
News Summary
Generated by OK AI. Editorially reviewed.- कृत्रिम बौद्धिकताले उच्च शिक्षामा अध्ययन, अनुसन्धान र शिक्षण विधिमा व्यापक परिवर्तन ल्याइरहेको छ।
- नेपालका विश्वविद्यालयहरूले कृत्रिम बौद्धिकतालाई पाठ्यक्रममा समावेश गर्न र रूपान्तरणमा तत्परता देखाउनुपर्ने अवस्था छ।
- सन् २०३० सम्म कृत्रिम बौद्धिकताले ८० करोड रोजगारी विस्थापित गर्ने सम्भावना छ, जसले नेपालको सस्तो श्रममा आधारित जनशक्तिलाई चुनौती दिनेछ।
सूचना प्रविधिको क्षेत्रमा भइरहेको विकासको प्रभाव र निर्भरतालाई बाहिर राखियो भने यतिबेला मानव जीवन निकै संकुचित लाग्दछ। आम प्रयोगको लागि सतहमा आइपुगेपछि, कृत्रिम बौद्धिकता र यससँग सम्बन्धित माध्यमहरू (जस्तै च्याट जीपीटी, जेमिनाई, डिप सिक आदि) ले अहिले प्रविधिको प्रयोगसँग सम्बन्धित बहसलाई अर्को उचाइमा पुर्याएका छन्। यस्ता माध्यमहरूको प्रयोगमा भइरहेको विश्वव्यापी फैलावट र यसमा बढिरहेको मानिसहरूको निर्भरताले, कृत्रिम बौद्धिकता आम मानिसको आधारभूत आवश्यकताको रूपमा विस्तार हुँदै गइरहेको देखिन्छ।
शैक्षिक दृष्टिकोणबाट हेर्दा पनि यसले अध्ययन अध्यापन, सिकाइ, अनुसन्धानात्मक तौरतरिका, निर्णय प्रक्रिया अनि ज्ञान उत्पादनको परम्परागत सोच–संरचनामा व्यापक फेरबदल आइसकेको छ। उच्च शिक्षा क्षेत्र एउटा त्यस्तो क्षेत्र हो, जुन कृत्रिम बौद्धिकताको उदयले उत्साही र हायलकायल एकैपटक भइरहेको छ, किनकि यसले विश्वविद्यालयको संरचना, संगठन र परम्परागत मान्यताहरूलाई तूफानी शैलीमा परिवर्तनको लागि बाध्य बनाइरहेको छ।
यही बाध्यताको बीचबाट केही आधारभूत प्रश्नहरूको पनि उठान भएको छ। जस्तै– कृत्रिम बौद्धिकतामा आधारित च्याटबोटहरूले कुनै पनि प्रश्नको उत्तर केही सेकेण्ड भित्रै उपलब्ध गराउन, स्मरण र विश्लेषण समेत गर्न सक्षम छन् भने पाठ्यपुस्तकमा आधारित पठनपाठनको औचित्य के हुने?
कृत्रिम बौद्धिकताको विकासले विश्वविद्यालयका पाठ्यक्रमलाई अप्रासंगिक एवं औचित्यहीन बनाउने सम्भावना अत्यन्त सन्निकट रहेको सन्दर्भमा यसलाई कसरी गतिशील बनाउने? शिक्षकको भूमिका कसरी औचित्यपूर्ण बनाउने? शिक्षण शैलीमा कसरी नवीनता ल्याउने? वर्तमान परीक्षा प्रणालीको औचित्य कसरी स्थापित गर्ने? आदि।
यस आधारमा हेर्दा, उच्च शिक्षामा कृत्रिम बौद्धिकता सहायक प्रविधिको रूपमा सीमित नभई, बरु क्रमश: निर्णायक बन्दै गएको जस्तो देखिन्छ। विकसित देशका विश्वविद्यालयहरू कृत्रिम बौद्धिकता सिर्जित सम्भावना र चुनौतीको पहिचान गर्ने, त्यहीभित्र अनुकूलताको खोजी र सोही अनुरूप आफूलाई रूपान्तरण गर्दै लगेको देखिन्छ। तर यस्तो रूपान्तरणप्रति नेपाल लगायत अल्पविकसित देशका विश्वविद्यालयहरूको तयारी नगन्य वा अत्यन्त सुस्त रहेको देखिन्छ।
सम्भावित प्रभाव
उच्च शिक्षामा कृत्रिम बौद्धिकताको प्रभावको आयतन माथि उठान गरिएका आधारभूत प्रश्नहरूबाट पनि आकलन गर्न सकिन्छ। यसमा आधारित सिकाइ माध्यमहरूले व्यक्तिको आवश्यकता, रुचि, क्षमता र प्राथमिकता अनुकूल सामग्रीहरू तयार पार्न र समायोजन गर्न सक्ने हुँदा सिकाइलाई व्यक्तिकेन्द्रित वा निजीकृत गर्न सक्दछ, जुन हाल विद्यमान ‘सबैको लागि समान’ सामग्री र तरिकामा आधारित पठनपाठन व्यवस्थाको लागि वास्तवमै चुनौतीपूर्ण हो।
जस्तै– कुनै एउटा कक्षामा एक जना विद्यार्थी सिकाइमा कमजोर हुन सक्छ र उसले नबुझेसम्म एउटै प्रश्न आफ्नो शिक्षकलाई बारम्बार सोध्न सक्दछ। तर आम रूपमा मानवीय मनोविज्ञानका लागि एउटै प्रश्नको सामना र आफूले विद्यार्थीलाई बुझाउन नसकेको हीनताको बीचबाट शिक्षकमा आवेग पैदा हुन सक्दछ र विद्यार्थीको प्रश्नलाई अवैध, असान्दर्भिक वा अनिच्छित करार गरिदिन सक्नेछ। तर कृत्रिम बौद्धिकतामा आधारित च्याटबटहरूले कहिल्यै त्यसो गर्ने छैनन्। अनि विद्यार्थीले शिक्षकको सट्टा आफूले चाहे जसरी, विना हिचकिचाहट, खुल्ला रूपमा त्यस्ता च्याटबटहरूलाई प्रश्न किन नगर्ने?
त्यसैगरी, विद्यार्थीको सिकाइ, सिकाइ उपलब्धिको मूल्यांकन र सो आधारमा प्रदान गरिने पृष्ठपोषण अब कृत्रिम बौद्धिकतामा आधारित भएर थप प्रभावकारी रूपमा गर्न सकिने अवस्था बनिसकेको छ। यसको अर्थ, शिक्षकको परम्परागत परिभाषामा पनि परिवर्तन हुँदै जाने देखिन्छ। अर्थात् शिक्षकले शिक्षण कम, मार्गनिर्देशकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने सम्भावना बढी छ।
अर्कोतर्फ, यसले शिक्षकलाई अनुसन्धान र ज्ञान उत्पादनमा आधारित कार्य गर्नका लागि अवसर पनि प्रदान गर्न सक्दछ। जस्तै, कुनै एक विद्यार्थीले लेखेको निबन्ध, प्रयोगात्मक कार्य लगायतमा हुने भाषागत वा संरचनागत त्रुटि मूल्यांकनको जिम्मा त्यस्ता माध्यमहरूलाई किन नदिने? जसले शिक्षकको समय बचत गर्न सक्दछ।
अर्कोतर्फ, जति रोक्न खोजिए पनि कृत्रिम बौद्धिकताका माध्यमहरू अनुसन्धान कार्यका सारथि बनिसकेका छन् र यसको प्रवाह रोकिने सम्भावना अत्यन्त न्यून मात्र छ। अन्वेषण आफैंमा भन्दा पनि अन्वेषणबाट प्राप्त निष्कर्षहरूको प्रकाशन एवं प्रसारण गर्ने कार्यमा यस्ता माध्यमहरू सहयोगी हुने देखिन्छ, जसले परम्परागत अनुसन्धानात्मक मान्यताहरूलाई चुनौती दिनसक्ने देखिन्छ।
कृत्रिम बौद्धिकताको प्रयोग प्राज्ञिक प्रशासनिक कार्य चुस्त, दुरुस्त एवं प्रभावकारी बनाउन पनि उत्तिकै सघाउ हुने देखिन्छ। यसमा आधारित माध्यमहरूले विद्यार्थी भर्ना, परीक्षाफल, शैक्षिक एवं गैरशैक्षिक कार्यमा विद्यार्थीको सहभागिता, स्नातकहरूको रोजगारी प्रवेश एवं प्रदर्शन, संस्था सम्बद्ध क्रियाकलापहरूको अभिलेखीकरण साथै विद्यार्थीलाई प्राज्ञिक एवं मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यमा पनि उपयोगी हुने देखिन्छ। उल्लिखित उदाहरणहरूले कृत्रिम बौद्धिकताको प्रभावमा आधारित उच्च शिक्षाको रूपान्तरण अनिवार्य बनाउँदै लगेको देखिन्छ।
नेपाली परिदृश्य
नेपालका विश्वविद्यालयहरू, त्यसमा पनि उच्च शिक्षाको करीब ७७ प्रतिशत भार बोकेको त्रिभुवन विश्वविद्यालयले पठनपाठन गर्ने पाठ्यक्रमहरू समयसापेक्ष एवं गतिशील नभएको भन्ने आरोप विगतदेखि नै लाग्दै आएको भए पनि सो कार्यमा अपेक्षाकृत प्रगति भएको देखिंदैन।
पाठ्यक्रमलाई बजारको माग मात्र होइन, देशको सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासको महत्वाकांक्षासँग एकाकार गर्दै सान्दर्भिक र समयसापेक्ष बनाउने कार्यमा ढिलाइ भइराखे उच्च शिक्षाले आफ्नो औचित्य पुष्टि गर्न र साख जोगाइराख्ने कुरा चुनौतीपूर्ण बन्न सक्दछ।
गतिशीलताकै अभावको कारण हाल कतिपय कार्यक्रमहरूको सञ्चालन बन्द हुने चरणमा पुगेको देखिन्छ। जस्तै, एक समय विद्यार्थी भर्ना थेग्न गाह्रो हुने भूगोल, समाजशास्त्र, जनसंख्या अध्ययन जस्ता विषयहरूमा अहिले खासै उत्साह देखिन्न।
यसो हुनुमा अन्य कारणहरू पनि जरुर छन् तर अन्तरविधागत विषयहरू बीच संयोजनको अभाव, पठनपाठनमा प्रविधिको संयोजन एवं उपलब्धतामा कमी, शिक्षण पद्धतिमा सीमित तथा नित्य अभ्यास, माग अनुसारका शैक्षिक कार्यक्रम एवं विषयहरूको सामयिक समावेशीकरण प्रतिको उदासीनता लगायत कारण पनि विशिष्ट हुन्। आजपर्यन्त पनि यस्तो कार्य तत्परताका साथ भएको खासै पाइँदैन।
त्यसो त विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विश्वविद्यालयहरूमा ‘श्रम बजारमा आधारित शैक्षिक कार्यक्रम’हरू निर्माण एवं परिमार्जनको कार्यहरू भइरहेको छ, यद्यपि; त्यस्तो कार्य पनि प्रशासनिक एवं प्रक्रियागत ढिलाइबाटै गुज्रिरहेको देखिन्छ।
श्रम बजार र शैक्षिक संस्थाहरू बीच अत्यन्त न्यून अन्तरक्रिया, अनुभवमा आधारित सिकाइ पद्धतिलाई प्रतिबद्धतापूर्वक लागू गर्न उदासीनता, परिवर्तनप्रति तत्परताको कमी लगायत विषय पनि नेपालको उच्च शिक्षा रूपान्तरणका समस्या हुन्। तसर्थ, २१औं शताब्दीका विद्यार्थीमा अपेक्षा गरिने दक्षताहरू जस्तै– संज्ञानात्मक ज्ञान/सीप, प्राविधिक साक्षरता, सहयोग सीप, व्यक्तिगत र सामाजिक क्षमता, विश्वव्यापी संलग्नता, उद्यमशीलता र जीवनोपयोगी शिक्षा आदि प्रदान गर्ने कुरामा नेपालका विश्वविद्यालयहरूले थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ।
अपेक्षित तत्परता
विश्वविद्यालयमा जुनसुकै शैक्षिक कार्यक्रमको पढाइ भए पनि अब त्यस्ता कार्यक्रमहरूमा कृत्रिम बौद्धिकता, हरित विकास, उद्यमशीलता, नवप्रवर्तन जस्ता समसामयिक विषय समावेश गरिएन भने त्यस्ता कार्यक्रमका स्नातकहरूलाई अबको श्रमबजारमा प्रवेश पाउनु निकै चुनौतीपूर्ण हुने देखिन्छ।
यही आवश्यकताको मध्यनजर गर्दै विकसित देशका विश्वविद्यालयहरूले कृत्रिम बौद्धिकतालाई केवल पठनपाठनको विषयमा मात्र सीमित नगरेर शिक्षण विधिमा सुधारका साथै प्रशासनिक कार्य सहजता एवं प्रभावकारिताको लागि उपयोगमा ल्याइसकेको पाइन्छ।
उदाहरणको लागि चीनले प्रयोगमा ल्याएको स्क्विरल एआईले विद्यार्थीलाई आफ्नो रुचि अनुकूलको सिकाइ गर्न तथा शैक्षिक संस्थाहरूलाई विद्यार्थीको सिकाइ शैली, उपलब्धि र कमजोरीहरूको विश्लेषण तथा शिक्षण अभ्यास सम्बन्धी सामग्रीहरू विद्यार्थी अनुकूल हुने गरी तयार पार्न सहयोग पुर्याइरहेको छ।
उता, भारतको राष्ट्रिय शिक्षा नीति–२०२० ले कृत्रिम बौद्धिकता, कोडिङ, तथ्यांकीय साक्षरता लगायत विषयलाई स्कूलदेखि विश्वविद्यालय तहसम्म अनिवार्य विषय बनाएको छ। त्यसैगरी युरोपेली संघले कृत्रिम बौद्धिकतामा आधारित पाठ्य सामग्रीहरूको निर्माण एवं परिमार्जन साथै शिक्षण प्रशिक्षणमा सुधारका लागि लगानी बढाएको देखिन्छ। अन्य कैयन् देशहरूले कृत्रिम बौद्धिकता सम्बन्धी नीति निर्देशिकाको तर्जुमा गर्ने तथा तदनुरूप उच्च शिक्षाको संरचनामा रूपान्तरण गर्ने कार्यलाई अगाडि बढाइरहेका छन्।
यता, नेपालको सन्दर्भमा पनि केही नीतिगत प्रयासहरू भएको पाइन्छ। जस्तै: डिजिटल नेपाल फ्रेमवर्क–२०१९ ले कृत्रिम बौद्धिकताको क्षमतालाई शिक्षा मार्फत प्रयोग र उपयोग गर्ने कुराको सामान्य परिकल्पना गरेको देखिन्छ भने सूचनाप्रविधि नीति–२०७२ ले प्रविधिमा आधारित उच्च शिक्षा प्रवर्धन गर्ने, अनुसन्धानलाई प्रविधिसँग जोड्नेलगायत विषयहरू प्राथमिकतामै राखेको देखिन्छ।
यद्यपि अन्य आम विषयहरू जस्तै यस सम्बन्धी नीतिगत कार्यान्वयनमा पनि आवश्यक मात्राको तदारुकता भएको देखिंदैन। देखिन्थ्यो भने नेपालको उच्च शिक्षा क्षेत्र, विशेषत: विश्वविद्यालयमा यतिबेला आफ्नो पाठ्यक्रमहरूमा कृत्रिम बौद्धिकता समेत समायोजन हुने गरी सुधार एवं परिमार्जन गर्ने हतारो देखिनुपर्थ्यो।
जति ढिलो गर्यो त्यति पछि परिने हुनाले कृत्रिम बौद्धिकताले सिर्जना गरेका अवसरहरूको उपयोगमा नेपालको उच्च शिक्षा यथाशक्य छिटो तत्पर बन्नुपर्दछ। यसको उपयोगले विषयगत ज्ञान बढाउने कुरामा मात्र होइन, शिक्षण प्रक्रियालाई लचिलो, सहभागितामूलक र समयानुकूल बनाउन पनि मद्दत पुग्दछ भन्ने वास्तविकतालाई मनन् गर्नु जरूरी छ।
अब प्रश्न कृत्रिम बौद्धिकताले उच्च शिक्षालाई प्रभाव पार्छ कि पार्दैन भन्नेमा सीमित छैन, बरु त्योभन्दा अगाडि बढेर यसको प्रयोगलाई कसरी जिम्मेवार एवं उत्तरदायी बनाउने भन्नेमा पुगिसकेको छ।
आशावादिता
कृत्रिम बौद्धिकता सिर्जित परिवर्तनको अपरिहार्यतामा चाहेर वा नचाहेर पनि नेपालको उच्च शिक्षा अछुतो रहन सक्दैन। यसै पनि नेपालको वर्तमान उच्च शिक्षा बहुआयामिक समस्याहरूबाट गुज्रिरहेको छ। विश्वविद्यालयहरू प्रणालीगत रूपमा सुस्त छन्, पाठ्यक्रमहरू सामान्यत: सैद्धान्तिक एवं कक्षाकोठाभित्र सीमित छन्।
यसर्थ, पाठ्यक्रम सुधारप्रति तत्परता, तयारी र तीव्रता अब पनि अपेक्षाकृत हुन नसकेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपालको उच्च शिक्षाले उत्पादन गर्ने जनशक्तिको प्रतिस्पर्धी क्षमता कम हुने मात्रै होइन, देशको सामाजिक आर्थिक विकासमा अपेक्षित योगदान पनि नगर्न सक्छ।
पाठ्यक्रममा के कस्ता विषयहरू समावेश गर्ने भन्ने कुरा वास्तवमा विश्व परिदृश्यमा आइरहेको परिवर्तन, रोजगार क्षेत्रको माग एवं सामाजिक, आर्थिक एवं सांस्कृतिक आवश्यकताले निर्धारण गर्ने विषय हो। यद्यपि, कृत्रिम बौद्धिकता सम्बन्धी विषय भने यी सबै सन्दर्भ भन्दा माथि साझा विषयको रूपमा स्थापित भइसकेको छ, किनकि यो कुनै एक देश वा समाजको मात्र नभएर विश्वव्यापी अभियान बनिसकेको छ।
अर्कोतर्फ, कृत्रिम बौद्धिकतामा आधारित समाज निर्माणको यो केवल सुरुवाती चरण मात्र हो, जुन कति वेगपूर्ण रूपमा उचाइमा पुग्छ भन्ने कुरा अनुमान गर्न सकिन्छ, यकिन गर्न सकिन्न। अध्ययनहरूका अनुसार कृत्रिम बौद्धिकताको उपयोगको कारण सन् २०३० को अन्त्यसम्ममा करिब ८० करोड नियमित प्रकृतिका रोजगारीहरू विस्थापित हुने सम्भावना छ। नेपाल जस्तो सस्तो श्रममा आधारित जनशक्तिका लागि त यो झनै चुनौतीपूर्ण कुरा हो।
तसर्थ, कृत्रिम बौद्धिकताको उदयले पार्ने बहुआयामिक प्रभावहरूको पहिचान एवं मूल्यांकन तथा सो अनुरूपको अनुकूलनका लागि तीव्रतापूर्ण कार्य गर्नु अति आवश्यक भइसकेको छ। यसका लागि नेपालका विश्वविद्यालयहरूले आफ्नो क्षमताको अधिकतम उपयोग गर्नुपर्दछ। त्यसो हुनसकेमा मात्र नेपालको उच्च शिक्षाले उत्पादन गर्ने भावी स्नातकहरूको प्रतिस्पर्धी क्षमतामा वृद्धि हुनेछ, जसले समग्र राज्य र समाज विकासमा हित गर्नेछ ।
प्रतिक्रिया 4