+
+

संविधान नमानेको कसुरमा पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते १३:४१

२८ जेठ, लापाज । बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ ।

उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।

अहिले ५४ वर्षीया अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो ।

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी थिइन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ ।

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनुपर्ने भएको छ । उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।

उनले संविधानले दिएको आफ्नो जिम्मेवारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले सजायको फैसला गरिएको अदालतको भनाई छ ।

उनका विपक्षीहरूले भने कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन् । त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्षको भूमिका थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गराएकी थिइन् ।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन वाध्य हुनु परेको थियो । राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन् । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो ।

अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?