+
+
संस्मरण :

हिमचुली लज परिसरमा दोस्ती फिल्म

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ जेठ १५ गते २०:०९

माधवमणि राजभण्डारी, एउटा फरक पहिचानको व्यक्तित्व । मिर्गौला रोगबाट पीडित उहाँको निधन २०७९ जेठ १२ गते बिहिबार भएको छ । त्यसैले राजनीतिक, साहित्यिक, चलचित्र तथा सामाजिक सेवा क्षेत्र यतिबेला स्तब्ध छ ।

२०४३ सालको त्यो समय । मेरो उमेर १४ वर्षको थियो । चरिकोटमा त्यतिबेला चम्किएको हिमचुली लजको परिसरमा हरेक साँझ म भिडियो हेर्न पुग्थें । मलाई याद छ हिन्दी चलचित्र दोस्ती । एक साँझ दोस्ती फिल्म हेर्दै थिएँ सँगै उभिएका एक जनासँग दोस्ती जम्यो । उनी दार्जीलिङबाट आएका रहेछन् ।

मलाई अचम्म लाग्थ्यो । यो भिडियो कसले देखाएका होलान्, किन पैसा नलिएको होला, फेरि गाउँ–गाउँमा पनि यस्तै गरी भिडियो देखाइन्छ रे किन होला ! पछि थाहा भयो यो सबै काम त माधवमणि राजभण्डारीले पो गरेका रहेछन् ।

२०४३ सालमा माधवमणि राजभण्डारी राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए घर चुनाव चिह्न लिएर । आफ्नो चुनाव प्रचार अभियानमा उनले त्यसरी हिमचुली लजको परिसर लगायत गाउँ–गाउँमा लगेर भिडियो देखाएका रहेछन् । उमेरले सानै भए पनि हामी केही युवामा राजनीतिक चेत अङ्कुराइसकेको थियो । हामी चाहिं खासमा माधवमणि राजभण्डारीको विरुद्धमा थियौं । हरेक साँझ माधवमणि राजभण्डारीले राखेको भिडियो हेर्न हिमचुली लजको परिसरमा पुग्ने तर प्रचार चाहिं माछा चुनाव चिह्नको गर्ने ।

तत्कालीन मालेका नेता जीतवीर लामा जनपक्षीय उम्मेदवारको रूपमा माछा चुनाव चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । र हामी केही युवा उनैको पक्षमा वकालत गरिरहेका थियौं । तर दोलखालीको लागि माधवमणि राजभण्डारीले त्यतिबेला निकै नौलो र सहयोगी अभियान चलाएका थिए । एक जना मित्रले मलाई सुनाए, २०४३ सालको निर्वाचनमा माधवमणि राजभण्डारीले काठमाडौं ठमेलमा रहेको आफ्नो एमएम होटलबाट पुलाउ समेत ल्याएर दोलखालीलाई खुवाएका थिए रे !

२०४५ सालको एउटा प्रसंग मलाई याद छ । दोलखा सदरमुकाम चरिकोटमा पञ्चायती रजत महोत्सवको तयारी निकै भव्यताका साथ भइरहेको थियो । महिना मलाई याद भएन सायद जेठ महिना हुनुपर्छ । चरिकोटको पशुपति डाँडाबाट नेपालको समय मापन गौरीशङ्कर हिमाल बडो सुन्दर र आकर्षक ढङ्गले टल्किएको देख्न सकिन्थ्यो । गौरीशङ्कर हिमाललाई पृष्ठभूमिमा पारेर टुँडिखेलबाट निकै लामो र्‍याली पशुपति डाँडातिर आउँदै थियो । त्यो र्‍यालीमा नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त कलाकार शिव श्रेष्ठ, भुवन केसीलगायत सहभागी थिए । उनीहरू पञ्चायती व्यवस्थाको प्रचारको लागि निर्माण गरिएको २५ वसन्त चलचित्रको सन्दर्भमा चरिकोट आएका थिए । र त्यो चलचित्र निर्माण गरेका थिए, माधवमणि राजभण्डारीले ।

विजय मल्लको लेखन तथा नीर शाहको निर्देशन रहेको २५ वसन्त फिल्म विशालविक्रम शाह, प्रमिला शाह र रेणु श्रेष्ठको सहयोगमा एमएम फिल्मस् मार्फत माधवमणि राजभण्डारीले निर्माण गरेका हुन् । २५ वसन्त फिल्मको उद्देश्य जेसुकै होस् दोलखाका केही ठाउँमा समेत छायाङ्कन भएको यसले दोलखालाई चिनाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । यसको लागि माधवमणि राजभण्डारी सधैं स्मरणीय रहनेछन् । अनि २५ वसन्त फिल्ममा त्यतिबेलाका चर्चित कलाकारहरूलाई अटाएर माधवमणि राजभण्डारीले नेपालको फिल्मी क्षेत्रको विकासमा ठूलै गुन लगाएको मान्नुपर्छ ।

चिरञ्जीवी मास्के

माधवमणि राजभण्डारी दोलखामा २०२७-२८ सालतिरदेखि नै सक्रिय थिए- सामाजिक अभियान, राजनीतिक सहभागिता, साहित्यिक एवं सांस्कृतिक उपस्थितिमार्फत । तर मेरो चिनजान र उठबस भने २०५० यता मात्र हुनथालेको हो ।

सामाजिक अभियान र राजनीतिक सहभागितामा निकै सक्रिय माधवमणि राजभण्डारीले दोलखाको पत्रकारिता विकासको लागि पनि ठूलै गुन लगाएका छन् । २०५४ सालतिर हुनुपर्छ नेपाल पत्रकार महासंघ दोलखा शाखाको सभापति देवदास श्रेष्ठ थिए । दोलखामा सक्रिय पत्रकारहरूको उत्साह र सक्रियतामा थप टेवा पुग्नुपर्छ भन्ने सोचका साथ देवदास श्रेष्ठको अगुवाइमा म, राजेन्द्र, शम्भु, भोजराज, प्रवीण लगायतले माधवमणि राजभण्डारीसँग जिल्लामा एउटा पत्रकारिता पुरस्कार स्थापना गरिदिन आग्रह गर्‍यौं। उनले हाम्रो आग्रहलाई सहर्ष स्वीकार गरेर आफ्ना स्वर्गीय पिता इन्द्रमणि राजभण्डारीको नाममा ‘इन्द्रमणि राजभण्डारी पत्रकारिता पुरस्कार’ स्थापना गरिदिए ।

त्यो पुरस्कार पहिलो वर्ष पत्रकार भोजराज न्यौपाने र प्रवीण प्रधानले संयुक्त रूपमा प्राप्त गरेका थिए भने दोस्रो वर्ष मैले प्राप्त गरेको थिएँ । तेस्रो वर्ष विवाद भएपछि केही समय पुरस्कार वितरण कार्य बन्द भयो । २०५८ सालमा म पहिलो कार्यकालको लागि पत्रकार महासंघ दोलखा शाखाको सभापतिमा निर्वाचित भएपछि मैले माधवमणि राजभण्डारीसँग पुरस्कार निरन्तरताको आग्रह गरें र पुनः त्यो पुरस्कार सुरु गरियो ।

दोलखाली पत्रकारहरूको लागि इन्द्रमणि राजभण्डारी पत्रकारिता पुरस्कार निकै ओझिलो ठानिन्छ । यो पुरस्कारको अपेक्षामा धेरै पत्रकार साथीहरूले आफ्नो लेखन सक्रियतालाई खँदिलो र खारिलो बनाएका छन् ।

माधवमणि राजभण्डारी मिर्गौला रोगबाट पीडित बनेर घरमै स्वास्थ्य लाभ गरिरहेका थिए । २०७६ सालतिर हुनुपर्छ नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष जीवन लामाले माधवमणि राजभण्डारीलाई पत्रकार महासंघ दोलखाको तर्फबाट उनको घरमै गएर सम्मान गर्नु प¥यो भनेपछि हामी केही साथीहरू उनको घरमा गएका थियौं ।

रोगले थलिएको भए पनि उनको उत्साह, जोश र अपेक्षा २०२७÷२८ सालतिरको जस्तै थियो । पत्रकार महासंघले सम्झिएकोमा उनी खुसी र उत्साहित भए । हामीलाई केही उपदेश र आग्रहसहित धन्यवाद दिए । हामीले पनि दोलखाको पत्रकारिताको विकास र विस्तारमा उनले पु¥याएको योगदानको लागि सम्मान प्रकट ग¥यौं ।

२०६२-६३ को जनआन्दोलनमा माधवमणि राजभण्डारी नेपाली कांग्रेस दोलखाको सभापति थिए । २५ वसन्त फिल्म निर्माण गरेकोले भलै उनलाई पञ्चायती व्यवस्थाको हिमायती बनेको आरोप लागेको होस् तर उनले जनआन्दोलनको बेला सशक्त ढङ्गले गणतन्त्रको नारालाई उरालेका थिए । उनी जस्तै राजनीतिज्ञको जोडबल, १० वर्षीय युद्ध र गिरिजाप्रसाद कोइरालाको सकारात्मक सक्रियताकै कारण मुलुकमा चाँडै गणतन्त्र आएको हो भन्न गाह्रो मान्नुपर्छ जस्तो लाग्दैन ।

माधवमणि राजभण्डारीले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा मुलुक र दोलखालाई धेरै गुन लगाएका छन् तर उनले केही पनि प्राप्ति गर्न सकेनन् । एकपटक मुलुकको सांसद बन्ने ठूलो सपना थियो, उनको । कमसेकम नेपाली कांग्रेसले उनलाई राष्ट्रिय सभाकै भए पनि सांसद बनाउनुपर्ने थियो । यो कुरामा नेपाली कांग्रेस चुकेकै हो ।

राजनीतिक अभियानमा उनको प्राप्ति भनेको पञ्चायतीकालमा जिल्ला पञ्चायतको उपसभापति र प्रजातन्त्र प्राप्तिपछि नेपाली कांग्रेस दोलखाको सभापति भन्दा बढी केही भएन ।

निकै पुरानो हिन्दी फिल्म हो दोस्ती । म अहिले पनि बेलाबेलामा दोस्ती फिल्म हेर्ने गर्छु । अनि सम्झनामा आउँछन् दुई पात्र । उनै दार्जीलिङको साथी र माधवमणि राजभण्डारी ।

२०४३ सालकै प्रसंग । दोस्ती फिल्म हेरिरहँदा दार्जीलिङको ती दोस्तले आफूलाई फिल्मले कुनै असर नगर्ने बताएका थिए तर फिल्म सकेर हुलबाट बाहिरिंदै गर्दा हामी दुवैको आँखा निकै रसाएको थियो दोस्तीको कहानीको प्रभावले । अब फिल्म हेरेर मात्र हैन दोस्ती फिल्मको प्रसंगले मात्र पनि आँखा रसाउने छ किनभने अब माधवमणि राजभण्डारीको यादले हामी दोलखालीहरूको मनमा गहिरो दोस्ती गर्नेछ । किनभने माधवमणि राजभण्डारीले दोलखालाई धेरै कुरा दिएका छन् । राजनीतिलाई धेरै कुरा दिएका छन् र हाम्रो समाजलाई कला, साहित्य, संस्कृतिको जगेर्ना गर्न पनि ।

हार्दिक श्रद्धाञ्जली माधव दाइ, तपाईंको योगदान कला, साहित्य, संस्कृति र राजनीतिले सधैं सधैं स्मरण गरिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?