+
+
विचार :

काठमाडौंका मतदाताले आवेग र विवेककाे मिश्रित निर्णय गरे

हामी बदलिनुको कुनै विकल्प छैन

काठमाडौं महानगरका मतदाताले व्यक्त गरेको मतमा असन्तुष्टि र आवेग मात्र होइन जिम्मेवारीपूर्ण विवेक सहितकाे मिश्रित निर्णय देखिन्छ । त्यो आवेगले हामीलाई हरायो, तर त्यसले लोकतान्त्रिक प्रणालीलाई सम्वर्धन गर्न चाह्यो ।

विश्वप्रकाश शर्मा, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस महामन्त्री
२०७९ जेठ १८ गते १७:१४

स्थानीय निर्वाचनको लोकतान्त्रिक अभ्यासमार्फत वडा–वडासम्म लोकतान्त्रिक प्रणाली थप सबल भएको छ । जनताको संघर्षले स्थापित प्रणाली सबल हुनु भनेको सबैको साझा जित हो । दल र उम्मेदवारको जित–हारको समीक्षा दोस्रो विषय हो ।

लाखौं मतदाताले मतदान केन्द्रमा गएर मत दिइरहँदा उम्मेदवारलाई मात्रै होइन लोकतान्त्रिक पद्धतिलाई ताजा अनुमोदन गरिरहेका थिए । लोकतन्त्र रूखको हाँगामा लगाइने रंगले होइन, जरामा हालिने जल र मलले बलियो हुन्छ भन्ने मान्यता कांग्रेस राख्दछ । त्यसैले जहाँ जुन आस्थाका प्रतिनिधि निर्वाचित भएका हुन्, ती सबैलाई हाम्रो बधाई र सफलताको शुभकामना ! विजयी उम्मेदवारले इमानदार कर्म गरे भने लोकतन्त्रको पक्षमा देखिएको जनविश्वास आगामी दिनमा अझ बलियो बन्नेछ ।

निर्वाचन नै हुँदैन, कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउँदैन भन्ने आरोप अझै हाम्रा कानमा गुन्जिरहेका छन् । तर, २०७४ को स्थानीय निर्वाचन तीन चरणमा र यसपटक एकैचरणमा कांग्रेसकै नेतृत्वमा स्थानीय तह निर्वाचन सम्पन्न भयो ।

मतदाताले दिएको सन्देश

स्थानीय निर्वाचनको परिणामबाट कुनै दल पहिलो, दोस्रो, तेस्रो, चौथो र कोही पराजित नै पराजित भयौं होला । तर मतदाताले समग्रमा सबैलाई केही सन्देश दिएका छन् । कांग्रेसलाई पहिलो बनाए तर, अहंकार जागृत हुन नदिने आकारमा राखे । एमाले र खासगरी केपी कमरेडलाई अहंकारको घोडाबाट ओर्लिन सन्देश दिए । माओवादीलाई नेकपामा विसर्जनपछिको पुनर्जीवन दिए ।

पहिलो चुनाव नेकपा (एकीकृत समाजवादी)को परिचय कार्यक्रम जस्तो थियो तर, पोखरा र हेटौंडा जस्तो ठाउँमा नेतृत्व दिएर प्रोत्साहित गरे । मधेशकेन्द्रित दललाई आत्मनिरीक्षणको सन्देश दिएका छन् । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारलाई जिताएर मतदाताले हामी दलहरूलाई रूपान्तरित हुन जबर्जस्त चेतावनी पनि दिएका छन् ।

बालेन विजयको सन्देश

अपेक्षा विपरित हामी काठमाडौंमा पराजित भयौं । तर लोकतान्त्रिक प्रणालीको पक्षमा भने काठमाडौंका मतदाताले दृढ समर्थन र विश्वास प्रकट गरेका छन् । कांग्रेस र एमालेलाई विजयी गराएनन् तर वैकल्पिक राजनीति र वैकल्पिक दलको दाबी गर्नेलाई पनि मत दिएनन् । नत्र विवेकशील साझाको उम्मेदवार पनि मैदानमा हुनुहुन्थ्यो । मतदाता अवस्थासँग रुष्ट देखिए पनि व्यवस्थाकै विरुद्धमा मत दिएनन् । नत्र शासन व्यवस्थाकै परिवर्तनको मुद्दा उठाउने राप्रपाको उम्मेदवार पनि मैदानमा हुनुहुन्थ्यो ।

त्यसैले काठमाडौं महानगरका मतदाताले व्यक्त गरेको मतमा असन्तुष्टि र आवेग मात्र होइन जिम्मेवारीपूर्ण विवेक सहितकाे मिश्रित निर्णय देखिन्छ । त्यो आवेगले हामीलाई हरायो, तर त्यसले लोकतान्त्रिक प्रणालीलाई सम्वर्धन गर्न चाह्यो । काठमाडौं र धरानका मतदातामार्फत ‘राजनैतिक दलहरू बदलिएको समयको स्वर सुनेर तिमीहरू आफूलाई बदल’ भन्ने जे सन्देश हामीले पाएका छौं, त्यसलाई आत्मसात् गर्नु हाम्रो हितमा छ ।

नेवाः र मधेशको सन्देश

मधेशी समुदायले काठमाडौंमा अनि पहाडेले मधेशमा अपहेलित हुनुपरेको कतिपय दृष्टान्त विगतमा देखिएका र सुनिएका हुन् । तर यसपटकको निर्वाचन परिणाममार्फत जनताले ‘ती दिनहरूलाई’ खारेज गरिदिएका छन् । मधेशको एउटा मधेशी समुदायको युवक यतिबेला नेवाः भूगोल काठमाडौंको मेयर बनेका छन् । उता, एउटा नेवार समुदायको युवा मधेश प्रदेश वीरगंजको मेयर बनेका छन् । लोकतन्त्रको सुदूर भविष्यका लागि यो साँच्चिकै सुन्दर परिदृश्य मान्नुपर्ने हुन्छ ।

चुनावी तालमेलको समीक्षा

निर्वाचनमा कांग्रेसले तालमेल गर्नुपर्छ या पर्दैन भन्ने दुईखाले मत थिए । ‘एक्लै लडे पनि पहिलो दल बनिन्छ’ एउटा मत थियो भने जित्ने हार्नेभन्दा पनि आफ्नो अलग पहिचान र अलग क्षमताको बलमा लडौं भन्ने मत अर्को थियो । साथै, ‘भावनात्मक आवेग नराखौं, वस्तुगत अवस्था हेरौं’ भन्ने मत पनि थियो । अन्ततः ‘स्थानीय स्थिति र आवश्यकता अनुरूप’ भन्ने शर्तसहित सर्वसम्मतिले तालमेलको निर्णय गर्‍यौं । थोरै ठाउँमा मात्र तालमेल भए । परिणामले देखायो हामीले गलत गरेका रहेनछौं । तर तथ्यमा स्पष्ट रहौं, केवल ६३४ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार थिए, ११९ पालिका प्रमुखमा हाम्रो उम्मेदवार थिएनन् ।

तालमेल भएर कैयौं स्थान जित्यौं तर अघिल्लोपटक जितेको कैयौं स्थान तालमेल भएर पनि गुमायौं । मेरै जिल्ला झापामा एक्लै लड्दा हामीले अघिल्लो निर्वाचनमा जितेका कतिपय पालिका अहिले तालमेल गरेर पनि गुमायौं, केही थप्यौं । त्यसैले तालमेलले मात्र कांग्रेस पहिलो दल बनेको भन्ने होइन । कांग्रेस एक्लै लडेर शानदार विजयी भएका कैयौं पालिका छन् । पूर्वमा इलाम नगरपालिका, पश्चिममा हुप्सिकोट गाउँपालिका हुँदै राजधानीकै कीर्तिपुर होस् । थुप्रै ‘कीर्तिपुर’ थपिएका छन् । यद्यपि, लोकतन्त्रमा कुनै विजय स्थायी हुँदैन । विजयका विविध ‘फ्याक्टर’ केलाएर हामी निष्कर्षमा पुग्दैछौं– हामी बदलिनुको विकल्प छैन ।

प्रतिपक्षी गठबन्धन

केपी कमरेडले गठबन्धनको विरोध गर्दै गठबन्धन गर्नुभयो । ‘शुद्ध’ कोही थिएनौं, तर उहाँले दूधले एक्लै नुहाएको भ्रमको संकथन दिने प्रयत्न गर्नुभयोे । तर तथ्य बोल्छ कहीं यो राप्रपासँग तालमेल गर्नुभयो, कहीं त्यो राप्रपासँग । रुकुम पश्चिममा कांग्रेससँग, गुल्मीको धुर्कोटमा माओवादीसँग, भरतपुरमा राप्रपासँग, अछामको मेल्लेख र साँफेमा एकीकृत समाजवादीसँग, झापाको कचनाकवलमा फेरि कांग्रेससँग । अर्थात्, मात्रात्मक रूपमा कम–बेसीको कुरा मात्रै हो, तालमेल या गठबन्धन दुवै पक्षले गरेको हो ।

तालमेलले स्थानीय तहमा काम गर्न भिन्न खालको वातावरण पनि बनाएको छ । कतिपय ठाउँमा भने आन्तरिक व्यवस्थापनमा समस्या ल्याएको छ । निर्वाचनमा हुनुपर्ने स्वस्थ प्रतिस्पर्धामा चारित्रिक ह्रास पनि आएको छ । तर २०७९ को वैशाख ३० कहिल्यै नफर्किने गरी गइसकेको छ । हुनु–नहुनु जे तालमेल, जे गठबन्धन भयो, जे लाभ–क्षति भयो, त्यसको संयम समीक्षा गर्दै दल र उम्मेदवारहरूले शिक्षा लिन सक्नुपर्छ ।

टिकट वितरणमा व्यक्ति र प्रवृत्तिको प्रश्न

हामी सबै दलको टिकट वितरणको पद्धति परम्परागत छ । न्याय गर्ने कि लोकप्रिय हेर्ने ? यो विषय सदैव आउँछ । लोकप्रियलाई उम्मेदवार बनाउने भनिरहँदा त्यसको मापन गर्ने विधि के त भन्ने अस्पष्टता छ । कांग्रेसलाई रूपान्तरण गर्ने भनिरहँदा हामी यसबारे पनि विमर्शमा छौं ।

एउटा तहमा चुनाव हारेको पार्टी सदस्यले पार्टीको अर्को तहमा उम्मेदवार बन्न नपाउने विधानको स्पिरिटलाई सघन कार्यान्वयनतर्फ लग्दैछौं । कांग्रेसमा एउटै क्षेत्र भित्र जीवनमा एकपटक पनि टिकट नपाएका अग्रजहरू जीवित हुनुहुन्छ । तर, कसैलाई भने गुटगत आग्रहका आधारमा केन्द्रको हारे प्रदेशको, प्रदेशमा हारे स्थानीय तहको, स्थानीय तहमा हारे माथिल्लो तहको टिकट दिने कार्य गर्दा पद्धति र न्याय दुवै मर्छ । त्यस्ता गुटगत धन्दा भत्किनुपर्छ, भत्काउनुपर्छ ।

खोलो तरेपछि लौरो नबिर्सौं

स्थानीय तहको निर्वाचनमा भएको तालमेलकै आधार र आकारमा केन्द्र र प्रदेशमा तालमेल हुन्छ भनी टिप्पणी गर्नु हतार हुन्छ । यद्यपि कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीको जोड गर्दा पाँचसय प्लस स्थानमा गठबन्धनका उम्मेदवारले जितेका छन् ।

विजयी मनोविज्ञान जबर्जस्त ढंगले विकसित भइसकेको छ । तालमेल अझ व्यवस्थित बनाउँदा ७ वटै प्रदेश सरकार र केन्द्रीय सरकार कसको बन्दैछ भनेर दृश्य स्पष्ट नै देखिन्छ । त्यसो त, निर्वाचन हुने समय आउन कम्तीमा आधा दर्जन महिना बाँकी नै छ ।

जिल्ला समन्वय समिति समेतको निर्वाचन परिणामपछि हामी केन्द्रीय समितिमा स्थानीय तहको निर्वाचनको संस्थागत समीक्षा गर्नेछौं । अन्य दलहरूको विश्लेषण र समीक्षा त्यतिबेलासम्म संस्थागत रूपले आइपुग्ला । खोलो तर्‍यो लौरो बिर्सियो पनि गर्न हुँदैन । यससँगै मिलेर पनि पक्षमा परिणाम नआएको भूगोलको छुट्टै समीक्षा गर्नुपर्दछ । तब हामी आजको परिणामको गोरेटोबाट राजमार्गमा पुग्न समर्थ हुनेछौं ।

(कांग्रेस महामन्त्री शर्मासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?