+
+

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते २०:४३

१५ जेठ, काठमाडौं । सरकारले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८२ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि १ खर्ब ६१ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको बजेटमा चालु खर्चको हिस्सा बढाइएको छ । आगामी वर्षका लागि ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको छ । यो कुल बजेटको ४२ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात् ४१.६ प्रतिशत विनियोजन गरेको थियो ।

बजेटमा पूँजीगत खर्चको हिस्सा भने खुम्च्याइएको छ । आगामी वर्षका लागि सरकारले पूँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरेको छ । जुन कुल बजेटको २१.२ प्रतिशत हो ।

जबकी चालु वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् २३.१६ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरिरहेको छ ।

वित्तीय व्यवस्थाको बजेट हिस्सा पनि बढेको छ । आगामी आर्थिक वर्षका लागि वित्तीय व्यवस्थातर्फ सरकारले २ खर्ब ३० अर्ब विनियोजन गरेको छ । यो कुल बजेटको १२.८ प्रतिशत हो ।

जबकी चालु वर्षमा सरकारले १ खर्ब ८९ अर्ब ४४ करोडको वित्तीय बजेट कार्यान्वयन गरिरहेको छ । यो वर्ष सरकारले ११.६० प्रतिशत बजेट वित्तीय बजेट छुट्याएको थियो ।

प्रदेश र स्थानीय तहले कति पाउँछन् ?

आगामी आर्थिक वर्षका सरकारले वित्त आयोगको सिफारिसमा ६१ अर्ब ४३ करोड बजेट स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्नेछ । प्रदेशले यस्तो १ खर्ब २३ करोड बजेट पाउनेछन् ।

सशर्त अनुदानतर्फ प्रदेशले ५७ अर्ब १७ करोड र स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउनेछन् ।

राजस्व बाँडफँटमा प्रदेश र स्थानीय तहलाई १ खर्ब ६३ अर्ब ३ करोड बजेट दिइनेछ ।

समपुरक अनुदानका लागि प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाा विनियोजन भएको छ ।

बजेटको आय स्रोत

सरकारले आगामी वर्षका लागि स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । यो कुल बजेटको ६९.१३ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ५० अर्ब ८२ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो ।

आगामी वर्ष सरकारले सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भनेको छ । जुन बजेटको १४.२७ प्रतिशत हो । चालु आर्थिक वर्षमा २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य थियो ।

सरकारले आगामी वर्षका लागि ऋण र अनुदानको स्रोत भने खुम्च्याएको छ ।

सरकारले बजेट कार्यान्वयनका लागि ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । जुन कुल बजेटको ३ प्रतिशत अंश हो ।

चालु आवमा भने सरकारले ५९ अर्ब ९२ करोड वैदेशिक अनुदान लिने लक्ष्य लिएर काम गरिरहेको छ ।

नपुग स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए । यो कुल बजेटको १३.५० प्रतिशत हो ।

चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण लिने लक्ष्य लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?