+
+

‘कि न्याय देऊ, कि जाने ठाउँ देखाइदेऊ’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २१:२८

१० जेठ, काठमाडौं । दुई वर्षअघि अन्तर्जातीय प्रेम गरेका कारण हत्या भएका जाजरकोटका युवक नवराज विकसहित ६ जनाको पीडित परिवारलाई न्याय दिलाउन घटना भएको स्थलमा ‘जात व्यवस्थाविरुद्ध भेरी प्रतिरोध मार्च’ सम्पन्न भएको छ ।

मंगलबार १० जेठमा उनको हत्या भएको दुई वर्ष पुगेको अवसरमा अधिकारकर्मीसहित पीडित परिवारले घटनास्थल जाजरकोटको भेरी नदीको किनारमा उक्त कार्यक्रम गरेका हुन् ।

प्रतिरोध मार्चको कार्यक्रममा पीडित परिवार र अधिकारकर्मीले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्नुपर्ने माग राखे । कार्यक्रममा बोल्दै नवराजका बुबा मुनलाल विकले आफूलाई न्यायको महसुस हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

‘घटना भएको लामो समयसम्म पनि हाम्रा छोराहरूका हत्यारालाई राज्यले सजाय तोकेको छैन । हामीले छोराहरू गुमाएको दुई वर्षसम्म न्यायको अनुभूति गर्न पाएका छैनौं,’ मुनलालले भने, ‘कि हामीलाई न्याय चाहियो । होइन भने हामी जाने ठाउँ कहाँ हो देखाइदिनु पर्‍यो ।’

उनले आफूहरूले न्याय पाउन ढिला भएकै कारण कैयौं दलितहरूले उत्पीडन भोग्नुपर्ने अवस्था रहेको भन्दै ढिला नगरिदिन आग्रह गरे ।

प्रेमिकाको घर रूकुम पश्चिमको चौरजहारी नगरपालिका गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो ।

घटना भएको दुई वर्ष पुगिसक्दा समेत पीडितलाई न्याय दिन राज्य पक्षबाट ढिला भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै चौरजहारीका ३४ जना आरोपितलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ११ जनालाई जिल्ला र उच्च अदालतको आदेशमा प्रहरीले रिहा गरेको छ । बाँकी २३ जना थुनामा छन् ।

दुई वर्ष पुग्दा पनि दोषीलाई कारवाही गर्न ढिला भएको भन्दै कर्णाली थिएटर, प्रतिरोधः जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले जाजरकोटको भेरी किनारमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

उक्त प्रतिरोध मोर्चामा बोल्दै लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले सत्ताको पहुँचमा भएका व्यक्तिका कारण पीडितले न्याय नपाएको बताए ।

‘नवराजको हत्या भएको दुई वर्षपछि पनि न्यायालयले फैसला गरेको छैन । समाजका प्रभुत्वशाली व्यक्तिहरू, राज्यका प्रभुत्वशालीहरू र पार्टीका प्रभुत्वशालीहरू तथा धर्म र परम्पराका प्रभुत्वशालीहरू सबै यो न्यायको विरुद्धमा एक गठ भएका छन्,’ संग्रौलाले भने, ‘न्यायको प्रक्रियालाई लम्बाउने, न्यायका साक्षीहरू, घाइतेहरू, शुभचिन्तकहरूको मनोबल गिराउने र अधिकारका निम्ति जो–जो लडिरहेका छन् उनीहरूलाई थकाउने प्रयत्नमा यो राज्यका ठालुहरू लागि परेका छन् ।’

उनले कुनै समय दलितको मुक्तिका निम्ति झण्डा, बन्दुक र बम बोकेर हिँडेकाहरू नै रहेको भन्दै उनीहरूको चिन्तनको पश्चगमनको परिणाम नवरजाहरूको हत्या भएको बताए ।

उनले न्यायको दाबी कहिल्यै पराजित नहुने भन्दै संघर्षलाई जारी राख्नुपर्ने धारणा राखे । ‘हामी काठमाडौंदेखि कर्णालीसम्मका अधिकारकर्मी तथा न्यायका योद्दाहरू यहाँ जुटेका छौँ । हाम्रो संख्या सीमित छ तर, हाम्रो प्रतिनिधित्व व्यापक छ,’ उनले भने ।

‘न्यायको दाबी र पुकार कहिल्यै पनि विलम्ब हुँदैन । समय र प्रयत्न लाग्नसक्छ । हामीलाई धेरै धोका र ओराली हुनसक्छन् । तर, न्यायको युद्धले इतिहासमा हारेको कुनै प्रमाण छैन । हाम्रो न्यायको युद्धले जित्नेछ ।’ उनले भगवानको कृपाले, पार्टीहरूका कृपाले र समाजका ठालुहरूको कृपाले न्यायको लडाई नजितिने भन्दै विवेकसहित प्रयत्न जारी राख्नु पर्ने बताए ।

उनले तत्कालका लागि विद्यमान संविधानका अधिकारका सीमाभित्र प्रत्येक नागरिकले प्राप्त गर्ने न्यायीक अधिकार नवराजहरूले प्राप्त गर्नुपर्ने बताए । मुद्दाको सकेसम्म छिटो फैसला हुनुपर्ने भन्दै घटनामा असंलग्न मान्छेहरू दण्डित हुननहुने र दोषी छुट्न नहुने धारणा राखे ।

उनले यो मुद्दाको फैसलाबाट मात्रै समस्या समाधान नहुने भन्दै जात व्यवस्थाको अन्त्य हुनुपर्ने आवश्यक्ता औंल्याए । ‘जबसम्म यसको अन्त्य हुँदैन त्यतिबेलासम्म धेरै नवराजहरू मारिने छन्,’ उनले भने, ‘धेरै दलितहरू प्रेमको कारणले मारिएका छन् । अन्तर्जातीय प्रेम र विवाहको कारणले धेरै दलित मारिएका छन् । घरबाट निकाला भएका छन् । गाउँबाट निकाला भएका छन् । तर, यो जति बर्बर घटना इतिहासमा कहिल्यै पनि घटेको थिएन ।’

कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य पार्वती विक, दलित अधिकारकर्मी तीला नेपाली र गणेश चिन्तनलगायतले दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन माग गरे । घटनास्थलमा कर्णाली थिएटरका कलाकारहरू नाटकसमेत प्रस्तुत गरेका थिए ।

जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रूपमा मनाउन आजै काठमाडौंको माइतीघरमा पनि प्रदर्शन भएको छ । जाजरकोटबाट मृतक नवराज, सञ्जु, गणेश र लोकेन्द्रका आमाहरू काठमाडौंमा भएको प्रदर्शनमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?