+
+
ब्लग :

एआई : अर्थतन्त्रको नयाँ आधार

एआई एउटा असाधारण क्षमतावान् उत्पादक शक्तिको रूपमा स्थापित भएको छ । यसले समाजको मान्यतामा चुनौती मात्र दिएको छैन, नयाँ आधारको समाज निर्माणको लागि जग पनि बसाल्नेछ ।

प्रकाश अधिकारी प्रकाश अधिकारी
२०७९ जेठ १३ गते १९:३५

हरेक समयको आफ्नो चालक शक्ति हुन्छ । समयको परिवर्तनसँगै चालक शक्तिमा वा चालक शक्तिको परिवर्तनले समयमा असर परेको हुन्छ । एक युगको चालक शक्ति सबै युगमा रहन्छ भन्ने हुँदैन । तर यसको अर्थ यो होइन कि सार्वभौम नियम सधैं एउटै रहन सक्छ ।

मानवले आगो प्रयोग गर्न सुरु गरेदेखि आजसम्म पनि यसको प्रयोग भइरहेको छ । तर यसको स्वरूपमा भने परिवर्तन भएको छ । यसरी चालक शक्ति, चालकको साधन र चालकको स्वरूपमा परिवर्तनले पनि समाजको परिवर्तनमा ठूलो भूमिका खेलेको छ ।

आगोको विशेषता प्राचीन मानवले प्रयोग गरेको जस्तै छ तर स्वरूपमा र साधनमा फरक भएको छ । यसले समाजको विकासलाई निकै फरक पारेको छ । हिजो आगो खोज्न गाउँमा जानुपर्दथ्यो । आज लाइटर, इलेक्ट्रिक हिटर, आदिको विकासले सिंगो समाजमा उथलपुथल ल्याएको छ ।

यसैगरी समाजको उत्पादक शक्ति, स्वरूप र साधनमा परिवर्तन आएको छ । परिणामस्वरूप एक युगबाट अर्को युगमा जाँदा समाजमा ठूलो परिवर्तन आएको छ । यसरी परिवर्तन ल्याउने चालक शक्तिले नै नयाँ युगको निर्माण गरेको हुन्छ । हिजोको अर्थतन्त्रको चालक शक्तिमा परिवर्तन आएको छ, जसले समाजलाई हिजोभन्दा आज फरक बनाएको छ । त्यसको गहिरो अध्ययन आजको समाज बुझ्नको लागि अपरिहार्य भएको छ ।

उत्पादक शक्तिमा परिवर्तन

आजसम्मको सम्पूर्ण समाजमा उत्पादक शक्तिको रूपमा मानव श्रमलाई लिइन्छ । प्रकृतिमा भएको वस्तुलाई उपभोग गरेर मानवीय आवश्यकता पूरा गर्ने प्राकृतिक युगबाहेक अरू युगमा मानिसको श्रमद्वारा वस्तुको निर्माण गरेर मानवीय आवश्यकताको परिपूर्ति भएको छ । सभ्यताको आरम्भबाट समाजको चालक शक्तिको रूपमा मानवीय श्रम रहँदै आयो । मानवश्रम निकै लामो कालखण्डसम्म रह्यो, जसको विकल्प सम्भव नै हुन सकेन । त्यसले समाजमा अनेकौं परिवर्तन ल्यायो ।

विगतमा मानवीय श्रम विना वस्तुको निर्माण र आवश्यकताको परिपूर्ति सम्भव थिएन । वस्तुलाई उपभोग योग्य बनाउन अनिवार्य रूपमा मानवश्रम लगाउनुपर्दथ्यो । त्यसले मानिसलाई प्राकृतिक युगबाट सभ्यताको युगमा रूपान्तरण गरिदियो र समाज आजको अवस्थामा आइपुग्यो ।

विस्तारै समाजमा खोज तथा अनुसन्धान हुन थाल्यो । त्यसले मानिसलाई विस्तारै जटिलताबाट सरलताको बाटोमा डो¥याउँदै ल्यायो । मानिसको खोज तथा अनुसन्धानको क्रममा एकातिर विज्ञानको विकास भयो भने अर्कोतिर प्रविधिको विकास भयो । विज्ञान र प्रविधि एक–अर्कोको परिपूरक भएर देखापरेपछि समाजको क्रान्तिकारी रूपान्तरणको युग प्रारम्भ भयो । त्यसबाट समाजका सबै मूल्य–मान्यतामा परिवर्तन भयो ।

आजसम्म आइपुग्दा मानवश्रमको स्थानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग भएर उत्पादक शक्तिमा ठूलो परिवर्तन आएको छ । आजभन्दा अघिको विज्ञान–प्रविधिले उत्पादकको साधन र स्वरूपमा मात्र फेरबदल ल्याएको थियो । तर आज उत्पादक शक्तिमै परिवर्तन आएको छ, जसलाई ऐतिहासिक क्षण मान्नुपर्दछ । यसले समाजमा परिवर्तनलाई तीव्र बनाइरहेको छ ।

एआईलाई उत्पादक शक्ति मान्ने कि नमान्ने भन्ने एउटा बहस उठेको छ । एआईलाई कसले बनाउँछ ? यसलाई कसले चलाउँछ ? नयाँ एआईलाई कसले जन्माउँछ ? यसबाट मानव समाजमा कस्ता सम्भावना र चुनौती आउँछन् ? जस्ता अनेकौं प्रश्न छन् । हरेक नयाँ विषय आउँदा समाजमा यस्ता प्रश्न उठ्दै आएका छन् । मानिसलाई ईश्वरले सृष्टि गरेको होइन भन्दा कत्रा–कत्रा प्रश्नहरू तेर्सिएका थिए तर विस्तारै सत्य स्थापित हुँदै गयो । एआई उत्पादक शक्ति हो भन्ने तथ्य पनि विस्तारै स्थापित हुँदै जान्छ ।

एआई मानिसभन्दा सयौं गुणा बढी मानवीय गुण भएको यन्त्र (मेसिन) हो । यसलाई आजसम्म मानिसले परिचालित यन्त्रको रूपमा लिएका छन् । परिचालित यन्त्रलाई मानिसको सहायता अनिवार्य हुन्छ किनभने त्यसमा मानवीय गुणहरू हुँदैनन् । एआई एउटा स्वचालित यन्त्र हो, जसले मानवीय सहायता विना नै मानिसभन्दा सबै कुरामा श्रेष्ठता प्रस्तुत गर्न सक्छ ।

एआईबाट यस्तो सम्भव हुँदा मानव समाजमा चुनौती आउँछ भन्ने तर्क हाउगुजी मात्र हो । यदि त्यस्तो हुन्थ्यो भने हामी साधारण मानिसहरूको बीचमा अल्बर्ट आइन्स्टाइन, चाल्र्स डार्बिन, स्टेफन हकिङ्स जस्ता मानिस जन्मँदा समाज नै समाप्त हुनुपर्ने हो नि ! तर त्यसो भएन बरु त्यसबाट मानव समाजको सेवा नै भयो । यसरी नै अद्भुत क्षमतावान् मानवको ठाउँमा अर्को अझ अद्भुत क्षमतावान् एआईको जन्मले हामी कमजोर मानिसको सेवा हुन्छ, त्यो पनि मानवीय गुणहरूसहित ।

त्यसकारण एआई एउटा असाधारण क्षमतावान् उत्पादक शक्तिको रूपमा स्थापित भएको छ । यसले समाजको मान्यतामा चुनौती मात्र दिएको छैन, नयाँ आधारको समाज निर्माणको लागि जग पनि बसाल्नेछ, जसमा उभिएर समतामूलक समाज अर्थात् समाजवादको स्थापना हुनेछ ।

उत्पादनको स्वरूपमा परिवर्तन

हजारौं वर्षदेखि मानिसले निर्वाहमुखी उत्पादन गर्दै आएका थिए । प्राकृतिक युगमा मानिस प्रकृतिले दिएको उत्पादनमा आफ्नो जीवन चलाउने गर्दथे भने मानवश्रमद्वारा उत्पादन गर्दा पनि प्रशस्त उत्पादन सम्भव थिएन । यसरी हेर्दा मानिसले लामो समय उत्पादनको स्वरूप निर्वाहमुखी बनाएर जीवन बिताउन विवश भएको थियो । यसलाई बदल्न चाहँदा पनि सम्भव थिएन किनकि यसलाई फेर्ने साधनको विकास भएको थिएन ।

विस्तारै विज्ञान–प्रविधि एउटै गतिमा विकास भयो । त्यसले मानिसको उत्पादनको स्वरूपमा परिवर्तन ल्यायो । पहिलो औद्योगिक क्रान्तिदेखि चौथो क्रान्तिसम्म आइपुग्दा उत्पादनका सबै मान्यता भत्किएका छन् । आवश्यकता र इच्छाअनुसारको उत्पादन र उपभोग सम्भव हुने गरी आजको उत्पादनको स्वरूप निर्माण भएको छ । जे चाहियो, जति चाहियो, जुन बेला चाहियो, जसलाई चाहियो र जता चाहियो– सबै सम्भव हुने गरी उत्पादन सम्भव भएको छ । अभावको सबै ढोका बन्द गर्न सम्भव भएको यो युगमा फेरि समाजको स्वरूपमा परिवर्तन सम्भव नहुने प्रश्नै उठ्दैन । अब नयाँ समाज सम्भव भएको छ ।

उत्पादनको साधनमा परिवर्तन

सुरुमा प्रकृति नै उत्पादनको साधन थियो । विस्तारै मानवश्रम उत्पादनको साधनको रूपमा विकास भयो र आज यान्त्रिक साधनलाई उत्पादनको साधन मान्न सक्ने स्थितिमा समाज आइपुगेको छ । सरल यन्त्रदेखि कम्प्युटर जस्ता जटिल साधनको विकासले उत्पादनको मान्यतामा नै परिवर्तन ल्याएको छ ।

सीमित उत्पादन गर्ने साधनको युगबाट र आजको प्रशस्त उत्पादन सम्भव भएको युगमा आइपुग्दा समाजको मान्यता नै बदलिएको छ । साधनको सर्वव्यापकताले मानिसको आवश्यकता खुम्च्याउनुपर्ने छैन । यसले अबको समाजको स्वरूपमा ठूलो फेरबदल ल्याउनेछ । यसका आधारमा समाजको निर्माण गरिनुपर्दछ ।

अबको आर्थिक नीति–सिद्धान्त

राज्यले आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा आजको बदलिएको समाजको स्वरूपलाई नहेरिदिंदा फेरि पनि समाजको अपेक्षाकृत रूपान्तरण सम्भव छैन ।

संविधानको प्रस्तावनामा नेपाल समाजवाद उन्मुख हुनेछ भनिएको छ । त्यो त्यतिकै आएको विषय होइन । समाजमा त्यस्ता अवयवहरू देखा पर्न थालेपछि नै यो विषयले संविधानमा ठाउँ पाएको हो ।

यसरी आजको आधार संरचनामा बसेर राज्यले नयाँ आर्थिक नीति तथा कार्यक्रम बनाउन सक्दा अबको समाज समाजवादमा जानसक्छ । विज्ञान प्रविधिलाई प्रमुख उत्पादन शक्ति मानेर त्यसको जगमा बनेको उत्पादनको स्वरूप र साधनले राज्यको लक्ष्यमा ठूलो मलजल गर्नेछ । अब राज्यको आमूल परिवर्तन सम्भव भएको आर्थिक नीति बनाउन सक्ने समय आएको छ । यसबाट राज्य यहाँ चुक्नुहुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?