+
+

कसरी बन्ने एयर होस्टेस ?

अंगद सिंह अंगद सिंह
२०७९ जेठ ११ गते १७:५२

काठमाडौं । विमान परिचारिका अर्थात् एयर होस्टेस । आफैंमा लोभलाग्दो पेशा हो यो । आकाशमा सयर गर्ने यो पेशा जति  रोमाञ्चक छ, उत्तिकै जिम्मेवार पनि ।

अर्को आकर्षक कुरा त के छ भने, क्षणक्षणमै भिन्न हावापानी अनुभव गर्न सकिने । भिन्न भूगोल टेक्न पाइने । त्यसमाथि उचित सेवा-सुविधा त छँदैछ । यस्तो पेशा कसले अपनाउन सक्छन् त ? के कस्ता योग्यता चाहिन्छ ? कहाँ तालिम लिने ? कति खर्च लाग्छ ? वायु सेवामा यस्ता जनशक्तिको माग कति छ ? कति पारिश्रमिक पाइन्छ ?

सामान्यतः एयर होस्टेसका लागि सीमित अवधिको तालिम लिए पुग्छ । खर्च पनि धेरै लाग्दैन । काठमाडौंमा केही यस्ता इन्स्टिच्युट छन्, जहाँ एयर होस्टेससम्बन्धी तालिम लिन सकिन्छ । देशभरमा यस्तो इन्स्टिच्युट दर्जन हाराहारीमा छन् । काठमाडौंमा ७ वटा, चितवन, पोखरा र बुटवलमा एक-एकवटा इन्स्टिच्युट सञ्चालनमा छन् ।

कसरी बन्ने ?

एयर होस्टेस बन्नका लागि केही शारीरिक मापदण्ड छ । हेर्दा छरितो, आकर्षक, शालिन र आत्मविश्वासी हुनु जरुरी हुन्छ । यस्तो व्यक्तित्व कसरी बनाउने ? तालिममा सिकाइन्छ । यस अन्तर्गतको कोर्समा यात्रुको सत्कार, हेरचाह गर्ने, कुन सूचना कसरी प्रवाह गर्ने कुरामा अभ्यास गराइन्छ । त्यससँगै आपतकालीन अवस्थामा विमानभित्रका यात्रुलाई कसरी सम्हाल्ने, असहज परिस्थितिलाई कसरी सामान्य बनाउने ? उनीहरुमा यसको ज्ञान हुनुपर्छ ।

यो कोर्स महिला पुरुष दुवैले गर्न सक्छन् । महिलालाई एयर होस्टेस भनिन्छ भने पुरुषलाई फ्लाइट स्टेवर्ड भनिन्छ ।

नेपाल एयर होस्टेस एकेडेमीका अध्यक्ष प्रदीपराज वन्त एयर होस्टेस कोर्र्स कम खर्चिलो, छोटो समयको भएकाले यो क्षेत्रमा शतप्रतिशत रोजगारी पाइने बताउँछन् ।

‘एयर होस्टेसप्रति अहिले युवाको लगाव र झुकाव बढ्दै गएको छ । यसको एक मात्र कारण समयमा काम पाइने, छोटो समयावधिको र कम खर्चिलो हुनु नै हो,’ वन्त भन्छन् ।

एयर होस्टेस प्लस टु पढेका विद्यार्थीले पढ्न पाउँछन् । यसमा यो नै विषय पढेकाले पाउँछन् भन्ने हुँदैन । जुनसुकै विषय पढेकाले पनि यो कोर्स पढ्न पाउँछन् ।

कति खर्च लाग्छ ?

वन्तका अनुसार यो कोर्स पढ्न तीनदेखि ६ महिनासम्म लाग्छ । उनीकहाँ यो कोर्स गर्न ५० हजार रुपैयाँ लाग्छ । ड्रेस र कापीकिताब यसै शुल्कमा समावेश गरिएको हुन्छ ।

‘यात्रु विमानमा चढ्दादेखि ओर्लिदासम्मको सत्कार नै विमानको पहिचान हो । यात्रुको  सत्कार गर्नु, सहजता प्रदान गर्नु नै एयर होस्टेसको काम हो,’ वन्त भन्छन् ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन्  ?

– जुनसुकै विषयमा प्लस टु उत्तीर्ण

– महिलाको उचाइ ५ फिट २ इन्च र पुरुषको ५ फिट ७ इन्च हुनुपर्ने

– उमेर १८ देखि २८ वर्ष ननाघेको

– अन्तर्राष्ट्रिय उडानका लागि पौडी खेल्न जानेको

– अंग्रेजी भाषामा दख्खल भएको

– दैनिक औषधि सेवन गर्नु नपर्ने

– देखिने स्थानमा ट्याटु नहानेको

– मेडिकल अप्रेसन नगरेको हुनुपर्ने

– शारीरिक र मानसिक रुपमा सुन्दर र आकर्षक हुनुपर्ने

पढ्नुपर्ने विषय

– विमानको इतिहास र प्रकार

– यात्रु सुरक्षा

– यात्रु सत्कार

– फायर फाइटिङ

– ड्रेस र मेकअप

– फुड सर्भिस

– प्राथमिक उपचार विधि

– व्यक्तित्व विकास

– आत्मरक्षा

काम पाउने क्षेत्र

– विमानस्थल

– विमान कम्पनी

– एयरपोर्ट लन्च

– ग्राउन्ड होस्टेस

गर्नुपर्ने काम

– यात्रुको सत्कार गर्ने

– यात्रुको सुरक्षाको अनुभूति दिलाउने

– यात्रुको कमाण्ड लिने

– यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने

– सूचना प्रवाह गर्ने

– मौसमसम्बन्धी जानकारी दिने

– परिचयपत्र चेकजाँच गर्ने

मासिक कमाइ

वन्तका अनुसार राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुन्छ ।

विदेशमा समेत अवसर

एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको वन्त बताउँछन् । विदेशी विमानमा समेत नेपाली एयर होस्टेसले काम गर्ने अवसर पाउँछन् ।

उनका अनुसार नेपालबाट एयर एसिया, कतार एयरलाइन्स, दुवैको इमिरेट्स फ्लाइट, फ्लाई दुबई र सिंगापुर फ्लाइट आदिमा नेपाली एयर होस्टेसले रोजगारीको अवसर पाइरहेका छन् ।

विदेशी विमान कम्पनीले नेपालबाट रोजगारीका लागि विमान परिचारिका लैंजादा उनीहरुको इमान्दारिता, सहनशीलता, मिलनसार, आकर्षक-दक्ष, मानसिक र शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेको वन्त बताउँछन् ।

हरेक विमानमा स्टाफ नर्स हुनुपर्ने

विमान हाई अल्टिच्युडमा उड्दा कुनै यात्रु मुर्छा पर्न सक्ने हुँदा त्यसका लागि अहिले हरेक विमानमा स्टार्फ नर्स राख्ने चलन रहेको छ । कुनै यात्रुलाई स्वास्थ्य सम्बन्धी समस्या आएमा र मुर्छा परेमा यात्रुको स्वास्थ्यका लागि विमानमा स्टाफ नर्स राख्ने गरिएको वन्तको तर्क छ ।

२० वर्षदेखि एयर होस्टेसको काम गरिरहेकी ललितपुर पाटनकी अनामिका चौधरी अहिले उनी बुद्ध एयरलाइन्समा क्याबिन क्रुको काम गरिरहेकी छन् ।

पछिल्लो समय एयर होस्टेसमा युवाको झुकाव बढ्दै गएको भन्दै चौधरीले कम खर्चिलो र छिटो काम पाइने भएकाले पनि यसप्रति आकर्षण बढ्दै गएको बताइन् ।

‘देश-विदेश घुम्न र नयाँनयाँ ठाउँ हेर्न पाइने भएकाले एयर होस्टेसमा युवाको आकर्षण बढ्दो छ,’ चौधरी भन्छिन्, ‘एयर होस्टेस व्यावहारिक, शारीरिक-मानसिक रुपमा स्वस्थ र ब्युटी विथ ब्रेन हुनुपर्छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?