+
+

भलिबलको कभर्ड हल निर्माणका लागि १ करोड बजेट, होला त काम ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १५:१०

२५ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको पूर्वाधारका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा भलिबलको कभर्ड हल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ ।

अर्थमन्त्रीको बजेट भाषणमा क्रिकेटको विधिन्न पूर्वाधारको शीर्षका बजेट विनियोजन भएको जानकारी गराएको भए पनि भलिबलको लागि छुट्टै उल्लेख थिएन ।

त्यतिबेला भने भलिबलको कुनै विषय उल्लेख नभएकोले भलिबल संघका पदाधिकारी पनि निराश थिए । त्यसका लागि केही दिनअघि पोखरामा बसेको संघको सातौँ पूर्ण बैठकले पनि दक्षिण एसियाली महिला भलिबलको आयोजना गर्नेबारे आधिकारिक मिति तय गर्न सकेन ।

तर मन्त्रालय अन्तर्गत खेलकुदका लागि छुट्याइएको विभिन्न शीर्षकमा भने भलिबल पूर्वाधारका लागि र अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

नेपालमा अहिले फुटबल क्रिकेट पछि भलिबल धेरै चर्चा भएको खेलमा पर्छ । क्रिकेटको पूर्वाधार र फुटबलको पूर्वाधारका लागि भलिबलको धन्दा धेरै रकम विनियोजन भएको छ ।

विडम्बना भलिबलको अहिलेसम्म आफ्नो छुट्टै कभर्ड हल समेत छैन । २०७४ जेठ ८ गते सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले आफ्नै कभर्ड हल बनाउनका लागि धेरैतिर हारगुहार गरिरहेको छ । पछिल्लो समय सरकारले पनि भलिबलको कभर्ड हल निर्माणका लागि केही रकम छुट्याउँदै आएको छ । तर कभर्ड हल बन्न सकेको छैन ।

जग्गा प्राप्ति, डीपीआरलगायतका काम अघि बढ्न नसक्दा कभर्ड हल निर्माणको प्रगति हुन सकेको छैन र बजेट पनि त्यतिकै प्रिज हुँदै गएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले काठमाडौंमा भलिबलको कभर्ड हलका लागि १ करोड बजेट छुट्याएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत विनियोजित बजेटमा निर्माणाधीन कभर्ड हल सम्पन्न गर्ने उल्लेख छ । तर अहिलेसम्म कतै पनि भलिबलको कभर्ड हल निर्माणको काम नै सुरु भएको छैन ।

सेन्ट्रल जोन भलिबलको उपाधिसहित नेपाली टोली ।

गतवर्ष पुसमा बंगलादेशमा महिला टोलीले एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप जितेपछि सरकारले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्‍यो ।

त्यही बेला युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दशरथ रंगशाला परिसरमा पहिले स्वीमिङ पुल भएको ठाउँमा भलिबलको कभर्ड बनाउने आश्वासन दिएका थिए । तर त्यसको डीपीआर बनाउनेलगायतका काम भएको छैन ।

त्यसअघि नेपाल भलिबल संघले तारकेश्वर नगरपालिकामा कभर्ड हल बनाउन जग्गा समेत हेरेको थियो । तर स्थानीय निकाय र राष्ट्रिय खेलकुद परिषदबीच सहमति हुन ढिलाइ भयो । पछि यो विषय सेलाउँदै गयो । अघिल्लो आर्थिक वर्षमा छुट्याइएको १ करोड पनि त्यत्तिकै फ्रिज भयो ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले दशरथ रंगशाला परिसरको जग्गा कभर्ड हलका लागि उपलब्ध गराउने विषयमा छलफल भइरहेको र यसबारे निर्णय भइनसकेको जानकारी दिइन् ।

सकारले काठमाडौंमा भलिबलका लागि कभर्ड हल निर्माण बाहेक अरु भौतिक पूर्वाधारका लागि बजेट विनियोजन गरेको छैन ।

प्रतियोगिता आयोजनाका लागि बजेट

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता र विभिन्न राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको लागि सरकारले विभिन्न शीर्षकमा रकम छुट्याएको छ ।

प्रथम दक्षिण एशियाली महिला भलिबल प्रतियोगिता आयोजना ५० लाख बजेट विनियोजन गरिएको छ भने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजनाका लागि १० लाख छुट्याइएको छ ।

प्रधानमन्त्री पुरुष/महिला भलिबल प्रतियोगिताका लागि ४० लाख बजेट विनियोजन भएको छ भने पोष्ट बहादुर बोगटी स्मृति भलिबलका लागि २० लाख छुट्याएको छ ।

यस्तै राष्ट्रिय भलिबल प्रतियोगिता अनुदान भनेर विनियोजन गरिएको छ । जसमा ३० वटा प्रतियोगिताका लागि भनिएको छ ।

उपाध्यक्ष मास्केले सेन्ट्रल जोनको बैठकबाटै यस प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय भएको बताउँदै बजेट नहुँदा यसअघि मिति नतोकेको तर अब बजेट आएपछि मिति तोक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?