+
+

बालेन साहका अवसर र चुनौती

चुनौती जसका अगाडि पनि हुन्छन् नै। सहकार्यको उनको मोडल, सल्लाहकारको समूह र कर्मचारीतन्त्र/प्रशासनिक समूह कस्तो बनाउँछन् त्यसले धेरै फरक ल्याउनेछ ।

कुमार दर्जी कुमार दर्जी
२०७९ जेठ १७ गते ९:२४

काठमाडौं महानगरपालिकामा बालेन साहले, धरानमा हर्क साम्पाङ राई र धनगढी महानगरपालिकामा गोपाल हमालको चुनावी जितले देश/विदेशमा निकै ठूलो तरङ्ग ल्याएको छ। देशको मूलधारका भनिने राजनीतिक पार्टीको स्थानीय तहमा हुँदै आएको निरन्तरताको केही हदसम्म क्रमभंग भएको छ। त्यस्तै अन्य केही ठाउँमा पनि स्वतन्त्र उम्मेदवारले चुनाव जिते। भलै स्वतन्त्र उम्मेदवारको जित तुलनात्मक रूपमा थोरै किन नहोस् यसले प्रतिविम्बात्मक रूपमा धेरै ठूलो सन्देश दिएको छ। मनपरे पनि वा नपरे पनि दालभातको मात्र विकल्प पाउने नेपालीले केही फरक मेनु पाएका छन्। स्थानीय तहको यो चुनावको पराकम्पन प्रदेश र संघीय तहको चुनावमा समेत फैलिने पक्कापक्की जस्तै छ। आगामी दिनमा स्वतन्त्र उम्मेदवारी दर्ता र अलिकति “भिजन” बाँड्न सक्ने व्यक्तिले चुनाव जित्नसक्ने सम्भावनाको ढोका खोलिदिएको छ। काठमाडौंको चुनावी परिणाम सँगसँगै आएका तरंग र यसको भावी दिनबारे विश्लेषण गर्दा बालेन साह विशेष चर्चाको केन्द्रविन्दुमा रहनेछन्।

बालेन साह जितसँगै आगामी दिनमा कसरी अगाडि बढ्छन् त्यो त आउने दिनमा देखिने नै छ। तर बालेनले चुनाव अगाडि जुन आत्मविश्वाससहित काठमाडौंवासीलाई आफ्ना भिजन बाँडेका छन् जसलाई वास्तविकतामा रूपान्तरण गर्न निकै सुझबुझपूर्ण ढंगले अघि बढ्न जरूरी छ। बालेन साहले आगामी दिनमा कस्ता चुनौती झेल्नु पर्ला? उनको आगामी कार्यदिशाबारे कस्ता छलफलको आवश्यकता होला?

बालेन साहका प्रमुख चुनौती भनेका अबका दिनमा उनको कार्यालय भित्रकै र कार्यालय बाहिरको रहनेछन्। बालेनले जहाँ पद बहाल गर्दैछन्, त्यहाँको नगरसभा र कार्यपालिका नितान्त एमाले र कांग्रेस र अन्य पार्टीमय हुनेछन्। उनका लागि कांग्रेस र एमालेका प्रतिनिधिहरूसँगको सहकार्य अपरिहार्य हुनेछ किनकि त्यसको विकल्प छैन। अन्य पार्टीको बहुमतका कारण उनका आफ्ना एजेन्डा तर अन्य पार्टी पंक्तिलाई ‘अनुकूल’ नलाग्ने प्रस्ताव नगरसभा र कार्यपालिकामा पास हुन निकै सकस पर्ने देखिन्छ। बहुदलीय संसदीय व्यवस्थामाथिको संकटको उदाहरण दिंदै आफ्नो राजनीतिक भविष्यमाथि चुनौतीको रूपमा बालेन साहलाई लिएर कार्यपालिका र नगरसभामा अन्य पार्टीहरू बालेनलाई कमजोर पार्ने हिसाबले मिलेर नजालान् भन्न सकिन्न।

नेपाल जस्तो देशमा राजनीतिक रोटी सेक्नका लागि अनेक तिकडम गर्न सक्ने मूलधारका भनिने पार्टीले त्यो हदसम्म नजालान् भन्न सकिन्न।

हुन त बालेनले अहिले कार्यपालिकाका हरेक बैठक लाइभ गर्ने भनेर निर्णय गरेका छन् तर भविष्यमा बालेन आफैंले यसलाई सच्याउनुपर्ने अवस्था आउन सक्छ। किनकि हरेक कार्यपालिकाका बैठक लाइभ गर्न एजेन्डाको गोपनीयता र स्वरूपले असर गर्न सक्छ। बालेनले यो पनि बुझैकै होलान् कि पारदर्शी हुनु भनेको “नाङ्गिनु” हैन। युवा उमेरका मेयर बालेन र दशकौंदेखि राजनीतिमा सक्रिय कार्यपालिकाका सदस्यको सम्बन्धमा नेपाली समाजको नमीठो चरित्र “बढी उमेर भएपछि स्वत: जान्ने सुन्ने भइन्छ” भन्ने प्रवृत्ति प्रतिबिम्बित हुन सक्छ। त्यसकारण पार्टीगत राजनीतिबाट आएका कार्यपालिकाका सदस्यबाट हुने चुनौती बालेनको पहिलो र मुख्य चुनौती हुनसक्छ।

दोस्रो बालेनको चुनौती भनेको कर्मचारी संयन्त्र हुनसक्छ। प्रायश: नगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारी हुन्छन् जसलाई कर्मचारीकै भाषामा भन्दा “अड्डा जमाएर” बसेका हुन्छन्। महानगरको कामलाई दोस्रो प्राथमिकतामा राखेर आफ्नो व्यक्तिगत लाभलाई पहिला राख्ने कर्मचारीले पनि बालेनका सपनालाई तगारो सिर्जना गर्न सक्छन्। विगतमा पनि सामान्य परिवर्तन गर्न खोज्दा आन्दोलन गरी फोहोर उठाउन रोकी कार्यालयको काम ठप्प पार्ने लगायत कार्यहरू भएकै हुन्। कर्मचारी स्वभावलै प्रक्रियामुखी भएकोले बालेनको नयाँ भिजन र स्पिरिटसँग कर्मचारीको काम गर्ने प्रवृत्ति मेल नखान सक्छ। पुरानै संरचनाको धङ्धङीमा रहेका कर्मचारीको संयमित परिचालनका लागि बालेन बडो सुझबुझपूर्ण हिसाबले अगाडि बढ्नुपर्ने देखिन्छ। यस अर्थमा बालेनको नेतृत्वले कर्मचारी परिवर्तनलाई आफ्नो गतिसँगै डोर्‍याउन निकै चुनौतीपूर्ण देखिन्छ।

तेस्रो चुनौती भनेको बालेनलाई वरिपरि घुम्ने सल्लाहकारको हुनसक्छ। विगत र वर्तमान जहिले पनि कार्यपालिका प्रमुखलाई चुनिएका सल्लाहकार र आसेपासेले गर्ने व्यवहार र अव्यावसायिक प्रवृत्तिले नेतृत्वलाई तलैसम्म पुर्‍याएका उदाहरण छन्। त्यसकारण धन्यवाद र्‍यालीदेखि बालेनको वरिपरि घुमिरहने तर गैर व्यावसायिक चरित्र देखाउने प्रवृत्तिसँग बालेन टाढा रहनु उत्तम हुने देखिन्छ।

चौथो चुनौती भनेको संविधान र ऐनले निर्दिष्ट गरिदिएको सीमित अधिकार हो। स्थानीय तहलाई संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ ले सीमित अधिकार दिएको छ। कतिपय अवस्थामा संविधानकै अनुसूचीमा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार रहेका छन् र एकआपसमा विरोधाभासपूर्ण पनि। नेपाल सरकारले संशोधन गर्दै गरेको कार्यविस्तृतीकरणमा यस्ता विरोधाभासपूर्ण प्रकृतिका बाधा अड्चन नफुकाएसम्म बालेनले चाहेर पनि केही गर्न नसक्ने अवस्था रहन सक्छ।

त्यस्तै संघबाट स्थानीय तहलाई असहयोग गर्ने र दोष थोपर्ने प्रवृत्ति हावी हुन सक्छ। भर्खर सकिएको स्थानीय तहको चुनाव प्रचारप्रसारताका संघीय तहका पार्टीका शीर्षस्थ नेताले आफ्नो पार्टीको विपरित चुनावी परिणाम आए संघबाट प्रदान गर्ने सहयोगमा कमी गरिदिने जस्ता दुःखद अभिव्यक्तिका आलोकमा काम गर्न त्यति सहज नहोला। यस्ता चुनौती सामना गर्न विभिन्न तहका सरकारी निकायको सहकार्य प्रमुख हुन आउँछ। जसका लागि बालेनको समूह योग्य र सुझबुझपूर्ण दुवै हुनु जरूरी छ।

आगामी बाटो

बालेनका अगाडि जति चुनौती छन् त्यत्तिकै अवसर पनि। राजनीतिक पार्टीका कार्यकर्ता नभए पनि उनलाई अहिले पछिल्लो राजनीतिक खेलबाट विक्षप्त भएका काठमाडौं लगायत बाहिरी जिल्लाका मान्छेको आशा, भरोसा र सहयोग छ। राजनीतिक पार्टीले पनि बालेनलाई कमजोर आँकेका छैनन् भने उनको विजयलाई चुनौतीको रूपमा स्वीकारिसकेका छन्। कांग्रेस होस् या एमाले, जसपा होस् या माओवादी केन्द्र होस्, आफ्नो पार्टीकै भावी चुनौतीलाई सहजै स्वीकार र सहयोग हुन्छ भन्ने कुरामा अहिले नै विश्वस्त हुन सकिन्न। तर यसका लागि बालेनले सबै दलको सहभागिता र उनीहरूसँगको सहकार्य विशेष फलदायी हुने देखिन्छ। साथै कानुन विपरित र दलीय स्वार्थका एजेन्डालाई निरूत्साहित गर्न बालेन साहले आँट गर्न सक्नुपर्छ।

अन्य राजनीतिक पार्टीको मेयर र बालेन मेयर हुनुमा पहिलो मूलभूत फरक भनेको बालेनले ‘माथिबाट’ आउने निर्देशन जुन पार्टीका शीर्षस्थ तहबाट आउँथ्यो त्यसलाई झेल्नु पर्दैन। तसर्थ निर्णय गर्ने समयमा ‘माथिको’ स्वीकृति लिइरहनुपर्ने झन्झट बालेनलाई छैन। त्यसकारण उनी आफ्नो एजेन्डामा पूर्णरूपमा एकचित्त भएर लाग्न सक्छन्, स्वतन्त्र उम्मेदवारको स्वतन्त्रताको उच्चतम प्रयोग गर्न सक्नेछन्।

त्यस्तै कर्मचारीतन्त्रलाई बढी चलायमान बनाउन नयाँ ढंगबाट सोच्नुपर्ने हुन्छ। नयाँ जोश, जाँगर र नवप्रवर्तनकारी सोच भएको कर्मचारी उनको टिममा आवश्यक हुन्छ। निजामती सेवामा यस्तो सोच भएका कर्मचारी औंलामा गन्न मिल्ने मात्र छन्। पुरानै ढर्रा र पुरानै सोच भएको कर्मचारीबाट बालेन साहका एजेन्डा लागू गराउन निकै नै सकसपूर्ण देखिन्छ।

बालेनकै उत्साह र जोश भएको र नीतिनिर्माणमा नयाँ रक्तसञ्चार गर्न ‘खोज्ने र सक्ने’ युवा प्रशासनिक नेतृत्व बालेनको प्राथमिकतामा पर्नुपर्दछ। बालेनसँग काँधमा काँध मिलाउने प्रशासनिक नेतृत्व नभएसम्म महानगरको कामले गति लिन सक्दैन। बालेनले नीति कार्यक्रम बनाउनेदेखि त्यसको कार्यान्वयन गर्न त्यही किसिमको प्रशासनिक टिम निर्माण गर्नु बुद्धिमानी हुन्छ, जुन गर्न अघिल्ला मेयर चुकेका थिए।

त्यस्तै व्यक्तिगत र सामाजिक स्वार्थलाई समयमै चिनेर अव्यावसायिक समूहबाट बालेन टाढा रहनुपर्छ। जटिल प्रकृतिका कामकारबाहीका लागि विज्ञ समूह गठन गरी सो समुहबाट समाधानका उपाय खोज्नुपर्छ जुन कुरा बालेनले अगाडि नै घोषणा गरिसकेका छन्। संविधान र ऐनले प्रदान गरेका अधिकारहरूको यकिन गरी महानगरपालिकाको दायरा र उपस्थिति बढाउँदै लगेमा बालेनले नेतृत्व गरेका कामलाई आगामी दिनमा संस्थागत गर्न त्यति गाह्रो पक्कै हुने छैन।

चुनौती जसका अगाडि पनि हुन्छन् नै। सहकार्यको उनको मोडल, सल्लाहकारको समूह र कर्मचारीतन्त्र/ प्रशासनिक समूह कस्तो बनाउँछन् त्यसले धेरै फरक ल्याउनेछ। यी कुरामा विशेष ध्यान दिएको खण्डमा बालेनको विजयले महानगरको समृद्धि उचाइमा पुर्‍याउने देखिन्छ।

(लेखक ह्याम्बर्ग विश्वविद्यालय जर्मनीमा जलवायु परिवर्तन र विकाससम्बन्धी विषयमा पीएचडी गर्दैछन्। साथै उनी विकास र सामाजिक समावेशितामा विशेष चासो राख्दछन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?