+
+

महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

वडाध्यक्षहरुले पहिले निर्णयको प्रस्ताव गर्न सम्झाए । मेयर साहले ठीक छ, ठीक छ भनिरहे । वडाध्यक्ष विमलकुमार होडाले व्यंग्य गरे, ‘संसदीय बैठक प्रणाली सिक्नुस् । मेयर साब इन्जिनियर हुनुभयो, ठीक छ । बैठकको प्रक्रिया अध्ययन गर्नुस् ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते २१:१५

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार कार्यभार सम्हालेका छन् ।

विहान राष्ट्रियसभा गृहमा सपथ लिएपछि सुन्धारास्थित महानगर कार्यालयमा पुगेर पदभार सम्हालेका उनले नगर कार्यपालिकाको पहिलो बैठक पनि सोमबार नै राखे । तर पहिलो बैठकमा मेयर साहले वडाध्यक्षहरुबाट ‘बैठक सञ्चालनको प्रक्रिया सिकेर आउनुस्’ भनेको सुन्नु परेको छ ।

सपथ समारोहमा मेयर पत्नी !

मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम विहान ११ बजे राष्ट्रियसभा गृहमा राखेको थियो । दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर मेयर साह पत्नी सविना काफ्लेको साथमा कार्यक्रम स्थलमा पुगे ।

साहले पत्नी सविनालाई पनि मञ्चमा लगे । कार्यक्रम सञ्चालकले पनि उनलाई मञ्चमै आसन ग्रहण गराए । जबकी सपथमा ‘फस्ट लेडी’ लाई सपथ गराउने प्रचलन छैन ।

मेयर साहलाई काठमाडौं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले नेपालीमा सपथ गराए । साहले सुरुमा नेपाली भाषामा सपथ लिए । लगत्तै नेपाल (नेवारी) भाषामा एकतर्फी सपथ पत्र पढे । उपमेयर सुनीता डंगोलले नेपाल भाषामै सपथ लिइन् ।

रेष्टुरेन्टका शौचालय नै सार्वजनिक शौचालय

सोमबार नै नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राखे । सुरुमा परिचय, त्यसपछि धन्यवाद प्रस्ताव थियो । त्यसपछि उनले फोहोर मैला व्यवस्थापनको प्रस्ताव राखे । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उनले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको तथा हरेक घरमा क्यान्सर रोग, छालाको रोग पीडित रहेको पाएको बताए ।

फोहोरमैलाको व्यवस्थापन नभएसम्म खादा माला नलगाउने र उत्साह नमनाउने आफ्नो बाचा रहेको भन्दै उनले भने, ‘हामी हरेकको टाउकोमा हत्याको जिम्मेवारी परेको छ भनेर बुझ्नुपर्छ ।’

नगर कार्यपालिकाको पहिलो बैठक

सोलिड वेष्ट (ठोस फोहोर) बारे आफूलाई पनि ज्ञान रहेको भन्दै उनले आधुनिक रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । ७५ प्रतिशत फोहोरलाई मलमा रुपान्तरण गर्न सकिने भन्दै उनले भने, ‘यसका लागि उपकरण ल्याउनुपर्छ, महानगरमा पनि प्रपोजल होला ।’ सिसडोेललाई बस्न योग्य बनाउनुपर्ने र बञ्चरेडाँडामा पनि फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै बालेनले आफू, उपमेयर समेत रहेको टोली बनाउने प्रस्ताव गरे ।

महानगरभित्र रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वननिक शौचालयका रुपमा प्रयोग गर्ने पनि उनले प्रस्ताव राखे । यसका लागि आफूले चेन रेष्टुरेन्टहरुसँग छलफल समेत गरेको भन्दै मेयर साहले महानगरले संकेत चिह्नहरु राखिदिनुपर्ने सुनाए । उनले अघि भने, ‘यो काठमाडौंबाट सुरु भएपछि देशभर हुनेछ भन्ने विश्वास छ ।’

आफ्नो चुनावी घोषणापत्रअनुसार गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने उनको अर्को प्रस्ताव छ । यस्तै सडकका खाल्डाखुल्डी पुर्ने, ढलको जाम हटाउने जस्ता काम गर्न तत्काल दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रस्ताव पनि राखे ।

हाम्रो पनि घोषणा पत्र छ

नगर कार्यपालिकाको सदस्य रहेका वडाध्यक्षहरुले मेयरले अघि सारेका प्रस्तावमा आफ्ना धारणा राखे । यसअघि पनि वडाको नेतृत्व गरिसकेका वडाध्यक्षहरुले फोहोर व्यवस्थापनको समस्यालाई हलुका ढंगले नलिन आग्रह गरे ।

कल सेन्टर सञ्चालन गर्ने प्रस्ताव राम्रो भए पनि एक्सन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न गरे ।

मेयर साहले जवाफ दिए, ‘यसको काम त तत्काल गर्ने हो ।’ तर वडाध्यक्षहरुले काठमाडौंका सडक महानगरले मात्र नभई मेलम्ची खानेपानीदेखि नेपाल विद्युत प्राधिकरणले पनि भत्काउने गरेकाले उनीहरुसँग समन्वय गरेर मात्र काम गर्न सकिने सुझाए ।

वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले मेयर बालेनलाई म होइन, हामी भन्न सुझाए । ‘म नभनौं, हामी भनौं । म मात्र भनेर लोकप्रिय हुने कुरा नगरौं, हामी सबै मिलेर महानगर बननऔं, यसमा साथ दिन तयार छौं’ उनलेभने ।

वडाध्यक्ष नवराज पराजुली

यस्तै वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले आफूहरु पनि चुनावी घोषणापत्र बनाएर जनतामाझ गएको र त्यसअनुसार नै मत पाएर आएको बताए । कार्यपालिकामा कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रतिनिधि रहेको भएपनि मेयरले एक्लो महसुस गर्नु नपर्ने उनले बताए ।

वडाध्यक्ष पराजुलीले भने, ‘कुनै एउटा पार्टीबाट हामी निर्वाचित भयौं । पार्टीले निर्देश गरेअनुसार घोषणापत्र बनाएर जनममक्ष लिएर गयौं । जनताले त्यसकै आधारमा मत दिनुभयो । जो जो निर्वाचित भएर आएका छौं, त्यो घोषणापत्रमा उल्लेखित कार्यक्रमहरुलाई कार्यान्वयन गर्न अब हामी दत्तचित्त छौं । त्यसलाई सपोर्ट गर्न प्रमुखले उदारता देखाएर सबै जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने खाँचो छ ।’

हरेक काम गर्दा सल्लाह र छलफल गर्न आग्रह गर्दै उनले भने, ‘एजेण्डाहरु आउनुभन्दा पहिला दलका साथीहरुसँग एकचोटी सरसल्लाह गरेर यो यो एजेण्डा छ, के छ सुझाव भनिदिनुस् ।’

त्यसो नभए आउँदा दिनमा अप्ठ्यारो पर्ने वडाध्यक्ष पराजुलीले बताए । उनले अघि भने, ‘प्रमुखजीलाई के भन्न चाहन्छु भने प्लिज, बि केयर फुल एबाउट ह्वाट यू से ! प्लिज, बि करेक्ट एवाउट ह्वाट यू डू ! त्यसो भए हामी एक ढिक्का भएर जान सकिन्छ । बाँकी प्रमुखको हातमा छ, तपाईंको रोजी, हाम्रो छाडी ।’

उपमेयरले झण्डै बोल्न पाइनन्

वडाध्यक्षहरुले बोलेपछि मेयर साहले जवाफ दिन थाले । हाम्रो भिजन एजेण्डा भन्दै उनले निरन्तर जवाफ दिए । ‘सबै कुरा भिजन एजेण्डामा भएकै कुरा हो । खुसी के लाग्यो भने हाम्रो र हजुरहरुको सोचाइ फरक रहेनछ’ उनले भने । आफ्ना लागि सबै पार्टी समान भएको भन्दै उनले निष्पक्ष र समान रुपमा काम गर्न सकिने बताए ।

उनले फोहोर व्यवस्थापनबारे कार्यदल बनाउने प्रस्ताव राखे, जसमा वडाध्यक्षहरुको दलीय आधारमा प्रतिनिधित्व हुने बताए । अरु निर्णयको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले गर्ने भन्दै मेयर साहले बैठक टुंग्याउने संकेत गरेपछि उपमेयर सुनीता डंगोलले कोट्याइन् ।

उनले मेयर साहको कानमा आफूले बोल्न चाहेको बताएपछि बालेनले बल्ल समय दिए । उपमेयर डंगोलले पनि बैठक अघि एजेण्डा अध्ययन गर्न पाए छलफल गर्न उपयुक्त हुने धारणा राखिन् र आगामी दिनमा त्यस्तो वातावरण बनाउने बताइन् ।

पहिलो बैठकमै प्रस्ताव फिर्ता

उपमेयरले बोलिसकेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले निर्णयहरु प्रस्ताव गरे । फोहोर व्यवस्थापनसम्बन्धी कार्यदलमा मेयर, उपमेयर, कांग्रेसबाट २ वडाध्यक्ष, एमालेबाट उपमेयर र एक वडाध्यक्ष र एकीकृत समाजवादीबाट एक वडाध्यक्ष रहने भन्दै नाम लिन प्रस्ताव गरे ।

७ दिनभित्र सार्वजनिक शौचालय, कल सेन्टर स्थापना र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय प्रस्ताव गरे । विविधिमा ३१ नम्बर वडाको दुईवटा बाटो, मुद्दा मामिलाको अख्तियारी दिने र नगर कार्यपालिका बोर्डले गरेको निर्णय भन्दै ४५ दिनभित्र महानगरको ढल सरसफाइ गर्ने सुनाए । उनले भने, ‘भोलिदेखि यो कार्य प्रारम्भ हुनेछ ।’

उनले बैठक समापन गर्न खोजेपछि वडाध्यक्षहरुले आपत्ति जनाए । सोधे, ‘यो कहिले बसेको बोर्ड बैठक हो ?’ पौडेलले आज भन्ने जवाफ दिएपछि वडाध्यक्षहरुले एजेण्डामा नभएको विषय कसरी आयो भनेर प्रश्न गरे ।

वडाध्यक्ष मुकुन्द रिजाल

वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल सफाइको एजेण्डाका रुपमा ल्याउनुपर्नेमा सिधै पास भयो भनिएकामा आपत्ति जनाए । उनले अघि भने, ‘कार्यपालिका सदस्यहरु चाहिँदैन । यस्तो कुरा अरुसँग चल्छ, हामीसँग चल्दैन ।’ उनले यो प्रस्ताव फिर्ता लिन माग गरे, जसमा अरु वडाध्यक्षहरुले पनि सहमति जनाए ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले मेयर सा’बको अनुमतिले यो फिर्ता भयो भन्ने घोषणा गरे । तर वडाध्यक्ष रिजाल रोकिएनन् । उनले फोहोर व्यवस्थापन कार्यदलमा दलीय प्रतिनिधित्वको कुरा गरेकोमा आपत्ति जनाए । उनले अघि भने, ‘हामीले पार्टीको कुरा गरेका छौं ? कांग्रेसको एक जना, एमालेको एक जना भन्ने तपाई को ?’

प्रस्ताव आएपछि कार्यपालिकाले बहुमतका आधारमा निर्णय गर्न सक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिन आग्रह गरे । कार्यपालिका सदस्यहरुको अपमान गरेको भन्दै उनले भने, ‘एक लाख ९० हजारको भोट पाएर आएका जनप्रतिनिधिहरु छन् । तपाईंले फिर्ता लिएर मेयर साबले टेबल गर्ने हो ।’

पौडेल हच्किए र मेयरलाई माइक दिए । मेयर साहले पनि प्रस्ताव नै हो भन्दै थुम्थुम्याउने प्रयास गरे । तर वडाध्यक्ष रिजाल रोकिएनन्, ‘उनले अबका दिनमा बैठकको उपस्थितिमा हस्ताक्षर नगराउन समेत आग्रह गरे । उनले अघि भने, ‘अब एजेण्डासहित मात्र पास हुन्छ ।’

मेयर साहले एउटै कुरा दोहोर्‍याइराख्नु परेन भनेपछि वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडा अघि सारे । उनले भने, ‘बैठक प्रक्रियागत हुनुपर्‍यो । प्रस्ताव गर्ने, समर्थन गर्ने, अनुमोदन गर्ने, माइन्यूट कसरी गर्ने पनि सिक्नुपर्ने हो त हामीले अब ?’

वडाध्यक्षहरुले पहिले निर्णयको प्रस्ताव गर्न सम्झाए । मेयर साहले ठीक छ, ठीक छ भनिरहे । वडाध्यक्ष होडाले व्यंग्य गरे, ‘संसदीय बैठक प्रणाली सिक्नुस् । मेयर साब इन्जिनियर हुनुभयो, ठीक छ । बैठकको प्रक्रिया अध्ययन गर्नुस् ।’

स्वतन्त्र भनेर आएको मेयरले नै दलको नाम लिएको भन्दै उनले अनुभवी वडाध्यक्षबाट सिक्न समेत सुझाव दिएका छन् ।

केके भयो निर्णय ?

त्यसपछि मेयर साहले सुरुमा छलफल गरेर आउन पाएको भए सहज हुने स्वीकार गरे । त्यसपछि उनले बुँदागत रुपमा निर्णय प्रस्ताव गरे । महानगरबासीलाई धन्यवाद दिने, फोहोर मैला व्यवस्थापनका लागि सहकार्य गरेर ५/६ जना रहने कार्यदल बनाउने प्रस्ताव गरे ।

रेष्टुरेन्ट र पेट्रोल पम्पहरुसँग सार्वजनिक शौचालय सञ्चालनका लागि सहमति गर्ने प्रस्ताव गर्दै उनले सोधे, ‘यो पास भयो ?’ वडाध्यक्षहरुले टेबल ठोकेपछि मेयर साह अर्को प्रस्तावमा अघि बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?