+
+

मन्त्री झाँक्रीसँग कांग्रेस सांसदको आक्रोश, मागिन् प्लेन भाडा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १९:५१

२९ जेठ, काठमाडौं । हुम्लाकी सांसद रंगमती शाहीले शहरी विकास मन्त्रालयको बजेटमा आफ्नो जिल्लाको योजना नपरेकामा आक्रोश व्यक्त गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत खर्चमाथि छलफलमा भाग लिँदै शाहीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयले हुम्लादेखि बोलाएर योजना माग गरेको तर बजेट नपारेको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

‘तपाईको निजी सचिवालयबाट बजेट आउनुभन्दा अगाडि मलाई फोन गयो, म जिल्लामा थिएँ, योजना हाल्ने बेला भयो माननीयज्यू तपाईंके योजना के छ पठाइदिनुस् भन्नुभयो’ उनले भनिन्, ‘प्लेन भाडा तिरेर आएँ, माननीय मन्त्रीज्यू मलाई प्लेनभाडा र सिंहदरबारसम्म आउँदा भएको खर्च र समयको क्षतिपूर्ति चाहियो ।’

सांसद शाहीले आफूलाईं बोलाएर योजना मागेको तर बजेट नदिएको भन्दै सांसदलाई बच्चालाई जस्तो व्यवहार गरेको बताइन् । ‘महिला मन्त्री हुनुहुन्छ, सम्मानका साथ हातेमालो गरेर काम गर्छु भन्ने मन थियो । शहरी विकस मन्त्रालयका लागि मेरो जिल्ला हुम्ला त हरेक कुरामा सम्पन्न भइसकेको देखियो’ उनले भनिन्, ‘माननीय मन्त्रीज्यू हामी काम नपाएर केही नभएर आएका होइनौं ? फोन गरेर बोलाएर एउटा योजना हाल्न नसक्ने हामी के बच्चा हौं खेलाउन खोज्नुभएको हो माननीय मन्त्रीज्यू ?’

सांसद शाहीले हुम्लामा दुईवटा एकीकृत सहकारी भवन निर्माणका लागि ५० लाख परेको भन्दै प्रश्न गरिन्, ‘किताब पल्टाएँ ९४ पेज रहेछ, त्यसमा दुईवटा योजना त्यो पनि एकीकृत सहकारी भवन भनेर ५० लाख रहेछ ५० लाखले हुम्लामा कति भवन बन्छ ?’

उनले हुम्लालाई गाउँ नै राख्ने योजना हो भनेर पनि प्रश्न गरिन् । ‘अहिलेसम्म नगरपालिका नभएको एउटा जिल्ला हुम्ला होला । के हुम्लालाई नगरपालिका नबनाउँदै सबै सम्पन्न भइसक्यो ? के गाउँलाई गाउँ नै बनाउने सकारको योजना हो कि ? होइन भने गाउँलाई शहर बनाउने होला नि ? गाउँपालिकालाई नगरपालिका बनाउने होला नि ?’ उनले प्रश्न गरिन् ।

वीर र टिचिङमा दुर्गमको कोटा तोक्न माग

सांसद शाहीले वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुर्गमका बिरामीको अपरेशनका लागि कोटा तोक्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उनले यस्तो माग गरेकी हुन् ।

‘हामीले कमसे कम त्यत्रो प्लेन भाडा तिरेर आएपछि वीर अस्पताल र टिचिङमा दुर्गमका बिरामीहरुका लागि कोटा छुट्याउनुपर्छ, तिनको अपरेशनका लागि । यो चाहिँ गम्भीर रुपमा मन्त्रीज्यूको ध्यानाकर्षण गराएँ’ उनले भनिन् ।

हुम्लाका वासिन्दा एउटा एक्सरे गर्न पनि ५ दिन हिँडेर सदरमुकाम आउनुपर्ने भन्दै उनले हरेक गाउँपालिकामा एक्सरे मेसिन राख्नुपर्ने आफ्नो माग स्वास्थ्य मन्त्रीले सुनुवाइ नगरेको गुनासो गरिन् ।

‘म हुम्ला जिल्लाको माननीय हुँ । मेरो जिल्लामा गाडी पुगेको छैन । प्लेन चढ्नुपर्छ । एक्सरे गर्न ४÷५ दिन हिँडेर जिल्ला अस्पताल पुग्नुपर्छ’ उनले भनिन्, ‘कमसे कम ७ पालिकामा एउटा एक–एक वटा एक्सरे मेसिन उपलब्ध गराइदिनुस् भनेँ । यो बजेट हेर्दा मैले किताब पल्टाउन सकिन । त्यो भित्र हुम्ला भन्ने चिजै देखिँदैन ।’

हुम्लाबाट उपचारका लागि आउने सर्वसाधारणले काठमाडौंमा अस्पतालमा समयमा उपचार नपाएको पनि सांसद शाहीले बताइन् ।

‘जिल्लाबाट आएका बिरामीहरु बल्लबल्ल अस्पताल पुग्छन्, वीर अस्पतालमा पालो पाउँदैनन्, माननीयज्यू भनेर फोन गर्नछ्न आफ्नो पनि पहुँच छैन । अहिलेसम्म हुम्लाको मान्छे स्वास्थ्य मन्त्री बन सकेको छैन, डाक्टर त के कुरा थियो वीर र टिचिङमा कार्यालय सहयोगी पनि छैन । एउटा सामान्य अपरेशन गर्न एक वर्ष कुर्नुपर्छ’ उनले भनिन् ।

अपरेशनका लागि पालो कुरेर एक वर्षसम्म होटलमा बस्नुपर्ने बिरामीको बाध्यता रहेको भन्दै शाहीले प्रश्न गरिन्, ‘यसबारेमा हामीले कहिले सोच्ने त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?