+
+

फोहोर बोक्ने गाडी बिग्रिए, सडकमा डंगुर उस्तै

सबै उठाइसक्न एक महिना लाग्न सक्छ : वडाध्यक्ष महर्जन

अंगद सिंह अंगद सिंह
२०७९ जेठ २९ गते २०:३४

२९ जेठ, काठमाडौं । करिब १५ दिनदेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर शुक्रबार रातिदेखि उठाउने सहमति भयो ।
महानगरपालिकाको फोहोर विसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले विरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

शुक्रबार मध्यराति स्थानीय वासिन्दासँग सहमति भयो, तर काठमाडौंका सडकमा थुप्रिएका फोहोर अझै उठाइएको छैन । महानगरका धेरै ठाउँमा पैदलयात्रीले अझै नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।

महानगरका गल्लीगल्लीमा मात्रै होइन वातावरण विभाग रहेको टेकुमा समेत फोहोरको पहाड छ ।

बञ्चरेडाँडाका स्थानीय वासिन्दाले फोहोर फाल्न नदिएका कारण थुप्रिएको फोहोरले सडक नै ढाक्न थालेपछि महानगरपालिकाले कतिपय स्थानको फोहोर उठाएर टेकुमा राख्दै आएको थियो । तर त्यही फोहोरको थुप्रोका कारण टेकु क्षेत्र दुर्गन्धित बनेको छ । फोहोर थुपारिएको ठाउँबाट लिचेड बगिरहेको छ ।

फोहोर उठाउने सहमति भएको दुईदिन बित्दासमेत टेकुमा फोहोरको चाङ घटेको छैन । सडकमा थुप्रिएको फोहोर पनि उत्तिकै छ ।

आइतबार बसेको काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको दोस्रो बैठकमा वडा नम्बर १२ का वडाअध्यक्ष बालकृष्ण महर्जनले टेकु क्षेत्रमा थुपारिएको फोहोर विसर्जन गर्न एक महिना भन्दा बढी लाग्ने गुनासो गरे ।

महानगरपालिकाका फोहोर ढुवानी गर्ने २१ गाडीमध्ये १२ वटा बिग्रिएको र ९ वटा मात्रै सञ्चालनमा रहेको उनले बताए ।

महानगरभर फोहोरका डंगुरैडंगुर रहेको र त्यसलाई उठाउने सवारीसाधन प्रर्याप्त नहुँदा फोहोर उठाउन महिनौं लाग्ने उनको भनाइ छ ।

‘महानगरभरबाट संकलन गरेर टेकुमा जम्मा गरेको फोहोरको डंगुर बोक्नु एकातिर, चोकचोकमा थन्किएको फोहोर अर्कातिर छ’, वडाध्यक्ष महर्जन भन्छन्, ‘महानगरको फोहोर उठाउन धेरै गाडी चाहिन्छ, अहिले भएका नौ गाडीले मात्रै फोहोर बोक्ने हो भने फोहोर उठाउन महिनाभन्दा बढी लाग्ने निश्चित छ ।’

कार्यपालिकाको बैठक सकिएपछि उनी टेकुमा जम्मा भएको फोहोर हेर्न गए । त्यहाँ जम्मा भएको फोहोरको पहाड देखेर उनी अवाक भए ।

‘टेकुमा जम्मा भएको फोहोरको अवस्था हेर्न जाँदा त्यहाँ पहाड बनेको देखेँ, त्यत्रो पहाड नौ वटा गाडीले मात्रै बोक्दा त महिनाबढी त पक्कै लाग्छ’ उनले अनलाइनखबरसँग भने ।

महानगरभर फोहोर थुपारिएको भन्दै उनले महानगर सफा, सुघ्घर र दुर्गन्धरहित बनाउन निजी गाडीसमेत भाडामा लिनुपर्ने बताए ।

‘टेकुमा थन्किएको फोहोरको पहाड कसरी छिटो उठाउन सकिन्छ भनेर हेर्न जाँदा त्यहा आधा जति गाडी बिग्रिएका रहेछन् । एक गाडीले बञ्चरेडाँडामा दिनको तीन टिप मात्रै लैजान सक्ने रहेछ । गाडी नै पर्याप्त नभए कसरी छिटो फोहोर उठ्छ ?’ महर्जनले प्रश्न गरे ।

महानगरको बिग्रेका गाडी तत्कालै मर्मत गर्नुपर्ने वा निजी गाडी भाडामा लिएर फोहोर उठाउनुपर्ने उनको भनाइ छ ।

आफू फोहोर व्यवस्थापन तथा गाडीको मर्मतको विषय लिएर आइतबार महानगरपालिकाको वातावरण विभागमा पुगेपनि कुराकानी हुन नसकेको उनले जानकारी दिए । अब यही विषय लिएर फेरि सोमबार पनि जाने वडाध्यक्ष महर्जनले बताए ।

टेकुमा कुहिने र नकुहिने फोहोर छुट्याउने प्रयास गरे पनि ठूलो थुप्रो भएकाले सम्भव नभएको उनको भनाइ छ । ‘हामीले धेरै पटक महानगरको अवस्था देखिसकेका भोगिसकेका छौं । अब सबै सचेत भएर कुहिने र नकुहिने फोहोर छुट्याउनुको विकल्प छैन’ महर्जनले भने ।

महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले भने विभागमा रहेका २१ गाडी मध्ये १२ वटा मात्रै सञ्चालनमा रहेको बताइन् । ‘धेरै पुराना भएका कारण गाडी बिग्रिएर थन्किएका हुन बिग्रिएका गाडीको मर्मत गर्ने काम भइरहेको छ’ उनले भनिन् ।

गाडीको अभावले महानगरको फोहोर उठाउन केही समस्या भएको भन्दै उनले गाडी मर्मतका लागि पठाएको र केही दिनमै फोहोर बोक्ने गरी तयार हुने राईको भनाइ छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?