+
+
विचार :

बलात्कारीलाई कस्तो दण्ड दिने ?

डा. अच्युतशाली घिमिरे डा. अच्युतशाली घिमिरे
२०७९ जेठ १२ गते १७:११
डा. अच्युतशाली घिमिरे

हालसालै सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा सुनसरी जिल्ला अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले बदर गर्‍यो । सुनसरीको बराहक्षेत्र नगरपालिका चतराका गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालतको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा  पुनरावेदन गरेको थियो ।

आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालतले सफाइ दिएको थियो । जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले एकतर्फी सुनुवाइकै आधारमा उनीमाथिको आरोप पुष्टि हुन नसक्ने भनेर गरेको फैसलाले न्यायलय र न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाएको थियो ।

हालसालै सामाजिक सञ्जालमा एक युवतीले आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले गरेको बलात्कारका बारेमा समेत बोलिन् र उक्त घटनामा अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया पनि अघि बढाइएको छ । त्यति मात्र होइन आफ्नै पढाउने शिक्षकद्वारा यौन शोषणमा परेका घटनाहरु पनि धेरै नै सार्वजनिक भइरहेका छन् ।

समाचारहरुमा दिनहुँ आउने बलात्कारका घटनाले यौन हिंसामा सैद्धान्तिक बहसको थालनी त गरेको छ, तर हदम्याद लगायतका कानुनी जटिलतामा समाधानका लागि ठोस निष्कर्ष अझै निस्किन सकेको छैन ।

के हामी हाम्रा घरका छोरी चेलीबेटीको आत्मबल बलियो बनाएर यस्ता सामाजिक भाइरससँग लड्न सक्ने बनाउन सक्दैनौं ? घरको मूल प्रवाहबाट पन्छाइदिएपछि एउटा सोझी केटीलाई बाहिरकाले आक्रमण गर्दैनन् त ?

बलात्कारजन्य घटनामा विशेष त सीमान्तकृत दलित, गरिब र असहाय नाबालिकाहरु बढी परिरहेका छन् । जातीय र वर्गीय उत्पीडनको जवलन्त खाडल यसले देखाउँछ ।

जीवनमा दिव्य ध्येय बोकेर हिंडेका कलिला कोपिलाहरुलाई चुँडेर उन्मुक्तिको खोल ओढ्नेहरु यो देशका शत्रु हुन् । सम्पूर्ण सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा मनोवैज्ञानिक रुपले आफूलाई तल्लो भनिएको आभास भएकाहरुलाई नै बारम्बार सिकार बनाइएको छ ।

बाबाको रुप धारण गरेर आफ्ना अनुयायी शिष्यमाथि गरिएका बलात्कार घटनाका तथ्यांक, सौन्दर्य प्रतियोगितामा हुने गरेका यौन शोषण, शिक्षक भएर स–साना आफ्ना छात्रामाथि हुने गरेका दुव्र्यवहार मात्र हेर्दा पनि आङ नै सिरिंग हुने अवस्था छ । यी विषयमा भावनाका अनुभूतिहरु समेत रसाएर आउँछन् । तर एउटा बलात्कारी पुरुषले कसरी एउटा अबला नारी माथि चीरहरण गर्न सक्छ ? के उसमा मानवीय संवेदना हुँदैन ? के नारीको क्रोदन र चिच्याहटप्रति ऊ बेप्रवाह रहन सक्छ ?

यौन हिंसाका विरुद्धमा सहरबजारतिर विभिन्न अभियान नचलेका होइन । तर सार्थक पहलकदमी यसले लिन सकेन । आरोपित भनिएका ‘बाबा’हरु, बलात्कारी भनिएका आयोजकहरुको राज्यसत्तामा पहुँच र पीडित महिलाहरुको आवाजमा सबै पक्षको साथ सहयोग नहुँदा यस्ता अभियान बीचैमा तुहिने खतरा हुँदोरहेछ । आफ्नो हाकिम, गुरु वा सिनियरले गरेको यौन हिंसा विरुद्ध बोल्न संरचनामाथि नै प्रहार गर्ने हिम्मत बटुलेर हिंड्नु पर्छ । नत्र उचित समाधान सहितको गन्तव्यमा नपुग्दै बाटो बिराउन सकिन्छ । हजारौं वर्षदेखि चलिआएको दुषित पुरुषवादी सोचले अनाहकमा किशोरीहरुको अस्मितामाथि प्रहार गरिरहेको छ । गरिबीले यस्ता घटनामा ‘क्याटालिस्ट’को काम गर्छ ।

बलात्कारको विषय सामाजिक मनोवृत्तिसँग जोडिएको हुनाले पनि यसको जरा नै खोतलेर समाधानमा लाग्नुपर्छ । सत्ताको कुरुप घेरा तोडेर महिलालाई अधिकार सम्पन्न बनाउन महिला नेतृहरु  लागे पुरुषहरुको हस्तक्षेपकारी सोच आफैं बदलिन्छ । यसले तलको इकाईसम्म एउटा चेतना सञ्चार गर्छ । भूमिकाहरुमा महिलालाई प्राथमिकता दिंदा पनि महिलामैत्री र समावेशी कानुन निर्माणमा सहयोग पुग्छ । भन्नलाई मात्र र पपुलारिटीको ग्राफ बढाउन मात्र मृत्युदण्डको नाम पुकार्नु भन्दा कालान्तरसम्म योजनाबद्ध ढंगले यो यौनजन्य हिंसाको निरुपणमा नै महिला सासंदहरुले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ ।

जब एउटा परिवारमा छोरीको प्रतिभालाई बुद्ध भनेर परिभाषित गरिन्छ र एउटा साँघुरो घेरामा सीमित राखिन्छ । त्यसपछि परिवारको व्यवहारको सिको बिस्तारै समाज र समाजका अराजक तत्वहरुले पनि गर्न थाल्छन् । अवहेलनाको सिकार भएकी र परिवारको बन्धनमा खुम्चिएर बसेकी सोझी नारीलाई बलात्कारको सिकार बनाउन बलात्कारी पर्खिएर बसेको हुन्छ ।

के हामी हाम्रा घरका छोरी चेलीबेटीको आत्मबल बलियो बनाएर यस्ता सामाजिक भाइरससँग लड्न सक्ने बनाउन सक्दैनौं ? घरको मूल प्रवाहबाट पन्छाइदिएपछि एउटा सोझी केटीलाई बाहिरकाले आक्रमण गर्दैनन् त ? घरकी छोरीलाई मूर्ति समान होइन आफूमाथि भए गरेका हिंसा विरुद्ध आगो ओकल्न सक्ने बनाउनुपर्छ । नत्र ती क्रुर बलात्कारीहरुसँगको लडाइँमा जित हासिल गर्न घरबाटै साहसको खाँचो छ ।

गाउँमा पञ्चायती बस्ने मिलापत्र गर्ने, प्रतियोगिताभित्रै अभियुक्त आयोजक पैसाको चलखेल गरेर जोगिने, आरोपित शिक्षक जोगाउन स्कुल प्रशासन आफैं लाग्ने अनि बलात्कारीलाई उम्काउने यस्ता पक्षसँग लड्न र जुध्न पनि परिवारको साथ पीडितलाई चाहिन्छ । शिक्षित छोरी बनाएमा यस्ता घटनाहरुमा उजुरी दिने र दण्डको भागीदार बनाउन पनि मद्दत पुग्छ । नत्र एकचोटी बलात्कार गरेको पुरुष बारम्बार त्यस्तै घटनामा समातिएको रेकर्ड पनि नेपालमा छ ।

भावनामा लछप्पै भिजेर मुटु काँपेर बिलौना गरेर मात्र आजको दुनियाँमा कमजोर मात्र भइन्छ । हक अधिकारको लागि लडेर र आफूभित्रको कमजोर भावना हटाएर समाजका भलाद्मी भनाउँदा हिंसाका पुजारीहरुलाई गतिलो पाठ सिकाउनुपर्छ । नत्र किशोरी निर्मला पन्तको जस्तै दोषीहरु सत्ताको आडमा गुमनाम हुन सक्छन् । उम्किन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?