमाले नेताहरू भने चुनावी नतिजाकै कारण उत्साहित छन् । अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएपछि अहिले विजय सभामा जिल्ला नेताहरू व्यस्त छन् । ‘जनताको भावनालाई सधैं सम्मान गर्‍यौं । अप्ठ्यारो परिस्थितिमा साथ दियौं । यसपटक जनताले हामीलाई साथ दिए’, एमाले जिल्ला सचिव उग्रनारायण यादव भन्छन् ।

भर्खरै पार्टी विभाजन भएको र सत्तारुढ दलहरुले केन्द्रबाटै गठबन्धनको निर्णय गरेकाले सिरहाका एमालेलाई ०७४ कै उपलब्धि जोगाउन मुस्किल थियो । तर ०७४ मा चार सिटमा खुम्चिएको एमालेले यसपटक दोब्बर भन्दा बढी ९ स्थानीय तहमा जितेको छ । ‘सपना बाँड्नेहरूले बोलेको कुरा पूरा गरेनन् । जनताले पनि भ्रम बाँड्नेहरु चिनिहालेँ’, एमालेका सिरहा इन्चार्ज गंगा यादव भन्छन् । एमालेको जित असली जनप्रतिनिधि चयनको नतिजा भएको उनी बताउँछन् ।

मध्यमार्गीलाई मत

संविधान निर्माणका क्रममा होस् वा संविधान बनेपछि होस्, मधेस आन्दोलनलाई लक्षित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण २०७४ को चुनावमा एमाले निकै रक्षात्मक बनेको थियो ।

तर पार्टीको झण्डा नछोडी परिवर्तनको चाहनालाई साथ दिएको र स्थानीय नेता तथा कार्यकर्ताको अथक मेहनत गरेकाले ०६३ सालको मधेश आन्दोलनको ‘इपिसेन्टर’ सिरहामा एमाले प्रमुख शक्ति बनेको बताउँछन्, सचिव उग्रनारायण ।

‘हामी एउटा हातमा कालो झण्डा र अर्को हातमा सूर्य बोकेर हिडेका थियौं । जनताको एजेण्डा पनि छोडेका थिएनौं, पार्टीको झण्डा छोडेका थिएनौं’, उग्रनारायण भन्छन् ।

उनी आफैंले पनि भगवानपुर गाउँपालिका अध्यक्ष जितेका छन् । भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा उनले जनता समाजवादी पार्टी (जसपा) का जिल्ला उपाध्यक्ष बेचनप्रसाद यादवलाई पराजित गरे ।

बेचनले तीन हजार २३९ मत पाउँदा उनले चार हजार ३०२ मत ल्याएर जिते । भगवानपुर नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको गृह पालिका समेत हो । तर ५ मध्ये ४ वडासहित एमालेका उग्रनारायण अध्यक्ष निर्वाचित भए ।

०६३ सालमा उपेन्द्र यादव नेतृत्वको मधेश आन्दोलन सिरहाको लहानबाट सुरु भएपछि एमालेका स्थानीय नेताहरुले ठूलै संकट खेपेका थिए । सशस्त्र विद्रोहबाट उदाएको माओवादीको प्रभाव बढिरहँदा अझ चर्को नारासहित उपेन्द्र यादवले मधेश आन्दोलन चर्काए । मधेश आन्दोलनको प्रभावमा एमाले कमजोर बन्यो ।

सिरहाबाटै चर्किएको मधेश आन्दोलनको बलमा उपेन्द्र यादव पटकपटक सत्तामा गइसके । माओवादी केन्द्रको समेत बलियो पकड रहेको बुझाइले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७० को दोस्रो संविधानसभाको चुनाव लड्न सिरहा गए, जिते पनि ।

०७४ को स्थानीय चुनावसम्म पनि माओवादी केन्द्र सिरहामा बलियो थियो । १७ मध्ये उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी र माओवादी केन्द्रले ६/६ स्थानीय तह जितेको थियो ।

तर यसपटक भगवानपुरसहित नरहरा गाउँपालिका, विष्णुपर गाउँपालिका, सुखीपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा जसपाकै उम्मेदवार हराउँदै एमालेले जितेको छ । सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र धनगढी नगरपालिकामा पनि एमाले उम्मेदवार विजयी भए । ‘अनेक आन्दोलनसँग जुध्दै उभिएको प्रतिफल भने यसपटक पायौं’, उग्रनारायण भन्छन् ।

सिरहामा एमालेबाट नवीनकुमार यादवले ११,१४३ मत ल्याएर मेयर जित्दा कांग्रेसका उपेन्द्रकुमार यादवले ८,७२० मत ल्याए । कर्जन्हामा जसपाका केशवप्रसाद साहले ३,२२३ मत ल्याउँदा एमालेका भोलाप्रसाद पोखरेलले ३,८३९ मत ल्याएर मेयर जिते ।

सुखीपुर नगरपालिकामा जसपाका जीवछ यादव (३,११२ मत) लाई हराउँदै एमालेका रामऔतार यादव (४,४३४ मत) मेयर बने । कल्याणपुरमा कांग्रेसका धर्मनाथ यादव (५,३५३ मत) लाई हराउँदै एमालेका राम पुकार साह तेली (५,८८३ मत) विजयी भए ।

धनगढी नगरपालिकामा शिवशंकर महतोले (७,०५६ मत) कांग्रेसका रामचन्द्र यादवलाई (६,९०१ मत) लाई हराए । यादव कांग्रेसका जिल्ला सभापति हुन् भने महतो एमालेका जिल्ला उपसचिव हन् ।

विष्णुपुर गाउँपालिकामा एमालेका सत्यनारायण यादवले २,१५८ मत ल्याएर जसपाका जागेश्वर यादव (२,११७ मत) लाई पराजित गरे । नरहरा गाउँपालिकामा जसपाकै कौशल मण्डल (२,५१७ मत) लाई हराउँदै एमालेका रामप्रमोद यादव (२,६९५ मत) अध्यक्ष निर्वाचित भए ।

गोलबजार नगरपालिकामा एमालेका श्यामकुमार श्रेष्ठको जित लगभग निश्चित जस्तै छ । ०७४ मा एमालेले लहान, सुखीपुर, सखुवानन्कारकट्टी र नरहरा जितेको थियो । यसमध्ये सुखीपुर र नरहरामा एमालेले आफ्नो जित जोगायो ।

सखुवानन्कारकट्टीमा ०७४ मा एमालेबाटै मेयर बनेको केदारनाथ यादव एकीकृत समाजवादी गएकाले फेरि उनलै जिते । लहान भने यसपटक गुमाएको छ । यहाँ कांग्रेस, जसपा र माओवादी मिलेर लडेका थिए । ‘भएभरका दल मिलेर हामीविरुद्ध उत्रिए । तर पनि राम्रै मत ल्यायौं’, एमाले नेता गंगा यादव भन्छन् ।

माओवादी केन्द्र र जसपा भने यसपटक सिरहामा कमजोर बनेको छ । माओवादी केन्द्र पाँच सिट गुमाउँदै एउटा नगरपालिकामा सीमित भयो भने जसपाले ०७४ भन्दा दुई सिट कम जित्यो । कांग्रेसले एक सिट बढाएर दुई वटा पालिकाको नेतृत्व जितेको छ ।

मधेश प्रदेशमा भने कांग्रेस नै पहिलो दल बनेको छ । १३६ मध्ये कांग्रेसले ४४ सिट जितेर पहिलो शक्ति बन्यो । ०७४ को चुनावबाट पनि पहिलो शक्ति रहेको कांग्रेसले ४० सिट जितेको थियो । त्यसबेला १८ स्थानीय तह मात्रै जितेर एमाले पाँचौं शक्तिमा सीमित बनेको थियो ।

यसपटक भने ८ स्थानीय तह बढी जितेर तेस्रो शक्ति बनेको छ । एमालेले सप्तरीमा ९, पर्सामा ५, बारामा ४, धनुषामा ३ र सप्तरीमा २ स्थानीय तह जितेको छ । महोत्तरी, सर्लाही र रौतहटमा एक÷एक स्थानीय तह जितेको छ । अर्थात् सिरहाले ०७४ भन्दा ५ स्थानीय तह बढी जितेकाले एमालेको अवस्था सुधार देखियो ।

‘सिरहामा हामीले टिकट वितरणदेखि नै ध्यान दियौं । वडा, पालिका र जिल्ला कमिटीमा छलफल गरेरै सकेसम्म सर्वसहमतबाट उम्मेद्वार चयन गर्यौं’ जिल्ला सचिव यादव भन्छन्, ‘इच्छा गरेकाहरुको किन दुखाउनु, सबैको कुरा सुन्यौं ।’

तर मधेश प्रदेशमै एमालेको अवस्था सुधारमा सहयोग पुर्‍याउने सिरहालाई एमालेका केन्द्रीय नेताहरुले भने उति ध्यान दिएका थिएनन् । नवराजपुर गाउँपालिकामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई लैजाने तयारी भएपनि उनी गएनन् । ‘ईश्वर कमरेड अरुतिरै व्यस्त हुनुपरेकाले होला, आउनु भएन’, एक नेता भन्छन् ।

मधेश प्रदेशमा एमाले भन्दा बढी जसपाले (२७ स्थानीय तह) जितेको छ । अघिल्लो पटक भन्दा यसपटक एक सिट जसपाले बढाएको हो । माओवादी केन्द्रले भने ठूलो धक्का खाएको छ । ०७४ को चुनावमा मधेश प्रदेशका आठ जिल्लाबाट २५ स्थानीय तह जितेको माओवादी यसपटक ९ स्थानीय तहमा खुम्चिएको छ ।

पटकपटक मन्त्री भएका गिरिराजमणि पोखरेलकै जिल्ला महोत्तरीमा माओवादी केन्द्रले एक पालिका पनि जित्न सकेन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि यसपटक आधा बढी सिट गुमाएको छ । ०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट चुनाव लडेको लोसपाले २५ स्थानीय तह जितेकामा यसपटक १२ मात्रै जितेको छ ।

पृथकतावादी आन्दोलन त्यागेर मूलधारको राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले चर्चा अनुसार जित्न सकेन । सप्तरीको बिहुल बलान गाउँपालिका र हनुमान नगरपालिकाको प्रमुख जनमत पार्टीले जितेको छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?