+
+

स्वादिष्ट मःमका लागि प्रख्यात काठमाडौंका १० ठाउँ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ जेठ १३ गते १९:०५

काठमाडौं । काठमाडौंसँग मःमको नाता निकै पुरानो छ, उत्तिकै घनिष्ठ पनि । इतिहास भन्छ, तिब्बतको यो मौलिक खान्की काठमाडौं हुँदै विश्वको फुड मेनुमा फैलिएको हो । चौधौं शताब्दीको सुरुदेखि नै काठमाडौंबासीको जिब्रोलाई मःमले लोभ्याएको पाइन्छ ।

व्यापारको सिलसिलामा तिब्बत जाने नेवारी व्यापारीले मःमलाई काठमाडौं भित्र्याएका थिए । खासमा यसको नाम ‘मोहमो’ हो । तर तिब्बतबाट नेपाल आइपुग्दा यसको नाम ‘मोमोचा’ भयो । कालान्तरमा त्यही मोमोचा सर्वप्रिय खाजा मःममा बदलियो ।

अक्सफोर्ड डिक्सनरीमा मःम अर्थात् मोमोजको अर्थ बाफमा पकाएको तिब्बती परिकार भन्ने उल्लेख छ । यसमा मासु र सब्जी मिलाएर पकाइन्छ । नेवार व्यापारीले तिब्बतमा खाएको स्वादलाई आफ्नै चुलोमा तयार गरे, यसको स्वाद र स्वरुप पनि केही फेरबदल भयो ।

आज काठमाडौंमा अनेकथरी मःम बन्छ । यसको आकारप्रकारमा मात्र होइन, स्वादमा पनि विविधता छ । यही विविधताको कारण पनि मःम सर्वप्रिय खाजा बनेको छ । दुई चार पाइला हिंड्नासाथ तपाईंले मःम पसल फेला पर्नुहुनेछ । तर यहाँ केही यस्ता मःम पसल छन्, जहाँको मःम खान पारखीहरु टाढाटाढाबाट समेत धाउँछन् ।

डेलिसियस मःम, जमल

मःम पारखीहरूको लागि एउटा राम्रो गन्तव्य हो काठमाडौंको जमलमा रहेको डेलिसियस मःम सेन्टर । २८ वर्षअघि जमलको एउटा सटरबाट सुरु भएको यो मःम सेन्टरले अहिले दुईवटा भवनबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

यहाँको मःमको आकारले पनि धेरैलाई लोभ्याउँछ । मःममा प्रयोग गरिने किमा र अचार पनि अन्य मःमको तुलनामा अलि फरक छ । यहाँ पाइने मःमको भेराइटीको कुरा गर्ने भने चिकेन, भेज र बफ तीनवटैमा स्टिम मःम, सी मःम, कोथे मःम र फ्राइ मःम उपलब्ध छ ।

बफ स्टिम मःमको १८० रुपैयाँ, चिकेन मःमको २०० रुपैयाँ र भेज मःमको १३० रुपैयाँ पर्छ ।

शानदार मःम, शंखमूल

मःम पारखीहरूको रोजाइमा पर्ने अर्को लोकप्रिय शानदार मःम पनि हो । भेज, चिकेन, बफ र पनिर गरी चार प्रकारको मःम यहाँ पाइन्छ । यी चार प्रकारको मःममा पनि धेरै भेराइटी पाइन्छ । यहाँको स्टिम, कोथे, सी, झोल सबै मःम नै एकदमै रुचाइन्छ ।

१८ वर्षअघि स्थापना भएको शानदार लगातार ग्राहकहरूको मन जित्न सफल छ । यसले बानेश्वर, चाबहिल, पेप्सीकोला, इमाडोल, सानागाउँ गरी ६ वटा शाखा खोलिसकेको छ ।

शानदारमा स्टिम बफ मःम १३० रुपैयाँ, भेज मःम १२० रुपैयाँ, चिकेन मःम १५० रुपैयाँ र पनिर मःम १५० रुपैयाँ पर्छ । उचित मूल्यमा मीठो मःम खानको लागि यहाँ मानिसहरूको लामो लाइन लाग्छ ।

दार्जिलिङ भेज मःम, सुकेधारा

१० वर्षअघि एउटा सानो गाडाबाट सुरु भएको दार्जिलिङ भेज मःमको अहिले चारवटा शाखा छ । शुद्ध शाकाहारी मःम भएकाले हो, यो मःम शाकाहारीहरूको रोजाइमा बढी पर्छ ।

यहाँको सादा मःम र मीठो अचारको स्वाद जिब्रोमै झुण्डिन्छ ।  सस्तो मूल्यमा मिठो भेज मःम खान चाहनेहरूको लागि यो एउटा राम्रो ठाउँ हो ।

यहाँ मःमको धेरै भेराइटी त छैन, तर स्टिम मःम मात्रले मात्र पनि धेरै ग्राहकको मन जितेको छ । यहाँको मःमको मूल्यको ९० रुपैयाँ रहेको छ । यहाँ मःम खानको लागि सुकेधारा नजिकका मात्र नभएर भक्तपुर, ललितपुर र टाढा–टाढाबाट पनि मान्छेहरू आउने गर्छन् ।

एभरेस्ट मःम

उपत्यकाका मःम पारखीहरूमा चर्चित रहेको एभरेस्ट मःम सेन्टर नक्सालमा रहेको छ । यो मःम ३२ वर्षअघिदेखि सञ्चालनमा रहेको छ ।

यहाँको मःम स्वादिष्ट हुनुको साथै पेट भरिने हुँदा मःम खान मानिस भीड लाग्ने गर्छ । मूल्यको कुरा गर्दा यहाँ एक प्लेट मःमको मूल्य १५० रुपैयाँबाट सुरु छ ।

यहाँको मःम र अचार दुवैले ग्राहकको मन जितेको छ । सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि यहाँ मानिसहरूको भीड लाग्ने गर्छ । यो मःम सेन्टरबाट दैनिक औसत २५० प्लेट मःम खपत हुने गरेको छ । अहिले एभरेस्टको नामबाट अन्य थुप्रै मःम पसलहरू खुलेको हुनाले धेरैजना झुक्किने पनि गरेका छन् ।

फाइल तस्वीर

बोता मःम, कुमारीपाटी

बोता सिम्पली मःम पनि काठमाडौंको लोकप्रिय मःम ब्राण्ड हो । २०७२ सालमा स्थापना भएको बोताले छोटो समयमा नै धेरै ग्राहकको मन जित्न सफल भएको छ ।

बोताले दुई वर्षको छोटो समयमा नै १२ वटाभन्दा  बढी आउटलेट खोल्न सफल भएको थियो । तर लकडाउनका कारण केही बन्द भएर अहिले ६ वटा आउटलेट मात्र सञ्चालनमा छन् ।

बोतामा ६० भन्दा बढी भेराइटीको मःम पाइन्छ । मःम मात्र होइन, अचार पनि ७ भन्दा बढी भेराइटीको छ । मःम र अचारको धेरै भेराइटी पाउने भएकाले पनि यो मःमका पारखीहरूको रोजाइमा पर्ने गरेको छ । मूल्यको कुरा गर्दा बोतामा स्टिम मःमको मूल्य २२० रुपैयाँदेखि सुरु भएर ४०० रुपैयाँसम्म पर्ने मःम कम्बो पाइन्छ ।

विशाल मःम, बानेश्वर

मःम पारखीहरूले एकदमै रुचाएको काठमाडौंको अर्को लोकप्रिय मःम ब्राण्ड विशाल मःम पनि हो । यहाँको स्वादिलो मःम र चारवटा भेराइटीको अचारले पनि धेरैको मन जितेको छ । शुद्ध बोसोरहित मःम त्यसमाथि पनि धेरै भेराइटी चिकेन, बफ, पनिर र खुवा मःम यहाँको विशेषता हो ।

३५ वर्षअघि स्थापना भएको विशाल मःममा पाइने चारवटा मःमको भेराइटीमा पनि स्टिम, फ्राइ र सी गरी तीन प्रकारको मःम टेस्ट पाइन्छ । यहाँ चिकेन मःम १५० रुपैयाँ, बफ मःम १२० रुपैयाँ, पनिर भेज मःम १०० रुपैयाँ र खुवा मःम १३० रुपैयाँमा पाइन्छ । विशाल मःमको कालीमाटीमा पनि अर्को ब्रान्च छ ।

बंगलामुखी स्वादिष्ट महाभारत मःम, लगनखेल

३० वर्षदेखि सञ्चालनमा आएको बंगलामुखी स्वादिष्ट महाभारत मःम पनि उपत्यकाको लोकप्रिय मःममध्येको एक हो । स्वादिष्ट मःम र अचारले गर्दा यहाँ मःम खानेहरुको लामै लाइन लाग्छ ।

लामो समयदेखि स्टिम बफ मःम मात्रै बेच्दै आएको महाभारत मःमले लगनखेल, ग्वार्को लगायत पाँच ठाउँमा आफ्नो ब्रान्चहरू खोलिसकेको छ ।

१२० रुपैयाँमा एक प्लेट मःम पाइने भएकाले सस्तो मूल्यमा मीठो मःम यहाँको विशेषता हो । महाभारत मःमले पसलभन्दा नजिकैका ठाउँहरूमा होम डेलिभरीको व्यवस्था पनि गर्दै आएको छ ।

नारायण दाइको मसन गल्लीको फेमस मःम, वसन्तपुर

२०३५ सालबाट सञ्चालनमा आएको नारायण दाइको फेमस मःम पनि उपत्यकाको लोकप्रिय मःम हो । यहाँ विशेषगरी तीन भेराइटीको मःम पाइन्छ, जसमा बफ मःम, चिकेन ब्रेस्ट मःम र चिज भेज मःम पाइन्छ ।

अहिले नारायण दाइको मःम गौशाला, नख्खु, एयरपोर्ट लगायत ६ वटा शाखामा फैलिएको छ । मःमसँगै यहाँको अचारको पनि राम्रै चर्चा हुने गर्छ । लप्सीबाट बनेको अचारले मःमको स्वादलाई झन् धेरै बढाएको छ ।

नारायण दाइको मःममा बफ र चिज भेज मःमको मूल्य १८० रुपैयाँ छ भने चिकेन ब्रेस्ट मःमको २२० रुपैयाँ छ । सबै ब्रान्चबाट दैनिक लगभग २०० प्लेट मःम बिक्री हुन्छ ।

शिखर मःम, कोटेश्वर

करिब २२ वर्षदेखि सञ्चालनमा आएको कोटेश्वरको शिखर मःम पनि मःम पारखीहरूको रोजाइमा पर्छ । मःमको आकार ठूलो हुने भएकाले एकै प्लेटले भोक मेट्ने उद्देश्यले ग्राहकहरू त्यहाँ पुग्छन् ।

आकार ठूलो र स्वादिष्ट हुनु शिखर मःमको विशेषता हो । यहाँ बफ स्टिम मःम मात्र पाइन्छ जसको मूल्य ११० रुपैयाँ रहेको छ ।

मःम म्याजिक

महाराजगञ्ज त्रिवि शिक्षण अस्पताल नजिकै रहेको म्याजिक मःम काठमाडौंको लोकप्रिय मःम सेन्टर हो । आजभन्दा २१ वर्षअघि खुलेको मःम म्याजिकमा भेज, बफ र चिकेन गरी तीन प्रकारका मःम पाइनछ ।

स्टिम मःम मात्र बिक्री गर्दै आइरहेको मःम म्याजिकको अचारले पनि मःमको स्वादलाई बढाउँछ । लकडाउनअघि पुतलीसडक र नक्सालमा पनि यसको शाखा थियो । तर कोरोना महामारीका कारण ती दुईवटै ब्रान्च बन्द भएर महाराजगञ्जको मात्र सञ्चालनमा छ ।

मःम म्याजिकमा चिकेन मःमको १९० रुपैयाँ, पनिर मःम १७० रुपैयाँ, बफ मःम १५० रुपैयाँ र भेज मःम १४० रुपैयाँ पर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?