+
+

वीरगञ्जको मुख्य सडकमै माछा बजार

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ २६ गते १०:३४

२६ जेठ, वीरगञ्ज । वीरगञ्जकै पुरानो होटल सम्झना होटलदेखि कृषि सामग्री कम्पनी लिमिटेडको गेटसम्म हरेक दिन साँझमा निकै भिड देखिन्छ । किनकि त्यहाँ माछा बिक्रीका लागि राखिएको हुन्छ ।

दर्जन भन्दा बढी माछा व्यापारीले विभिन्न प्रकारका माछा काटेर ग्राहकलाई बिक्री गर्छन् । मुख्य सडक किनारमा फेटा, रहु, ईजलायल, भकुरा, नैनी, मगुरा, एग्रेड, बी ग्रेड जातका माछा लहरै बेच्न राखिएका हुन्छन् ।

गुलामे मुस्तफा त्यही लाइनमा भेटिन्छन् । ‘ब्याचलर पढेको छु । जागिर छैन खानका लागि काम गर्नुपर्छ । माछा बेचेर गुजारा चलाउँछु,’ उनले अनलाइनखबरसँग भने ‘अन्यत्र बेच्न ठाउँ छैन, त्यसैले सडक छेउमा लगाउने गरेको छु ।’ दैनिक २०/२५ किलो माछा बिक्री हुने गरेको उनी बताउँछन् ।

आफूलाई मन पर्ने माछा पाइने भएकाले ग्राहकको पनि भिड लाग्ने गरेको देखिन्छ । सडकमै सवारी साधन रोकेर मानिसहरु माछा किन्न थाल्छन् । त्यहीँ कत्ला निकालेर काटेर बिक्री गर्ने गरिएकाले त्यो क्षेत्र निकै फोहोर र दुर्घन्धित छ ।

त्यसो त वीरगञ्ज महानगरपालिकाको नगर प्रहरीले समय समयमा गएर उनीहरुलाई लखेट्ने गरेेको पनि देखिन्छ । तर न उनीहरुले सडक छेउमा माछा बेच्न छोडेका छन्, न महानगरले उनीहरुको लागि उचित ठाउँको प्रबन्ध गर्न सकेको छ । तरकारी तथा फलफूल बजार राखिएको मिनाबजारमा ठाउँ नपुग्ने व्यापारीहरु बताउँछन् । माछाको पसल राख्न घरधनीले सटर भाडामा पनि दिँदैनन् ।

सोही ठाउँमा नियमित माछा किन्न आउने वीरगञ्ज १५ का पप्पु सिंह महानगरपालिकाले व्यवस्थित ठाउँ बनाएर दिनुपर्ने बताउँछन् ।

सुरेश सावरियालाई पनि सडकमा माछा बेचेको देख्दा राम्रो लाग्दैन । तर माछा बेच्ने ठाउँ नपाए उनीहरुको परिवार कसरी चल्छ होला ? भनेर सोच्छन् । अनि ठिकै गरेका छन् भन्ने लाग्ने गरेको उनी बताउँछन् ।

अर्का माछाप्रेमी विकास रौनियार ताजा र स्वस्थ लाग्ने हुँदा सडकबाटै माछा किनेर खाने गरेको बताउँछन् । ‘ताजा माछा छ, स्वस्थकर छ भन्ने ठानेर किन्छौं,’ उनले भने, ‘मुख्य सडकमा बिक्री गर्नु त राम्रो होइन, तर काम गरेर खाने मान्छेहरुलाई महानगरले ठाउँ दिनुपर्छ ।’ नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहको टोलीले यसलाई व्यवस्थित गर्ने विश्वास उनको छ ।

मधेस आन्दोलन ताका निकै चर्चित गीत ‘लाठी भाठा लेके होख तैयार, मधेस अभी बन्द बा’ को गायक धुरेन्द्र पण्डित पनि कहिलेकाहीँ माछा व्यापारीको हुलमा मिसिन्छन् । ‘श्रीपुरमा दोकान छ, तर मगुरा माछा पसलबाट बिक्दैन, त्यसैले अरुसँगै सडकमा ल्याएर बेच्छु,’ उनले भने । नगर प्रहरी आउँदा भाग्ने गरेको बताउँदै उनले व्यवस्थित माछामासु बजार नहुँदा यस्तो समस्या भइरहेको बताए ।

वीरगञ्जका मुर्ली क्षेत्रमा पहिल्यैदेखि सडक छेउमा माछा बजार लाग्ने गरेको रहेछ । पश्चिमतर्फको सडक नबनेकै अवस्थामा त्यो क्षेत्रमा बसेर आफूहरुले माछा बेचेको व्यापारीहरु बताउँछन् । पछि उत्तरतर्फ फुर्तिलाल मार्केट अगाडि माछा बजार लाग्थ्यो । त्यहाँबाट हटाइएपछि उनीहरु अहिलेको ठाउँमा आइपुगेका हुन् ।

समसुद्दीन मियाले सानैदेखि माछा बेचेर गुजारा गर्दै आएका छन् । अहिले कपाल फुलिसकेको छ । माछा व्यापारी मध्येका पाका उमेरका उनी दिनको हजार पाँच सय कमाएर सटर भाडामा लिन नसकिने बताउँछन् ।

‘बचपनदेखि नै माछा बेचेको हो । कहिले यता, कहिले उता जान भन्छन् । स्थिरले बस्न दिँदैनन्,’ उनले भने, ‘दिनको १०/२० किलो माछा बेच्दा हजार/पाँच सय बच्छ । सटर भाडामा लिएर पसल राख्न सक्ने स्थिति छैन ।’

माछा नै बेच्दै आएकी मैफुल खातुन व्यवस्थित ठाउँ पाए आफूहरु जान तयार रहेको बताउँछिन् । ‘हामीले पहिल्यैदेखि सडकमा माछा बेच्ने गरेका थियौं, १०/१५ किलो माछा बेचेर गुजारा गर्नुपर्छ,’ उनले भनिन्, ‘ग्राहक नै नआउने ठाउँमा त जान सकिन्न, नजिकै कतै ठाउँ खोजेर व्यवस्थापन गरिदिए सर्न तयार छौं ।’

वीरगञ्ज नगर प्रहरी इन्चार्ज हरि भुसाल माछा बजार व्यवस्थित गर्न खोज्दा माछा व्यापारीहरुले साथ नदिएको बताउँछन् । ‘स्थानीय तहको निर्वाचन अघि नै वडा अध्यक्षसँगको समन्वयमा टोल सुधार समिति समेत बसेर वैकल्पिक व्यवस्था मिलायौं । तर जग्गाधनीले भाडा मागेपछि उनीहरु सडकमै आए,’ उनले भने, ‘हामी गएर लखेट्छौं, भाग्छन्, फेरि आएर बस्छन् । हैरान भइसकेका छौं ।’ उनले नवनिर्वाचित जनप्रतिनिधिहरुसँग समन्वय गरेर कसरी व्यवस्थित गर्न सकिन्छ सल्लाह गर्ने बताए ।

वीरगञ्जको माईस्थान मिना बजार भित्र तरकारी र माछासँगै बिक्री गरिन्छ भने विर्ता बजारमा पनि माछा बिक्री गर्ने गरिएको छ । पुरानो बजार भएपनि विर्ता बजार व्यवस्थित छैन । सडकमै पसल राखेर माछा बिक्री गरिन्छ ।

वडा नं ४ का अध्यक्ष जगत साह कानुले व्यवस्थित माछा बजार मात्रै नभएर वीरगञ्जमा आधुनिक पशु वधशाला र तरकारी बजार समेत आवश्यक रहेको बताए । ‘अघिल्लो कार्यकालमा पनि आधुनिक पशु वधशाला र तरकारी बजारको कुरा उठाएका हौं,’ उनले भने, ‘तर निर्माण हुन सकेन, कार्यपालिका बैठकमा फेरि यसबारेमा आवाज उठाउँछौं ।’

विर्तामा मंगलबार र शुक्रबार बजार लाग्छ । माछा बजार व्यवस्थित हुन नसकेको उनी स्वीकार गर्छन् । ‘विर्ता बजार हाम्रो जन्म नभएदेखि नै छ । माछा बजार व्यवस्थित गर्न सकेका छैनौं, सडकमा नै लाग्छ,’ उनले भने, ‘माछा किन्न आउने ग्राहकले पनि सडकमै मोटरसाइकल लगाइदिन्छन् । बजारको दिन आवातजावतमा समस्या हुन्छ ।’ माछा बजार उठिसकेपछि फिनेल हालेर सफा गर्नुको साथै चुन छर्किने गरेपनि बजार व्यवस्थित गर्न नसकेकाले यसबारे महानगरमा छलफल चलाउने उनको भनाइ छ ।

अस्तव्यस्त साँघुरा सडक

वीरगञ्जको सडक उसै त साँघुरो छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक विस्तार हुन सकेको छैन । सडक क्षेत्र अतिक्रमण गरेर घरहरु निर्माण भएका छन् । मध्यभागबाट दायाँ-बायाँ २५/२५ मिटर सडक क्षेत्र कायम गर्न सडक विभाग र मातहतका कार्यालयले पटक पटक सूचना जारी गरेर सडकखण्डमा पर्ने घर टहरा हटाउन आग्रह गरेको छ ।

तर घरधनीले मुआब्जाको माग गर्दै आएका छन् । आधा भत्किएका घर समेत मर्मत नगरी प्रयोगमा ल्याइएका छन् । एकातिर त्यसले वीरगञ्जको मुख्य सडककै अवस्था कुरुप देखिएको छ भने अर्कोतिर ट्राफिक व्यवस्थापन राम्रोसँग हुन सकेको छैन ।

मुआब्जाको माग गर्दै घरधनीले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् । फैसला आउन बाँकी छ । सडक साँघुरो छ, सडक पेटी अतिक्रमित छन् । सडक छेउका खोलिएका मोटरसाइकल मर्मत गर्ने ग्यारेज, कपडा, मोबाइल, जुत्ताका पसलहरु सडक पेटीसम्म समान राख्छन् । हार्डवेयर, फर्निचरका समान मुख्य सडकमै देख्न सकिन्छ । सटरको भाडा तिर्ने उनीहरुले सडकपेटी र सडक क्षेत्र सित्तैमा प्रयोग गर्न पाउँछन् ।

सर्वसाधारणलाई पैदल यात्रा गर्न समेत सास्ती छ । सडक छेउमा खोलिएका खाजा पसल र होटलको पार्किङ क्षेत्र पनि मुख्य सडक नै हो । मोटरसाइकल अटो शोरुमहरुले पनि गाडी राख्न मुख्य सडक नै प्रयोग गर्छन् । मुख्य सडकमा कतै पेटी छैन भने पेटी भएको ठाउँमा समेत हिँडडुल गर्न समस्या हुने गरेको छ ।

तर नगर प्रहरी इन्चार्ज हरि भुसाल भने फुटपाथ मिचेर कारोबार गर्ने र सडकमा जथाभावी ठेलागाडा राखेर व्यवसाय गर्दै आएकाहरूलाई महानगरले हटाउन शुरू गरिसकेको बताउँछन् । पहिलो प्राथमिकतामा घण्टाघरदेखि अलखियामठ सम्मको क्षेत्र र त्यसपछि अन्यत्रको सडक तथा फुटपाथ अतिक्रमण हटाइने उनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाले पनि सडक र फुटपाथ अतिक्रमण हटाउन नगर प्रमुखले निर्देशन दिएको बताउँछन् । ‘सडक वा सडक पेटीमा आवागमन अवरुद्ध गर्नेहरुलाई त्यसो नगर्न भनेका छौं,’ उनले भने, ‘अटेरी गर्नेहरुको समान जफत गर्छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?