+
+
ब्लग :

‘बाबा ! तपाईंलाई पढाउन आउँदैन, यसरी पढ्नुपर्छ’

समग्रमा बच्चा आफ्नो पढाइमा स्वतन्त्र छैनन्, अरुका लागि पढ्नु र नम्बर ल्याउनु परेको छ।

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७९ जेठ २० गते ८:५७

म अमेरिका आउनु पहिले नै अमेरिकी शिक्षा प्रणाली र शैक्षणिक क्रियाकलाप बारेमा पढ्न र सुन्न पाएको थिएँ। अहिले अमेरिकी विद्यालयका विद्यार्थीको अभिभावक बन्ने अवसर मिलेको छ। कक्षा बाल सदनमा) केजी) पढ्ने मेरो छोरो र कक्षा ६ मा पढ्ने छोरीलाई पढाउन खोज्छु। मेरो छोराले मलाई आफ्नो विद्यालयका गतिविधि सुनाउँछ र भन्छ- बाबा ! तपाईंलाई पढाउन आउँदैन, यसरी यसरी पढ्नुपर्छ।

उनीहरूलाई म अभिभावक हुनाले आफूले धेरै जानेको छु भनेर विश्वस्त पार्न खोज्छु तर उनीहरू पत्याउँदैनन्।

पहिलो कुरो उनीहरूको र मेरो भाषा मिल्दैन, दोस्रो पढाइको तरिका मिल्दैन। म नेपाङ्ग्रेजी बोल्छु, नेपालको तरिकालाई अपनाउन खोज्छु, उनीहरू सजिलै बुझ्दैनन्।

अनि उनीहरूकै तरिकालाई स्वीकार्छु र बाबाले जान्नुहुन्न भन्ने यथार्थमै म उनीहरूलाई पुर्‍याउँछु। बाबाभन्दा हामी जान्ने छौं भन्छन् र खुसी हुँदै पढ्छन्।

उनीहरूलाई गृहकार्यको तनाव छैन र स्कुल जान पर्‍यो भन्ने टाउको दुखाइ पनि छैन। उनीहरू खुसी हुँदै स्कुल जान्छन्, कुनै शिक्षकको प्रेसर पनि छैन।

छोराछोरी खुसी हुँदै स्कुल जानाले मलाई पनि खुसी लाग्छ। उनीहरूको पढाइको उपलब्धि देख्दा र शिक्षकहरूको सल्लाह र सुझावलाई बुझ्दा म पनि उनीहरूलाई यही र यसरी पढ्नुपर्छ भनेर प्रेसर दिन सक्दिनँ।

म आफू नेपालमा छँदा केही वर्ष विद्यालय र क्याम्पसको अध्यापक पनि भएँ। त्यसैले बच्चाबच्चीको पढाइको गतिविधिलाई यहाँ पनि अलि केही नजिकबाट नियाल्छु। मलाई उनीहरूको पढाइप्रतिको रुचि र जिज्ञासामा घोत्लिन र जान्न मन लाग्छ। नेपालको शिक्षा प्रणाली र शैक्षणिक क्रियाकलापसँग तुलना पनि गर्छु। यहाँ मैले नेपालको शिक्षा प्रणालीमा के कस्ता कुरामा कमजोरी छन् र अमेरिकाको शिक्षा प्रणाली किन राम्रो मानिन्छ भन्ने कुराको मिहिन अध्ययन गरें। मेरा छोराछोरीको पढाइको तरिकाको अवलोकन गरें। यही पृष्ठभूमिमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापक र विद्यार्थीको विचारलाई पनि समेट्दै एउटा आलेख बनाउने प्रयास गरेको छु।

आजको २१औं शताब्दीमा नेपालमा विश्व परिवेश र नेपाल अनुकूलको पाठ्यक्रम र शिक्षा प्रणाली हुन नसक्नु पक्कै दु:खको कुरा हो। राज्य नै यसमा चुकेको देखिन्छ। शिक्षा जस्तो अत्यन्तै महत्त्वपूर्ण क्षेत्रमा राज्यले खुलेर लगानी गर्न सकेको छैन र गरेको लगानीको पनि प्रतिफल सकारात्मक छैन। राज्य नै गैरजिम्मेवार रहेको देखिन्छ।

नेपालको पाठ्यक्रममा केही स्तरीयता भए पनि पाठ्यपुस्तक, पाठ्यवस्तु, पाठ्यसामग्री र शैक्षिक सामग्रीहरूमा गुणात्मकता पाइँदैन। केवल सैद्धान्तिकतालाई जोड दिन खोजिएको छ। विश्वविद्यालयबाट उत्पादित जनशक्ति आत्मनिर्भर हुन र बजारमा बिक्न पनि सक्दैन। यसले गर्दा लगानीको प्रतिफल अत्यन्तै न्यून छ।

राजेन्द्र पन्थी

शैक्षिक बेरोजगार हुनाले प्रमाणपत्र बाकसमा थन्क्याएर विदेशिनुपर्ने बाध्यता छ। पहिलो कुरा बजारमा उत्पादित जनशक्तिको माग नै छैन भने दोस्रो उत्पादित जनशक्ति दक्ष र उत्पादनमूलक छैन। विद्यार्थी किताब रटेर प्राप्ताङ्कको भारीले थिचिएका छन्। उनीहरू सिर्जनात्मक र व्यावहारिक बन्न सकेका छैनन्। विद्यार्थीलाई आफ्नो रुचि केमा छ भन्दा पनि अभिभावकलाई के बनाउनु परेको छ भन्ने कुराले थिचिएका छन्। समग्रमा बच्चा आफ्नो पढाइमा स्वतन्त्र छैनन्, अरुका लागि पढ्नु र नम्बर ल्याउनु परेको छ।

विश्वमा शिक्षाको गुणात्मकताको दृष्टिकोणले जापान, जर्मन, क्यानडा, नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, अस्ट्रेलिया, अमेरिका र फ्रान्स जस्ता देश अग्रपंक्तिमा रहेका छन्।

हुन त विकसित देशको शिक्षा प्रणाली र विकासोन्मुख देश नेपालको शिक्षा प्रणालीका बारेमा केको तुलना गर्नु, हामीहरूसँग उनीहरूको जस्तो साधन र स्रोत छैन भनेर प्रश्न आउन पनि सक्छ। तर हामीसँग भएको साधन र स्रोत पनि त्यति साह्रो कमजोर पनि छैन।

सबैभन्दा चाहिने भनेको इच्छाशक्ति नै हो। हामी धेरैजसो कुरामा ताजगी हुन नसकेको अवस्था मात्र हो। नेपालको उही पुरानो परम्परित शिक्षा प्रणालीलाई मानिरहेका छौं।

समयानुकूलको शिक्षा नीति, प्रणाली र पद्धतिलाई अवलम्बन गर्न सकेका छैनौं। हामी कहिलेसम्म यस्तै कमजोरी स्वीकार्दै जाने त ? यो महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ।

अहिले नै पनि हामीसँग रहेको साधन र स्रोतलाई अधिकतम प्रयोग गरी ती विकसित देशहरूले जस्तै शिक्षामा फड्को मार्दै जानको लागि बाटो निर्माण गर्न ढिला भइसकेको छ। शिक्षा प्रणालीलाई परिवर्तन गरी सैद्धान्तिक भन्दा व्यावहारिक, प्रयोगात्मक र अनुसन्धानात्मकतालाई प्राथमिकता दिनुपर्ने देखिन्छ। तीन घन्टाको परीक्षा प्रणालीलाई अन्त्य गरी विद्यार्थीको कक्षामा उपस्थिति, उसको सीप, व्यावहारिक ज्ञान, गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, साप्ताहिक, मासिक र त्रैमासिक परीक्षालाई विद्यार्थीको मापनका साधन बनाउनुपर्छ। पाठ परीक्षा र एकाइ परीक्षालाई पनि विद्यार्थीको मूल्यांकनमा जोडिनुपर्छ।

नेपालको शिक्षा प्रणालीको एउटा महारोग भनेको वार्षिक परीक्षा बनेको छ। यसले विद्यार्थीलाई सिर्जनात्मक बनाउन सकेको छैन। शिक्षा नै देश विकासको मेरुदण्ड भएकोले शिक्षामा आमूल परिवर्तन ल्याउनको लागि नीति, प्रणाली र पद्धति नै परिवर्तन गर्नुपर्छ। परम्परादेखि चल्दै आएको नेपालको घोकन्ते र रटन्ते पद्धति र शैक्षिक वर्षको अन्त्यमा लिइने परीक्षा प्रणालीले विद्यार्थीको गुणात्मक ज्ञान प्राप्त र मापनमा यथार्थता पनि हुँदैन।

अहिलेको नेपालको विश्वविद्यालयको पाठ्यक्रम तुलनात्मक रूपमा साह्रै कमजोर चाहिं नरहेको अमेरिकाको इन्डियाना राज्यको प्रुडु युनिभर्सिटी अफ नर्थवेस्टका गणित तथा तथ्यांकशास्त्रका विभागीय सदस्य प्रा.डा. गोकर्णराज अर्याल बताउँछन्। उनका अनुसार विद्यार्थीलाई तह अनुसार प्रयोगात्मक, व्यावहारिक र अनुसन्धानमूलक सिकाइमा जागृत गराउनुपर्छ। विद्यार्थीलाई समस्या पत्ता लगाउने र सकभर उसैलाई समाधान गर्न लगाउने हो भने गुणात्मक प्रतिफल दिन्छ र विद्यार्थीमा सिर्जनात्मक क्षमता बढ्छ।

शिक्षकले सहजीकरणको भूमिका निर्वाह गरी विद्यार्थीलाई नै आफैं खोज्ने, सिक्ने र जान्ने प्रेरणा जागृत गराउनुपर्छ। विद्यार्थीलाई उसको रुचि अनुसार पढाइमा लगाउन सकियो भने ऊ सफल बन्न सक्छ। विद्यार्थीको क्षमता विना एकैपटक भए जतिका पाठ्यपुस्तक जबर्जस्ती पढाउनाले उसलाई अत्यन्तै बोझ हुन्छ। अभिभावक र शिक्षकहरूले विद्यार्थीलाई उनीहरूको रुचि र चाहना अनुसारको विषयलाई छनोट गर्न र पढ्न प्रोत्साहन अनि प्रेरणा दिनुपर्छ।

यस्तै नेपालमा विद्यालयदेखि स्नातकतहसम्मको अध्ययन गरी अमेरिकाको युनिभर्सिटी अफ नर्थ टेक्सासमा विद्यावारिधि गरिरहेका विवेक आचार्यका अनुसार नेपालमा परीक्षा र प्राप्ताङ्कलाई मात्र ध्यान दिइन्छ। पढाउने, प्रश्न निकाल्ने र उत्तरपुस्तिका परीक्षण गर्ने फरक फरक व्यक्ति हुनाले विद्यार्थीको वास्तविक गुणात्मक क्षमताको मापन हुन सक्दैन। जसले शिक्षण गर्छ, उसले नै प्रश्न काट्ने र उत्तरपुस्तिका परीक्षण गर्ने हो भने विद्यार्थीको मापन हुनसक्छ। आचार्यका अनुसार सैद्धान्तिक शिक्षाले मात्र विद्यार्थी काममा सक्षम हुन सक्दैन र कक्षाकोठामै नै ज्यादा अभ्यास र दक्ष गराउनुपर्छ ताकि जागिर वा काममा जाने बेलामा विद्यार्थीलाई सजिलो हुन्छ। उसलाई प्राप्ताङ्कमा भन्दा सीपमा ध्यान दिनुपर्छ।

नेपालका शिक्षकहरू नयाँ ज्ञान र आफ्नो विषयमा सधैं अप टु डेट हुनुपर्छ। बीस वर्ष पहिले आफूले पढेको पद्धतिलाई अहिले पनि हुबहु प्रयोग गरिएको छ। यस्तो परिपाटीलाई अन्त्य गर्नुपर्छ। विद्यार्थीलाई अत्यधिक प्रेसर दिएर पढाउनुहुँदैन। विद्यार्थीलाई आफूले पढेको बोझ नहुने गरी पढ्ने वातावरण सिर्जना गर्नुपर्छ। डेलावर स्टेट युनिभर्सिटी, अमेरिकाको भाषा साहित्य विभागका प्राध्यापक डा. भूषण अर्यालका अनुसार विद्यार्थीलाई आलोचना चेत जागृत गराउने किसिमले शिक्षण सिकाइ गर्नुपर्छ। विद्यार्थीलाई उत्पादनशील बनाउनुपर्छ। विद्यार्थीले आफूले कुनै विषय पढ्छ भने त्यसमा उसको आफ्नो निजी विचारलाई प्रस्फुटन गराउने मौका दिनुपर्छ।

अर्याल सर भन्छन्- शिक्षकलाई आफैं एउटा निश्चित संरचनामा पाठ्यक्रम र पाठ्यसामग्री समेत निर्माण गर्ने अधिकार दिनसक्ने हो भने त्यसले शिक्षकलाई थप सिर्जनात्मक बनाउँछ र आफ्नो विषयमा सधैं ताजा भइरहन सघाउँछ। विद्यार्थीमा जहिले पनि किन भन्ने जिज्ञासा आइरहोस् भन्ने तरिकाले अध्यापन गराउनुपर्ने हुन्छ। अनि मात्र विद्यार्थीं आफैं खोज्न सफल हुन्छ। यसले गर्दा उसको पढाइ दिगो र फलदायी हुन्छ।

विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि समस्या छ किनकि उसको मूल्यांकन विद्यार्थीले प्राप्त गर्ने प्राप्ताङ्कसँग जोडिएको हुन्छ। विद्यार्थीले राम्रो अङ्क ल्याए राम्रो शिक्षक नराम्रो अङ्क ल्याए नराम्रो शिक्षक भनी टीका लगाउनुपर्ने अवस्था छ।

अर्याल सर अगाडि थप्छन्- नेपालीले आफ्ना सन्ततिको शिक्षाको लागि धेरै लगानी गरेका छन् तर राज्यले खासै चासो दिएको छैन। विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिइएको छ तर व्यावहारिक र उत्पादनमूलक शिक्षा छैन, जसले गर्दा लगानी खेर गइरहेको देखिन्छ।

नेपालको शिक्षा प्रणाली केही झन्झटिलो हुनाले वर्षको अन्तिममा लिइने परीक्षा प्रणालीमा विगत वर्षको कोरोनाकालको समयमा केही अस्तव्यस्तता देखियो। सायद विद्यालय र शिक्षकलाई सम्पूर्ण जिम्मेवारी दिएको भए यो भद्रगोल हुने थिएन। राज्यले पाठ्यक्रम निर्माणदेखि विद्यार्थीको मूल्यांकनसम्म विद्यालय र शिक्षकलाई जिम्मेवारी दिनुपर्छ।

विद्यालय र शिक्षकले पनि आफूले पाएको जिम्मेवारीलाई आत्मसात् गरी कार्यान्वयन प्रक्रियामा वस्तुपरक र पारदर्शी हुनुपर्छ। राज्य र यसका निकाय, विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी सबै पक्षले आ–आफ्नो भूमिका र दायित्व निर्वाह गर्न सक्ने हो भने विद्यार्थीको मापनको लागि अहिले चलेको यो बोझिलो र झन्झटिलो परीक्षा प्रणाली अन्त्य गर्न सकिन्छ।

विद्यार्थीको क्षमताको मापनको लागि वर्षको अन्त्यमा केन्द्रकै मुख ताक्नुपर्ने परिपाटीले विद्यार्थीको पढाइ अत्यन्तै बोझिलो छ। वर्षभरि पढेको कुरालाई तीन घन्टामा प्रस्तुत गर्ने हो र त्यो प्रस्तुतिलाई आफूलाई पढाउँदै नपढाएको शिक्षकले परीक्षण गर्ने हो भनेपछि त्यसले कसरी राम्रो मूल्यांकन हुन सक्छ र ?

विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि समस्या छ किनकि उसको मूल्यांकन विद्यार्थीले प्राप्त गर्ने प्राप्ताङ्कसँग जोडिएको हुन्छ। विद्यार्थीले राम्रो अङ्क ल्याए राम्रो शिक्षक नराम्रो अङ्क ल्याए नराम्रो शिक्षक भनी टीका लगाउनुपर्ने अवस्था छ।

अमेरिकासित नेपाललाई तुलना गर्दा यी कुराहरू कार्यान्वयन गाह्रो पक्कै छ तर अहिले नेपालका अधिकांश ठाउँमा प्रविधिको पहुँच पुगिसकेको अवस्था छ। साधन र स्रोत पनि स्थानीय तहमा पुगेको छ। स्थानीय तहले चाहने हो भने कनिका छरे सरी गरिएका डोजरे विकासभन्दा विद्यालयको भौतिक पूर्वाधारमा बजेट खर्च गर्दा त्यो अत्यन्तै लाभदायी हुन्छ। राज्यले थोरै मात्र जिम्मेवारको महसुस गर्ने हो भने शिक्षामा सुधार ल्याउन गाह्रो छैन।

प्रविधिको प्रयोग गर्ने हो भने राज्यले विद्यालयको पाठ्यक्रमदेखि विद्यार्थीको मूल्यांकनसम्मको शैक्षणिक क्रियाकलापका सम्पूर्ण कुराहरू विद्यालय र शिक्षकलाई सजिलै दिन सक्छ ताकि तालिम वा पुनर्ताजगीको लागि भौतिक रूपमै उपस्थित हुनुपर्दैन। नेपालका केही विश्वविद्यालय र विद्यालयहरूले प्रयोगात्मक, व्यावहारिक र सीपयुक्त पढाइको प्रयोग गरेर केही सफल भएको देखिन्छ। तर, राज्यले सबैतिर कार्यान्वयन गर्न नसक्दा वा एकद्वार प्रणाली नअपनाउँदा प्रयोगात्मक शिक्षण र मूल्यांकन त्यति सफल हुनसकेको छैन।

देशका जिम्मेवार दलहरू देश र जनताप्रति गैरजिम्मेवार हुनाले नेपालको शिक्षा क्षेत्रमा राजनीतिको प्रवेश भएको छ। शिक्षा क्षेत्रमा राजनीतिको प्रवेशले कुनै पनि योजनाहरू सफल हुनसकेका छैनन्। किनकि अध्ययन र अनुसन्धान विनाका कार्यक्रम आउँछन् र सफल हुँदैनन्।

विद्यालय र विश्वविद्यालयहरू स्वतन्त्र रूपमा चल्न सक्दैनन्। हरेक ठाउँमा राजनीतिक हस्तक्षेप छ। शिक्षक नियुक्ति प्रक्रियामा राम्रोभन्दा हाम्रोलाई प्राथमिकता दिइएको छ। आन्दोलनको भरमा शिक्षकहरूलाई नियुक्ति र स्थायी गरिन्छ। सरकारी विश्वविद्यालयमा अध्यापनरत सिनियर प्राध्यापकलाई कुनै अनुसन्धान विना हाजिर गरी जागिर खाने ठाउँ भएको छ। यस्ता गलत प्रवृतिलाई अन्त्य गरी शिक्षा प्रणालीलाई सुधार्नु आजको मुख्य चुनौती रहेको छ।

अब नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा आगामी शैक्षिक योजनाका बारेमा सम्बन्धित निकायले समयमै बहस गर्नुपर्ने देखिन्छ। नेपालको शिक्षा प्रणालीमा परम्परादेखि चल्दै आएको पढ्ने र पढाउने पद्धतिलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्छ। शिक्षक र अभिभावकले हाम्रो पालामा यस्तो र उस्तो थियो भनेर आफ्ना बच्चाबच्चीलाई त्यही तरिकाले जबर्जस्ती पढाउनुहुँदैन। नयाँ पद्धतिले विद्यार्थीलाई रुचिकर हुने गरी पढाउनुपर्छ। आज नै हामीले नयाँ कामको सुरूवात गर्न सकिएन भने भोलिको उस्तै परिणाम स्वीकार्दै पश्चाताप गर्नुको विकल्प केही छैन। शिक्षामा गरिएको लगानीको परिणाम तुरुन्तै नआउने हुनाले धैर्य गर्नुपर्छ। राज्य पनि गम्भीर भएर आगामी बजेटमा कम्तीमा पनि बीस प्रतिशत खर्च शिक्षालाई छुट्याउनुपर्छ। शिक्षाको नीति, प्रणाली र पद्धति बनाउनेहरूले पनि विद्यार्थीको सिर्जनात्मक र व्यावहारिक उपलब्धिलाई लगानीको प्रमुख आधारका रूपमा लिनुपर्छ। शैक्षिक बेरोजगार सिर्जना गर्ने परिपाटीलाई अन्त्य गरी आत्मनिर्भर, परिणाममुखी र उत्पादनशील जनशक्ति उत्पादन गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो।

भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?