+
+

एउटा गजब जुक्ति, जसले सन्तोष र निरजलाई सफल बनायो

सामान्य काम फरक शैलीले गरेर उनीहरूले सफलता पाए । यसले उनीहरूलाई मनग्ये आम्दानीसँगै एउटा नयाँ चिनारी दिएको छ ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ जेठ १३ गते १२:३५

काठमाडौं । ‘सफलताका लागि फरक काम गर्ने होइन, बरु त्यही कामलाई फरक ढंगले गर्ने हो ।’ व्यावसायिक दुनियाँमा चर्चित यो भनाइ सन्तोष पाण्डेको जीवनमा पनि सत्य सावित भयो ।

विश्व प्रसिद्ध अमेरिकी म्यागजिन फोर्ब्सले हरेक महादेशबाट ३० वर्षमुननिका प्रभावशाली ३० जना युवाको सूची निकालेको छ । यही सूचीमा रहेका पाँच जना नेपाली तन्नेरीमध्ये एक हुन्- सन्तोष पाण्डे ।

सन्तोषले पनि गरेको जम्माजम्मी यति हो । उनले कुनै जादु गरेका होइनन्, चमत्कार देखाएका होइनन् । बस्, काम गर्ने शैली बदलेका हुन् । अन्ततः त्यसैले आज उनलाई सफलता दिलाएको छ ।

टोलमा एउटा म:म पसल चल्यो भने सँगै धेरै म:म पसल खुल्न थाल्छन् । यस्तो अभ्यासबाट टाढै रहेर पाण्डेले एउटा गज्जबको जुक्ति फुराए । विभिन्न अवसरमा मानिसले आफ्ना प्रियजनलाई ‘सरप्राइज गिफ्ट’ दिन चाहन्छ । तर, भन्नासाथ यस्ता उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्ने सुविधा छैन । यही अभावलाई पाण्डेले अवसरमा बदल्ने योजना बनाए र, सुरु भयो- ‘अफरिङ ह्याप्पिनेस’ । यो काममा उनले साथी निरज काफ्लेसँग सहकार्य गरेका छन् ।

अहिले उनीहरूका सेवाग्रही बढ्दो छ । प्रियजनलाई अविस्मरणीय खुसी दिन चाहनेका लागि उनीहरू सेतु बनेका छन् । आखिर यस्तो योजना कसरी जन्मियो ? नयाँ परिकल्पनालाई उनीहरूले कसरी यथार्थमा बदले ? कथा संघर्षपूर्ण मात्र छैन, उत्तिकै रोचक पनि ।

क्याम्पसमा जन्मिएको ‘आइडिया’

यो रोचक संघर्षको कथा थाहा पाउन ६ वर्षअघि फर्कनुपर्छ ।

त्यसबेला सन्तोष नेशनल कलेज, बालुवाटारमा ‘विकास अध्ययन’ दोस्रो वर्ष पढ्दै थिए । पढिरहँदा उनको मनमा लागिरहन्थ्यो- ‘केही त गर्नुपर्छ ।’ तर के गर्ने ? कुनै स्पष्ट ‘आइडिया’ थिएन । सोही क्याम्पसमा चौथो वर्षमा अध्ययनरत निरज काफ्ले र अन्य दुई जना अग्रजसँग उनको हेलमेल थियो ।

सरसल्लाह गर्दै जाँदा उनीहरूले निष्कर्ष निकाले- ‘गिफ्ट डेलिभरीको काम गरौं ।’

रोजगारी र अध्ययनको सिलसिलामा विदेशिएका धेरै नेपालीले आफ्ना पि्रयजनलाई विभिन्न अवसरमा उपहार पठाउन चाहन्छन् । यो ‘स्पेश’मा लगानी गर्दा व्यवसाय सफल हुन्छ भन्ने उनीहरूको निष्कर्ष गलत थिएन । तर, सोचेजस्तो काम गर्न कहाँ सजिलो हुन्थ्यो र ?

‘हामीले एकदमै सजिलो ढंगले सोचेका थियौं’ उनी सुनाउँछन्, ‘विदेशमा बस्ने नेपालीहरूले परिवारका लागि गिफ्ट अर्डर गर्छन्, हामी धमाधम उनीहरूको गिफ्ट डेलिभरी गरिदिन्छौं र मनग्य पैसा कमाइन्छ भन्ने सोचिएको थियो । तर, त्यस्तो भएन ।’

साथीले सिकाएको जुक्ति

गिफ्ट अर्डर नै भएन । तीन महिनासम्म कारोबारै भएन । दुई जना पार्टनरले साथ छाडेपछि उनीहरुमा निराशा थप चुलियो । तर, उनीहरूको निराशा लामो समय टिकेन । भइदियो के भने सन्तोषका एकजना साथी विदेशबाट नेपाल आउँदै थिए । उनले सन्तोषलाई भने ‘अहिले तिमीहरूको काम राम्ररी चलेको छैन । गिफ्ट पनि बिक्री भएको छैन । बरु, तिमीहरू पूरै सरप्राइज प्लान गर न ।’

अनि निस्कियो गज्जबको जुक्ति । डेलिभरी गर्ने काम त अरुले पनि गरेकै छन् । अरूले जस्तै गरेर के पो होला र ? ‘अब सरप्राइज गिफ्ट डेलिभर गर्ने,’ उनीहरू यही टुंगोमा पुगे ।

गिफ्ट भनेको ‘सरप्राइज’ भएको काइदा । प्रापकका लागि यो एक सुखद आश्चर्य भइदियोस् । अन्ततः उनीहरूले यही काम गर्ने निधो गरे ।

विदेशबाट फर्किएका साथीले यो जुक्ति मात्र दिएनन् । उनकै प्रेमिकाबाट यसको थालनी गर्ने अवसर पनि दिए । उनले भने, ‘लु तिमीहरूले मेरो प्रेमिकालाई सरप्राइज गिफ्ट दिने बन्दोबस्ती मिलाऊ ।’

उनकी प्रेमिका विदेशबाट आउँदै थिइन् । उनी आइपुग्नुअघि नै उनको घरको डेकोरेसन गरे । गिफ्टहरू सजाए । अनि एकजना गिटारिस्ट लिएर एयरपोर्टमा पिकअप गर्न पुगे । यी सबै दृश्य उनीहरूले भिडियोमा कैद गरे र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे । अनि त त्यो भिडियो भाइरल भयो । भिडियो भाइरल मात्र भएन, उनीहरूको व्यवसायले पनि गति लिने छाँट देखायो ।

मान्छेहरूले भिडियो हेर्दै आफ्नो लागि पनि त्यस्तै गरिदिन अनुरोध गरे ।

यो सन्दर्भ हो ५/६ वर्ष अघिको । त्यतिबेला अहिले जस्तो बर्थडे तथा अन्य चाडबाडहरूमा सरप्राईज दिने चलन थिएन । यस्ता उत्सव एकदम कमैले मात्र मनाउने गर्थे । ‘तर, हामीलाई भने अलि फेन्सी पार्टी तथा सरप्राइज प्लान गर्नु थियो’ सन्तोष भन्छन्, ‘त्यतिबेला एउटा युवा प्रेमीले आफ्नो प्रेमिकाको लागि ७० हजारसम्मको पनि ‘सरप्राइज प्लान’ गरेको अनुभव पनि छ हामीसँग ।’
दुईजनाले २०/३० हजारको लगानी गरेर उनीहरूले ‘सरप्राइज प्लान’ गर्ने ‘अफरिङ हृयापिनेस’ सुरु गरे । यो परियोजना फस्टाउँदै गयो ।

क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत हुँदा सन्तोषले ग्लोबल स्टुडेन्ट इन्डिपेन्डेस अवार्डको विषयमा जानकारी पाए । ‘यसमा भाग लिनको लागि प्रयास गरौँ न भन्ने लाग्यो’ उनले सुनाए, ‘अनि अवार्डमा भाग लिएँ ।’

त्यो अवार्डमा भाग लिनको लागि उनले व्यवसायबारे एउटा भाषण दिनुपर्ने थियो । त्यसमा उनले नेपालबाट सेमिफाइनल र फाइनल जितेर मकाउ जाने मौका पाए ।

त्यतिबेला त्यो अवार्ड समारोहमा भाग लिन जाँदा ‘अफरिङ हृयापिनेस’ र सन्तोषको जीवनको विषयलाई लिएर एउटा डकुमेन्ट्री बनेको थियो, जुन नेसनल जिओग्राफी र डिज्नी प्लसबाट प्रसारण भयो । उनको चर्चा चुलिए पनि व्यवसाय भने धरमर नै थियो । उनी सफलताका लागि संघर्षरत नै थिए ।

व्यवसाय नचल्दा ०७४ तिर उनले एकजना साथीको कन्सल्टेन्सीमा काम गर्न थाले । काम सिक्दै उनले लगानीकर्ताको टिम विस्तार गर्न थाले । ठूला कम्पनीहरूबाट पनि आफ्ना कर्मचारीहरूको लागि सरप्राइज गिफ्ट गर्ने अफरहरू आउन थाल्यो । अब उनको कम्पनीमा आवद्ध २४ जना व्यस्त हुनेगरी काम आउन थाल्यो ।

तर, सन्तोषका सफलतामा अर्को तगारो थपियो कोरोना महाव्याधि । पटकपटकको बन्दाबन्दीले कारोबार ठप्प भयो । ‘कसरी चल्ने ? एकदमै कठिन समय आयो’ सन्तोष भन्छन्, ‘त्यसैले केकको व्यवसाय पनि सँगसँगै सुरु गरेँ ।’

दोस्रो लकडाउन चलिरहेकै सन्तोषले सुरु गरेको ‘ओहो केक’ व्यवसाय ठिकै चल्यो । कोरोना घटेसँगै उनले सरप्राइज गिफ्टको कामलाई नै तिव्रता दिए । अफरिङ हृयापिनेसमा अहिले ३० जनाको टिमले काम गरिरहेका छन् ।

विदेशमा बसेका छोराछोरीले आमाबुबालाई, श्रीमानले श्रीमतीलाई र अन्यले सरप्राइज गिफ्ट र सरप्राइज इभेन्ट दिँदा उनीहरूको मुहारमा खुसी फुल्छ । कहिलेकाँही ग्राहकको खुसी सन्तोषको आँखाबाट खुसीको आँसु बनेर बग्छ ।

प्रायः सबै उमेर समूहले यो ‘इभेन्ट प्लान’ मन पराएका छन् । तर, विशेषगरी २५-४० उमेर समूहमा सरप्राइज गिफ्ट र सरप्राइज इभेन्ट प्लान अत्यधिक लोकप्रिय छ ।

आफ्नै बाटोमा

सामान्य परिवारमा हुर्किएका सन्तोषको बुबा एउटा आर्मी अफिसर थिए । त्यसैले उनले पोखरा आर्मी स्कुलको होस्टेलमा बसेर ७ वर्ष पढे । एसएलसी दिएर प्लस टु पढ्न भने उनी घर भक्तपुर नै फर्किए । भक्तपुरको ख्वप कलेजमा प्लस टुमा विज्ञान पढेका उनको डाक्टर बन्छु भन्ने सपना थियो ।

सन्तोष लामो समय होस्टेलमा बसेर पढे । यसैको प्रभावको उनको जीवनमा पर्‍यो । उनी कसैको अगाडि उभिंदै आँखा जुधाएर बोल्न पनि सकस मान्थे । तर, मनमा भने नयाँ नयाँ योजना आइरहन्थो ।

११ कक्षामा पढ्दा पढ्दै उनले नयाँ काम सुरु गरे- ‘चेन्ज भक्तपुर’ । उक्त गैरसरकारी संस्थामा लागेर उनले केही सामाजिक कामहरू गरे । यहीक्रममा उनले बोल्न सिके र सँगसँगै आत्मविश्वास बलियो बनाए ।

त्यही समयमा नै उनले उनले अन्य एनजीओहरूसँग पनि मिलेर काम गर्न थाले । यसक्रममा उनले सामाजिक सञ्जालको प्रयोग मार्फत विभिन्न अभियानमा मान्छे जुटाउँथे । न्यू मिडियाबाट प्रभावकारी सञ्चार गर्न उनलाई यही कामले सिकायो ।

विज्ञान पढिरहेको छोरो डाक्टर बन्न छोडेर अन्य क्षेत्रमा जोडिएको देखेर उनको अभिभावहरू खुसी थिएनन् । त्यसमाथि व्यवसायमा पनि नाफाघाटाको उतारचढाव आइरहेको थियो । तर, उनी आफ्नो काममा लगातार लागिरहे । अभिभावकको सपनाद्वारा घिसारिएनन् । आफ्नो रुचि र चाहनाको बाटोमा हिंडिरहे । त्यही अठोट र निरन्तरताले उनलाई आज सफलताको एउटा सिंढीमा टेकाएको छ ।

अफरिङ हृयापिनेसले सरप्राइज प्लानमा काठमाडौँ उपत्यकाभित्र मात्रै काम गर्छ । तर, सरप्राइज गिफ्टको डेलिभरी भने काठमाडौँ बाहिरको थुप्रै जिल्लामा गर्दै आएको सन्तोष बताउँछन् । ‘सरप्राइज इभेन्टमा हिमालमा गएर प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने, प्यारा ग्लाइडिङमा प्रेम प्रस्ताव राख्ने, बेबी सावर, एनिभर्सरी र बर्थडे लगायतका इभेन्टहरू समावेश छ ।’

सन्तोष र निरज अहिले पनि सहकार्यमा छन् र सँगसँगै सरप्राइज इभेन्ट आइडिया र ओहो केक कम्पनीलाई अगाडि बढाइरहेका छन् । प्रवासमा रहेका नेपालीको परिवारका सदस्यको मुहारमा हाँसो ल्याउन सक्दा उनीहरू प्रफुल्ल रहन्छन् । सामान्य काम हो तर, फरक शैलीले गरेर उनीहरूले सफलता पाए । यसले उनीहरूलाई मनग्ये आम्दानीसँगै एउटा नयाँ चिनारी दिएको छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?